मिस युनिभर्स, मिस वर्ल्ड, मिस नेपाल जस्ता वर्षैपिच्छे भइरहने सुन्दरी प्रतियोगिताबारे तपाईँलाई पक्कै थाहा छ । तर मिस एआई तपाईँका लागि नयाँ हुन सक्छ ।
हजुर, AI अर्थात् Artificial Intelligence । विश्वमा पहिलो पटक मिस एआई प्रतियोगिता हुँदै छ ।
एआईको प्रयोग गरी सिर्जना गरिएका मेसिन सुन्दरीहरूलाई मिस एआई भनिएको हो । यी कृत्रिम पात्रहरू सिर्जना गर्ने सर्जकहरू खासमा प्रतियोगिताका सहभागी हुन् । भर्चुअल्ली हुने यो प्रतियोगिताको उत्कृष्ट १० मा पर्न सफल एआई मोडलहरूको नाम सार्वजनिक गरिएको छ ।
मिस एआईको आयोजना वर्ल्ड एआई क्रिएटर अवार्ड्स (वाइका) नामक संस्थाले गरेको हो । वाइकाले यो प्रतियोगिता आयोजना गर्न फ्यानभ्यूसँग सहकार्य गरेको छ । फ्यानभ्यू एआईमार्फत बनाइएका कन्टेन्ट सेयर गर्न मिल्ने सामाजिक सञ्जाल प्लेटफर्म हो ।
विश्वभरका १५०० एआई मोडल मध्ये १० उत्कृष्ट एआई मोडलहरूको नाम सार्वजनिक गरिएको हो । विश्वको पहिलो मिस एआई बन्नको लागि मोरोक्कोकी केन्जा लइली, पोर्चुगलकी ओलिभिया सी, फ्रान्सकी एना केर्डी, भारतकी जारा शताभरी, रोमनियाकी अइयना रेनबो, फ्रान्सकी ललिना, टर्कीकी सेरेन अई, टर्कीकी असेना इलिक, बंगलादेशकी इलिजा खान र ब्राजिलकी अइल्या लोउबीच प्रतिस्पर्धा हुनेछ ।
अमेरिकाको प्रतिष्ठित मिडिया टाइमका अनुसार मिस एआईको विजेताको नाम जुलाई ८ गते सोमबार अनलाइन मार्फत सार्वजनिक हुनेछ । मिस एआईका विजेताले १३ हजार अमेरिकी डलर पाउनेछन् । यस्तै दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले २ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।
मिस एआई प्रतियोगिताको निर्णायक टोलीमा ४ सदस्य छन् जसमध्ये २ जना आफैँमा एआई निर्मिति इन्फ्लुएन्सर हुन् । एमिली पेल्लेग्रिनी र एतिएना लोपेज एआईद्वारा निर्माण गरिएका इन्टरनेसनल एआई इन्फ्लुएन्सर हुन्।
निर्णायक टोलीले प्रतियोगितामा सहभागी एआई–मोडल छान्न तिनवटा मापदण्डलाई आधार बनाउने छ । पहिलो, एआई सुन्दरीको सुन्दरता । दोस्रो, उनीहरूलाई निर्माण गर्न प्रयोग भएको प्रविधि । र, तेस्रो उनीहरूले इन्टरनेटमार्फत पार्न सक्ने प्रभाव ।
उत्कृष्ट १० मा पर्न सफल यी सबै एआई मोडलहरू सामाजिक सञ्जाल इन्स्टाग्राममा क्रियाशील छन् । मोरोक्कोकी केन्जाको इन्स्टाग्राममा १ लाख ९४ हजार फलोअर छन् । र, यी मेसिन सुन्दरी आफ्नो देश र मध्यपूर्वका महिलाको सशक्तिकरणका लागि योगदान पुर्याउन चाहन्छिन् ।
पर्चुगलकी ओलिभियाको इन्स्टाग्राममा १२ हजार ६ सय फलोअर छन् । तपाईँलाई अचम्म लाग्न सक्छ- उनी ट्राभलर अर्थात् घुमन्ते हुन् । उनी एआईको सकारात्मक क्षमता प्रदर्शन गर्दै कसरी प्रविधिले मानव अनुभवलाई अझ समृद्ध बनाउन सकिन्छ भनेर सन्देश दिन चाहन्छिन् ।
फ्रान्सकी एना केर्डीको इन्स्टाग्राममा १० हजार ४०० फलोअर छन् । उनी एआई, समाज र मानव सम्बन्धबारे आफ्नो दृष्टिकोण व्यक्त गर्छिन् ।
भारतकी जारा शताभरीलाई इन्स्टाग्राममा १४ हजार जनाले पछ्याएका छन् । उनी महिला स्वास्थ्यको पक्षमा सचेतना फैलाउँछिन् ।
रोमनियाकी अइयना रेनबोको इन्स्टाग्राममा ४ हजार ६७ फलोअर छन् । उनले रोमनियामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलजीबीटीआई) को अधिकारका पक्षमा वकालत गर्छिन् ।
फ्रान्सकी ललिनाको इन्स्टाग्राममा १ लाख १५ हजार फलोअर छन् । लालिनाले एआई क्रियटरको रूपमा विभिन्न संस्कृति र दृष्टिकोणहरूबीच बलियो सहकार्य र समझदारी कायम गर्ने लक्ष्य राख्छिन् ।
टर्कीकी सेरेन अईलाई इन्स्टाग्राममा २२ हजार जनाले पछ्याएका छन् । उनी पृत्तिसत्तात्मक समाजमा महिला उपस्थितिको वकालत गर्छिन् ।
टर्कीकी असेना इलिकको इन्स्टाग्राममा २८ हजार ३ सय फलोअर छन् । असेनाको लक्ष्य हजारौं प्रशंसकहरूको अनलाइन समुदाय निर्माण गरेर यौन आकर्षणभन्दा मौलिकता र कलात्मकता माथि हुन्छ भनेर संसारसामु प्रस्तुत गर्नु हो ।
बङ्गलादेशकी इलिजा खानको इन्स्टाग्राममा १३ हजार ६ सय फलोअर छन् । उनी फेसनप्रेमी हुन् । उनी नयाँ नयाँ पोशाकमा रुचि राख्छिन् ।
ब्राजिलकी अइल्या लोउको इन्स्टाग्राममा ११ हजार १ सय फलोअर छन् । उनी एक अभिनेत्री र फोटोग्राफर हुन् । अइल्या लोउलाई कलाभित्र बहुसांस्कृतिकताको सुन्दरता देखाउन सिर्जना गरिएको हो ।
बदँलिदो समय अनुसार पछिल्लो समय बढ्दै गएको एआईको विकासक्रमलाई हेर्दा, यो प्रतियोगितालाई व्यवसायिक दृष्टिकोणमा राम्रो भन्न सकिन्छ होला तर सामाजिक दृष्टिकोणबाट हेर्ने हो भने, मिस एआईको नाममा कतै महिलाहरूकै प्रतीकलाई व्यापारीकरण गरिरहेको त हैन ? भन्ने प्रश्न पनि उब्जाएको छ ।