हामी मानिसले दैनिक जीवनमा अत्यधिक मात्रामा गर्ने दुईवटा कार्य छन्– पहिलो हामी निरन्तर सास फेर्छौै र दोस्रो हरेक क्षण अन्तरक्रिया वा सञ्चार गर्छौं ।
तर प्रश्न उठ्छ के हामी यी दुबै कुरा सोचेर गरिरहेका हुन्छौं त ?
हामी मान्छे अन्य प्राणीभन्दा विशिष्ट हुनमा तीनवटा असाधारण स्वभावहरू रहेका छन्– हामी श्रम गर्छौं, हामीसँग भाषा छ र हामी सञ्चार गर्छौं ।
यसरी हेर्दा सञ्चार कुनै जन्मसिद्ध ज्ञान वा सीप मात्र नभएर मानिस हुनुको विशिष्ट गतिविधि वा कार्य हो, जसले हामीलाई सामाजिक प्राणी बनाएको छ ।
हामी चाहेर पनि सञ्चार नगर्न सक्दैनौं । फेरि यहाँ अर्को प्रश्न उठ्छ के हामी सधैं प्रभावकारी रूपमा सञ्चार गरिरहेका छौं त ?
शिक्षा, उपभोक्ता बजारमा पाइने जस्तो कुनै बनिबनाउ सरसामान होइन, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा हस्तान्तरण हुन्छ वा विनिमय गरिन्छ ।
यो यन्त्रिक प्रणाली वा डेलिभरी प्रणाली पनि होइन । शिक्षा विशुद्ध मानव प्रणाली हो । यो हामी बाँचेको जीवनजगत्मा चलायमान हुन्छ र अन्तरक्रियामार्फत अर्थ निर्माण गर्दै परस्पर समझदारी कायम गरिन्छ ।
यसको मतलब सिकाइलाई जीवन्त बनाउने अपरिहार्य उर्जा भनेकै प्रभावकारी सञ्चार हो । उर्जाविहिन मेसिन र सञ्चारविहिन कक्षाकोठा उस्तै हुन्छन् ।
मेसिनमा जतिसुकै नयाँ प्रविधि र गुणस्तरीय उपकरण जडान भएपनि उर्जा बिना त्यो केवल धातुको पिण्ड बन्छ– निष्क्रिय, गतिहीन र उपयोगविहीन ।
यस्तैगरी शिक्षकसँग प्रचुर ज्ञान, अनुभव, सामग्री र प्रविधि भएपनि त्यहाँ प्रभावकारी सञ्चार हुँदैन भने कक्षाकोठा प्रभावहीन र निरर्थक बन्छ ।
सञ्चारविहीन कक्षाकोठा र उर्जाविहीन मेसिनमा संरचना त हुन्छ तर सञ्चालन हुँदैन, उपस्थिति त देखिन्छ तर प्रभाव पैदा गर्दैन ।
प्रभावकारी सञ्चारले मात्र कक्षाकोठालाई उर्जाशील बनाउँछ, विचारलाई गति दिन्छ, शिक्षक अनि विद्यार्थीबीचको सम्बन्ध तथा विश्वासलाई प्रगाढ बनाउँछ र सिकाइलाई जीवन्त पार्छ ।
सञ्चाररहित कक्षाकोठामा विद्यार्थीका जिज्ञासा मौन हुन्छन्, सहभागिता हराउँछ र सिकाइको आत्मा मर्छ ।

त्यसैले शिक्षकको बोली, हाउभाउ, सङ्केत, प्रस्तुति शैली र विद्यार्थीका क्रिया–प्रतिक्रियाबीच हुने अटुट अन्तरक्रियाले मात्र कक्षाकोठालाई वास्तविक अर्थमा सिकाइको केन्द्रका रूपमा विकसित गर्छ ।
यसरी एउटा सफल शिक्षक प्रभावकारी सञ्चारकर्ता बन्नै पर्ने हुन्छ । अर्को शब्दमा, शिक्षण कार्य आफैंमा विशिष्ट परिवेशको मानव सञ्चार हो ।
कक्षाकोठामा हामी शिक्षकले के भन्यौं वा के सिकायौं भन्ने कुराले खासै अर्थ राख्दैन । अर्थ त्यसले राख्छ– हामीले भनेको कुरा विद्यार्थीले कसरी बुझिरहेका छन् ?
तर दशकौंदेखि परम्परागत कक्षाकोठामा विद्यार्थी निरन्तर मौन छन् । त्यो मौनताको कारण कतै डर छ, कतै आत्मविश्वासको अभाव त कतै नैराश्य ।
यो पुस्तकको जन्म कक्षाकोठाको त्यही मौनताको गुञ्जनबाट सुरु भयो ।
साहसबिना लोलाइरहेका अनगिन्ती विद्यार्थी–आँखाहरूले त्यस्ता कक्षाकोठाहरूमा आत्मविश्वास कहिल्यै देख्न पाएनन् । आफूलाई सुन्न र सुनाउन पाएनन् ।
वर्षौं वर्षसम्म उनीहरू केवल अरूकै बारेमा र अरूलाई मात्र सुन्न बाध्य भए । यिनै मौनताको आवज “सञ्चारशील कक्षाकोठाः रूपान्तरणकारी पठनपाठनको आधारशिला” को आकार लिएर तपाईहरू समक्ष आएको छ ।
ज्ञानको सह–निर्माण गर्न र विद्यार्थीलाई सुन्न जान्ने शिक्षाका सैद्धान्तिक र व्यावहारिक आयामहरूलाई मथेर यो पुस्तक तयार पार्ने जमर्को गरिएको छ ।
यस पुस्तकले कक्षाकोठा रूपान्तरण गर्न ठूलो लगानी होइन, विद्यार्थीलाई सुन्ने सानो तर अति सार्थक निर्णयको पक्षमा दृढतापूर्वक वकालत गर्दछ ।
कक्षाकोठामा जब शिक्षकले सुन्छन्, विद्यार्थी बोल्न सिक्छन्, जब शिक्षकले कक्षाकोठामा हुने गल्तीलाई सजायको भागिदार होइन, सिकाइको अवसर मान्छन्, जब शिक्षकले कक्षाकोठालाई खुला, स्नेही र आशावादी बनाउँछन्, तब सिकाइले वास्तविक जन्म लिन्छ र चेतना जागृत हुन्छ भन्ने मान्यताको जगमा टेकेर यो पुस्तक उभिएको छ ।
हामी जोकोही पनि कसैले केही भन्दैमा त्यो कुरा सजिलै पत्याइ हाल्दैनौं । हामीसँग कसैले भनेका कुराको विश्लेषण गर्ने तीन पत्रे नैसर्गिक कसी हुन्छ, जसलाई हामी “कमन सेन्स” पनि भन्न सक्छौं ।
त्यो तीन पत्रे कसी हो– भनिएको कुरा वस्तुगत हिसाबले सही छ कि छैन, सामाजिक हिसाबले उपयुक्त छ कि छैन र त्यो कुरा भन्ने व्यक्तिको अनुभव र नियतमा निष्ठा छ कि छैन ?
यी तीनवटै पक्षमाथि मन्थन गरी सन्तुष्ट भएपछि मात्र हामी ती कुरा पत्याउँछौं र आत्मसात गर्छौं वा अनुभवमा सँगाल्छौं, नत्र इन्कार गर्छौं ।
हामी शिक्षकले कक्षाकोठामा ज्ञान र सीपका रूपमा प्रस्तुत गरेका विषयवस्तुमाथि पनि विद्यार्थीहरूका यस्तै स्वाभाविक जिज्ञासा हुन्छन् ।
कक्षाकोठामा यस्ता जिज्ञासामाथि छलफल भएर विद्यार्थी सन्तुष्ट हुन पाएनन् भने उनीहरूसंग एउटै विकल्प रहन्छ– परीक्षामा उत्रिर्ण हुनलाई रट्नु, कण्ठ पार्नु । यस अवस्थाले शिक्षा जान्नका लागि होइन, केवल जाच्नका लागि हुनपुग्छ ।
हामी शिक्षकले मौन विद्यार्थीलाई बोल्न प्रेरित गर्यौँ, विद्यार्थीले डर हटाएर बोल्न थाले, हामी शिक्षकले विद्यार्थीलाई “कुन विषय पढाऊँ ?” मात्र होइन “यो विषयमा के थाहा छ र तिमीहरू कसरी सोच्छौ ?” भनी सोध्न थाल्यौं भने मलाई लाग्छ– त्यही क्षणबाट कक्षाकोठामा रूपान्तरण सुरु हुन्छ ।

यस पुस्तकको परम उद्देश्य शिक्षकलाई “सिकाउनु’ होइन, कक्षाकोठाको “मौनता भङ्ग” गर्न सक्षम बनाउनु रहेको छ ।
दक्षता र प्रभावकारिता दुई परिपुरक तर भिन्न अवधारणा हुन् । यस पुस्तकले विषयवस्तुका बारेमा शिक्षकको दक्षताप्रति रक्तिभर शंका गर्दैन, तर कक्षाकोठामा शिक्षकको प्रभावकारिता सम्बन्धी बहसलाई चर्को स्वरमा उराल्छ ।
सञ्चारमय वा सञ्चारशील कक्षाकोठा नै यस बहसको अन्तिम गन्तव्य हो । शिक्षकले कक्षाकोठामा विद्यार्थीका आवाज सुन्न र विद्यार्थीहरू समाजको आवाज बन्न सकेका दिन साँचो अर्थमा शिक्षाले सार्थकता पाउने छ ।
यस पुस्तकमा कक्षाकोठा सञ्चार र शिक्षण दुई पृथक् अभ्यासका रूपमा होइन, चेतना निर्माणको प्रक्रियामा परस्पर गुथिएका आयामको रूपमा ग्रहण गरिएको छ ।
यस पुस्तकमा सैद्धान्तिक र व्यावहारिक दुबै स्तरबाट सञ्चार र शिक्षण बीचको अखण्डित स्वभावलाई गहनतापूर्वक चिरफार गर्ने प्रयास गरिएको
छ ।
यस पुस्तकलाई दुईवटा मूल खण्डमा बाडिएको छ, पहिलो खण्ड “सञ्चारशील कक्षाकोठा” र दोस्रो “सञ्चारशील शिक्षणशास्त्र” ।
यी दुबै खण्ड परस्पर सम्बन्धित छन्– पहिलो खण्डले कक्षाकोठाको दैनिक यथार्थ उजागर गर्छ भने दोस्रो खण्डले त्यही यथार्थलाई बुझ्न र रूपान्तरण गर्न आवश्यक शिक्षणशास्त्रीय आधार प्रदान गर्छ ।
अन्त्यमा, म यस पुस्तकले कक्षाकोठा शिक्षणलाई मौनताबाट संवादमा, अनुसरणबाट सोचमा र घोकन्तेबाट अधिक पूर्ण मान्छेमा बदल्न महत्वपूर्ण योगदान दिनेमा आशावादी छु ।
कक्षाकोठामा आशा, स्नेह, संवाद र आत्मविश्वास फिर्ता ल्याउने सार्थक यात्रामा यो पुस्तक शिक्षकका लागि सहयात्री बन्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।
यही दृढ निश्चयका साथ म यो पुस्तक तपाई सम्पूर्ण शिक्षकहरूमा समर्पित गर्न चाहन्छु, जो सधैं मौन विद्यार्थीका आँखामा प्रश्न खोजिरहनु भएको छ, जो विद्यार्थीको मनमा पाठ्य पुस्तकभन्दा ठूलो मानचित्र कोर्न चाहिरहनु भएको छ र जो रूपान्तरणकारी शिक्षा सम्भव र अपरिहार्य छ भन्ने मतका हिमायती हुनुहुन्छ ।
(सिकाइ समूहद्वारा प्रकाशित ‘सञ्चारशील कक्षाकोठाः रूपान्तरणकारी पठन-पाठनको आधारशिला’ पुस्तकका लेखक डा. रघु मैनालीले २०८३ असार २६ गते मदन भण्डारी मेमोरियल कलेज, काठमाडौंमा आयोजित पुस्तक लोकार्पण समारोहमा व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश ।)