नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता हननका घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ ।
महासंघकी अध्यक्ष निर्मता शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सोमबार गृहमन्त्री रमेश लेखकलाई भेटी यस्तो माग गरेको हो ।
धरानका पत्रकार गोपाल दाहालमाथि समाचार लेखेकै कारण धम्की दिइएको र थप समाचार लेख्न रोक लगाइएको घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण गराएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रमा राज्यले यस्ता घटनामा कारबाही नगर्नुले प्रेस स्वतन्त्रताप्रतिको सरकारको प्रतिबद्धतामा प्रश्न उठेको उल्लेख गरिएको छ ।
महासंघले गठन गरेको मिसनको प्रतिवेदनमा धरानका मेयर हर्क साम्पाङ र उनका समर्थकले दाहाललाई ज्यान लिनेसम्मको धम्की दिएको उल्लेख छ ।
साथै, मेयर साम्पाङले श्रमदानमार्फत संकलन गरेको रकम उपमहानगरपालिकाको खातामा नराखी निजी खातामा राखेर खर्च गरेको विषयमा पनि प्रतिवेदनले छानबिनको माग गरेको छ ।
गृहमन्त्री लेखकले महासंघको मागप्रति ध्यानाकर्षण भएको बताउँदै प्रेस स्वतन्त्रता हननमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पत्रकार महासंघले बुझायो प्रधानमन्त्रीलाई ७ बुँदे ध्यानाकर्षणपत्र