त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन उद्घाटन समारोहका उद्घोषक घमराज लुइँटेल कार्यक्रम सञ्चालनकै क्रममा स्मृतिमा पुगे जतिबेला उनी एमए पत्रकारिताको पहिलो 'ब्याच'का विद्यार्थी थिए ।
"हामी पढ्दा शिक्षकहरू पनि सानो कुचुक्क परेको कोठामा बस्नु परेको थियो । पछि विभाग आरआरकै पल्लो भवनमा सर्दा अलि खुकुलो भए पनि पठनपाठन असहज नै थियो", रत्नराज्यलक्ष्मी क्याम्पसमा एमको कक्षा सुरु हुँदाको अनुभव सुनाए, "यो मेरो जीवनको पनि महत्त्वपूर्ण क्षण हो । पत्रकारिता विभागको यो नयाँ संरचनाको साक्षी हुन पाइयो ।"
त्रिभुवन विश्वविद्यालयले २०५८ सालमा पत्रकारिताको स्नातकोत्तर तहको पढाइ सुरु गर्दाका विद्यार्थी लुइँटेल चर्चित रेडियोकर्मी त हुन् नै, अहिले विभागमा उपप्रध्यापक पनि छन् । पत्रकारिताको पहिलो ब्याचमा ५२ जना विद्यार्थी थिए ।

बोलीचालीमा आरआर क्याम्पस भनिने रत्नराज्यलक्ष्मी क्याम्पस पत्रकारिताको पर्याय पनि थियो । र, त्रिविको पत्रकारिता यही क्याम्पसमा जन्मीहुर्की आफ्नै सुविधासम्पन्न भवनमा सरेको हो । फोटो साभारः collegeinfonepal.com
लुइँटेलमात्र होइन, कार्यक्रममा आएका सबैजना जति भर्खरै उद्घाटित 'क्यामेरा घर' देखेर पुलकित थिए, त्यति नै आरआर क्याम्पसलाई मिस गरिरहेका थिए ।
त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग आरआर क्याम्पस, पछि अलगै भवन हुँदै बल्खुस्थित आफ्नै भवन पुगेको हो ।
आरआर क्याम्पस बास्तविक नाम रत्नराज्यलक्ष्मी क्याम्पसभन्दा 'ब्रान्डेड' हुनुको एउटा कारण उक्त क्याम्पसको त्रिवि पत्रकारिता केन्द्रीय विभागसँग 'घाँटी जोडिएको' सम्बन्ध थियो । त्यसैले अधिकांशका लागि अहिले पनि आरआर क्याम्पस र पत्रकारिता विभाग उस्तैउस्तै लाग्छन् ।
तर अब विभाग अलग, आरआर क्याम्पस अलग । विभाग काठमाडौंको बल्खुस्थित आफ्नै अत्याधुनिक भवनमा, रत्नराज्य क्याम्पस सधैँझैँ प्रदर्शनीमार्गमा ।
रत्नराज्यलक्ष्मी क्याम्पसका निवर्तमान स्ववियु सभापति तपेन्द्रजंग शाहीले विभाग आफ्नै घरमा सर्दा आफू खुसी भए पनि आरआरसँग 'छुट्टिएको' देख्दा आफूलाई दुःख पनि लागेको सुनाए । "हामी लामो समय एउटै प्राङ्गणमा रह्यौँ, आज विभाग आफ्नै भवनमा सर्दा जति खुसी लागेको छ, छुट्टिनुपर्दाको दुःख पनि सँगसँगै छ", उनले भने ।
२०७६ माघ २२ मा शिलान्याश भई निर्माण सुरु भएको त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन बुधबार उद्घाटन भएको हो । त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसालले औपचारिक समारोहबीच भवन उद्घाटन गरे ।
लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित केन्द्रीय विभागको नवनिर्मित भवनको उद्घाटन भएसँगै सबै कार्यक्रमहरु नयाँ भवनबाट सुरु हुने भएका छन् । चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको हो ।
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग आफ्नै भवनमा सरे पनि रत्नराज्यलक्ष्मी क्याम्पसमा पनि पत्रकारिताको स्नातक तहको पत्रकारिताको पढाइ भने नियमितै रहनेछ ।
निमित्त उपकुलपति भुसालले पत्रकारिता तथा आमसञ्चार अध्ययनलाई अझ गुणस्तरीय र उत्कृष्ट बनाउन आवश्यक पूर्वाधार सहितको भवनले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । भुसालले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको सुविधासम्पन्न संरचना बनेसँगै विभागलाई चुनौति पनि थपिएको बताए । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको स्तरवृद्धिका लागि विश्वविद्यालयले सहयोग गर्ने प्रतिवद्धता उनले जनाए ।
उद्घाटन कार्यक्रममा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा.चिरञ्जीवी खनालले रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा साना ठाउँ भएकाले विभागको पहलमा भवन निर्माण भएको बताए । सीमित स्रोत साधनबीच पनि गुणस्तरीय पत्रकारिता शिक्षा दिँदै आएको विभागले सुविधासम्पन्न मल्टिमिडिया स्टुडियो तथा ल्याबसहितका सुविधा उपलब्ध गराउने बताए ।
प्राध्यापक खनालले भवन निर्माणमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए । पत्रकारिता अध्ययन समयानुकूल परिष्कृत बनाउने योजना उनले सुनाए ।

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. चिरञ्जीवी खनाल भवन उद्घाटन कार्यक्रममा मन्तव्यका क्रममा ।
२०३३ सालदेखि सुरु भएको पत्रकारिता शिक्षाले धेरै अब्बल पत्रकारहरू उत्पादन भई मुलुकको सञ्चार क्षेत्रमा स्थापित भएका उनले स्मरण गरे र त्यसका लागि अग्रजहरूप्रति आभार प्रकट गरे ।
"आज धेरै मिडियामा त्रिविले नै उत्पादन गरेका अनुहारहरू छन्", उनले कार्यक्रममा उपस्थित कतिपयको नाम लिएरै भने, "म मेरा अगाडि धेरै मिडियाका सम्पादकहरू देखिरहेको छु ।"
भवन निर्माण समितिका संयोजक उपप्राध्यापक डा. देवराज अर्यालले सबैको सहयोगका कारण भवन निर्माण तोकिएकै समयमा सम्पन्न भएको बताए । भवनको डिजाइन निजी संस्थाबाट नभई त्रिवि अन्तर्गतकै पुल्चोक क्याम्पसको इन्जिनियरिङ कन्सल्टेन्सी सेवाले गरेको थियो ।
भ्याली बाबुरत्न जेभी निर्माण कम्पनीले २१ करोड ५९ लाखको लगतमा भवन निर्माण गर्ने सम्झौता गरेको थियो । नयाँ भवनमा सुविधासम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि (विदेशी) प्राध्यापक आवास लगायत रहेका छन् ।
त्रिविले २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ देखि विद्यावारिधि र २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको थियो ।