अभिनेतृ जसिता गुरुङले कान्तिपुर टेलिभिजनबाट प्रसारित 'इट्स माई शो' ले नेपालको संविधान तथा पत्रकार आचारसंहित विपरीतका काम गरेको दाबीसहित कार्यक्रमका भिडियोहरू सामाजिक सञ्जालबाट हटाउन माग गरेकी छन् ।
प्रेस काउन्सिल नेपालमा जसिताले दिएको उजुरीमा उक्त कार्यक्रमले समाजमा नकारात्मक असर पुर्याउने दाबी गरिएको छ ।
"प्रस्तोता ओशिन सिटौलाले चलाउँदै आएको उक्त शोको फर्म्याट र शोमा सोधिने प्रश्नहरूले जो कोहीलाई असर पु्याउने र समाजमा नकरात्मक असर पार्ने प्रष्ट छ", उनले प्रेस काउन्सिलमा दिएको उजुरीमा लेखेकी छन्, "मिडियाहरूलाई नियमन र अनुगमन गर्न बनेको प्रेस काउन्सिल नेपालले यस्तो शोलाई किन नियमन र अनुगमन गरेन ? किन बन्द गराइएन ? भन्ने प्रश्न छ ।"
गएको असार ८ गते ओशिन सिटौलाले सञ्चालन गर्न थालेको कार्यक्रम 'इट्स माई शो' मा अतिथिका रुपमा नेपाली फिल्मका दुई अभिनेत्री स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अतिथिका रुपमा थिए ।
कार्यक्रमकी होस्ट ओशिनले बजर राउन्डमा प्रश्न सोध्छिन्- ‘धिरज मगरपछि अहिले अनमोल केसीसँग डेट गरिरहेकी अभिनेत्री को हुन् ?’
प्रश्नको जवाफ दिन स्वस्तिमाले हतार गर्दै बजर बजाउँछिन् । र, जसिता गुरुङको नाम लिन्छिन् । लगत्तै साम्राज्ले भन्छिन्, ‘प्रदीप खड्का, धीरज मगर र अहिले अनमोल केसी।’
जसिताले अरुको निजी जीवनमाथि धावा बोलेको भन्दै कान्तिपुर टेलिभिजन र कार्यक्रम प्रस्तोता ओशिन सिटौलालाई कारबाहीको माग गरेको छन् ।
"उक्त शोको अन्तमा बज राउण्डमा अरुको जीवनमाथी धावा बोल्ने, अरुको गोपनीयता भंग गर्ने, अरुको व्यक्तिगत कुरालाई प्रस्तुत गर्ने, बिना प्रमाण अरुको भावना र जीवनमा ठेस पुर्याउने, हुँदै नभएको विषयमा हल्का टिकाटिप्पणी गर्ने, समाज भाँड्ने, अरुलाई विभिन्न बाहनामा आरोप लगाउने जस्ता प्रश्नहरु सोध्ने र अतिथिहरूले उत्तर दिने काम भयो", जसिताले लेखेकी छन्, "यो पत्रकार आचारसंहित र नेपालको संविधान विपरीतको कार्य हो ।"
जसिताले सबैजनाको नाम लिएर कार्यक्रममा भएको टिकाटिप्पणीले आफ्नो मानसिक अवस्था, मर्यादा र भावनामा ठेस पुगेको उल्लेख गरेकी छन् ।
"कान्तिपुर टेलिभिजन, प्रस्तोता ओशिन सिटौला, अतिथिहरू स्वस्तिमा खड्का र साम्राज्ञी शाहले मेरो व्यक्तिगत जीवनमा असर पुग्ने गरी जे जस्तो खालको हल्का टिकाटिप्पणी र आरोप लगाए, यसले मलाई मानसिक दबाव दिएको छ । मेरो मान, मर्यादा, भावनामा ठेस पुर्याएको छ", जसिताले काउन्सिलमा दर्ता गरेको उजुरीमा उल्लेख छ, "मेरो परिवार र समाजलाई समेत यसले असर पुर्याएको छ ।"
कान्तिपुर टेलिभिजनले विभिन्न सामाजिक सञ्जाल र माध्यममा राखेका उक्त भिडियोहरू हटाई मिडिया हाउस र कार्यक्रम प्रस्तोतालाई कारबाही गर्न उनले माग गरेकी छन् । उक्त कार्यक्रमले आफ्नो मान, सम्मान र प्रतिष्ठामा आँच पुर्याएको दाबी गर्दै उनले पूर्ण क्षतिपूर्ति समेत मागेकी न् ।
"आशा छ, प्रेस काउन्सिल नेपालले नेपालको संविधान, लोकतन्त्र, विधिको शासन र पत्रकार आचारसंहिता विपरित भएर प्रशारण हुने यस्ता समाज भड्काउने, अरुको जीवनमाथि धावा बोल्ने कार्यक्रम बन्द गराउनु हुनेछ", उनले निवेदनमा लेखेकी छन् ।
कान्तिपुर टिभीको तर्कः गसिपमात्र हो
कान्तिपुर टेलिभिजनले 'इट्स माई शो' कार्यक्रमको विवादबारे प्रेस काउन्सिल नेपाललाई जवाफ लेख्दै सार्वजनिक रंगमञ्चका चर्चाका विषयलाई गसिपका रुपमा उठाइएको तर्क गरेको छ ।
प्रेस काउन्सिल नेपालले असार १४ गते शुक्रबार काटेको २४ घण्टे पूर्जीको जवाफ दिँदै कान्तिपुर टिभीले कार्यक्रम मनोरञ्जनात्मक भएको र सार्वजनिक रङ्गमञ्चका विषयलाई गसिपका रुपमा उठाइएको लेखेको हो ।
यद्यपि आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रयास गर्ने पत्रमा उल्लेख छ । पढ्नुहोस्ः 'इट्स माई शो' को विवादित अंश 'गसिप' मात्रै भएको कान्तिपुर टिभीको तर्क
परिवर्तनपछिको पहिलो शो नै विवादमा
‘मिडिया पर्सनालिटी’ का रुपमा चिनिएकी ओसिन सिटौलाले आफू प्रस्तोता भएपछिको कार्यक्रमको पहिलो एपिसोडमा अभिनेत्रीहरू स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बोलाएकी थिइन् ।
ओसिन प्रस्तोताका रुपमा आउनुअघि यो कार्यक्रम सुरजसिंह ठकुरीले सञ्चालन गर्थे । सुरज ‘इट्स माई शो’ सुरु भएदेखि नै कार्यक्रमका प्रस्तोता थिए ।
ओसिनले होस्ट गरेको ‘इट्स माई शो’ मा र्यापिड फायर र बजर राउण्ड सेग्मेन्ट राखिएको थियो । दुबै राउण्डमा सोधिएका प्रश्नहरूले विवाद निम्त्याए ।
र्यापिड फायर राउण्डमा सोधिएका प्रश्नहरूमध्ये कुनैको जवाफ दिन नसकेमा कार्यक्रमका अतिथिले आफ्नो शरीरमा लगाएका सामग्रीमध्ये एउटा केही फुकाल्नु पर्ने उदेकखालको नियम राखिएको थियो ।
त्यस्तै बजर राउण्डमा होस्टले अरू कलाकारहरूको वैयक्तिक विषयमा प्रश्नहरू सोधेकी थिइन् भने अतिथिहरूले पनि सहजै जवाफ दिएका थिए ।
टेलिभिजन कार्यक्रममा वैयक्तिक विषयमा कुरा गरिएको भन्दै कलाकार, अभियन्ताहरू र सर्वसाधारणहरूले सामाजिक सञ्जालमा आपत्ति जनाएका छन् । पढ्नुस्ः त्यो ‘ह्वाट्स द फ्लप’, यो ‘इट्स माई शो’ !