'जनआस्था साप्ताहिक' ले बनाएको पत्रकारिताको अर्को लज्जास्पद उदाहरण

'जनआस्था साप्ताहिक' ले बनाएको पत्रकारिताको अर्को लज्जास्पद उदाहरण

जनआस्था साप्ताहिकको वेबसाइटबाट लिइएका र्‍यान्डम स्क्रिनसट ।
  • मंसिर २१, २०८० बिहीबार ०२:१४

पत्रपत्रिकामा उच्चारण नै गर्न नसकिने स्त्रीद्वेषी सामग्री प्रकाशित हुनु आपत्तिजनक हो । तर जनआस्था साप्ताहिकलाई के को आपत्ति ? पछिल्लो प्रकरण यस्तै हर्कतको नियमितता हो ।

प्रसङ्ग केही समय अघि यो पत्रिकाले छापेका सामग्रीहरूको हो, जहाँ २०८० मङ्सिर ६ गतेको अङ्कमा व्यक्तिगत गोपनीयताको ख्याल नगरी समाचार र मङ्सिर १३ गतेको अङ्कमा 'फोटो' का नाममा आपत्तिजनक स्क्रिनसट प्रकाशित छन् ।

यसबारे बिस्तारमा बुझौँ ।

पत्रकारिताका उप-प्राध्यापक एवं पत्रकार ऋषिकेश दाहालले जनआस्था मा प्रकाशित एक सामाग्रीको (समाचार, विज्ञापन वा विचार छुट्याउन नसकिने) तस्बिर शेयर गरेका थिए ।

"अखबारले मुलधार भन्दै यस्तो छापेछ। थुक्क भन्न चाहन्छु", उनले  एक्स (पहिलेको ट्‍विटर) मा लेखेका छन्, "अनुहार चै मैले छोपे, अखबारले देखाएकै छ।" 

गम्भीर आपत्ति जनाउँदै दाहालले शेयर गरेको जनआस्थाको सामग्रीमा एक जना व्यक्तिको मिति नखुलेको फेसबुक पोस्टको स्क्रिनसट छ ।

महिलाको अनुहार स्पष्ट देखिने तस्बिर भएको सो पोस्टको स्क्रिनसटमा महिलाको यौनिक चरित्रमाथि लान्छना लगाइएको छ । सामग्रीमा अभद्र एवं उच्चारण नै गर्न नसकिने गालीगलौज लेखिएका छन् ।  

तत्काल टक्सार आर्थिक मासिकका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीले दाहाललाई एक्समा फोटोसपबाट सम्पादन गरिएको तस्बिर राख्नुभयो कि भनेर शंका गरे । प्रत्युत्तरमा दाहालले एक्समा पोस्ट गरेको तस्बिर आफैँले खिचेको बताए ।

न्यूनतम नैतिकता र पत्रकारिता आचारसंहिताको कोणबाट हेर्ने हो भने जनआस्था को सामग्री अस्वभाविक र आपत्तिजनक छ । 

ऋषिकेश दाहालले जनआस्थाको सामग्री आफैँले खिचेको पुष्टि गरे पनि थप निश्चिन्त हुन हामीले १३ मंसिर २०८० मा प्रकाशित जनआस्था साप्ताहिकको समाचार हेरेका थियौँ । तपाईँ पनि जनआस्था साप्ताहिकको वेबसाइटमा इपेपर हेर्न सक्नुहुन्छ ।      

मंसिर १३ का दिन बिना कुनै सन्दर्भ प्रकाशित समाचार भन्न नमिल्ने उक्त सामग्रीले न्यूनतम सभ्यता र शिष्टताको पालना गरेको देखिँदैन ।

महिलाको यौनिक चरित्रलाई लाञ्छना लगाउने शब्द भएको सामग्रीले निःसन्देह पाठकको मर्यादाको समेत अपमान गरेको छ । त्यसमाथि जनआस्थाले सामग्रीमा महिलाको अनुहार स्पष्ट देखिने तस्बिर प्रकाशित गरेर व्यैक्तिक गोपनीयताको पनि ठाडो उल्लङ्घन समेत गरेको देखिन्छ ।        

जनआस्था साप्ताहिकका अध्यक्ष एवं सम्पादक किशोर श्रेष्ठले प्रकाशित सामग्रीको बचाउ गर्दै उक्त सामग्री ‘फोटो विधा’ अन्तर्गतको समाचार हो भनेर दाबी गरेका छन् । उनले फोटो विधा दाबी गरेको सामग्रीमा एक व्यक्तिको आपत्तिजनक फेसबुक पोस्ट र त्यसका मुनी "सामाजिक सन्जालमा हुन्छ यसो गर्न ? एक दिन कसैले नि पर्दैन र मर्न ? मन नमिले छुट्टै बस्नु किन फेसबुक फोहोर, सदुपयोग गर्न जाने यसमै फल्छ मोहर !" नसिहतयुक्त क्याप्सन लेखिएको छ ।

महिलाको यौनिक चरित्रमाथि लाञ्छना लगाउने र गोपनीयता भङ्ग गर्ने फेसबुक पोस्टको मुनी लेखिएको नसिहत कुन कोणबाट समाचार हुन्छ ? जवाफ खोज्ने जिम्मा हामी पाठकलाई नै दिन्छौँ ।

प्राविधिक रुपमै फोटो विधा हुनका लागि फोटोको श्रोत खुलाइनुपर्छ ।

हामीले फोटो पत्रकार विकास कार्कीलाई जनआस्थाको 'फोटो' पठाएर सोध्यौँ- के यो फोटो हो ? तपाईँको अनुभव के भन्छ ?

कार्कीका अनुसार सोसल मिडियामा आएका तस्बिरले पत्रकारिताको मर्मलाई बोल्छ भने सम्बन्धितसँग अनुमति लिई क्रेडिट सहित प्रयोग गर्न सकिन्छ ।

"सञ्जालमा आएको कुरा प्रयोग गर्ने हो भने त्यो कोलमको नाम पनि सामाजिक संजाल भन्ने हुनु पर्‍यो। तर त्यो पनि पत्रकारिताको अचारसंहिता भित्र रहेर  मात्रै प्रकाशित गर्ने हो", कार्की भन्छन्, "फोटो भन्ने कोलम एउटा इन्डिपेन्डेट (स्वतन्त्र) फोटो जसले स्पष्टसँग एउटा सन्देश दिएको हुन्छ,  त्यस्ता फोटो प्रयोग गर्नका लागि प्राक्टिस (अभ्यास) गरिएको हो।" समाचार साम्रागी वा फोटो दुबै प्रकाशित हुँदा स्पष्ट रुपमा आचारसंहिता भित्र रहेको हुनुपर्ने कार्की बताउँछन् ।

अघिल्लो अङ्कमा समाचार, अर्को अङ्कमा फोटोका नाममा स्क्रिनसट

श्रेष्ठले आफ्नो फेसबुक पोस्टमा उनले ‘फोटो विधा’सँग सम्बन्धित टेक्स्ट समाचार पनि छ भन्दै समाचारको तस्बिरको हवाला दिएका छन् ।

जब सो टेक्स्ट समाचारलाई हामीले ‘फोटो विधा’ प्रकाशित भएको दिन अर्थात् १३ मंसिरका दिन प्रकाशित जनआस्था साप्ताहिकमा खोज्यौँ, तब सो समाचार कतै भेटिएन ।

बरु अघिल्लो अंक अर्थात् ६ मंसिरका दिनको जनआस्था पल्टाउँदा श्रेष्ठले हवाला दिएको समाचार भेटियो । 

उक्त समाचारको शीर्षक छ- 'पति, पत्नीले एकअर्कालाई मनपरी लेख्न पाइन्छ ?'

समाचारको शीर्षकले नै पाठकलाई अल्मल्याउँछ । पत्रकारितामा चर्चित मानिने हेडलाइन (समाचार शीर्षक) बारे बेटरिजको नियम अनुसार कुनै पनि समाचारको शीर्षक यदि प्रश्नमा टुंगिन्छ भने त्यसको उत्तर ‘हुन्न’ भन्ने नै हुन्छ । 

"‘हुन्न’ भन्ने उत्तर आउनेगरी समाचार नै पस्किन खोजेको हो भने पनि प्रश्नवाचक समाचार बान्छनीय मानिँदैन । समाचार शीर्षकले प्रश्न तेर्स्याउँदा पत्रकार नै आफ्नो समाचारप्रति निश्चिन्त छैन भन्ने देखाउँछ । अर्थात, प्रश्नवाचक हेडलाइन भएको समाचारले समाचारमा भन्न लायक सामग्री केही पनि छैन भन्ने देखाउँछ । यसबाहेक यस्ता समाचारले पाठकलाई समाचार पस्किनुको साटो पाठकसँग हाजिरीजवाफ खेल्न खोज्छ, जुन पत्रकारिताको उद्देश्य होइन ।" 

समाचार कुल ५५० शब्दको छ र समाचारमा कहीँ कतै संगति देखिँदैन । समाचार शीर्षकसँग मिल्ने प्रसङ्ग जम्मा १९८ शब्दको छ । र, बाँकी समाचारमा असम्बन्धित विषयवस्तु समावेश गरिएको छ ।

प्रश्नवाचक शीर्षक सहितको यो समाचार तयार गर्ने पत्रकार आफूले के समाचार पेश गरिरहेको छु भन्नेमा पनि अनभिज्ञ देखिन्छ ।

एक व्यक्तिले पारपाचुके भैसकेकी श्रीमतीलाई यौनिक रुपमा लाञ्छित गर्ने गरी अश्लील गालीगलौज गरेको फेसबुक पोस्टको प्रसङ्ग उक्त 'समाचार' मा छ । त्यही गालीगलौज गरेको फेसबुक पोस्टलाई अर्को साताको अंकमा ‘फोटो विधा’ भनेर छापिएको छ ।

‘फोटो-विधा’ छापिनुअगावै  पूर्व-श्रीमतीलाई स्त्रीद्वेषी गालीगलौज गर्ने व्यक्तिले आफूले प्रयोग गरेको शब्दप्रति खेद जनाउँदै उक्त आपत्तिजनाक पोस्ट डिलिट गरिसकेका थिए । निःसन्देह ती व्यक्तिले लेखेका पूर्व-श्रीमती लक्षित शब्द महिला हिंसा अन्तर्गत पर्छन् र सभ्य समाजमा त्यस्ता शब्द त्याज्य हुन्छन् ।

तर ती व्यक्ति आफैँले गल्ती स्वीकारेको अवस्थामा समाचार बनाएर छाप्नुको औचित्य के हो ? समाचार नै छाप्नु पर्ने नै हो भने लाञ्छित गरिएकी महिलाको प्रष्ट देखिने तस्बिर सहित र अपाच्य शब्दलाई किन छोपिएन ?

असभ्यता प्रदर्शन र पाठकको मर्यादामा आँच पुर्‍याउने मात्रै नभई ‘फोटो विधा’ले  व्यैक्तिक गोपनीयता हनन गरेको छ भने पत्रकार आचारसंहिताको पनि धज्जी उडाएको छ ।

तीन दशकदेखि सञ्चालित जनआस्था साप्ताहिकका अध्यक्ष एवं सम्पादक किशोर श्रेष्ठ मिडियामा पत्रकार आचार संहिताको अनुगमन गर्ने निकाय प्रेस काउन्सिल नेपालका पूर्व कार्यबाहक अध्यक्ष समेत हुन् । उनी पटक पटक काउन्सिलको सदस्य समेत भएका छन् ।

त्यसअर्थमा, उनले मैले जे गरेपनि हुन्छ भन्ने मानसिकताको प्रदर्शन गरेका छन् । साप्ताहिक हेर्ने जो कोहीलाई पनि लज्जित बनाउने यो ‘फोटो विधा’लाई लिएर नियामक निकाय प्रेस काउन्सिलको मौनता आश्चर्यजनक छ । यस विषयमा मिडिया कुराकानीले बुझ्न खोज्दा काउन्सिलका दुई उच्च अधिकारी बोल्न मानेनन् ।

प्रेस काउन्सिलले उजुरी बिनै पनि कहिलेकाहीँ स्वअनुगमन गर्छ । तर यो खास प्रकरणमा त्यस्तो भएको देखिँदैन ।

तपाईँलाई अचम्म लाग्न सक्छ, अफवाह फैलाएको भनेर १८ युट्युब च्यानललाई कारबाही गर्न सिफारिस गर्ने प्रेस काउन्सिल आफ्नै पूर्व कार्यबाहक अध्यक्ष सम्पादक रहेको जनआस्थामा छापिएको यो भद्दा सामग्रीलाई देख्दैन ।

मौनता वा बेवास्ता जे भए पनि यो घटना पत्रकारिता क्षेत्रमा रहेको दण्डहीनताको प्रमाण हो र यसले पत्रकार र सञ्चारगृहले जे गर्दा पनि हुन्छ भन्ने सन्देश दिन्छ । जुन पत्रकारिताका लागि दुःखद् र लज्जास्पद हो ।


Related Story

सञ्चार सामग्री जफत गर्नु संविधानको ठाडो उल्लंघन : पत्रकार महासंघ

जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायतका सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको

किशोर श्रेष्ठ पक्राउ प्रकरणमा महिला आयोग अध्यक्षको आफ्नै पीडा र गम्भीर खुलासा

'पटक पटक प्रेस काउन्सिल जाँदा पनि न्याय पाइनँ' जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयता हननको मुद्दामा पक्राउ गरेपछि

किशोर श्रेष्ठ पक्राउबारे प्रेस काउन्सिल नेपालः ‘कार्यालयमा प्रहरी छापा’ को विरोध गर्दै पत्रकारलाई पनि जिम्मेवार बन्न आग्रह

प्रेस काउन्सिलले किशोर श्रेष्ठ पक्राउ र उनको सञ्चार गृहमा छापा मारिएको शैलीप्रति आपत्ति जनाउँदै पत्रकारहरूलाई स्वतन्त्रताको नाममा स्वच्छन्द नहुन आग्रह

किशोर श्रेष्ठ पक्राउ प्रकरणः के भन्छ प्रेस काउन्सिल ऐन र आचारसंहिताको ‘विधि’?

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ गरेपछि सञ्चार जगत् र कानुनी वृत्तमा एउटा बहस सुरु

किशोर श्रेष्ठ पक्राउ अघिका दुई मुख्य घटना

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित उनको निवासबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीविरुद्ध वैयक्तिक

मिडियाका कटु आलोचक उमेश श्रेष्ठ प्रेस काउन्सिलको नेतृत्त्वमा

नेपाली पत्रकारितामा उमेश श्रेष्ठ 'सालोक्य' एउटा यस्तो नाम हो, जसले गएका दुई दशकदेखि मूलधारका मिडियाका ससाना गल्तीदेखि ठूला विचलनसम्मलाई निर्भयतापूर्वक

फरक फरक निकायमा एउटै व्यक्ति दाबेदारः विज्ञता कि पदको भोक ?

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण र गोरखापत्र संस्थानको नेतृत्वका लागि आवेदन दिएका नामहरूको प्रारम्भिक लेखाजोखा सरकारले प्रेस काउन्सिल नेपाल, गोरखापत्र संस्थान

मोनेटाइजेसन मोहदेखि सीमामा विदेशी मिडियाको अवैध सक्रियतासम्म, पत्रकारितामा देखिएका ७ विकृति

प्रेस काउन्सिल नेपालले पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएका केही नकारात्मक प्रवृत्तिहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार आचारसंहिता