सम्पादकले समाचार कक्षमा पत्रकारलाई काम लगाउँछ, मार्गनिर्देशन गर्छ, पठनीय समाचार लेख्न प्रेरित गर्छ । लुकेर बसेका विषयको खोजी गर्न सम्वाददाताहरूलाई अनुसन्धानमा लगाउँछ । पीडितका पक्षमा प्रमाण जुटाउँछ । गज्जब गज्जब रिपोर्टहरू तयार पार्छ । अन्यायविरुद्ध पाठक, स्रोता र दर्शकहरू (आम नागरिक) लाई पनि उद्धेलित बनाउँछ । समग्रमा, सम्पादक समाचार कक्षको नेता हो । सम्वाददाताहरूको आडभरोसा हो, शक्ति हो ।
जब समाचार कक्षबाट वर्षौँ काम गरेका, आफ्नो यौवन त्यही समाचार कक्षमा बिताएका पत्रकारहरूलाई व्यवस्थापनले अपमानपूर्वक निष्कासन गर्छ र, सम्पादक त्यसबारे थाहै नपाएजस्तो गर्छ, प्रभावित पत्रकारहरूका पक्षमा आफ्नो भूमिका खेल्न सक्दैन, ऊ जागिरे मात्र रहन्छ, लाए अह्राएको मान्ने कर्मचारी बन्छ ।
कान्तिपुर पब्लिकेसन्स लिमिडेटले ८२ जना पत्रकारलाई गैरकानुनी रुपमा निष्कासन तथा सरुवा गरेको विरोधमा हप्तौँदेखि आन्दोलित कान्तिपुरका पत्रकार बिहीबार साङ्केतिक रुपमा आफ्ना सम्पादक खोज्दै थिए । कारण- सम्पादक भैदिएका भए त यस्तो नहुनुपर्ने ! उनले थाहा पाउनुपर्ने !
नेपाल पत्रकार महासंघले बिहीबार माइतिघर मण्डलादेखि थापाथलीसम्म 'सम्पादकको खोजी' गरेको थियो । कान्तिपुरका प्रभावित पत्रकारलाई साथ दिन माइतिघर पुगेका करिब ५०/६० पत्रकारहरू माइतिघरदेखि सडकपेटी हुँदै कान्तिपुर मुख्यालय थापाथालीसम्म पुगेका थिए ।
सधैँ समाचार खोज्दै, फोटो खोज्दै, प्रमाण खोज्दै हिँड्ने पत्रकारहरू सडकमा आफ्नै सम्पादक खोज्दै हिँड्नु आश्यचर्यजनक मात्र होइन, दुःखद पनि थियो । किनभने, उनीहरूले आफूलाई सम्पादकविहीन भएको अनुभूत गरेका छन् । भन्दैछन्- सम्पादक भैदिएका भए यस्तो नहुनुपर्ने !
नेपालको प्रभावशाली मिडिया कान्तिपुरमा के भइरहेको छ ? कान्तिपुरको श्रम सङ्कटमाथि मिडिया कुराकानीको निगरानी पढ्नुहोस् ।
पत्रकारहरूले साङ्केतिक रुपमा कान्तिपुरका प्रधान सम्पादक उमेश चौहनसहित कान्तिपुर मिडिया ग्रुपका सबै प्लेटफर्मका सम्पादकहरूलाई भनिरहेका थिए- हामी तपाईँभित्र फेरि सम्पादक देख्न चाहन्छौँ, पहिला जस्तै । प्लिज ! सच्चिनुस् । अन्यायको होइन, न्यायको साथ दिनुस् । यो अभियान तपाईँको पनि हो ।

कान्तिपुरका पत्रकारहरूको दाबी छ- कान्तिपुर व्यवस्थापनले पटकपटक जारी गरेका विज्ञप्तिहरू सम्पादकहरूले लेख्छन्, तयार पार्छन् वा अन्तिम रुप दिन्छन् । ती विज्ञप्तिहरूमा उनीहरू सम्पादकका शब्द भेट्छन् । सम्पादकको शैली र शब्द पहिचान गर्न सम्वाददाताहरूलाई गाह्रो छैन । बरु विज्ञप्तिमा सम्पादकका शब्द भेटिए तर व्यवस्थापनको गैरकानुनी निर्णयका कारण सडकमा पुग्दा उनीहरूले सम्पादक भएको अनुभूत गर्न सकेनन् ।

काठमान्डू पोस्टका पत्रकार स्यामुयल क्षेत्री १० वर्षदेखि कान्तिपुरमा छन् । उनलाई पनि व्यवस्थापनले अकारण गैरकानुनी रुपमा सरुवा गरिदिएको छ । त्यसैले उनी पनि सम्पादकको खोजीमा हिँडेका छन् ।

पत्रकारहरू सडकमा उभिएर आफ्नो सम्पादक खोज्नु आश्चर्यजनक मात्र होइन, दुःखद् पनि देखिन्थ्यो । किनभने, सम्पादकहरू सम्पादक रहेनन् भने पत्रिका पत्रिका रहला ? समाचार, समाचार रहला ? लोकतन्त्र, लोकतन्त्र रहला ?

आफ्ना पत्रकारहरू पीडामा रहँदा बोल्न नसक्ने के सम्पादक ? पत्रकारहरूको प्रश्न सपाट छ ।

Editor, Editor, where have you gone ? पत्रकारहरू सोधिरहेका थिए ।

प्लेकार्डसहित नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरी ।

महासंघका केन्द्रीय सदस्य समेत रहेका फोटो पत्रकार विकास कार्की भन्दैछन्- सम्पादकज्यू, कृपया शिकारी नबन्नुस् ।

कोभिड महाव्याधिका बेला कान्तिपुर पब्लिकेसन्स लिमिटेडले लिएको सहुलियत कर्जा कहाँ गयो ? कान्तिपुरले आर्थिक अभावको कारण देखाएपछि पत्रकारहरूले यो पनि खोजिरहेकै छन् ।

सम्पादकज्यू, कृपया शिकारी नबन्नुस् ।

कान्तिपुरले आर्थिक अभावको कारण पत्रकारहरूलाई कामबाट निकालेको [कु] तर्क गरेपछि पत्रकारहरू कोभिड महाव्याधिका बेला कान्तिपुर पब्लिकेसन्स लिमिटेडले लिएको सहुलियत कर्जाको हिसाब पनि खोज्दैछन् ।

आकाशैमा चिल उड्यो फनन, सम्पादक हराएको छ/छैन भनन..... पत्रकारहरूलाई अझै पनि सम्पादक हराएजस्तो लागेको छैन । उनीहलाई शंका छ- कतै सम्पादक हराए कि । उनीहरू सम्पादकलाई खोज्न चाहन्छन् । सम्पादकको स्वतन्त्रता नखोसियोस् भन्ने उनीहरूको चाहना देखिन्छ ।

***

***

कान्तिपुरकी फोटो पत्रकार बिजु महर्जन पनि सम्पादक खोज्न हिँडेकी छन् । उनलाई सम्पादकलाई भेटे सोध्न मन छ- हाम्रो अपराध के हो ?

र, अन्त्यमा मुलुकको प्रभावशाली सञ्चारसंस्था कान्तिपुर पब्लिकेसन्सको सेन्ट्रल बिजनेस पार्क, थापाथलीस्थित मुख्यालयमा पुगेर पत्रकारहरूले धर्ना दिए । र, फर्के ।
कान्तिपुरको सम्पादकीय नेतृत्त्वले जति चाँडो आफ्ना पत्रकारहरूलाई पुनः काममा फर्किने वा श्रमजीवी पत्रकार ऐनअनुसार पाउने सेवासुविधासहित ससम्मान बिदा हुने वातावरण बनाउँछ, कम्तिमा त्यो दिशामा भूमिका खेल्छ, त्यति चाँडो यो दुःखद अवस्थाको अन्त्य हुनेछ ।
तर महासंघको नेतृत्वमा जारी श्रम अधिकारको अभियानलाई लाञ्छित गर्ने कान्तिपुर पब्लिकेसन्स लिमिटेडको कदम र महासंघसँगको बढ्दो दुरीलाई हेर्दा तत्काल त्यो अवस्था बनिहाल्ने भने देखिन्न ।
