मिस्टर जुकरबर्ग ! हिजो राति तपाईं कुन होटलमा बस्नुभएको थियो, हामीलाई भन्न सक्नुहुन्छ ?'
'अऽऽऽऽऽऽ (हिच्किचाउँदै)– भन्न सक्दिनँ ।'
'तपाईंले यो साता क–कसलाई म्यासेज पठाउनुभएको थियो, उनीहरूको नाम हामीलाई भन्न सक्नुहुन्छ?'
'सिनेटर ! भन्न सक्दिनँ ! सायद म यहाँ सार्वजनिक रूपमा त्यसो गर्न सक्दिनँ ।'
'मलाई लाग्छ कि हामी यहाँ यही कुरा गरिरहेका छौँ । तपाईंको गोपनीयताको अधिकार, गोपनीयताको अधिकारको सीमा र संसारभरका मानिसहरूलाई जोड्ने नारासहित तपाईंले गरिरहनुभएको काम ।'
फेसबुकका संस्थापक मार्क जुकरबर्ग र अमेरिकी सिनेटर रिचार्ड जोसेफ डर्बिनबीचको सवालजवाफ १० घण्टासम्म चलेको संसदीय सुनुवाइको सानो अंश मात्र हो । १० अप्रिल र १६ मे २०१८ मा अमेरिकी सिनेटमा जुकरबर्गले यी र यस्तै ६०० प्रश्नहरूको सामना गरेका थिए ।
सन् २०१३ मा ‘क्याम्ब्रिज एनालिटिका’ नामक ब्रिटिस कम्पनीले सयौँ लाख अमेरिकीहरूको डेटा (तथ्याङ्क) उनीहरूको जानकारीबिना फेसबुकसँग किनेर ‘मनोवैज्ञानिक हतियार’ बनाउन प्रयोग गरेको थियो । र, उक्त ‘हतियार’ को प्रयोग डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपति निर्वाचित गराउन गरिएको अनुसन्धानहरूले देखाएका छन् ।
यो प्रकरणको पटाक्षेप सन् २०१८ मा क्याम्ब्रिज एनालिटिकाका पूर्वकर्मचारी क्रिस्टोफर विलीले ‘न्युयोर्क टाइम्स’ र ‘गार्डियन’ लाई गोप्य रूपमा सूचना दिएपछि मात्र भयो । ‘फेसबुक–क्याम्ब्रिज एनालिटिका डेटा स्क्यान्डल’ ले ठूला टेक कम्पनीहरूले संसारभरका प्रयोगकर्ताको व्यक्तिगत डेटा (तथ्याङ्क) उनीहरूको सहमतिबिना तेस्रो पक्षलाई बेचेर कसरी शोषण गरिरहेका छन् भनेर पर्दाफास गरेको थियो ।
अमेरिकी सिनेटले जुकरबर्गसँग मूलतः फेसबुकले प्रयोगकर्ताका कस्ता सूचनाहरू संग्रह गर्छ, ती सूचना कसलाई वितरण गरिन्छ र त्यसरी प्रयोगकर्ताका सूचना संकलन तथा वितरण गर्दा फेसबुकले प्रयोगकर्तासँग अग्रिम रूपमा अनुमति लिन्छ वा लिँदैनलगायतका प्रश्न गरेको थियो । उक्त सुनुवाइको स्पष्ट सन्देश थियो– फेसबुकलगायत इन्टरनेटमा आधारित कम्पनी तथा सेवाहरू आमनागरिकको गोपनीयताका लागि डरलाग्दो चुनौतीका रूपमा खडा भएका छन् ।
वर्षौंको अनुसन्धानपछि अमेरिकाको ‘फेडेरल ट्रेड कमिसन’ ले नागरिकको गोपनीयता हननका घटना तथा क्याम्ब्रिज एनालिटिकासँग सम्बन्ध रहेको ठहरसहित सन् २०१९ मा फेसबुकलाई पाँच विलियन अमेरिकी डलर जरिवाना गर्यो ।
प्रयोगकर्ताको तथ्याङ्क तेस्रो पक्षलाई बेच्ने मामिलामा फेसबुक एक्लो छैन । राजनीतिक तथा व्यावसायिक स्वार्थपूर्तिका लागि प्रयोगकर्ताको डेटा बेच्नेमा गुगलको नाम पनि आउँछ । गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले अमेरिकामा लामो समयसम्म भिडियो शेयरिङ एप युट्युबमार्फत बालबालिकाहरूको व्यक्तिगत सूचना संकलन गरेको अनुसन्धानहरूले देखाएका छन् ।
छोटकरीमा ‘कोप्पा’ भनिने अमेरिकी कानुन ‘चिल्ड्रेन्स अनलाइन प्राइभेसी प्रोटेक्सन एक्ट १९९८’ उल्लंघन गरेको अभियोगमा गुगल त्यहाँका नियामक निकायहरूको कारबाहीमा समेत परेको छ । कोप्पा कानुन उल्लंघन गरी अभिभावकहरूको अनुमतिबिना १३ वर्षभन्दा मुनिका बालबालिकाहरूको व्यक्तिगत सूचना संकलन गरेको अभियोगमा फेडेरल ट्रेड कमिसनले गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटलाई १७० मिलियन अमेरिकी डलर जरिवाना गरेको थियो ।
१० डिसेम्बर २०२० मा फ्रान्सको डेटा प्राइभेसी नियामक निकाय ‘सीएनआईएल’ले अमेरिकास्थित बहुराष्ट्रिय टेक कम्पनी अमेजनलाई ५० मिलियन जरिवाना गर्यो । अमेजन डट एफआर (अमेजनको फ्रान्सेली साइट) खोल्दा प्रयोगकर्ताको डिभाइसमा ‘विज्ञापन कुकिज्’ राख्नका लागि अनुमति नलिएको तथा कुकिजको प्रयोगका बारेमा साइटमा पर्याप्त सूचना नदिएकोलगायतका अभियोगमा अमेजनलाई दोषी ठहर गरिएको थियो ।
फेसबुक, गुगल, अमेजनजस्ता इन्टरनेटमा आधारित प्लेटफर्महरू प्रयोगकर्ताको व्यवहार लक्षित विज्ञापन (behavioural advertising) मा आधारित हुन्छन् । यी प्लेटफर्महरूले नाफा कमाउन प्रयोगकर्ताको निजी जीवनसँग जोडिएका सूचना संकलन तथा प्रयोगमा कुन हद नाघेका छन् भन्ने माथिका तथ्यहरूले बताउँछन् ।
व्यवहार लक्षित विज्ञापन
इन्टरनेटमा देखिने विज्ञापनहरू हरेक प्रयोगकर्तासँग सम्बन्धित सूचनाहरूको विश्लेषण गरी देखाइएका हुन्छन् । अल्गोरिदम, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा जटिल र गोप्य डेटासेटहरूको प्रयोग गरी विज्ञापनदाताहरूलाई तपाईं को हो, कुन ठाउँमा हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, तपाईंको भोगाइ वा अनुभूति के छ, अब तपाईं के गर्ने सोच्दै हुनुहुन्छ जस्ता निजी कुरा पत्ता लगाई उक्त डेटालाई विज्ञापनदाताको व्यापारिक वा राजनीतिक स्वार्थपूर्तिका लागि प्रयोग गर्न अनुमति दिइन्छ । इन्टरनेटमा यसलाई ‘टार्गेटेड’ विज्ञापन भनिन्छ । अझ सोसल मिडियाको विकाससँगै यो ‘माइक्रो टार्गेटेड’ विज्ञापनमा रूपान्तरित भएको छ ।
टार्गेटेड विज्ञापन के हो, यसले कसरी काम गर्छ, यसको शक्ति के हो र लोकतन्त्रमा यसको असर कस्तो पर्छ ? इन्टरनेट अर्थतन्त्र र यसले हुर्काएको डिजिटल पुँजीवादको घुम्टो नउघारी यी प्रश्नहरूको सपाट जवाफ खोज्न गाह्रो छ । तर, इन्टरनेट र सोसल मिडियामा विज्ञापनको यो खेल यसरी जारी छ कि यसमाथि छानबिन त कुरै छोडौँ, प्रश्न गर्न पनि कठिन छ । तपाईं हामीले वेबसाइटहरू हेर्दाहेर्दै, मोबाइल खेलाउँदा खेलाउँदै, म्यासेन्जर, ह्वाट्स एप वा युट्युब चलाउँदा चलाउँदै इन्टरनेटमा हाम्रो विचार र व्यवहारलाई लक्ष्य गरी ठूला–ठूला कर्पोरेट जाइन्टहरूले हामीबारे एउटा जटिल अनुमानको खेल खेलिसकेका हुन्छन् र यो खेल हरेक दिन अर्बौंमा खेलिन्छ ।
गुगल, फेसबुक, अमेजनलगायतका कम्पनीहरूले प्रयोगकर्ताको डेटा आफ्ना वस्तु तथा सेवाको प्रवर्द्धनका लागि आफूले त प्रयोग गर्छन् नै, ‘डेटा ब्रोकर’ हरूको प्रयोग गरी अरुलाई पनि बेच्छन् । डेटा ब्रोकर कम्पनीहरूले प्रयोगकर्ताको सूचना किन्छन् र आफ्ना ग्राहकको राजनीतिक वा आर्थिक स्वार्थपूर्तिका लागि टार्गेटेड विज्ञापनको रणनीति बनाउन र त्यसमार्फत नाफा कमाउन प्रयोग गर्छन् ।
डेटा ब्रोकरहरूले तपाईंको दैनिक जीवनका जुनसुकै पक्षबाट सूचना लिन सक्छन् । जस्तो, इन्टरनेटमा तपाईंले गर्ने क्लिक वा गतिविधि, तपाईंले घुम्ने ठाउँ, तपाईंले किनमेल गर्ने पसल, तपाईंले किन्ने सामान, तपाईंलाई मन पर्ने कुरा, तपाईंका साथी, तपाईंका साथीले घुमेका ठाउँ, तपाईंको साथीले गर्ने गतिविधि जहाँबाट पनि उनीहरूले सूचना पाउन सक्छन् । र, यसलाई सजिलो बनाएको छ– मोबाइल फोन, इन्टरनेट, जीपीएस लोकेसन, सोसल मिडिया र सञ्चार तथा सूचना प्रविधिमा आएको भनिएको क्रान्तिकारी परिवर्तनले हुर्काएको देखावटी उपभोक्तावादी संस्कृतिले । कुन रेस्टुरेन्टमा गएँ, कोसँग गएँ, के खाएँ भन्नेसम्मका जानकारी हामी फेसबुकमा सगर्व लेख्छौँ । यसको मतलब हो, हामी यो डेटा उनीहरूलाई निःशुल्क रूपमा दिन तयार भइसक्यौँ । र, यसकै आधारमा अब तपाईं हामीलाई इन्टरनेटमा विज्ञापन ‘टार्गेट’ गरिन्छ ।
एकैछिनलाई मान्नुस् तपाईंले अनलाइनमा कुनै फारम भर्नुभयो वा कुनै सर्वेक्षणमा सहभागी हुनुभयो । अब तपाईंले त्यहाँ दिएका जवाफ वा छानेका विकल्पका आधारमा तपाईंलाई लक्ष्य गरी विज्ञापन देखाउन थालिन्छ । ‘प्रयोगकर्ताहरूले प्रत्यक्ष रूपमा सार्वजनिक नगरेका सूचना वा जानकारी पनि डेटा ब्रोकरहरूले अनुमान गर्न सक्छन्, जस्तो कि प्रयोगकर्ताले भविष्यमा के गर्न सक्छ’, न्युयोर्क टाइम्समा स्टाउर्ट ए.थोम्पसोन (२०१९) लेख्छन्, ‘उनीहरूसँग तपाईंले विगतमा कसलाई मतदान गर्नुभएको थियो भन्ने जानकारी नहोला तर तपाईं अब कुन दललाई मत दिनुहुन्छ भन्ने अनुमान भने उनीहरू गर्न सक्छन् ।’
प्रयोगकर्ताबारे अनुमान लगाउन टेक कम्पनी तथा डेटा ब्रोकरहरूले इन्टरनेटबाट पर्याप्त सूचना संकलन गरिसकेका हुन्छन्, जुन इन्टरनेट चलाउने क्रममा हामीले नै उनीहरूलाई दिएका हुन्छौँ वा दिन तयार भएका हुन्छौँ । उनीहरूका वस्तु तथा सेवा प्रयोग गर्ने क्रममा हामीले उनीहरूका प्राइभेसी पोलिसीमा सहमति जनाइसकेका हुन्छौँ, थाहै नपाईकन ।
ध्यानाकर्षणको किनबेच
विज्ञापनलाई मिडियाको मेरुदण्ड किन पनि भनिन्छ भने विज्ञापनका कारण पाठक, स्रोता र दर्शकका लागि मिडियाका सामग्री सस्तोमा वा निःशुल्क रूपमा उपलब्ध छन् । जसरी रेडियो र टेलिभिजन स्रोता तथा दर्शकका लागि निःशुल्क उपलब्ध छन्, त्यसैगरी ट्वीटर, इन्स्टाग्राम, फेसबुक र गुगलले पनि प्रयोगकर्तासँग शुल्क लिँदैनन् । तपाईं इन्टरनेटमा जे–जे हेर्नुहुन्छ, एकपटक सोच्नुस्, ती तपाईंका लागि किन निःशुल्क छन् ? किनभने व्यापारको यो मोडेलमा विज्ञापनदाताले उपभोक्ताको ध्यानाकर्षण (attention) का लागि पैसा खर्च गर्छ । यसर्थ, मिडिया कम्पनीहरूका लागि तपाईं (पाठक, स्रोता वा दर्शक) एउटा वस्तु हो, जो विज्ञापनदातालाई बिक्री गरिन्छ ।
यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने इन्टरनेटमा आधारित सोसल मिडिया प्लेटफर्महरूको मुनाफाको मुख्य स्रोत नै डिजिटल विज्ञापन हो । यस्ता कम्पनीहरूले आफ्नो वस्तु तथा सेवा यसरी ‘डिजाइन’ गरेका हुन्छन् कि प्रयोगकर्ताले जति सक्दो धेरै समय उक्त प्लेटफर्ममा बिताऊन् । प्रयोगकर्ताको व्यवहारमा आधारित रहेर संकलन गरिएको डेटाअनुसार इन्टरनेटमा हरेक प्रयोगकर्ताका लागि अलगअलग विज्ञापन, सामग्री, सर्च रिजल्ट र वस्तु तथा सेवाको मूल्य देखिन्छ ।
एकातिर डिजिटल विज्ञापन टेलिभिजन, रेडियो र पत्रपत्रिकामा हुने परम्परागत विज्ञापनको तुलनामा प्रभावकारी छ । न्यून खर्चमा धेरैभन्दा धेरै सम्भावित ग्राहकसम्म वस्तु तथा सेवाको जानकारी दिन डिजिटल विज्ञापनले मद्दत गरेको छ । अर्कोतर्फ, अनलाइन विज्ञापनको बजार परम्परागत विज्ञापन बजारभन्दा तुलनात्मक रूपमा लोकतान्त्रिक पनि छ । यदि तपाईंसँग सोसल मिडिया अकाउन्ट छ भने सजिलै अनलाइनमा विज्ञापन गर्न सक्नुहुन्छ । व्यक्ति तथा ससाना व्यवसायले पनि डिजिटल विज्ञापनमार्फत आफ्ना विचार, वस्तु तथा सेवा ग्राहक तथा उपभोक्तासम्म पुर्याउन सक्ने अवस्थामा हामी पुगेका छौँ । निश्चय नै यो क्रान्तिकारी परिवर्तन हो ।
तर, यही लोकतान्त्रिक माध्यम एकथरीका लागि ‘माइक्रो टार्गेर्टिङ’ मार्फत प्रयोगकर्तालाई शोषण गर्ने थलो भएको छ । माथि दिइएको उदाहरणमा फेसबुकले गरेको त्यही हो । उसले सुरुमा प्रयोगकर्ताको सूचना संग्रह गर्यो । त्यसपछि उक्त सूचना तेस्रो पक्षलाई बेच्यो । क्याम्ब्रिज एनालिटिकाले प्रयोगकर्ताहरूको मनोवैज्ञानिक तथा अन्य चरित्रहरू पत्ता लगायो र त्यसका आधारमा उनीहरूलाई लक्षित गरी वस्तु तथा सेवाको सम्भावित क्रेताका रूपमा विज्ञापन गर्यो । र, उसैलाई फेरि उपभोक्ता बनाएर शोषण गर्यो ।
गोपनीयता अधिकारका पक्षधरहरूको तर्क के छ भने इन्टरनेटमा हुने टार्गेटेड विज्ञापन सरकारहरूको नियन्त्रणभन्दा बाहिर गइसकेको छ । तपाईंले डेटा ब्रोकर वा अनलाइन विज्ञापन सेवालाई आफ्नो सूचना दिन कुनै गल्ती वा विशेष काम गरिरहनै पर्दैन । मात्र इन्टरनेट ब्राउज गरे पुग्छ । तपाईंले हेर्ने वेबसाइट वा एपले तपाईंका बारेमा थाहा पाएका सूचनाहरू सर्भरसम्म पुर्याउँछन् । तपाईंको जन्ममिति, इमेल वा लोकेसनका आधारमा विज्ञापनदाताहरूले आफ्नो सेवा वा वस्तु तपाईंलाई लक्ष्य गरी विज्ञापन गर्दछन् ।
तपाईंले ब्राउज गर्ने वेबसाइटहरूले तपाईंको ब्राउजरमा ‘कुकिज्’ भनिने ससाना फाइलहरू छोड्छन् जसले ‘ब्राउजिङ हिस्ट्री’मार्फत तपाईंको व्यवहार अध्ययन गर्दछन् । र, प्लेटफर्मको सर्भरसम्म उक्त सूचना पठाउँछन् । त्यसपछि तपाईंको डेटा कैयौँ विज्ञापनदातासम्म पुग्छ र उनीहरूले वेबसाइट वा एपमा तपाईंलाई लक्ष्य गरी आफ्नो विज्ञापन देखाउन प्रतिस्पर्धा गर्छन् ।
हार्वर्ड बिजनेस स्कुलका प्राध्यापक शोशाना जुबोफको धारणा छ, जसरी मानिसले प्राकृतिक स्रोतमाथि अतिक्रमण गरेको छ, त्यसरी नै अहिले ठूला टेक कम्पनीहरूले प्रयोगकर्ताको निजी जिन्दगीमाथि हस्तक्षेप गरेका छन् र उनीहरूका व्यक्तिगत सूचना वा जानकारीलाई नाफा कमाउने वस्तुमा परिणत गरेका छन् । ‘द एज अफ सर्भेलियन्स क्यापिटालिज्म’ पुस्तकका लेखकसमेत रहेकी जुबोफ न्युयोर्क टाइम्ससँग भन्छिन्, 'हरेक स्मार्ट डिभाइस वा पर्सनाइज्ड सर्भिस अहिले निगरानी अर्थतन्त्र (सर्भेलियन्स इकोनोमी) का लागि तथ्यांक संकलन गर्ने माध्यम भएका छन् ।' र, यो प्रक्रिया यति द्रुत र गोप्य छ कि आमनागरिक यसको प्रतिरोध गर्न सक्ने अवस्थामा छैनन् ।
प्रयोगकर्ताको शोषण
तपाईं गुगल क्रोममा आज कुनै गाडीका बारेमा केही कुरा खोज्नुस् । अब केही घण्टा वा एक दिनपछि तपाईंले खोल्ने वेबसाइटहरूमा त्यही गाडीका बारेमा कैयौँ विज्ञापनहरू देखा पर्नेछन् । यस्तो किन भयो भने तपाईं गाडीका बारेमा केही सूचना खोज्दै हुनुहुन्छ भन्ने कुरा गुगललाई थाहा भयो । अब उसले यो सूचना विज्ञापनदातालाई बेच्यो । अब तपाईंलाई आफ्नो गाडी बेच्न सकिन्छ भन्ने विज्ञापनदाताले बुझिसक्यो । तपाईंले जुन गाडीमा रुचि देखाउनुभएको छ, त्यही गाडी राम्रो छ भनेर उसले तपाईंलाई विज्ञापन देखाउँछ । नभए, तपाईंको रुचि जे छ, त्यसलाई लक्ष्य गरी यस्ता कम्पनीहरूले विज्ञापन देखाउँछन् । र, यो सम्पूर्ण प्रकरणमा तपाईं थाहै नपाई फसिसक्नुभएको हुन्छ ।

इडवर्ड स्नोडेन तथा विकिलिक्सका संस्थापक जुलिनय असान्ज । फोटोः nypost.com
तपाईंको जीपीएस लोकेसन ट्रयाक गरी निश्चित स्थानका लागि लक्षित विज्ञापन पनि इन्टरनेटमा आउँछन् । यो पनि ‘माइक्रोटार्गेटिङ’ को अर्को विधि हो । अमेरिकामा क्याम्ब्रिज एनालिटिकाले गरेको यही थियो । प्रयोगकर्ताहरूको व्यवहार तथा आनीबानी र उनीहरूको स्थान विशेषको अध्ययन गरी उनीहरूको मनोविज्ञान र संवेदनामा प्रभाव पार्ने खालका विज्ञापन बनाई ट्रम्पको पक्षमा माहौल बनाएको थियो । यतिसम्म गरिएको थियो कि 'अश्वेतहरूलाई लक्ष्य गरी हिलारी क्लिन्टनले उनीहरूलाई अपराधी ठान्छिन्' लेखिएका विज्ञापन देखाइएको थियो । सन् २०२० को राष्ट्रपतीय चुनावमा मात्र ट्रम्पले फेसबुकमा विज्ञापन गर्न साढे ४ मिलियन अमेरिकी डलर खर्च गरेका थिए । यसबाट पनि बुझ्न सकिन्छ कि इन्टरनेटमा हुने राजनीतिक विज्ञापनको आकार कति ठूलो छ । र, कसरी ठूला टेक कम्पनीहरूले नाफाका लागि प्रयोगकर्ताहरूको निजी सूचना विज्ञापनदातालाई बेचिरहेका छन् ।
क्रिस्टियन फुस्क इन्टरनेटमा आधारित सोसल नेटवर्किङ साइटहरूले प्रयोगकर्ताहरूलाई शोषण गरिरहेको प्रमाण पेस गर्छन् । यस्ता कम्पनीहरूले युजर (प्रयोगकर्ता) लाई निःशुल्क काममा लगाउँछन् र युजर जेनेरेडेट कन्टेन्ट (प्रयोगकर्ताले उत्पादन गर्ने सामग्री) का आधारमा पैसा कमाउँछन् । अल्गरिदम र आर्टिफिसियल इन्टेलिजेन्समार्फत प्रयोगकर्ताका एक–एक गतिविधिमा नजर राख्छन् र प्रयोगकर्ताको व्यवहारका आधारमा विज्ञापन देखाउँछन् । र, पैसा कमाउँछन् । जति बढी भिजिटर, उति विज्ञापन । जति विज्ञापन, उति नाफा । जति नाफा, उति शोषण । हामी सोसल मिडियामा फोटो हालेर रमाउँछौँ, उता ठूला कम्पनीहरू मालामाल हुन्छन् ।
अमेरिका र युरोपमा अनलाइन व्यवहार लक्षित विज्ञापनका प्रभावहरूसँग जुध्न विभिन्न कानुनी तथा नियामक उपायहरू अपनाइए पनि हाम्रो जस्तो तुलनात्मक रूपमा मिडिया साक्षरता कमजोर रहेका मुलुकहरूमा यसबारे विचार र बहस गर्ने फुर्सद कसैलाई देखिँदैन । इन्टरनेट अर्थतन्त्र र मानवीय जीवनमा डिजिटल विज्ञापनको असर प्रभावको कुरा जति संवेदनशील छ, हाम्रो निजी जिन्दगीसँग जोडिएका सूचनाहरू व्यापारिक तथा राजनीतिक स्वार्थपूर्तिका लागि कहाँ कहाँ पुर्याइन्छ भन्ने विषय त्योभन्दा गम्भीर छ ।
यस मामिलामा दुईवटा उदाहरण अत्यन्त सान्दर्भिक छन् । पहिलो, अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले अन्य मुलुकका गुप्तचर संस्थासँग मिलेर कैयौँ टेलिभिजन सेट, कम्प्युटर र मोबाइल फोन ह्याक गरी मानिसहरूका गतिविधि निगरानी गर्ने औजारका रूपमा प्रयोग गरेको खुलासा विकिलिक्सले गरेको थियो । यस्तै, अमेरिकाकै अर्को गुप्तचर संस्था नेसनल सेक्युरिटी एजेन्सी (एनएसए) ले माइक्रोसफ्ट, फेसबुक, गुगल, एप्पल, याहुलगायतका इन्टरनेट कम्पनीहरूसँग मिलेर इमेल, च्याट, भिडियो, फोटो र अन्य फाइलमार्फत मानिसहरूको गोप्य निगरानी गरेको खुलासा इडवर्ड स्नोडेनले गरेका थिए ।
यी खुलासाहरू र माथि प्रस्तुत उदाहरणहरूको एउटै चेतावनी के हो भने इन्टरनेटको दुनियाँमा प्रयोगकर्ताको गोपनीयता खतरामा छ । प्रयोगकर्ताको डेटा उक्त प्लेटफर्मका लागि विज्ञापनदातालाई बेचेर नाफा कमाउने वस्तु भइसक्यो । के उसो भए इन्टरनेट नचलाउने ? सोसल मिडियाबाट टाढै बस्ने ? मोबाइल फोन र कम्प्युटर थन्क्याउने ?
डिजिटल अधिकार अभियन्ता शुभ कायस्थ गोपनीयता जोखिममा भए पनि इन्टरनेटबाट भाग्न सम्भव नरहेको बताउँछिन् । ‘सञ्चार, शिक्षा र काममा समेत इन्टरनेट अत्यावश्यक भइसकेकाले नचलाउने कुरा व्यावहारिक हुँदैन,’ उनी भन्छिन्, ‘हाम्रो गोपनीयता जोखिममा रहेछ भनेर थाहा पाउनु वा थाहा दिनु पनि आफैँमा सकारात्मक कुरा हो ।’ गोपनीयतालाई प्रयोगकर्ताको मात्र चासोको विषय ठानियो भने ठूला टेक कम्पनीलाई जवाफदेही बनाउन सम्भव नहुने उनको बुझाइ छ । ‘ठूला टेक कम्पनीलाई प्रश्न गरेर मात्र बहसको निष्कर्षमा पुग्न सम्भव छैन । यो सरकार, नागरिक, मिडिया, नीति निर्माता सबैको चासोको विषय हो’, बडी एन्ड डेटा नामक सामाजिक संस्थाकी कार्यकारी निर्देशकसमेत रहेकी कायस्थ भन्छिन्, ‘हरेक मुलुक आ–आफ्नो सन्दर्भमा नागरिकको व्यक्तिगत तथा गैरव्यक्तिगत डेटाको सुरक्षामा संवेदनशील बन्नुपर्छ ।’
पहिलोपटक 'मूलप्रवाह' म्यागजिनमा प्रकाशित । शिलापत्रमा पुनःप्रकाशित ।