सञ्चारले कक्षाकोठालाई कसरी रूपान्तरण गर्न सक्छ ?

सञ्चारले कक्षाकोठालाई कसरी रूपान्तरण गर्न सक्छ ?

  • आषाढ २७, २०८३ शनिबार ०२:०९

हामी मानिसले दैनिक जीवनमा अत्यधिक मात्रामा गर्ने दुईवटा कार्य छन्– पहिलो हामी निरन्तर सास फेर्छौै र दोस्रो हरेक क्षण अन्तरक्रिया वा सञ्चार गर्छौं ।

तर प्रश्न उठ्छ के हामी यी दुबै कुरा सोचेर गरिरहेका हुन्छौं त ?

हामी मान्छे अन्य प्राणीभन्दा विशिष्ट हुनमा तीनवटा असाधारण स्वभावहरू रहेका छन्– हामी श्रम गर्छौं, हामीसँग भाषा छ र हामी सञ्चार गर्छौं ।

यसरी हेर्दा सञ्चार कुनै जन्मसिद्ध ज्ञान वा सीप मात्र नभएर मानिस हुनुको विशिष्ट गतिविधि वा कार्य हो, जसले हामीलाई सामाजिक प्राणी बनाएको छ ।

हामी चाहेर पनि सञ्चार नगर्न सक्दैनौं । फेरि यहाँ अर्को प्रश्न उठ्छ के हामी सधैं प्रभावकारी रूपमा सञ्चार गरिरहेका छौं त ? 

शिक्षा, उपभोक्ता बजारमा पाइने जस्तो कुनै बनिबनाउ सरसामान होइन, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा हस्तान्तरण हुन्छ वा विनिमय गरिन्छ ।

यो यन्त्रिक प्रणाली वा डेलिभरी प्रणाली पनि होइन । शिक्षा विशुद्ध मानव प्रणाली हो । यो हामी बाँचेको जीवनजगत्मा चलायमान हुन्छ र अन्तरक्रियामार्फत अर्थ निर्माण गर्दै परस्पर समझदारी कायम गरिन्छ । 

यसको मतलब सिकाइलाई जीवन्त बनाउने अपरिहार्य उर्जा भनेकै प्रभावकारी सञ्चार हो । उर्जाविहिन मेसिन र सञ्चारविहिन कक्षाकोठा उस्तै हुन्छन् ।

मेसिनमा जतिसुकै नयाँ प्रविधि र गुणस्तरीय उपकरण जडान भएपनि उर्जा बिना त्यो केवल धातुको पिण्ड बन्छ– निष्क्रिय, गतिहीन र उपयोगविहीन ।

यस्तैगरी शिक्षकसँग प्रचुर ज्ञान, अनुभव, सामग्री र प्रविधि भएपनि त्यहाँ प्रभावकारी सञ्चार हुँदैन भने कक्षाकोठा प्रभावहीन र निरर्थक बन्छ ।

सञ्चारविहीन कक्षाकोठा र उर्जाविहीन मेसिनमा संरचना त हुन्छ तर सञ्चालन हुँदैन, उपस्थिति त देखिन्छ तर प्रभाव पैदा गर्दैन । 

प्रभावकारी सञ्चारले मात्र कक्षाकोठालाई उर्जाशील बनाउँछ, विचारलाई गति दिन्छ, शिक्षक अनि विद्यार्थीबीचको सम्बन्ध तथा विश्वासलाई प्रगाढ बनाउँछ र सिकाइलाई जीवन्त पार्छ ।

सञ्चाररहित कक्षाकोठामा विद्यार्थीका जिज्ञासा मौन हुन्छन्, सहभागिता हराउँछ र सिकाइको आत्मा मर्छ ।

Raghu Mainali.jpeg

त्यसैले शिक्षकको बोली, हाउभाउ, सङ्केत, प्रस्तुति शैली र विद्यार्थीका क्रिया–प्रतिक्रियाबीच हुने अटुट अन्तरक्रियाले मात्र कक्षाकोठालाई वास्तविक अर्थमा सिकाइको केन्द्रका रूपमा विकसित गर्छ । 

यसरी एउटा सफल शिक्षक प्रभावकारी सञ्चारकर्ता बन्नै पर्ने हुन्छ । अर्को शब्दमा, शिक्षण कार्य आफैंमा विशिष्ट परिवेशको मानव सञ्चार हो ।

कक्षाकोठामा हामी शिक्षकले के भन्यौं वा के सिकायौं भन्ने कुराले खासै अर्थ राख्दैन । अर्थ त्यसले राख्छ– हामीले भनेको कुरा विद्यार्थीले कसरी बुझिरहेका छन् ? 
तर दशकौंदेखि परम्परागत कक्षाकोठामा विद्यार्थी निरन्तर मौन छन् । त्यो मौनताको कारण कतै डर छ, कतै आत्मविश्वासको अभाव त कतै नैराश्य ।

यो पुस्तकको जन्म कक्षाकोठाको त्यही मौनताको गुञ्जनबाट सुरु भयो ।

साहसबिना लोलाइरहेका अनगिन्ती विद्यार्थी–आँखाहरूले त्यस्ता कक्षाकोठाहरूमा आत्मविश्वास कहिल्यै देख्न पाएनन् । आफूलाई सुन्न र सुनाउन पाएनन् ।

वर्षौं वर्षसम्म उनीहरू केवल अरूकै बारेमा र अरूलाई मात्र सुन्न बाध्य भए । यिनै मौनताको आवज “सञ्चारशील कक्षाकोठाः रूपान्तरणकारी पठनपाठनको आधारशिला” को आकार लिएर तपाईहरू समक्ष आएको छ । 

ज्ञानको सह–निर्माण गर्न र विद्यार्थीलाई सुन्न जान्ने शिक्षाका सैद्धान्तिक र व्यावहारिक आयामहरूलाई मथेर यो पुस्तक तयार पार्ने जमर्को गरिएको छ ।

यस पुस्तकले कक्षाकोठा रूपान्तरण गर्न ठूलो लगानी होइन, विद्यार्थीलाई सुन्ने सानो तर अति सार्थक निर्णयको पक्षमा दृढतापूर्वक वकालत गर्दछ ।

कक्षाकोठामा जब शिक्षकले सुन्छन्, विद्यार्थी बोल्न सिक्छन्, जब शिक्षकले कक्षाकोठामा हुने गल्तीलाई सजायको भागिदार होइन, सिकाइको अवसर मान्छन्, जब शिक्षकले कक्षाकोठालाई खुला, स्नेही र आशावादी बनाउँछन्, तब सिकाइले वास्तविक जन्म लिन्छ र चेतना जागृत हुन्छ भन्ने मान्यताको जगमा टेकेर यो पुस्तक उभिएको छ ।

हामी जोकोही पनि कसैले केही भन्दैमा त्यो कुरा सजिलै पत्याइ हाल्दैनौं । हामीसँग कसैले भनेका कुराको विश्लेषण गर्ने तीन पत्रे नैसर्गिक कसी हुन्छ, जसलाई हामी “कमन सेन्स” पनि भन्न सक्छौं ।

त्यो तीन पत्रे कसी हो– भनिएको कुरा वस्तुगत हिसाबले सही छ कि छैन, सामाजिक हिसाबले उपयुक्त छ कि छैन र त्यो कुरा भन्ने व्यक्तिको अनुभव र नियतमा निष्ठा छ कि छैन ?

यी तीनवटै पक्षमाथि मन्थन गरी सन्तुष्ट भएपछि मात्र हामी ती कुरा पत्याउँछौं र आत्मसात गर्छौं वा अनुभवमा सँगाल्छौं, नत्र इन्कार गर्छौं ।  

हामी शिक्षकले कक्षाकोठामा ज्ञान र सीपका रूपमा प्रस्तुत गरेका विषयवस्तुमाथि पनि विद्यार्थीहरूका यस्तै स्वाभाविक जिज्ञासा हुन्छन् ।

कक्षाकोठामा यस्ता जिज्ञासामाथि छलफल भएर विद्यार्थी सन्तुष्ट हुन पाएनन् भने उनीहरूसंग एउटै विकल्प रहन्छ– परीक्षामा उत्रिर्ण हुनलाई रट्नु, कण्ठ पार्नु । यस अवस्थाले शिक्षा जान्नका लागि होइन, केवल जाच्नका लागि हुनपुग्छ । 

हामी शिक्षकले मौन विद्यार्थीलाई बोल्न प्रेरित गर्‍यौँ, विद्यार्थीले डर हटाएर बोल्न थाले, हामी शिक्षकले विद्यार्थीलाई “कुन विषय पढाऊँ ?” मात्र होइन “यो विषयमा के थाहा छ र तिमीहरू कसरी सोच्छौ ?” भनी सोध्न थाल्यौं भने मलाई लाग्छ– त्यही क्षणबाट कक्षाकोठामा रूपान्तरण सुरु हुन्छ ।

mandap books sancharsheel kakshyakotha.jpg

यस पुस्तकको परम उद्देश्य शिक्षकलाई “सिकाउनु’ होइन, कक्षाकोठाको “मौनता भङ्ग” गर्न सक्षम बनाउनु रहेको छ । 

दक्षता र प्रभावकारिता दुई परिपुरक तर भिन्न अवधारणा हुन् । यस पुस्तकले विषयवस्तुका बारेमा शिक्षकको दक्षताप्रति रक्तिभर शंका गर्दैन, तर कक्षाकोठामा शिक्षकको प्रभावकारिता सम्बन्धी बहसलाई चर्को स्वरमा उराल्छ ।

सञ्चारमय वा सञ्चारशील कक्षाकोठा नै यस बहसको अन्तिम गन्तव्य हो । शिक्षकले कक्षाकोठामा विद्यार्थीका आवाज सुन्न र विद्यार्थीहरू समाजको आवाज बन्न सकेका दिन साँचो अर्थमा शिक्षाले सार्थकता पाउने छ । 

यस पुस्तकमा कक्षाकोठा सञ्चार र शिक्षण दुई पृथक् अभ्यासका रूपमा होइन, चेतना निर्माणको प्रक्रियामा परस्पर गुथिएका आयामको रूपमा ग्रहण गरिएको छ ।

यस पुस्तकमा सैद्धान्तिक र व्यावहारिक दुबै स्तरबाट सञ्चार र शिक्षण बीचको अखण्डित स्वभावलाई गहनतापूर्वक चिरफार गर्ने प्रयास गरिएको 
छ ।

यस पुस्तकलाई दुईवटा मूल खण्डमा बाडिएको छ, पहिलो खण्ड “सञ्चारशील कक्षाकोठा” र दोस्रो “सञ्चारशील शिक्षणशास्त्र” ।

यी दुबै खण्ड परस्पर सम्बन्धित छन्– पहिलो खण्डले कक्षाकोठाको दैनिक यथार्थ उजागर गर्छ भने दोस्रो खण्डले त्यही यथार्थलाई बुझ्न र रूपान्तरण गर्न आवश्यक शिक्षणशास्त्रीय आधार प्रदान गर्छ ।

अन्त्यमा, म यस पुस्तकले कक्षाकोठा शिक्षणलाई मौनताबाट संवादमा, अनुसरणबाट सोचमा र घोकन्तेबाट अधिक पूर्ण मान्छेमा बदल्न महत्वपूर्ण योगदान दिनेमा आशावादी छु ।

कक्षाकोठामा आशा, स्नेह, संवाद र आत्मविश्वास फिर्ता ल्याउने सार्थक यात्रामा यो पुस्तक शिक्षकका लागि सहयात्री बन्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।

यही दृढ निश्चयका साथ म यो पुस्तक तपाई सम्पूर्ण शिक्षकहरूमा समर्पित गर्न चाहन्छु, जो सधैं मौन विद्यार्थीका आँखामा प्रश्न खोजिरहनु भएको छ, जो विद्यार्थीको मनमा पाठ्य पुस्तकभन्दा ठूलो मानचित्र कोर्न चाहिरहनु भएको छ र जो रूपान्तरणकारी शिक्षा सम्भव र अपरिहार्य छ भन्ने मतका हिमायती हुनुहुन्छ ।


(सिकाइ समूहद्वारा प्रकाशित ‘सञ्चारशील कक्षाकोठाः रूपान्तरणकारी पठन-पाठनको आधारशिला’ पुस्तकका लेखक डा. रघु मैनालीले २०८३ असार २६ गते मदन भण्डारी मेमोरियल कलेज, काठमाडौंमा आयोजित पुस्तक लोकार्पण समारोहमा व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश ।)


Related Story

सञ्चार र मिडिया सम्बन्धी काठमाडौं सम्मेलन आइतबारदेखि

सञ्चार र मिडियासम्बन्धी काठमाडौं सम्मेलन २०२४ आइतबारदेखि सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र

स्नातक तहमा पत्रकारिता पढ्ने विद्यार्थीका लागि सूचना विभागको छात्रवृत्ति आह्वान

नेपाल सरकारको सूचना तथा प्रसारण विभागले स्नातक तहमा पत्रकारिता अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्तिको आवेदन आह्वान गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा

त्रिवि पत्रकारिता केन्द्रीय विभाग प्रमुखमा कुन्दन अर्याल

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा सह-प्राध्यापक डा. कुन्दन अर्याल नियुक्त भएका छन् ।   यसअघिका प्रमुख प्रा. प्रबलराज

आरआर क्याम्पसबाट आफ्नै सुविधासम्पन्न भवनमा सर्‍यो त्रिविको पत्रकारिता केन्द्रीय विभाग

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन उद्घाटन समारोहका उद्घोषक घमराज लुइँटेल कार्यक्रम सञ्चालनकै क्रममा स्मृतिमा पुगे जतिबेला उनी

सञ्चारका तहहरू

निर्मलमणि अधिकारी-  सञ्चारका तहअन्तर्गत अन्तरनिहीत वा आन्तरिक सञ्चार, अन्तरव्यक्ति सञ्चार, समूह सञ्चार, साङ्गठनिक सञ्चार र आमसञ्चारको चर्चा गरिन्छ। कतिपय सञ्चारविद्ले समूह

सञ्चार विधाको विपश्चिमीकरण

डा. निर्मलमणि अधिकारी - नेपालमा सञ्चार विधाको औपचारिक एवं विशिष्टिकृत पठनपाठन विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मै भइरहेको छ । अन्य विधाभित्र संसारमा

मिडिया अध्ययनका डेढ दशक

डा. निर्मलमणि अधिकारी -  काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ को प्रस्तावनामा कला, विज्ञान, व्यवस्थापन, प्रविधिजस्ता विविध क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धानका लागि

पत्रकारिता शिक्षा ‘इन्ट्रा डिसिप्लिनरी’ कि ‘इन्टर डिसिप्लिनरी’ ?

भानुभक्त आचार्य - नेपालमा पत्रकारिता शिक्षा वि.सं. २०३३ बाट सुरु भयो। त्यसबेला पत्रकारिता शिक्षा सुरु हुनुमा लाल देउसा राई, भारतदत्त कोइराला,