मोरक्कोकी केन्जा लइली विश्वकै पहिलो मिस एआई घोषित भएकी छन् । वर्ल्ड एआई क्रिएटर अवार्ड्स (वाइका)द्वारा आयोजित मिस एआई प्रतियोगितामा लाइफस्टाइल इन्फ्लुएन्सर लइलीले मिस एआईको उपाधि हात पारेकी हुन् ।
मोरोक्कोकी केन्जाको इन्स्टाग्राममा १ लाख ९९ हजार फलोअर छन् । र, यी मेसिन सुन्दरी आफ्नो देश र मध्यपूर्वका महिलाको सशक्तिकरणका लागि योगदान पुर्याउन चाहन्छिन् ।
एआई टुल मात्रै नभएर कयौँ उद्योगलाई ‘डिस्टप्ट' गर्ने, पुरातन मूल्यमान्यतालाई चुनौती दिन सक्ने र यस अघि कहिल्यै अस्तित्वमा नरहेका अवसरहरू सृजना गर्न सक्ने परिवर्तनकारी शक्ति भएको उनले बताएकी छन् ।
फर्स्ट रनर अपको उपाधि फ्रान्सकी लालिना भालिनाले जितेकी छन् भने सेकेन्ड रनर अप पोर्चुगलकी ओलिभिया सीले भएकी छन् ।
मिस एआईको आयोजना वर्ल्ड एआई क्रिएटर अवार्ड्स (वाइका) नामक संस्थाले गरेको हो । वाइकाले यो प्रतियोगिता आयोजना गर्न फ्यानभ्यूसँग सहकार्य गरेको छ । फ्यानभ्यू एआईमार्फत बनाइएका कन्टेन्ट सेयर गर्न मिल्ने सामाजिक सञ्जाल प्लेटफर्म हो ।
विश्वभरका १५०० एआई मोडल मध्ये १० उत्कृष्ट एआई मोडलहरूको नाम सार्वजनिक गरिएको हो । विश्वको पहिलो मिस एआई बन्नको लागि मोरोक्कोकी केन्जा लइली, पोर्चुगलकी ओलिभिया सी, फ्रान्सकी एना केर्डी, भारतकी जारा शताभरी, रोमनियाकी अइयना रेनबो, फ्रान्सकी ललिना, टर्कीकी सेरेन अई, टर्कीकी असेना इलिक, बंगलादेशकी इलिजा खान र ब्राजिलकी अइल्या लोउबीच प्रतिस्पर्धा थिए ।