कार्टुनिस्ट क्लब नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा जारी ‘नेपाली क्यारिकेचर २०८०’ सम्पन्न भएको छ । गत फागुन २७ गतेदेखि नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठानमा जारी प्रतियोगिता तथा प्रदर्शनी बिहीबार सकिएको हो ।
२०७४ साल देखि निरन्तर प्रदर्शन हुँदै आएको क्यारिकेचर प्रदर्शनीको यसपटकको संस्करणमा ४४ वटा कार्टुन राखिएको थियो ।
प्रदर्शनीमा प्रतियोगी र अप्रतियोगी गरी ३३ कार्टुनिस्ट र कलाकार सहभागी थिए। कार्टुनिस्ट क्लबका महासचिव रवि मिश्रका अनुसार प्रतियोगितामा क्लबका कार्यसमिति सदस्य र सल्लाहकार बाहेक सबै कलाकार, कार्टुनिस्ट र क्यारिकेचरिस्टहरूले भाग लिन पाउने नियम थियो । सहभागीमध्ये २२ जना प्रतियोगी थिए ।
“प्रतियोगितामा सहभागी हुन निश्चित मापदण्ड छन्, त्यही मापदण्ड अनुसार क्यारीकेचरहरू छनोट गरिएको हो,” महासचिव मिश्रले भने, ”कार्टुनिस्ट क्लबका पदाधिकारी र सल्लाहकारले बनाएका क्यारिकेचर प्रदर्शनमा छन्, तर उहाँहरू प्रतियोगी होइन ।“
प्रतियोगितामा अनुप गुरुङले बनाएको पत्रकार नारायण वाग्लेको कार्टुन प्रथम भएको छ । त्यस्तै अनिशा भण्डारीले बनाएको साहित्यकार कुमार नगरकोटीको कार्टुन दोस्रो र विश्व थापाले बनाएको समाजसेवी अनुराधा कोइरालाको कार्टुन तेस्रो भएको छ । प्रथम, द्वितीय र तृतीय हुने कलाकारले क्रमशः १५, १२ र आठ हजार रुपैयाँ पुरस्कार पाए ।
‘नेपाली क्यारिकेचर २०८० : प्रतियोगिता तथा प्रदर्शनी’ २०७४ बाट आयोजना हुँदै आएको छ । कार्टुनिस्टहरूबीच सिकाईको आदानप्रदान गर्न र कार्टुनिस्टहरूलाई हौसला प्रदान गर्न प्रदर्शनीलाई निरन्तरता दिँदै आएको महासचिव मिश्रले बताए ।
हेर्नुहोस् प्रदर्शनमा राखिएका कही कार्टुन:-





