समाज र प्रविधिबीचको अन्तरसम्बन्ध, खासगरी सञ्चार प्रविधि र विभिन्न चरणका मानव समाजबीचको सम्बन्धका बारेमा व्यापक प्राज्ञिक अध्ययनहरू हुँदै आएका छन् । यस विषयमा क्यानेडियन विद्वान् मार्सल मक्लुहान वा बेलायती माक्र्सवादी चिन्तक रेमन्ड विलियम्सदेखि कैयौँ अध्येताका विश्लेषणहरू उल्लेखनीय छन् । मक्लुहानले छापायन्त्रको विकासले मानव सभ्यतालाई कसरी नयाँ चरणमा प्रवेश गरायो भन्ने विषयमा विस्तारपूर्वक अध्ययन गरेका छन् । मध्य पन्ध्रौँ शताब्दीमा जर्मनीमा गुटेनवर्गले स्थापना गरेको छापायन्त्र वस्तुतः पश्चिमा समाजमा प्राज्ञिक उन्नयन, विचार र बहसको विस्तार गर्न युगान्तकारी साधन थियो भन्ने उनको विश्लेषण छ । उनी त गुटेनवर्ग प्रेसले विचार, पक्षधरता वा प्राज्ञिक चिन्तनको बेग्लै ब्रह्माण्ड सिर्जना गरेको ठान्छन् । विलियम्सले भने खासगरी बेलायतमा टेलिभिजन प्रसारणको सुरुवातको चर्चा गर्दै प्रविधि र समाजबीचको अन्तरसम्बन्धका दुईवटा अवधारणाको समीक्षा गरेका छन् ।
कुनै समाजमा प्रविधिको आवश्यकता महसुस भएपछि त्यसको विकास हुन्छ कि प्रविधि स्वतन्त्र रूपले विकसित हुँदै समयक्रममा त्यसले समाजको रूपान्तरण गर्छ ? उनले दुवै प्रश्नका विषयमा विस्तारपूवर्क चर्चा गर्न सुरु गर्नुभन्दा अघि एउटा साझा निष्कर्ष प्रस्तुत गरेका छन् । उनको निष्कर्ष छ, टेलिभिजनले विश्वभरको मानव समाजको रूपान्तरण गरेको छ । प्रविधिले समाजलाई डोर्याउँछ कि समाजले प्रविधिको आवश्यकता बोध गरेपछि त्यहीअनुसारको प्रविधिको विकास गर्छ ? यस्तो प्रश्नमा घोत्लिनुअघिको उनी दुवै निचोडलाई सूत्रबद्ध गर्न सकिन्छ भन्छन्, जेसुकै भने पनि प्रविधिले मानव समाजलाई रूपान्तरित गर्दै लगेको छ । पढ्नुस् गोरखापत्र दैनिकमा प्रकाशित कुन्दन अर्यालको लेख ।