इन्टरनेट गतिमा भैरहेको ठगी रोक

इन्टरनेट गतिमा भैरहेको ठगी रोक

  • January 14, 2022 Friday 03:32

कान्तिपुर सम्पादकीय

इन्टरनेट प्रयोगकर्ताहरूको संख्या जति बढ्दो छ, यसका सेवाप्रदायकहरू पनि त्यही रूपमा थपिइरहेका छन् । उनीहरूका बीचमा तीव्र प्रतिस्पर्धा त छ, तर बजार सिद्धान्तबमोजिमको यसको समुचित लाभ ग्राहकहरूले पाइरहेका छैनन् । आफूले चलाइरहेको इन्टरनेट सेवासित पूर्ण सन्तुष्ट ग्राहक भेट्न मुस्किलजस्तै छ । सेवाप्रदायकसँगको सम्झौताअनुरूप इन्टरनेट नपाउनु घर–घरको समस्या बनेको छ । बेलाबेलामा सेवा नै अवरुद्ध हुने गडबडी पनि त्यत्तिकै छ ।

तुलनात्मक रूपमा गुनासोको मात्रामा घटीबढी होला, तर अधिकांशले इन्टरनेट सेवामा आफू ठगिएको महसुस गरिरहेका छन् । जारी विश्वव्याधिमाझ अनलाइन शिक्षा र घरबाटै कामजस्ता इन्टरनेटमा आधारित गतिविधि बाध्यात्मक बन्दै जाँदा यो सेवामा सुधारको खाँचो अझ टड्कारो बन्दै गएको छ ।

व्यापार बढाउन कम्पनीहरूले उच्च गतिको इन्टरनेट प्याकेज सस्तोमै बेच्ने उद्घोष गर्दै आएका छन्, जुन ग्राहकका लागि बहार बन्नुपर्ने हो, तर प्याकेजमा घोषणा गरिएअनुरूप सेवा पाउन नसकेको ग्राहकको गुनासो छ≤ पैसा तिरिसकेपछि दाबी गरिएजति एमबीपीएस उपलब्ध नहुने धेरैको समान भोगाइ छ । आफूले चलाइरहेको इन्टरनेटको गतिमा समस्या आएपछि यसको स्तरवृद्धि गरेकाहरूले पनि पुनः उही समस्याको सामना गरिरहेका छन् । थोरै गति र धेरै गतिको इन्टरनेट चलाउनुमा उनीहरूले तात्त्विक अन्तर पाइरहेका छैनन् । यसबाट ग्राहकहरू एकसाथ चकित र प्रताडित छन् । जतिसुकै उच्च गतिको इन्टरनेट लिए पनि ससानो फाइल डाउनलोड गर्न पनि निकै बेर कुर्नुपरेको धेरैको अनुभव छ । एउटै समस्याका निम्ति सेवाप्रदायकसित घरीघरी गुनासो गरिरहनुपर्दा उनीहरू हैरान छन् ।

इन्टरनेटको गुणस्तरबारे ग्राहकहरूको यस्ता गुनासोप्रति सेवाप्रदायकहरू गम्भीर हुनैपर्छ । किफायती मूल्यमा उच्च गतिको सेवा दिने घोषणाको प्रतिस्पर्धा गरिरहँदा उनीहरूले प्रतिबद्धताअनुरूपको गुणस्तर दिन सक्ने/नसक्नेमा यथोचित विचार पुर्‍याउनुपर्छ । जानकारहरूका अनुसार कतिपय सेवाप्रदायकले आफ्नो क्षमताले भ्याउनै नसक्ने गरी प्रस्ताव गरिरहेका छन्, जुन सरासर ठगी हो≤ यो त ग्राहकप्रति जानाजान गरिएको धोकाधडी हो । प्राविधिक गडबडीका कारण सेवाको गुणस्तरमा तलमाथि हुनु बेग्लै कुरा, सेवाप्रदायकहरूले ग्राहकमाथि जानाजान अन्याय गर्न भने मिल्दैन । उनीहरूले आफ्नो व्यापारिक प्याकेजमा त्यति मात्र प्रस्ताव गर्नुपर्छ, जति उनीहरूको क्षमताले धान्छ । र, ग्राहकहरूले मूल्यअनुसारको सेवा पाए/नपाएकोबारे नियामक निकाय दूरसञ्चार प्राधिकरणको पनि ध्यान जानुपर्छ, उसले इन्टरनेट–बजार अनुगमन गरी जानाजान ग्राहक ठग्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।

कबोलअनुसारको इन्टरनेट नआउनुमा कहिलेकाहीँ अरू पक्ष पनि जिम्मेवार हुन्छन्≤ राउटर, इन्टरनेट चलाउने डिभाइस आदिका कारणले पनि यस्तो समस्या आउने गर्छ । यसबारे सबै ग्राहक प्राविधिक रूपमा उत्तिकै सचेत हुन्छन् भन्ने हुँदैन, त्यसैले यस्ता समस्याको समाधान गर्न पनि सेवाप्रदायकको भूमिका आवश्यक पर्छ । उनीहरूले ग्राहकको गुनासोको उचित सुनुवाइ गर्ने हो भने यो दोहोरिरहने समस्या होइन । त्यसैले मूल प्रश्न फेरि पनि सेवाप्रदायकको व्यावसायिक इमानदारीकै हो । सेवा बिक्री गरिसकेपछि गुनासो आएमा समस्याको उचित समाधान खोज्नुपर्ने दायित्व सम्बन्धित कम्पनीहरूको हो । तर कतिपय यस्ता सेवाप्रदायकहरूले गुनासो सुन्ने संयन्त्रकै पनि राम्रो प्रबन्ध गरेका हुँदैनन्, दिइएको नम्बरमा फोनसम्म नउठेर ग्राहकहरू हैरान छन् ।

यस क्रममा स्वीकृतिबिनै गति बढाउने होडबाजी पनि चलेको देखिन्छ, जसबारे प्राधिकरण सतर्क रहनुपर्छ । प्राधिकरणले पुस २ मा सूचना जारी गर्दै इन्टरनेट सेवाप्रदायकलाई दूरसञ्चार सेवाको शुल्क/महसुल दर प्राधिकरणबाट स्वीकृत गराउन ध्यानाकर्षण गराएको पनि छ, यो निर्देशन कार्यान्वयनमा उसले कडीकडाउ गर्नु जरुरी छ । अचम्म त, प्राधिकरणकै अनुसार कुनै पनि सेवाप्रदायकले १०० एमबीपीएसभन्दा बढी स्पिडका लागि स्वीकृति पाएका छैनन्, तर उनीहरूले ६०० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउने भनेर आकर्षक विज्ञापन गरिरहेका छन् । न्यून गतिको इन्टरनेटका लागि इजाजत लिएर उच्च गतिको विज्ञापन गरी ग्राहकहरूलाई त्यहीअनुरूप शुल्क लिई बेच्ने अनधिकृत कार्यलाई पनि प्राधिकरणले रोक्नुपर्छ । समग्रमा, सेवाप्रदायकहरूबीच तीव्र प्रतिस्पर्धा हुनु राम्रो कुरा हो, तर अनधिकृत बिक्रीवितरण र गुणस्तरमा ठगी हुनु हुन्न । यसका निम्ति सम्बन्धित सेवाप्रदायकहरू व्यावसायिक मर्यादामा रहनु जति जरुरी छ, त्यति नै आवश्यक छ प्राधिकरणको अनुगमनको पनि ।


Related Story

Political Dissent in Nepal: Arrests for Social Media Posts Raise Censorship Concerns

Man Bahadur Karki (29) stands barefoot inside the iron bars of the Metropolitan Police Circle, Durbarmarg. The ground floor of the

राष्ट्रिय साइबर सुरक्षा नीति तथा इन्टरनेट गेटवेसम्बन्धी विश्लेषणपत्र सार्वजनिक

डिजिटल राइट्स नेपालले नेपालको डिजिटल परिदृश्यमा देखिएका साइबर सुरक्षासम्बन्धी महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्ने दुई विश्लेषण पत्र सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको पहिलो

टिकटक प्रतिबन्धको प्रभावः नेपाल पहिलोपटक इन्टरनेट सटडाउन हुने देशको सूचिमा

नेपाल पहिलोपटक इन्टरनेट सटडाउन हुने देशको सूचिमा परेको छ । डिजिटल अधिकारको क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय संस्था एक्सेस नाउ ले

बालबालिकामा इन्टरनेटको लत

सञ्जु अधिकारी- समयसंगै इन्टरनेटमा व्यक्तिको पहुँच र यसको प्रयोग गर्ने शैलीमा व्यापक परिवर्तन आएको छ। प्रविधिले फड्को मारेसँगै यसको प्रयोगले समाजका

Browser Cookies Make People More Cautious Online, study finds

Elizabeth Stoycheff from the Conversation - Website cookies are online surveillance tools, and the commercial and government entities that use them

Marketing In New Media

Aashish Mishra-  Nepal is witnessing a media shift. Radio, once the primary source of news and information for the majority of

तपाईं विज्ञापन हेर्दै हुनुहुन्छ, विज्ञापनले तपाईंलाई हेर्दैछ

मिस्टर जुकरबर्ग ! हिजो राति तपाईं कुन होटलमा बस्नुभएको थियो, हामीलाई भन्न सक्नुहुन्छ ?' 'अऽऽऽऽऽऽ (हिच्किचाउँदै)– भन्न सक्दिनँ ।' 'तपाईंले यो साता क–कसलाई

‘मिम’को समाजशास्त्र

सुवास चापागाईं- मिम एउटा विशाल र जटिल अवधारणा हो, जसको नेपाली मिडिया तथा बौद्धिक वृत्तमा खासै चर्चा भएको पाइँदैन दुई दशकयता इन्टरनेटको