पशुपतिनाथ कोटिहोमः धर्मका नाममा धन कमाउने धन्दा

पशुपतिनाथ कोटिहोमः धर्मका नाममा धन कमाउने धन्दा

  • श्रावण २८, २०८१ सोमबार २२:५४

छाँट–छाँटका, काँट–काँटका ढोंगी ‘बाबा’ हरूले महायज्ञका नाममा धन उठाइरहँदा मिडियादेखि नियामक निकायसम्म मौन


नेपालको काठमाडौंमा रहेको पशुपतिनाथलाई संसारका २७५ वटा ‘पादल पेत्र स्थलम’ अर्थात् शिवको पवित्र स्थानमध्ये एक मानिँदै आएको छ । त्यसैले पशुपतिनाथमा महाशिवरात्रीका दिन भक्तहरूको घुइँचो हुने गर्छ । १२ महिना मध्ये साउन महिनालाई विशेष महिनाको रुपमा लिने गरिन्छ ।
 
तर, अघिल्ला वर्षहरूको तुलनामा यस वर्षको साउन महिनामा पशुपतिनाथमा भक्तहरूको ठेलमठेल छ । कारण हो– कोटिहोम महायज्ञ ।

गत साउन १ गतेदेखि पशुपतिनाथको वनकालीमा जारी कोटिहोम महायज्ञका कारण त्यहाँ भक्तहरूको थप घुइँचो लागेको छ । ‘ज्ञान महायज्ञ २०८१’ नाम दिइएको यो ‘कोटिहोम’ एक महिनासम्म चल्ने छ । कोटिहोम महायज्ञको आयोजक संस्था हो– मानव सेवा फाउण्डेशन

 मानव सेवा फाउण्डेशनका संस्थापक अध्यक्ष हुन्– विजय भण्डारी । विजय नामले भन्दा ‘महाराज’ नामले चिनिन रुचाउने भण्डारी यसअघि आफूलाई ‘विष्णु प्रपन्नाचार्य’ र ‘बाल योगेश्वर महाराज’ भनेर चिनाउँथे । तर, अहिले उनी ती नामहरू पनि छाडेर ‘बालयोगेश्वर विजय कृष्णमूर्ती जी महाराज’ का नामले आफूलाई चिनाउन चाहन्छन् । 

उनको यति धेरै नाम किन छ ? उनी पटक–पटक आफ्नो परिचय किन बदल्छन् ? र, त्यसको पछाडिको उनको राजनीति के हो भन्ने विषयमा अलिक पछि कुरा गरौँला । आउनुस्, त्यो भन्दा पहिले कोटिहोम महायज्ञकै बारेमा बुझौँ । 

०००
भारतको राजनीतिमा हिन्दूत्वको कट्टरपन्थी विचारधाराले गतिलै स्थान पाउन थालेसँगै त्यसको प्रभाव नेपालमा पनि विस्तारै विभिन्न कोटिहोमका नाममा देखिन थालेको छ । तर, सामाजिक सद्भावलाई हालसम्म कायम राखेको नेपाली समाजमा हिन्दूत्वको विचारधारा बोकेर पिलाउन खोजिएका विषाक्त धारणालाई नेपाली समाजले त्यति स्विकारेको देखिँदैन । 

त्यसैले होला, हाल पशुपतिमा जारी कोटिहोम विभिन्न कारणले विवादित बन्न पुग्यो । कोटिहोम विवादित बन्नुका मुख्य चार कारण छन् । 

पहिलो हो– सांस्कृतिक धार्मिक दृष्टिकोण । दोस्रो हो– पशुपतिनाथ क्षेत्रको पुरातत्वको विनास । तेस्रो कारण हो– कोटिहोमका लागि बोलाइएका कथावाचकहरूको विवादास्पद अभिव्यक्ति । र, चौथो हो– आयोजकको विवादास्पद छवि । आउनुस्, एक–एकगरी यी चारैवटा कारणको विस्तारमा चर्चा गरौँ ।

पहिलो कारण-सांस्कृतिक धार्मिक दृष्टिकोण 

पशुपतिनाथ क्षेत्रमा आयोजना गरिएको कोटिहोम महायज्ञ ज्योतिषशास्त्रको सिद्धान्त विपरीत रहेको भन्दै हिन्दू धर्मशास्त्रका ज्ञाताहरूबाटै त्यसको विरोध भयो । महायज्ञको साइत नमिलेको तथा अन्य शास्त्रीय मान्यताको परिपालना नगरिएकाले त्यो कोटिहोम नै नभएको उनीहरूको भनाई छ ।

हिन्दू धर्मशास्त्रका ज्ञाता एवम् पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले यज्ञमा सम्पूर्ण रुपले शास्त्रहरूको उल्लंघन गरिएको बताए । उनले यज्ञबारे प्रश्न उठाउँदै केसम्म भने भने, यो यज्ञ धार्मिक उद्देश्यले नभएर मनोरञ्जन र अर्थ संकलनको उद्देश्यले मात्रै आयोजना गरिएको हो । 

आजको प्रेससँगको कुराकानीमा प्राध्यापक डा.गौतमले भने, ‘कोटिहोम महायज्ञ १४÷१५ दिनमा सक्नेगरी बीचमा औँसी नपारिकनै गर्नुपर्ने हुन्छ । कोटिहोम महायज्ञ साउन ३२ सम्म चल्ने भनिएको छ । तर, यसबीचमा साउन २० गते औँसी पर्छ । खासमा औँसी पारेर यस्तो यज्ञ गर्नै हुँदैन ।’ 

कुराकानीका क्रममा उनले थपे, ‘शास्त्रमा यज्ञ गर्दा ब्राह्मणहरूले शुद्ध भएर कपाल मुण्डन गरी बस्नुपर्ने नियम छ । तर, अहिलेको कोटिहोममा मूल आयोजकका रूपमा रहेका विजय कृष्णमूर्ति नै झ्याप्ले कपाल हल्लाएर बसिराखेका छन् । त्यो त शास्त्रअनुसारको आचरण नै भएन । त्यहाँ मान्छे पनि शुद्ध हुनुपर्छ । सामग्री शुद्ध हुनुपर्छ । स्थान शुद्ध हुनुपर्छ । मण्डप शुद्ध हुनुपर्छ । तर, त्यहाँ त्यस्तो केही देखिँदैन ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकूलपति डा. जगमान गुरुङले पनि कोटिहोम अवधिभर अग्नि र रुद्री नजुर्ने हुँदा यो कोटिहोम ज्योतिषशास्त्रको सिद्धान्त विपरीत रहेको बताए ।

jagaman-gurung.jpg

 गुरुङले सामाजिक सञ्जाल फेसबुकमा साउन १ गतेकै दिन ‘आज पशुपतिमा रमिता छ !’ भन्दै कोटिहोमबारे टिप्पणी गरे । गुरुङले लेखेका छन्, ‘कोटिहोम ज्योतिषशास्त्रको सिद्धान्त विपरीत छ किनभने यस दिन अग्नि पनि जुर्दैन र रुद्री पनि जुर्दैन । ...तपाईँहरूले ज्योतिषशास्त्रको मर्यादा विपरीतको मुहूर्तमा शास्त्रले निषेध गरेको कर्म गरेर के रमिता गर्न खोज्नु भएको हो ? ...अनुष्ठानले नेपाललाई कंगाल बनाउने छ र पीडामाथि पीडा थप्ने छ ।’


ׂ╰┈➤ नेपाली मिडियाको दोहोरो मापदण्ड: हिजो 'महाठग', आज 'महाराज'!


बेला न कुबेला गरिने यस्ता अनुष्ठानले नेपालीको कुभलो हुने निश्चित छ भन्दै उनले अन्त्यमा लेखेका छन्, ‘आराध्यदेव भगवान श्री पशुपातिनाथले हामी सबैको कल्याण गरुन् ।’

दोस्रो कारण हो– पशुपतिनाथ क्षेत्रको पुरातत्वको विनास

कोटिहोममा हवनका लागि भनेर आयोजकले पशुपतिनाथ क्षेत्र भित्र विभिन्न स्थानमा खाल्डो खनेका छन् । विश्वसम्पदामा सूचीकृत र त्यस क्षेत्रमा उत्खनन् गर्दा महत्वपूर्ण ऐतिहासिक संरचनाको सङ्केत पाइएको कैलाश क्षेत्रमा कोटिहोमका लागि अनधिकृत रुममा खाल्डो खनिएकोमा आपत्ति जनाउँदै पुरातत्व विभागले सार्वजनिक रूपमै असन्तुष्टि जनाएको छ ।

hawan.jpg

असार २ गते पशुपति क्षेत्र विकास कोषलाई पत्राचार गरेर विभागले कोटिहोमका नाममा पशुपति क्षेत्रमा भएको अनधिकृत कार्य रोक्न निर्देशन दिएको थियो । पत्रमा उल्लेख गरिए अनुसार, हवन गर्न खाल्डो खनिएको उक्त क्षेत्रमा पहिले नै भू–भौतिक सर्वेक्षण अर्थात् Geophysical Survey भइसकेको र त्यहाँ महत्वपूर्ण संरचनाहरू रहेको पाइएको हुँदा हवन गर्नका लागि जथाभावी रुपमा खाल्डो खन्दा सो ऐतिहासिक संरचनाको नास हुने विभागले उल्लेख गरेको छ ।

पत्र अनुसार पशुपति विकास कोषले पुरातत्व विभागको अनुमति नै नलिई कोटिहोमका आयोजकलाई खन्ने अनुमति दिएको थियो । विभागका प्रमुख पुरातत्व अधिकृत भाष्कर ज्ञवालीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ‘कोषसमेतको संलग्नतामा यस विभागबाट गरिएको भू–भौतिक सर्भेबाट समेत त्यस स्थानमा महत्वपूर्ण संरचना रहेको संकेत प्राप्त हुनका साथै हाल खनिएका खल्डाहरूमा पनि सांस्कृतिक तह र संरचनाहरू प्राप्त भएको हुँदा तत्कालै उक्त कार्य रोक्का राखी के–कति कारणले यस विभागको स्वीकृति नलिई उक्त कार्य गरिएको हो, पत्र प्राप्त भएका मितिले ७ (सात) दिन भित्र विभागलाई यथार्थ जानकारी गराउन अनुरोध छ ।’


ׂ╰┈➤ विज्ञापन छाप्ने तर समाचार नछाप्ने ! पशुपतिनाथको कोटिहोमबारे लुकाइएको कथा


यो पत्रले के पुष्टि गर्छ भने पशुपति विकास कोषले पुरातत्व विभागसँग अनुमति नलिई तीन लाख १५ हजार रुपैयाँ शुल्ककै लागि मानव सेवा फाउण्डेशनलाई खाल्डो खन्ने अनुमति दिएको थियो । पशुपति विकास कोषबाट अनुमति पाएसँगै सर्भे गरिएको भुभागमा आयोजकले ७ फिट गहिरो खाल्डो खनेका थिए ।

पछि विभागले प्रश्न उठाएपछि थामथुम पार्न केही भाग पुरेर अहिले हवन गरिँदै आएको रातोपाटीलाई कोषका एक अधिकारी जनाएका छन् । 

तेस्रो कारण– पटमुर्ख बाबाहरु

कोटिहोम विवादास्पद बन्नुको अर्को कारण हो– रङ्गीबिरङ्गी पटमूर्ख भारतीय बाबाहरू । कोटिहोममा विश्वप्रसिद्ध भनेर भारतीय हिन्दूवादी बाबाहरूलाई बोलाइएको छ ।

यस्ता बाबाहरूमा पहिलो नम्बरमा पर्छन्– धिरेन्द्र कृष्ण शास्त्री अर्था्त बागेश्वर धाम । उनका अधिकांश प्रवचनहरू अल्पसंख्यकहरूलाई होच्याउने, महिलाद्वेषी र हिन्दू श्रेष्ठतावादी हुने गर्छन् । उनी आफ्ना प्रवचनमा मुस्लिम विरोधी धारणा व्यक्त गर्न किञ्चित अप्ठेरो मान्दैनन् । धिरेन्द्र कृष्ण शास्त्रीलाई कोटी होममा नबोलाइए पनि कोटी होममा उनकै पदचाप पच्छ्याई रहेका अनिरुद्राचार्यलाई डाकिएको छ ।

कथावाचक भारतीय बाबा तथा माताहरू कति ज्ञानी छन् भन्नेबारे उनीहरूका केही चर्चित भनाई भनाईहरु पढ्नुहोस्:-

‘प्याज र लसुनको जन्म फोहरबाट भयो, राक्षसको मनबाट भयो । त्यसैले देवताहरू आउन चाहे पनि त्यो दुर्गन्धका कारण आउनै सक्दैनन् किनभने उनीहरू राक्षसका मनबाट पैदा भएका हुन् । प्याज र लसुन तामसिक आहार हो, यसले साधनामा खलल पुग्ने गर्छ । क्रोध बढाउँछ, आवेश आउँछ र यसले मानिसमा बासना बढाउने गर्छ । त्यसैले प्याज र लसुन खानु हुँदैन ।’, धिरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम)


‘शास्त्रहरूका अनुसार प्याजको उत्पत्ति कुकुरको अण्डकोषबाट र लसुनको उत्पत्ति कुकुरको नङबाट भएको हो ।’, राजेन्द्र पाण्डेजी दास महाराज ।

लसुन र प्याजको भोग भगवानलाई स्विकार्य छैन, किनभने राहुले समुन्द्र मन्थनको अमृत स्वाट्टै पिइदियो, त्यसैले भगवानले उसको टाउको नै काटिदिए । त्यसको एक थोपा भित्र गयो, जसलाई केतु भनियो । दुई थोपा धरतीमा खस्यो । त्यसैमध्येको एउटा लसुन बन्यो भने अर्को प्याज बन्यो ।’, अनिरुद्राचार्य ।

तपाईँहरूले अन्त्यमा जसको भनाई सुन्नु भयो, उनी हुन् अनिरुद्राचार्य । उनैलाई पशुपतिनाथको कोटिहोममा बोलाइएको थियो । भारतमा उनी निकै रोचक लण्ठु बाबाहरूको श्रेणीमा पर्ने गर्छन् । उनी आफ्नो समझ र भनाईका कारण भक्तहरूका बीच चर्चित छन् । तर तथ्य र तर्क गर्नेहरूबीच ठट्टाका पात्र । आउनुस्, उनले भनेका कुरा सुनेर एकैछिन मनोरञ्चन लिउँ–

‘यदि शुद्ध काठे गाईको गोबरले तपाईं स्नान गर्नु हुन्छ भने, गोबरलाई शरीरमा दल्नु हुन्छ भने र आफ्नो अनुहारमा मसाज गर्नु हुन्छ भने, शुद्ध काठे गाई हो भने है, त्यसले छालासम्बन्धी जति पनि रोग छन्, ती समाप्त भएर जान्छन् । र, शरीरमा चम्किलोपना आउन थाल्छ ।’
‘जसलाई सन्तान हुँदैन, उनीहरूले गाईलाई गहुँ ख्वाउनुस् र गहुँ जब उसको गोबर भएर आउँछ, त्यसलाई धोएर, सुकाएर त्यसलाई पिसेर, त्यसको पिठोको रोटी बनाएर भगवानलाई भोग लगाउने र त्यही रोटी खाने गर्नाले सन्तान प्राप्ती हुन्छ ।’

‘गाईको पिसाबपान गर्नुको फाइदा के हो ? उत्तर देऊ... थाहा छैन ? यस धरतीमा एउटा रोग छ, जसको नाम हो– क्यान्सर । यसको कुनै उपचार छैन । त्यो क्यान्सरबाट कोही बाँच्न सक्दैन, तर गाईको मुतले उनीहरूलाई बचाउँछ । भन्नुको अर्थ क्यान्सरबाट लड्ने क्षमताको विकास गाईको मुत र गोबरमा छ ।’


त्यस्तै कोटिहोममा आफूलाई देवी प्रतिभा बताउने प्रतिभा पराजुली, चन्द्रकला सखी पनि आएका थिए । अनिरुद्राचार्यसँगै यी दुईजना कथित देविहरू पनि विवादित बनेका छन् । 

pratibha bal yogeshowr.jpg

‘सम्बन्धविच्छेद गर्नु पाप गर्नु हो ।’, ‘डिभोर्स भन्ने शब्द हिन्दू शास्त्रमै छैन’ भन्दै प्रवचन दिएपछि प्रतिभा पराजुली विवादित बन्न पुगिन् । ‘श्रीमान् उमेरले जतिसुकै ठूलो भए पनि श्रीमानले भनेको मान्नुपर्छ’, ‘श्रीमानले जस्तोसुकै व्यवहार गरे पनि श्रीमतीले पतिको सम्मान गर्नुपर्छ’ भनेपछि उनी विवादित बनेकी हुन् ।

तर, प्रतिभासँगै कोटिहोममा अर्की कथावाचक पनि छन्– राधिका दासी, जो आफैँ ‘डिभोर्सी’ हुन् । यो तथ्यको एकरत्ति ख्याल पनि गरिनन् देवी प्रतिभाले । प्रतिभाको यो रुढिवादी चिन्तन भारतमा राम्रै फलिफुली रहे पनि नेपालमा भने आलोचित बन्न पुग्यो ।

यत्ति बयानका कारण मात्रै प्रतिभा विवादित बनेकी भने होइनन् । उनी आफ्नो उमेर र वैवाहिक स्थितिका कारण पनि विवादित बनेका हुन् । उनले आफूलाई २३ वर्षको बताए पनि उनी हाल २८ वर्षको रहेको पारिवारिक श्रोत उद्धृत गर्दै नेपालप्रेसले लेखेको छ । एपी–१ टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा प्रतिभाले आफूलाई अविवाहित बताएकी थिइन् । तर, प्रतिभाले १४ वर्षकै उमेरमा विवाह गरेको प्रमाण नेपालप्रेसमा प्रकाशित भयो । 

लण्डनबाट कोटिहोममा भाग लिन आएकी अर्की कथावाचिका चन्द्रकला सखी पहिलो दिनकै प्रस्तुतिका कारण सामाजिक सञ्जालमा ट्रोल हुन पुगिन् । प्रवचनका क्रममा उनले, ‘गोरुको प्रिय भोजन मयूर’ भनेपछि उनी ट्रोल हुन पुगेकी थिइन् ।

त्यस्तै कोटिहोममा आएका अनिरुद्राचार्यले नेपालको कुटनीतिक सम्बन्धमाथि नै आँच आउने अभिव्यक्ति दिएपछि उनी पनि नेपालीमाझ आलोचनाका पात्र बन्न पुगे । विभिन्न कथा हाल्दै–हाल्दै उनले भने, ‘यदि चाइना नेपालमा आयो भने पशुपतिनाथको दर्शन गर्न नेपालमा को आउँछ र ?’ 

anirudracharya.jpg

उनको भनाईको संकेत नेपालमा चिनियाँ प्रभाव बढिरहेको र त्यसलाई बेलैमा नेपाल सरकारले नरोक्ने हो भने हिन्दूहरूको आस्थाको केन्द्रका रुपमा रहेको पशुपतिनाथ मन्दिरको दर्शन गर्न भारतीय श्रद्धालुहरू नआउन सक्छन् भन्नेतर्फ थियो ।

चौथो र अन्तिम विवाद हो– आयोजकको विवादास्पद छवि

कोटिहोममा देखिएको चौथो विवाद भने बडो रोचक छ । मैले यहाँ रोचक किन भनेको भने यसबारे नेपालका मूलधारका अधिकांश मिडियाले चर्चा नै गरेनन् । सामान्य पत्रकारिताको आँखाबाट पनि समाचारीय तत्व लुकेको यो कोटिहोमबारे नेपालका मूलधारका मिडियाले बोल्नु त्यति जायज ठानेनन् । नेपाली मिडियाको दोहोरो मापदण्डबारे हामीले भिडियो बनाएका छौँ ।

माथि हामीले सामान्य चर्चा गरेको विषय के हो भने मानव सेवा फाउण्डेशनका संस्थापक अध्यक्ष विजय भण्डारी आफ्नो विजय नामले भन्दा ‘महाराज’ नामले चिनिन रुचाउछन् । र, उनी आफूलाई कहिले ‘विष्णु प्रपन्नाचार्य’ त कहिले ‘बाल योगेश्वर महाराज’ त कहिले ‘बालयोगेश्वर विजय कृष्णमूर्ती जी महाराज’ का नामले चिनाउन चाहन्छन् । उनी को हुन ? र, उनको विगत के हो ? आउनुस त्यसबारे बुझौँ ।

 ०४४ असार १ गते गुल्मीको साविक धुर्कोटबस्तु गाविस ३ (हाल धुर्कोट गाउँपालिका) मा विजय भण्डारीको जन्म भएको थियो । भण्डारीले जिल्ला प्रशासन कार्यालय गुल्मीबाट २०४४ असार १ गते जन्ममिति उल्लेख गर्दै साबिक धुर्कोटबस्तु गाविस ३ घर ठेगानामा २०६३ असोज ९ गते नेपाली नागरिकता प्राप्त गरेका थिए ।

२०७६ माघ ११ गते कान्तिपुरमा प्रकाशित समाचार अनुसार विजय भण्डारीका पिता मनिराम तत्कालीन नेकपा माओवादीको एरिया कमिटी सचिव थिए । बुबा माओवादी भएकै कारण विजय पनि माओवादीकै विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा लागेका थिए । गाउँकै हिमालय उच्च माध्यमिक विद्यालयमा अध्ययनरत भण्डारी जनयुद्धकालमा प्रहरीको नजरमा परेपछि ८ कक्षा पास गरेलगत्तै काठमाडौं आए । आफन्तको सहयोगमा काठमाडौं आएका उनले थानकोटस्थित अरबिन्दो योगा मन्दिर आश्रममा बसे । पछि आश्रमकै सहयोगमा उनले माउन्ट भ्याली विद्यालयबाट एसएलसी पास गरे ।

त्यसलगत्तै उनीमाथि गाडीको टायर चोरीको आरोप लागेको थियो । चोरी प्रमाणित भएपछि उनी आश्रमबाट निकालिएका थिए । त्यति नै बेला उनका बाबु मनिराम पनि आर्थिक अपचलन आरोपमा पार्टीबाट निष्कासित भए ।

एसएसलीपछि उनले औपचारिक शिक्षा लिएको कुनै प्रमाण भेटिँदैन । तर, उनी आफूले बैंग्लोरलगायत अन्य विभिन्न विश्वविद्यालयबाट औपचारिक शिक्षा हासिल गरेको बताउँदै आएका छन् ।  चारैतिरबाट विक्षिप्त भएपछि विजयले गेरुवस्त्र धारण गरेर २०६८ वैशाखमा आफैंले पाँच लाख खर्चेर कलंकीमा भागवत पुराण लगाएका थिए । त्यसपछि उनले आफूलाई कथावाचकका रुपमा चिनाउन थाले । हिन्दू देवीदेवता र धर्मशास्त्रको आडमा कथा वाचन गर्दै आस्तिकहरूबाट चन्दा संकलन गरी जीवन चलाउनु नै उनको जीवनको खास राजनीति हो । 

kotihom.jpeg
मान, प्रतिष्ठा र शक्तिको केन्द्रमा विराजमान भई रहन तथा सजिलोगरी जीवन चलाउन उनले अंगालेको यो राजनीतिको विगत भने निकै विवादास्पद छ । कलंकीको पुराण वाचनपछि आफूलाई कथावाचकका रुपमा चिनाउन थालेका भण्डारीले २०६८ सालमा श्री मानव कल्याण आध्यात्मिक परोपकार संघ नामक संस्था स्थापना गरेका थिए ।

 सोही संस्थामार्फत उनले विभिन्न व्यक्तिलाई अमेरिका पठाउछु भन्दै रकम असुली गर्न सुरु गरे । अमेरिकामा हुने धार्मिक कार्यक्रममा जानका लागि जनही सात लाख लाग्ने भन्दै उनले ‘भक्तजन’ सँग रकम असुली गर्न थाले । तर, भनेको समयमा ‘भक्तजन’ हरूलाई अमेरिका पु¥याउन नसकेपछि उनीविरुद्ध तत्कालीन अपराध महाशाखामा उजुरी परेको थियो । उजुरी परेपछि भण्डारी २०७१ भदौ ७ गते पक्राउ परे । त्यसपछि त झन् उनीविरुद्ध जाहेरी दिनेको लर्को लाग्न थाल्यो ।

एक करोड २७ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं प्रहरी परिसर र तत्कालीन अपराध महाशाखामा ३३ जनाले उजुरी दिएका थिए । यति धेरै बिगो रकम ठगीको अभियोग लागेपछि सरकारी वकिल कार्यालयले भण्डारीसहित ४ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर ग¥यो । २०७३ मंसिर ६ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीको इजलासले विष्णु प्रपन्नाचार्य बताउने विजय भण्डारीलाई दुई वर्ष ६ महिना कैद र ८१ लाख ८५ हजार बिगो जरिवानाको फैसला गरेको थियो ।

Screenshot 2024-08-12 184855.png

त्यसअघि उनी सुन्धारास्थित केन्द्रीय कारागारमा २०७१ असोज ६ गते पुर्पक्षका लागि थुनामा पुगेका थिए । अदालतको फैसलापछि कैद सजाय भुक्तान गरेर उनी २०७३ चैत १४ मा रिहा भए । यो उनको पहिलो जेल यात्रा भने थिएन । २०६९ कात्तिक १४ पनि ठगी मुद्दाको उजुरीपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेर वैदेशिक रोजगार विभागलाई बुझाएको थियो ।

२०७३ चैत १४ गते रिहा त भए तर उनिविरुद्धको अर्को मुद्धा जस्ताको त्यस्तै थियो । २०६९ कात्तिक १४ मा बुटवलका रमेश खनाल, काठमाडौं, मच्छेगाउँका प्रकाश ढुंगाना र कीर्तिपुरका प्रमोदकृष्ण अधिकारीले उनीविरुद्ध वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारी ठगी मुद्धामा जाहेरी दिएका थिए । विभागले अनुसन्धान गरी उनीविरुद्धको मुद्दा वैदेशिक रोजगार न्यायाधिकरण कार्यालयमा दर्ता गरिसकेको थियो ।

लामो बहसपछि न्यायाधिकरणको कार्यालयले २०७५ जेठ २७ गते उनलाई एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार बिगो जरिवाना ठहर गरेको थियो । मुद्धा सुनवाइकै क्रममा उनी २०६८ साउन ३२ मा एक दिन, २०६८ फागुन ११ मा एक दिन र २०६९ कात्तिक १४ मा दुई दिन मुद्धाको पुर्पक्षका लागि थुनामा परेका थिए । यी दिनहरू कटाएर भण्डारीले एक वर्ष ५ महिना २७ दिन कैद सजाय भुक्तान गर्नुपर्ने देखिन्थ्यो । तर, उनी फरार भए । फैसलाको निर्णय बुझ्न पनि नआएपछि २०७५ चैत २४ गते न्यायाधिकरणको कार्यालयले उनको घरमा अन्तिम फैसलाको सूचना टाँस गर्न जिल्ला अदालत गुल्मीलाई पत्राचार गरेको थियो ।

 न्यायधिकरणको फैसलाले उनलाई फरार अभियुक्त करार गर्छ । प्रहरी र कानुन कार्यान्वयन गर्ने जुनसुकै सरकारी निकायले उनलाई पक्राउ गरेर बुझाउन सक्थे, तर उनी अहिलेसम्म पक्राउ परेका छैनन् । बरु कोटिहोमका नाममा सार्वजनिक चर्चा बटुलिरहेका छन् ।

 प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास नगरेको भने होइन । २०७६ भदौ २८ देखि असोज ११ सम्म गुल्मीको रिडीमा आयोजित महायज्ञमा भण्डारी उपस्थित हुने सुइँको पाएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई पक्राउ गर्ने तयारी गरेको थियो । जिल्ला अदालत गुल्मीको फैसला कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायको बैठकसमेत बसेको थियो । तर, भण्डारी पक्राउबाट जोगिन न्यायाधिकरणको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनका लागि उजुरी दिन गए । सर्वोच्चमा पुनरावेदनको माग गरेपछि उनी पक्राउ पर्नबाट जोगिए ।

 धर्मको आडमा लुटको खेलो

धार्मिक अनुष्ठानका लागि अमेरिका लैजाने भन्दै ठगी गर्ने जुक्ति प्रहरी अनुसन्धानको दायरामा आएपछि उनी आफ्नो धार्मिक खोल ओडेरै पैसा कमाउने जुक्तितर्फ लागे । विभिन्न जिल्लामा यज्ञ तथा महायज्ञमा कथावचन गर्दै दानमा उठेको रकम कुम्ल्याएर फरार हुन थाले ।

२०७६ भदौ २८ गतेदेखि असोज ११ सम्म गुल्मीको रिडीमा आयोजित महायज्ञमा उनले आयोजक र स्थानीयको करोडौँ रुपैया लिएर फरार भएको महायज्ञ आयोजक समितिको आरोप छ । उनीमाथि रकम बकेर हिँडेको मात्रै होइन महायज्ञभर उनी र उनको समूहले खाना खाएको, किराना पसलमा तथा पेट्रोलपम्पमा उधारो लिएर पैसा नतिरी फरार भएको आरोप पनि छ । 

रिडीको धार्मिक अनुष्ठानबाट नगद संकलन गरेर फरार भएका उनले पछि त्यसैलाई कमाई खाने बलियो आधार बनाए । गुल्मीपछि उनले चितवन तथा दाङमा आयोजित महायज्ञमा संकलित रकम लिएर फरार भए । त्यसयता विभिन्न जिल्लामा हुने धार्मिक अनुष्ठानमा सहभागी हुनुमा उनको स्पष्ट उद्देश्य देखिन्छ । त्यो हो– दान संकलन ।

दान सचिवालय.jpeg

हाल पशुपतिमा जारी कोटिहोम महायज्ञको मुख्य उद्देश्य पनि पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले भने जस्तै दान संकलन नै हो । 

त्यति मात्रै होइन, उनले हाल पशुपति कोटिहोम महायज्ञमा पाँच लाख ५५ हजार भन्दा माथि दान गर्न प्रेरित गर्दै विभिन्न स्किमसहितका बोर्डहरू विभिन्न ठाउँमा राखेका छन् । त्यस्ता बोर्डहरूमा कति रकम दान गर्नेलाई के व्यवस्था गरिने भनेर लेखिएको छ ।

यो स्किम हजारदेखि लाखमाथि दान गर्नेका लागि मात्र हो । स्किम बोर्डमा हेर्दा हजार भन्दा तल दान गर्नेलाई कुनै स्किमको व्यवस्था छैन । यसमा सबै भन्दा आपत्तिजनक कुरा के छ भने राज्यको आँखै अघिल्तिर एक लाख दान गर्नेलाई मामाघर अनाथालय आश्रममा रहेका एक वा एक भन्दा बढी अनाथ बालबालिकाको अभिभावक बन्न पाइने लेखिएको छ । 

skim Board.png

दानका नाममा पैसा दिँदैमा अनाथालयमा आश्रय लिइरहेका बालबालिकाको अभिभावक बन्न जो कोही कसरी मिल्छ ? अनाथालयमा रहेका बालबालिकाको इच्छा विपरीत जो कोही, जो कसैको अभिभावक कसरी बन्न पाउँछ ? र, त्यहाँका बालबालिकामाथि भविष्यमा शोषण हुँदैन भन्ने आधार के हो ? यस्तो गम्भीर विषयमा प्रश्न गर्ने आँट कसैले किन गरेको छैन ? 

धर्मका नाममा गरिने यस्ता नक्कली अनुष्ठानका माध्यमबाट ठग बाबाहरूले कहिलेसम्म श्रद्धालुको श्रद्धा, बालआश्रमका बालबालिकोको जीवनसँग खेल्ने हुन् ? यसमा नेपाल प्रहरी र सिङ्गो राज्यको ध्यान कहिले जाने हो ? यो भने हालसम्म अनुत्तरित नै छ ।


Related Story

बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य कि विकल्प? राष्ट्र बैंककै अधिकारीका दुईथरी कुराले भ्रम फैलियो

बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएको र नभएको दुवै दाबी राष्ट्र बैंककै अधिकारीहरूबाट आएपछि सर्वसाधारणमा भ्रम सिर्जना भएको छ माघ

कैलाश सिरोहियाको नागरिकता विवादका थाहा पाउनैपर्ने १० प्रसङ्ग

मुलुकको प्रमुख सञ्चार संस्था कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नागरिकतासम्बन्धी गम्भीर आरोपहरूको सामना गरिरहेका छन् । यो विषयको उठाउने

मिडियाका सञ्चालक समेत मुछिएको भनिएको ‘स्टिङ अपरेसन’ पछिका तरङ्ग र बुझ्नैपर्ने १० कुरा

सिधाकुरा अनलाइनमा शुक्रबार प्रकाशित स्टिङ अपरेसन भनिएको एउटा अडियोले अहिले मिडिया बजारमा हङ्गामा मच्चाएको छ । उक्त अडियोको बास्तविकता के

'कान्तिपुर' मा के भइरहेको छ ? पछिल्ला ६ अपडेट

व्यवस्थापनको सामान्य आश्वासनका भरमा अन्यायमा पारिएका पत्रकारको आवाज मत्थर हुन्छ वा पत्रकार महासंघको नेतृत्वमा श्रम समस्या समाधानका लागि ठोस पहल

भूलसुधार गरी माफी मागिसकेको अवस्थामा पत्रकारमाथि किन धरपकड ?

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गत साता भएको एउटा प्रोपगन्डामा प्रयोग भएको उज्यालो नेटवर्क अनलाइनका पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।

कोभिड १९ नियन्त्रणका नयाँ मापदण्डले कुन कुन क्षेत्र प्रभावित ?

२०७८ बैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भन्दै ३० वटा निर्णयहरू गरेको छ ।