सन् १९५० मा कम्प्युटर 💻 लाई वर्ष व्यक्ति घोषणा गर्दै Time ले हेडलाइन राखेको थियो — the thinking machine अर्थात् 'सोच्ने मेसिन' । ७५ वर्षपछि 'साँच्चै सोच्ने मेसिन' 🤖 बनाउनेहरू Time को वर्ष व्यक्ति बनेका छन् ।
टाइम म्यागजिनले सन् २०२५ को वर्ष व्यक्तिको उपाधि कृत्रिम बुद्धिमत्ता (एआई) का आर्किटेकहरू अर्थात् एआईका संरचनाकारहरू (Architects of AI) लाई संयुक्त रुपमा प्रदान गरेको छ ।
टाइमले हरेक वर्ष परम्पराकै रूपमा 'वर्ष व्यक्ति' घोषणा गर्छ ।
सोच्ने क्षमता भएका मेसिनहरूको युग विकास गरी मानवतालाई चकित र चिन्तित बनाउँदै वर्तमानलाई रूपान्तरण गरेकाले एआई संरचनाकारहरूले २०२५ को 'वर्ष व्यक्ति' उपाधि हासिल गरेका हुन् ।
टाइम म्यागजिनले २०२५ को ‘पर्सन अफ द इयर’ कुनै एकल व्यक्ति नभई समूहगत रूपमा ‘द आर्किटेक्ट्स अफ एआई’ भनिने समूहलाई घोषणा गरेको हो । यी विश्वव्यापी समाजलाई व्यापाक प्रभाव पार्ने कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीहरूको कल्पना, डिजाइन र निर्माणका लागि जिम्मेवार व्यक्तिहरू हुन् ।
टाइमका अनुसार यस वर्ष विश्व समुदायमा ठूलो प्रभाव कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको कल्पना, डिजाइन र निर्माण गर्ने व्यक्तित्वहरूको रहेको थियो ।
“मानव निर्मित एआईको भविष्य र संरचना मानवताले नै निर्धारण गर्नेछ । यद्यपि मानवीय क्रियाकलाप पनि एआईले परिभाषित गरेको मार्गतर्फ बढिरहेको छ”, टाइमले एआईका रचनाकर्ताहरूलाई वर्ष व्यक्ति बनाउनुको कारणबारे भनेको छ, “मानवद्वारा निर्मित एवम निर्देशित एआईको सिक्ने, नक्कल गर्ने, तर्क गर्ने र मजाक गर्ने क्षमता अचम्म एवम् डरलाग्दो दुवै छ । यसर्थ: वर्षभरीको हेडलाइनहरूमाथि हावी गर्ने शक्तिको पहिचान गर्दै एआईका निर्माताहरूलाई सन् २०२५ को वार्षिक व्यक्तिको उपाधि प्रदान गरेका हौँ ।”
टाइमले एआईको प्रभाव दर्शाउन दुई छुट्टाछुट्टै कभर तस्बिर तयार पारेको छ । एउटा तस्बिरमा कलाकार जेसन सेलरले सन् १९३२ को प्रतिष्ठित तस्बिर ‘Lauch Atop a Skyscraper’ को रिक्रियसन गरेका थिए ।
उक्त तस्बिरले आर्थिक महामन्दीका बेला अमेरिकी लचिलोपना प्रतिविम्बित गर्छ । सेलरले पुनः तयार पारेका तस्बिरमा कामदारको ठाउँमा हुवाङसँगै मेटाका मार्क जुकर्बर्ग, एडभान्स माइक्रो डिभाइसेसकी लिसा सु, एक्सका एलन मस्क, ओपेन एआईका स्याम एल्ट्म्यान, डिप माइन्ड टेक्नोलोजीका डेमिस हस्साबिस, Anthropic का Dario Amodei र Human Created AI Institute का Fei Fei Li देखिन्छन् ।
कलाकार पिटर क्रोथरद्वारा सिर्जित दोश्रो कभर चित्रणमा विशाल एआई शब्दको निर्माणस्थलमा उही कार्यकारीहरू रहेका छन् । दुवै तस्बिरले सन् २०२५ मा एआई ले ल्याएको विश्वव्यापी प्रभाव दर्शाउँछ ।

टाइमले सन् १९८७ देखि प्रत्येक एक वर्ष आफ्नो कामबाट विश्व जनजीवनलाई प्रभाव पार्ने व्यक्ति, समूह वा वस्तुहरूमा विश्वको ध्यान केन्द्रित गर्न वर्ष व्यक्तिको घोषणा गर्दै आएको छ ।
टाइमले विश्वव्यापी मामिलाहरूमा असल या खराब प्रभाव पार्ने व्यक्ति, समूह वा वस्तुलाई पहिचान दिन वर्ष व्यक्तिको उपाधि दिने गर्दछ । यो उपाधि व्यक्तिगत तथा सामुहिक दुवै हुन सक्छ । टाइमले वर्षदिनको अवधिमा ‘ग्लोबल ट्रेन्ड’ बन्न वा बनाउन सफल व्यक्ति, समूह तथा वस्तुलाई विश्वमसामु चिनाउन वर्ष व्यक्ति घोषणा गर्ने गर्दछ ।
टाइममा प्राविधिक क्रान्तिको तेस्रो शृङ्खला
एआई संरचनाकर्ताहरूको वर्ष व्यक्तिको रुपमा छनोट विगत आधा शताब्दीमा टाइमले कैद गरेको प्राविधिक क्रान्तिको मुख्य क्षण कैद गर्ने तेश्रो शृंखला हो ।
सन् १९५० मा कम्प्युटरलाई पहिलो पटक वर्ष व्यक्ति घोषणा गर्दै शीर्षक राखेको थियो- सोच्ने मेसिन (the thinking machine) ।
७५ वर्षपछि साँच्चै सोच्ने मेसिनका सर्जकहरू वर्ष व्यक्ति बनेका छन्।
त्यसपश्चात ब्लग , युट्युब र माइस्पेस जस्ता सामाजिक संजालमार्फत प्रयोगकर्ताद्वारा सिर्जित इन्टरनेट सामग्रीको वृद्धि र प्रभावलाई मध्यनजर गर्दै सन् २००६ मा ‘यु’ शब्दलाई वर्ष व्यक्ति घोषणा गरिएको थियो ।
अब आर्टिफिसियल इन्टेलिजेन्सलाई आजको दिनमा ल्याइपुर्याउने मुख्य संरचनाकर्ताहरूलाई चिनौँ ।

AI-generated image created using ChatGPT. Not an actual photograph.
✅ फेई-फेई ली (World Labs संस्थापक) 'एआईकी गडमदर' को रूपमा परिचित, स्प्यासियल इन्टेलिजेन्स विकासमा केन्द्रित World Labs मार्फत थ्रीडी वातावरण सिर्जना गर्ने प्रविधि विकास गरिरहेका छन् ।
✅ स्याम एल्टम्यान (OpenAI CEO) ChatGPT मार्फत प्रति हप्ता ८० करोड प्रयोगकर्ता हासिल गर्दै जेनेरेटिभ एआई क्रान्तिको नेतृत्व गरिरहेका छन् ।
✅ जेन्सन ह्वाङ (Nvidia CEO) एआई प्रशिक्षणका लागि GPU चिप आपूर्तिमा अग्रणी भूमिका निभाउँदै Nvidia लाई पहिलो ५ ट्रिलियन डलर कम्पनी बनाएका छन् ।
✅ लिसा सु (AMD CEO) सन् २०१४ मा AMD को कम्पनी शेयर ३ डलरबाट २२१ डलरमा पुर्याउँदै एआई चिप निर्माणमा Nvidia सँग प्रतिस्पर्धा गर्दै छन् ।
✅ डेमिस हस्साबिस (Google DeepMind CEO) प्रोटिन फोल्डिङको भविष्यवाणी गर्ने एआई प्रणाली विकास गरी २०२४ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन् ।
✅ मार्क जुकरबर्ग (Meta CEO) मेटामा एआई विकासमा १४.३ बिलियन डलर लगानी गर्दै 'सुपरइन्टेलिजेन्स' निर्माणमा केन्द्रित छन् ।
✅ दारियो अमोदेई (Anthropic CEO) Claude AI सहायक मार्फत यस वर्ष ५ बिलियन डलर बिक्री अपेक्षा गर्दै व्यावसायिक ग्राहकहरूलाई सेवा प्रदान गरिरहेका छन् ।
✅ एलन मस्क (xAI CEO) Grok AI च्याटबट मार्फत OpenAI र Google सँग प्रतिस्पर्धा गर्दै आफ्नै एआई दर्शन प्रस्तुत गर्दै छन् ।
अन्तत : वर्ष व्यक्ति २०२५ को रुपमा एआई संरचनाकर्ताहरूको चयनले विश्वमा एआईको बढ्दो लोकप्रियता र भूमिका मात्र होइन, आधुनिक समाजमा एआईले ल्याएको परिवर्तन, प्रभाव र सम्भवतः दुश्परिणामहरूलाई पनि पहिचान दिएको छ ।