२०७८ बैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भन्दै ३० वटा निर्णयहरू गरेको छ । यी ३० निर्णयमा के छ जुन तपाईँले थाहा पाउनैपर्छ ? कुन कुन क्षेत्र यी निर्णयहरूबाट प्रभावित हुन्छन् ?
विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारीको नेपालमा समेत सङ्क्रमण बढ्दै गएको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गर्दै नेपाल सरकारले नयाँ आदेश जारी गरेको छ । सरकारको ३० बुँदे आदेशलाई सजिलोसँग बुझ्नुहोस् ।
१) शिक्षण संस्था बन्द, पूर्व निर्धारित परीक्षा यथावत
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सबै महानगरपालिका तथा नगरपालिका, विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा महानगरपालिका, इटहरी, धरान, जनकपुर, हेटौंडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगन्ज तथा धनगढी उपमहानगरपालिका, मेचीनगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर तथा भीमदत्तनगर नगरपालिकामा रहेका शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर तालिम केन्द्र) २०७८ वैशाख मसान्तसम्म बन्द । यी स्थानका शैक्षिक संस्थामा भौतिक रूपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्ने । विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने ।
२) सपिङ मल खुला, मनोरञ्जन व्यवसाय बन्द
एक पटकमा २५ जना भन्दा बढी हुनु नहुने, कुनै पनि सामान अनावश्यक नछुने, दुई व्यक्तिको बीचमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने, पटक पटक साबुन पानीले हात धुने वा सेनिटाइज गर्ने गरी सपिङ मल, डिपार्टमेण्टल स्टोर सञ्चालन गर्ने । जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने गराउने दायित्व सम्बन्धित व्यवस्थापक वा सञ्चालकको हुने । सिनेमा हल, पार्टी प्यालेस, डान्स बार दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम २०७८ वैशाख मसान्तसम्म बन्द गर्ने ।
३) मठ मन्दिरमा नित्य पूजामात्र
मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी २०७८ वैशाख मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने।
४) पार्टी प्यालेसका लागि सिडिओको स्वीकृति चाहिने
मेला महोत्सव, जात्रा पर्व, विवाह, न्वारान, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा २५ जना भन्दा बढी नहुने र जनस्वास्थ्यका मापदण्डको पालना हुने गरी मात्र सञ्चालन गर्ने विवाह वा व्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नु पर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिई २५ जनामा नबढ्ने गरी गर्ने।
५) सभा, सम्मेलन, गोष्ठी, सेमिनार
सभा, सम्मेलन, गोष्ठी, सेमिनार, समीक्षा बैठक, तालीम, प्रशिक्षण जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने भौतिक रूपमा उपस्थित भई गर्ने पर्ने भएमा बढीमा २५ जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने । तर सुरक्षा निकायको आन्तरिक तालिमको हकमा जनस्वास्थ्यका मापदण्ड पालना हुने व्यवस्था मिलाई सञ्चालन गर्न सकिने ।
६) सार्वजनिक यातायात
(क) सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, (ख) सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, (ग) साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्नु पर्ने, (घ) चालक तथा सहचालकले मास्क रभाइजर लगाउनु पर्ने, (ङ) सवारी साधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नु पर्ने, (च) सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा दश रुपैयाँ लिई मास्क उपलब्ध गराउनु पर्ने, छ) मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने, ज) लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु चढाउने गरी शुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) लाई उपलब्ध गराउने ।
७) आन्तरिक हवाई उडान
(क) चालक दल तथा सबै यात्रुलाई मास्क तथा भाइजर अनिवार्य गर्ने, (ख) हवाई जहाजभित्र सेनिटाइजरको व्यवस्था पर्ने, (ग) प्रत्येक उडान पछि हवाई जहाजलाई र व्यागेजलाई निसङ्क्रमित गर्नु पर्ने, (घ) चेक इन, बोर्डिङ, व्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भिडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्ने ।
८) कार्यालय, पसल
कार्यालय र पसल जस्ता सार्वजनिक स्थलमा सेनिटाइजर र मास्कको प्रयोग अनिवार्य गर्ने कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा दश रुपैयाँ लिई मास्क उपलब्ध गराउने मास्क नलगाउने व्यक्तिलाई कार्यालय तथा पसलमा प्रवेश गर्न नदिने।
९) होटेल तथा रेस्टुरेन्ट
होटेल तथा रेस्टुरेन्टले बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म देहाय बमोजिमका मापदण्ड पालना गरी सेवा दिने र सो समय पश्चात् टेकअवे र होम डेलिभरी मात्र उपलब्ध गराउने :
(क) होटेल तथा रेष्टुरेन्टका कामदारले अनिवार्य रुपमा मास्क, भाइजर र पञ्जा, (ख) होटेल तथा रेष्टुरेन्टमा प्रवेश गर्ने सबै सेवाग्राहीलाई मास्क अनिवार्य गर्ने, (ग) कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नु पर्ने, (घ) सेनिटाइजरको व्यवस्था गर्नु पर्ने, (ङ) होटेल तथा रेष्टुरेण्टलाई नियमित रुपमा निसङ्क्रमित गर्नु पर्ने, (च) होटेल तथा रेष्टुरेण्टमा कुनै सेवाग्राही मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा दश रुपैयाँ लिई मास्क उपलब्ध गराउनु पर्ने र मास्क नलगाउने व्यक्तिलाई होटेल तथा रेष्टुरेण्ट प्रवेश गर्न नदिने।
राष्ट्रिय राजमार्गहरूमा सञ्चालित होटेल तथा रेस्टुरेन्टहरूले जनस्वास्थ्यका मापदण्डहरू पालना गरी भिडभाड नहुने व्यवस्था मिलाई आलोपालो गरी सेवा दिने ।
१०) बैंकमा भुक्तानी विद्युतीय प्रणाली
सार्वजनिक तथा निजी सेवा प्रदायकले सम्भव भएसम्म विद्युतीय प्रणाली मार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाउने । नेपाल राष्ट्र बैङ्कले सबै बैंक तथा वित्तीय संस्थामा सेवा तथा कार्यको लागि विद्युतीय भुक्तानी प्रणाली लागू गर्न सहजीकरण गर्ने सेवा शुल्क र महसुल अग्रीम वा एकमुष्ट रुपमा बुझाउन चाहनेलाई सो बमोजिम गर्न सक्ने गरी व्यवस्था मिलाउने ।
११) स्वास्थ्य सेवाहरू
नियमित रूपमा सञ्चालन हुनु पर्ने स्वास्थ्य सेवाहरू जनस्वास्थ्यका मापदण्ड पालना गरी नियमित सञ्चालन गर्ने।
१२. स्वास्थ्य मन्त्रालयले के गर्ने ?
कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार र अनुगमन सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६ वटा काम गर्नेछ ।
(क) रोगको रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि राष्ट्रिय मापदण्ड तथा जनशक्ति परिचालन सहितको प्रतिकार्य योजना जारी गर्ने ।
(ख) अस्पतालमा निश्चित बेड छुट्याई कोभिड केयर युनिटमा सेवा दिने सम्बन्धमा आवश्यक आदेश जारी गर्ने ।
(ग) दुई सय भन्दा बढी बेड क्षमता भएका सरकारी, सामुदायिक, निजी, गैरसरकारी (निजी मेडिकल कलेज, प्रतिष्ठान अस्पताल समेत) अस्पतालसँग सङ्क्रमितको उपचारका लागि सेवा सम्झौता गर्ने, अनुगमन गर्ने र शोधभर्ना भुक्तानी गर्ने ।
(घ) सङ्क्रमणको जोखिमको अवस्था हेरी सार्वजनिक, निजी तथा गैरसरकारी स्वास्थ्य संस्था, जनशक्ति, औजार, उपकरण, भवन तथा स्थान स्वास्थ्य सेवा र कार्यको लागि प्रयोग गर्न सक्ने ।
(ङ) सूचीकृत अस्पताललाई सङ्क्रमितको उपचार व्यवस्थापनमा लाग्ने खर्च, संस्थागत आइसोलेसनमा रु. २,०००/- (दुई हजार), अस्पतालको आइसोलेसनमा रु. ३,५००/ ( तीन हजार पाँच सय), मध्यम जटिल केशको उपचारको लागि रु. ७,०००/- (सात हजार) र गम्भीर बिरामीको आइ.सी.यु.मा भेन्टिलेटर सहितको उपचारको लागि रु. १५,०००।- (पन्ध्र हजार प्रति व्यक्ति प्रति दिन निर्धारित ढाँचाको प्रतिवेदन अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा उपचार खर्चको शोधभर्ना भुक्तानी गर्ने
च) केश इन्भेस्टिगेसन तथा कन्ट्याक्ट ट्रेसिड र आइसोलेसन व्यवस्थापनमा लागेको खर्च निर्धारित ढाँचाको प्रतिवेदन अनुसार प्रत्येक महिना सम्बन्धित स्थानीय तहलाई शोधभर्ना भुक्तानी गर्ने ।
(छ) प्रवेश बिन्दुमा गरिने हेल्थ डेस्क सञ्चालन र स्क्रिनिङ, सङ्क्रमितका लागि यातायात व्यवस्था र संस्थागत आइसोलेसन व्यवस्थापनमा लागेको खर्च निर्धारित ढाँचाको प्रतिवेदन अनुसार प्रत्येक महिना सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालयलाई शोधभर्ना भुक्तानी गर्ने ।
१३) परीक्षण तथा उपचार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेका प्रयोगशाला र अस्पतालले सो मन्त्रालयले जारी गरेको कोभिड १९ सम्बन्धी परीक्षण निर्देशिका र उपचार प्रोटोकल बमोजिम कोभिड १९ को परीक्षण तथा उपचार निःशुल्क रूपमा गर्ने ।
१४) सिमानामा होल्डिङ सेन्टर
कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले सम्बन्धित प्रदेश सरकारको समन्वयमा गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेलहिया, विरगन्ज, रानी तथा काँकडभिट्टा अन्तर्राष्ट्रिय स्थलगत सीमा नाका र आवश्यकता अनुसार अन्य थप अन्तर्राष्ट्रिय स्थलगत सीमा नाकाको नजिकै पायक पर्ने स्थानमा कम्तीमा एकहजार क्षमताको होल्डिङ सेन्टरको निर्माण गर्ने।
१५) प्रदेश सरकारका १० काम
(क) २५ देखि २०० बेड क्षमता भएका सरकारी, सामुदायिक, गैरसरकारी र निजी अस्पतालसँग सङ्क्रमितको उपचारका लागि सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालयले सेवा सम्झौता गर्ने, अनुगमन गर्ने र शोधभर्ना भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सिफारिस गरी पठाउने ।
(ख) नेपाल सरकारले तोकेका अन्तर्राष्ट्रिय स्थलगत सीमा नाकाका प्रवेश विन्दुमा हेल्थ डेस्क सञ्चालन गर्ने साथै प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई प्रति व्यक्ति दश वटा मास्क निःशुल्क उपलब्ध गराउने ।
(ग) अन्तर्राष्ट्रिय स्थलगत सीमा नाकाबाट प्रवेश गरेका र कोभिड १९ को चिन्ह वा लक्षण भएका व्यक्तिको एन्टिजेन परीक्षण गर्ने र नतिजा नेगेटिभ आएको भए तापनि त्यस्ता व्यक्तिको हकमा समेत पी. सी. आर. परीक्षण गर्ने व्यवस्था मिलाउने । एन्टिजेन वा पी. सी. आर. परीक्षणबाट पहिचान भएका सङ्क्रमित व्यक्तिहरूसँग निकट सम्पर्कमा आएका व्यक्तिहरूको समेत पहिचान गरी एन्टिजेन परीक्षण गर्ने।
(घ) प्रवेश विन्दुका हेल्थ डेस्कमा एन्टिजेन वा पी. सी. आर. परीक्षण गर्दा नतिजा पोजिटिभ आएका सङ्क्रमितलाई अस्पताल वा आइसोलेसन केन्द्र वा होल्डिङ्ग सेन्टरमा सुरक्षित रूपमा पठाउन स्थानीय तहसँग सहकार्य गर्ने र सङ्क्रमणको शङ्का नभएका अन्य व्यक्तिलाई स्वास्थ्य मापदण्ड पालना गराई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी गन्तव्यमा पठाई कम्तीमा दश दिन अनिवार्य क्वारेन्टिनमा राख्न लगाउने।
(ङ) होल्डिङ्ग सेन्टर, संस्थागत आइसोलेसन र संस्थागत क्वारेन्टिनको व्यवस्थापन गर्ने।
च) आधारभूत अस्पताल, जिल्ला अस्पताल र प्रादेशिक अस्पतालमा गरिने सङ्क्रमितको उपचार व्यवस्थापनको समन्वय र अनुगमन गर्ने ।
(छ) उपचार सम्बन्धमा अस्पताल व्यवस्थापन (प्रयोगशाला अक्सिजन तथा भेन्टिलेटर समेत), रेफरल, एम्बुलेन्स र एयर लिफ्ट समेतको व्यवस्था मिलाउने ।
(ज) प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्र सञ्चालन गर्ने प्रदेश स्तरीय जोखिम मूल्याङ्कन गरी सोको प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रत्येक सा पठाउने।
(झ) प्रदेशभित्र चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य आवश्यक जनशक्ति तथा आवश्यकता अनुसार स्वयंसेवक परिचालन गर्ने गराउने।
(ञ) क्वारेन्टिन, आइसोलेसन, केश इन्भेस्टिगेसन, कन्ट्याक्ट ट्रेसिङ, उपचार व्यवस्थापन, परीक्षण लगायतका कार्यको लागि अत्यावश्यक सामग्री खरिद तथा जनशक्ति परिचालनको आवश्यक व्यवस्था मिलाउने ।
१६) स्थानीय तहका १० काम
(क) १५ बेडसम्म क्षमता भएका सरकारी, सामुदायिक, गैरसरकारी र निजी अस्पतालसँग सङ्क्रमितको उपचारका लागि सम्झौता गर्ने, अनुगमन गर्ने र शोधभर्ना भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सिफारिस गरी पठाउने ।
(ख) होम क्वारेन्टिन र होम आइसोलेसनमा रहेका व्यक्तिको स्वास्थ्य निगरानी तथा अनुगमन गरी थप जाँच वा उपचार आवश्यक पर्ने देखिएमा प्रयोगशाला र अस्पतालसँग समन्वय गरी त्यस्तो संस्थासम्म पुन्याउने काममा सहजीकरण गर्ने।
(ग) कोभिड १९ को चिन्ह तथा लक्षण भएका व्यक्तिको एन्टिजेन परीक्षण गर्ने र नतिजा नेगेटिभ आएका व्यक्तिको पी. सी. आर. परीक्षण गर्ने व्यवस्था मिलाउने । नतिजा पोजेटिभ आएका व्यक्तिको निकट सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी एन्टिजेन परीक्षण गर्ने।
(घ) आवश्यकता अनुसार आफ्नो स्थानीय तह भित्र स्वाब सङ्कलन गर्ने व्यवस्था मिलाउने ।
(ङ) स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य आवश्यक जनशक्ति तथा आवश्यकता अनुसार स्वयं सेवक परिचालन गर्ने गराउने ।
(च) स्थानीय तहमा द्रुत प्रतिकार्य समूह गठन गरी तयारी अवस्थामा राख्ने।
(छ) कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको शवको व्यवस्थापन वा अन्त्येष्टी गर्दा आफ्नो धर्म परम्परा र संस्कृति अनुसार सम्बन्धित परिवार वा समुदायले पच्चीस जना भन्दा बढी मलामी नहुने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी गर्ने व्यवस्था मिलाउने। तर सो बमोजिम गर्न सम्भव नभएमा "कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ अनुसार नेपाली सेनाले गर्ने।
(ज) क्वारेन्टिन, आइसोलेसन, केश इन्भेस्टिगेसन कन्ट्याक्ट ट्रेसिङ, उपचार व्यवस्थापन, परीक्षण लगायत अत्यावश्यक सामग्री खरिद तथा जनशक्ति परिचालनका लागि आवश्यक व्यवस्था मिलाउने।
(झ) सार्वजनिक यातायातमा यात्रु चढ्न र ओर्लन निर्धारण गरिएको स्थानमा सेनिटाइजर वा हात धुने साबुन पानीको व्यवस्था मिलाउने ।
(ञ) उपर्युक्त कार्यहरुमा सहयोग तथा सहजीकरण गर्न विद्यमान टोल सुधार समिति वा उपभोक्ता समितिलाई परिचालन गर्ने र आवश्यकता अनुसार त्यस्ता समिति गठन गरी परिचालन गर्ने।
१७) टोल सुधार समिति वा उपभोक्ता समितिका काम
(क) कोभिड १९ सम्बन्धमा व्याप्त भ्रम हटाउने, समुदायमा सही सूचना सम्प्रेषण गर्ने तथा जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न प्रोत्साहन गर्ने ।
(ख) परीक्षण, क्वारेन्टिन, आइसोलेसन तथा उपचारको लागि सम्पर्क गर्न आवश्यक सहयोग गर्ने,
(ग) क्वारेन्टिन वा आइसोलेसनमा बस्नु पर्ने व्यक्ति त्यसरी क्वारेन्टिन वा आइसोलेसनमा बसे नवसेको सूचना स्थानीय तहलाई दिने ।
(घ) घर वा होटेलमा क्वारेन्टिन वा आइसोलेसनमा बसेका व्यक्तिलाई आवश्यकता अनुसार स्वास्थ्य सम्बन्धी जानकारी उपलब्ध गराउने तथा परामर्श दिने, आवश्यकता अनुसार फलोअप गर्ने र सूचना अद्यावधिक गर्न कन्ट्याक्ट ट्रेसिङ समूहलाई सहयोग गर्ने ।
(ङ) दुई मिटरको भौतिक दुरी, मास्कको अनिवार्य प्रयोग, सार्वजनिक स्थानमा साबुन पानीले हात धुने लगायत जनस्वास्थ्यका मापदण्डहरू पालना भए नभएको सूचना स्थानीय तहलाई दिने ।
(च) साठी वर्ष माथिका नागरिक, दीर्घ रोग भएका व्यक्तिलाई घर बाहिर नजान अनुरोध गर्ने र जानै पर्ने अवस्था भएमा जनस्वास्थ्यका मापदण्ड पालना गरी गन्तव्यसम्म पुग्न र फर्किन सहजीकरण गर्ने ।
(छ) कोभिड १९ विरुद्धको अभियानमा स्थानीय सङ्घ संस्था, क्लब, शिक्षक तथा स्वयं सेवक परिचालनका लागि स्थानीय तहलाई सहयोग गर्ने।
१८) नागरिकका रुपमा हामीले के गर्ने ?
(क) जनस्वास्थ्यका मापदण्डको पूर्ण रूपमा पालना गर्ने।
(ख) घर बाहिर निस्कँदा अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, प्रयोग गरिएका विसर्जन गर्नु पर्ने मास्क बन्द डस्टबिन वा प्लास्टिक झोलामा बन्द गरी सुरक्षित साथ राखी पाँच दिन पछि मात्र विसर्जन गर्ने ।
(ग) घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्ने र प्रयोग गरेको मास्क नफाल्ने ।
(घ) विदेशबाट नेपालमा आउँदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट ट्रेसिडमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भए तापनि कम्तीमा दश दिन होम क्वारेन्टिनमा अनिवार्य रुपमा बस्ने।
(ङ) पी.सी. आर. क्षणका लागि प्रयोगशालामा स्वाव दिए पछि नतिजा नआएसम्म बाहिर हिँडडुल, भेटघाट र बैठक नगर्ने।
(च) स्थानीय तहमा क्वारेन्टिन र आइसोलेसनमा बसेका व्यक्तिलाई सक्दो सहयोग गर्ने ।
(छ) अन्य व्यक्तिले जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा स्थानीय तह, स्थानीय प्रशासन, स्वास्थ्य संस्था, टोल सुधार समिति, उपभोक्ता समिति वा सम्बद्ध अन्य निकाय वा संस्थालाई यथाशीघ्र जानकारी गराउने
(ज) होम आइसोलेसनमा बसेका व्यक्ति स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहने र स्वास्थ्य सम्बन्धी कुनै समस्या भएमा तुरुन्तै नजिकको अस्पतालमा जाने
१९) यसबाहेकले के गर्ने ?
आदेशमा उल्लेख भए बाहेकका अन्य सेवा वा कार्यसँग सम्बन्धित निकाय, सार्वजनिक, निजी, गैरसरकारी संघ संस्था, कल कारखानाले त्यस्तो सेवा वा कार्य सञ्चालन गर्दा गराउँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गराउने।
व्यावसायिक, पेशागत र सामुदायिक सङ्घ संस्थाले यो आदेशको पालना गर्ने गराउने र कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनमा सहयोग गर्ने।
२०) उच्च जोखिम भएको क्षेत्र
महानगरपालिकामा १००० भन्दा बढी उपमहानगरपालिकामा ५०० भन्दा बढी नगरपालिका वा गाउँपालिकामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित देखिएमा त्यस्तो महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिका क्षेत्रलाई उच्च जोखिम भएको क्षेत्र मानिने र सो क्षेत्रमा स्थानीय प्रशासनले यस आदेशमा उल्लिखित विषयका अतिरिक्त अन्य नियन्त्रणका व्यवस्था लागू गर्न सक्ने । यो आदेश कार्यान्वयन गर्न केन्द्रमा कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र, प्रदेशमा प्रदेश कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र, जिल्लामा जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र र स्थानीय तहमा रहेको स्थानीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले समन्वय र सहजीकरण गर्ने र प्रत्येक केन्द्रले माथिल्लो सङ्कट व्यवस्थापन केन्द्रमा नियमित रुपमा प्रतिवेदन गर्ने।
'यस आदेशको पालना गर्नु सबैको कर्तव्य हुनेछ', नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले स्वास्थ्यसहित सरकारका सबै मन्त्रालयलाई जारी गरेको निर्देशनमा उल्लेख छ, 'यस आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पुल्याउने व्यक्ति तथा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही र सजाय हुनेछ ।'