यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको संस्था ब्लु डायमन्ड सोसाइटीका पदाधिकारीहरूले अमेरिकी सहयोग नियोग (युएसएआइडी) को ८ करोड रुपैयाँको पारदर्शिता माग्दा पहिचान मिडिया र यसका सम्पादक माधव दुलालमाथि कारबाहीको धम्की दिएका छन् ।
साउन १४ गते बुधबार धुम्बाराहीस्थित सोसाइटीको कार्यालयमा भएको छलफलमा अध्यक्ष भूमिका श्रेष्ठले पहिचान मिडियालाई कारबाही गर्न प्रस्ताव राखेको पहिचान मिडियाले जनाएको छ ।
कार्यकारी निर्देशक मनिषा ढकालले पनि पहिचान मिडियामाथि पीत पत्रकारिता गरेको आरोप लगाएको समाचारमा उल्लेख छ । पहिचान मिडियाले उक्त छलफलको भिडियो पनि प्रकाशित गरेको छ ।
एचआइभी परियोजनाका लागि प्राप्त युएसएआइडीको ८ करोड रुपैयाँको हिसाब खुलाउन माग गर्दा सोसाइटीका नेताहरूले विषयान्तर गर्दै मिडियामाथि आक्रमणको बाटो रोजेका हुन् ।
संस्थापक अध्यक्ष सुनिल बाबु पन्तसहितका प्रतिनिधिहरूले पारदर्शिताको मागलाई निरन्तरता दिएका छन् ।
सुरक्षाकर्मीको उपस्थिति नभएको भए ब्लु डायमन्ड सोसाइटीका पदाधिकारीहरूले पत्रकारमाथि शारीरिक आक्रमण गर्ने सङ्केत समेत देखिएको उक्त छलफलका सहभागीहरूले बताएका छन् ।
पहिचान मिडियाले विगत १३ वर्षदेखि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका गतिविधिहरू निरन्तर प्रकाशन गर्दै आएको छ।