व्यवस्थापनको सामान्य आश्वासनका भरमा अन्यायमा पारिएका पत्रकारको आवाज मत्थर हुन्छ वा पत्रकार महासंघको नेतृत्वमा श्रम समस्या समाधानका लागि ठोस पहल हुन्छ, सम्भवतः आज दिनभरमा थाहा हुनेछ
कान्तिपुर पब्लिकेसन्स लिमिटेड व्यवस्थापनले ६८ जना पत्रकारलाई दशैँको मुखमा हठात् अवकाश पत्र थमाएपछि त्यहाँ देखिएको उकुमुकुस दशैँअगाडि नै कुनै सहमति भएर साम्य हुन्छ वा आन्दोलनमा रुपान्तरित भएर लम्बिन्छ यसै भन्न सकिने अवस्था छैन । मंगलबार बेलुका पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखा र व्यवस्थापनबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएपनि बुधबार बिहानसम्म व्यवस्थापनले कुनै प्याकेजको घोषणा वा सहमतिको प्रतिबद्धता गर्ने सम्भावना सकिएको छैन ।
त्यसो भएमा असोज २४ गते बुधबारदेखि महासंघले गर्ने भनेका धर्ना लगायतका विरोधका कार्यक्रमहरू फेरबदल हुन सक्नेछन् । तर व्यवस्थापनले त्यसो नगरेमा पूर्वनिर्धारित कार्यक्रमहरू यथावत रहने नेपाल पत्रकार महासंघका नेताहरूले बताएका छन् । हामी तपाईँलाई कान्तिपुरमा जारी श्रम समस्याको पछिल्ला अपडेट दिँदै छौँ ।
मुलुकको प्रभावशाली सञ्चार संस्था कान्तिपुर पब्लिकेसन्समा के भइरहेको छ थाहा पाउनुहोस् ।
-
- समाजवादी प्रेस संगठनले भन्यो- 'कान्तिपुर गैरजिम्मेवार, नैतिक दायित्वबाट पन्छियो'
- कान्तिपुरका पत्रकारमाथि व्यवस्थापनले गरेको अपमानको फेहरिस्त
- युनियन, चौतारी र सेन्टरको संयुक्त बोली - ‘कान्तिपुरको व्यवहार निन्दनीय’
- कसले गर्यो कान्तिपुरबारे ‘अलर्गल प्रचार’ ? महासंघ शाखाको विज्ञप्तिका सङ्केत र सन्देश
- कान्तिपुर व्यवस्थापनले पत्रकार महासंघको प्रतिष्ठान शाखालाई वार्तामा बोलायो
- कान्तिपुरबाट फोटो पत्रकारहरू निकालिएको भन्दै पीजे क्लबको विरोध
- कान्तिपुरको समस्या सुनेपछि सञ्चारमन्त्रीले भनिन्- आवश्यक परे क्याबिनेटमा प्रस्ताव लान्छौँ
- कान्तिपुर व्यवस्थापनलाई गल्ती सच्याउने अवसर, यस्ता छन् पत्रकारका १२ माग
- कान्तिपुर प्रकरणमा पत्रकार महासंघको चेतावनी- 'माग बेवास्ता गरे कडा संघर्ष'
- दशैँको मुखमा ६८ पत्रकारलाई कान्तिपुरको अवकाश पत्र
- पत्रकार महासंघको ठहर- कान्तिपुर व्यवस्थापनका काम ‘कानुनी व्यवस्थाविरोधी’
- ‘कान्तिपुर’ मा सल्किएको आगो
अब महासंघ र व्यवस्थापनबीच मंगलबार बेलुका भएको वार्तासहित कान्तिपुर पब्लिकेसन्सको श्रम समस्याका ६ विकसित घटनाक्रम बुझौँ ।
१. व्यवस्थापनसँग महासंघको पछिल्लो पत्राचार
नेपाल पत्रकार महासंघले असोज २१ गते (आइतबार) कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पत्र लेखी महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले राखेका मागहरू यथाशीघ्र सम्बोधन गर्न आग्रह गरेको थियो । असोज २३ गते मंगलबारसम्म माग सम्बोधन नगरिए कान्तिपुरविरुद्ध कानुनी र दबाबमूलक संघर्षका कार्यक्रम घोषणा गर्ने महासंघको तयारी थियो । माग सम्बोधन नभएमा असोज २४ गते बुधबारदेखि कान्तिपुरमा धर्नाबाट आन्दोलनको आरम्भ गर्ने महासंघले पत्रमा लेखेको छ ।
"महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले राखेका जायज मागहरूलाई व्यवस्थापनको तर्फबाट गरिएको नजरअन्दाजलाई महासंघ केन्द्रले नजिकबाट नियालिरहेको छ", महासंघका महासचिव रोसन पुरीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, "श्रमजीवी पत्रकार ऐन, प्रचलित विधि र पद्धतिविपरीत पत्रकारलाई पेशाबाट निष्कासन गर्ने, कानुनविपरीत सरुवा गर्ने, काम गर्ने बातावरण नदिने र लामो समयको योगदानको अवमूल्यन गर्दै अपमानित गर्ने कार्य महासंघका लागि किमार्थ स्वीकार्य नहुने प्रष्ट पार्न चाहन्छौँ ।"
२. आधारभूत मुद्दामा सहमतिः कान्तिपुर शाखा
तर महासंघको प्रतिष्ठान शाखाले भने २१ गते नै विज्ञप्ति निकालेर कान्तिपुर पब्लिकेसन्ससँग आधाभूत मुद्दामा सहमति भएको दाबी गरिसकेको छ । आफूले राखेको १२ बुँदे मागपत्रमा छलफल गरी १० दिनभित्र प्याकेज ल्याउन र यसअघि पत्रकारहरूलाई दिइएको अवकाश वार्ताअवधिभर स्थगत गर्न कान्तिपुर व्यवस्थापन सहमत भएको विज्ञप्तिमा उल्लेख छ ।
"सेवा अवधिको १० वर्षसम्म, २० वर्षसम्म र त्यसमाथिको समयलाई आधार मानी व्यवस्थापनले प्रतिवर्षका आधारमा एकमुष्ट रकम उपलब्ध गराउने गरी प्याकेज ल्याउने र यसपछिको बैठकले कुन अवधिकालाई कति रकम दिने भन्ने तय गरी टुंग्याउने लिखित सहमति पनि भएको छ", विज्ञप्तिमा उल्लेख छ, "यो सैद्धान्तिक सहमतिपछि वाताबाटै समस्या समाधान गर्नेतर्फ प्रगति भएको छ ।"
साथै, कान्तिपुर शाखाले यसअघिजस्तै 'वार्ता अवधिभर कान्तिपुरलाई लक्षित गरी कुनै पनि अवाञ्छित गतिविधि तथा प्रचारप्रसार नगर्न र संयमित रहन' पनि आग्रह गरेको छ ।
३. बेलुकीको वार्ता निष्कर्षविहीन
नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले व्यवस्थापनसमक्ष राखेका १२ बुँदे मागका सम्बन्धमा मंगलबार बेलुका दुई पक्षबीच वार्ता भएको थियो । तर वार्ता बिनानिष्कर्ष टुंगिएको बुझिएको छ ।
महासंघले कानुनविपरीत भएका सरुवा बदर, निष्कासन गरिएका पत्रकारहरूको पुनर्बहाली र पारिश्रमिक नियमित भुक्तानीलाई वार्ताको पहिलो शर्त बनाएको छ । वार्तामा पत्रकार महासंघले आफ्नो माग स्पष्टसँग राखेको छ । पहिलो, अवकाश पत्र फिर्ता । दोस्रो, श्रमजीवी पत्रकार ऐन अनुसार पाउनु पर्ने सुविधा तथा क्षतिपुर्ति दिएर बिदाइ । र, तेस्रो, बाँकी रहेको तलब तुरुन्त भुक्तानी ।
तर कान्तिपुर व्यवस्थापनले भने एक वर्षको ६० हजार रुपैयाँका दरले पत्रकारहरूलाई वर्ष गणना गरी बिदा गर्न तयार भएको छ । त्यहाँ पत्रकारहरू पनि एकथरी, कानुनी बाटोमार्फत् आफूले पाउने हक लिनुपर्ने पक्षमा छन् भने अर्काथरी व्यवस्थापनले न्यायोचित प्याकेज घोषणा गरेमा लिएर हिँड्ने मनस्थितिमा छन् । कान्तिपुरको श्रम समस्यालाई हेर्ने र समाधान गर्ने विषयमा त्यहाँस्थित महासंघको शाखा र पत्रकार महासंघ केन्द्रको पनि मतैक्य देखिँदैन ।
४. के हुन्छ महासंघको आन्दोलन ?
असोज २१ गते (आइतबार) पत्र लेखेर प्रतिष्ठान शाखाले राखेका मागहरू २३ गतेभित्र सम्बोधन नगरे २४ गतेदेखि धर्ना लगायतका कार्यक्रम गर्ने घोषणा गरेको नेपाल पत्रकार महासंघले आन्दोलनलाई कसरी अगाडि बढाउँछ भन्ने प्रश्न पनि सिर्जना भएको छ । तीन महिनादेखि पाउनुपर्ने तलब भुक्तानी तथा अवकाश र सरुवाका निर्णय बदर गर्नुपर्ने माग कान्तिपुर व्यवस्थापनले पुरा गरेमा दशैँ अगाडि तत्काल आन्दोलन सुरु नहुने स्थिति छ । तर पत्रकारहरूको मनस्थिति व्यवस्थापनको निर्णयमा निर्भर हुने देखिन्छ ।
कान्तिपुर प्रतिष्ठान शाखाको विज्ञप्ति र हामीले कुराकानी गरेका पत्रकारहरूको कुरा बुझ्दा कान्तिपुर पब्लिकेसन्सले असोज २३ को अन्तिम समयसीमा राखेर ६८ जना पत्रकारहरूलाई दिएको अवकाश पत्र स्थगन गर्ने लिखित सहमति गरेको छ । यसको अर्थ हुन्छ- असोज २४ अर्थात् बुधबारदेखि अवकाश दिइएका पत्रकारहरू नियमित काममा फर्किनेछन् । तर आफूमाथि अपमान भएको अनुभूत गरेका कतिपय पत्रकार नियमित काममा फर्किने मनस्थितिमा छैनन् । "अस्ति अकारण गलहत्याएको बिर्सन सकिने कुरा भएन, त्यसैले म कानुनी उपचारमा लागिसकेको छु", एक पत्रकार भन्छन् ।
मंगलबार बेलुका भएको वार्तामा कान्तिपुर व्यवस्थापनले बुधबार महासंघलाई पत्र लेख्ने प्रतिबद्धता गरेको थियो । महासंघले उक्त पत्र हेरेपछि आन्दोलनका सम्बन्धमा ठोस निर्णय गर्ने महासंघका नेताहरू बताउँछन् ।
५. कान्तिपुरको पत्रको पर्खाइ
महासंघका एक नेताका अनुसार यसअघि अवकाश दिइएको भनिएका पत्रकारहरूले बुधबारदेखि हाजिर गर्न र काममा फर्किन नपाएमा महासंघले आफ्ना आन्दोलनका कार्यक्रमहरू जारी राख्ने छ । "बाँकी कुरा बुधबार उसले फर्स्ट आवरमा हामीलाई पत्र लेखेर आफ्नो कुरा स्पष्ट पार्छौँ भनेको छ, त्यसका आधारमा निर्णय हुन्छ", महासंघका केन्द्रीय सदस्यले भने । कान्तिपुरले व्यवस्थापनसमक्ष त्यहाँस्थित पत्रकार महासंघको शाखाले राखेका माग सम्बोधनका लागि प्रतिबद्धता गर्न पत्र पठाउन लागेको बुझिएको छ ।
६. विज्ञापन नदिन विज्ञापनदातालाई पत्र !
कान्तिपुरको श्रम समस्यामा त्यहाँका मजदुर र पत्रकारहरूका पक्षमा अग्रमोर्चामा देखा परेको श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीले दशैँका बेलामा कान्तिपुरलाई विज्ञापन नदिन विज्ञपानदाताहरूलाई पत्राचार गर्ने बताएका छन् ।
"अब दशैको विज्ञापन कति ल्याउँछ, गत वर्षका कान्तिपुर पल्टाऔँ, ती बिज्ञापनदातालाई विज्ञापन नदिन... पत्रचार गर्छौँ", कान्तिपुर व्यवस्थापन र पत्रकारहरूबीचको वार्ता विना निष्कर्ष सकिएपछि उनले लेखेका छन्, "कान्तिपुरले पत्रकारलाई पिडा दियो, श्रम गरेको मूल्य दिएन, अपमान गर्यो भनेर अन्तर्राष्ट्रिय निकायलाई अपिल गर्छौँ । धर्ना विरोध त हुन्छन् नै ।"