पत्रकार दिलभुषण पाठकले कान्तिपुर टेलिभिजनमा व्यक्ति केन्द्रित स्वार्थ र पेशागत मर्यादाविपरीतका गतिविधि बढ्दै गएको जिकिर गरेका छन् ।
हालै कान्तिपुर टेलिभजनको सम्पादकीय नेतृत्वबाट राजीनामा दिएका उनले शनिबार फेसबुकमा कान्तिपुर टेलिभिजनमा व्यक्ति केन्द्रित स्वार्थ र पेशागत मर्यादा विपरीतको गतिविधि बढ्दै गएको बताएका हुन् ।
सहृदयी मनहरुप्रति नमन🙏@KantipurTVHD बाट अलग भएको जानकारी गराउन चाहन्छु । 🙏💐 pic.twitter.com/uyNbV4ahUG
— Dil Bhusan Pathak🇳🇵 (@DilBhusanPathak) December 30, 2023
"...आजको आवश्यकता जिम्मेवारीसहितको निष्पक्ष, स्वतन्त्र, जवाफदेही र पारदर्शी पत्रकारिताको हो," उनले लेखेका छन्, "पेशागत मर्यादाप्रतिको मेरो निष्ठाले पछिल्लो समय हावी हुँदै गएको व्यक्ति केन्द्रित स्वार्थ र पेशागत मर्यादाविपरीतको गतिविधिमा सहमति जनाउन दिएन।"
'टफ टक' का प्रस्तोतासमेत रहेका पाठक २०७८ भदौ १ गतेदेखि कान्तिपुर टेलिभिजनको प्रधान सम्पादक थिए । कान्तिपुरबाट राजिनामा दिए पनि उनले कार्यक्रमलाई थप सशक्त बनाउने बताएका छन् ।
"जहाँ रहे पनि पत्रकारिताको एउटा इमान्दार विद्यार्थीले देश र जनताप्रति निभाउने भूमिकामा कुनै सम्झौता गर्ने छैन," उनले लेखेका छन्, "तपाईँहरूले अत्यधिक रुचाएको 'टफ टक'लाई अगामी दिनमा अरू सशक्त बनाउन यहाँहरूको साथ र सहयोगको विश्वास लिएको छु ।"
पुष ६ गते राजीनामा दिएका उनले शनिबार यसको सार्वजनिक गरेका हुन् । कान्तिपुर टेलिभिजनले विजय पौडेललाई समाचार प्रमुख नियुक्त गरेको छ भने रुपेश श्रेष्ठलाई नायब समाचार प्रमुखमा नियुक्त गरेको छ ।