धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले पत्रकारहरूमाथि धम्की र दुर्व्यवहार गरेको निष्कर्ष पत्रकार महासंघले निकालेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले धरानका पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गरी पुस २८ गते सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख छ ।
महासंघका केन्द्रीय सदस्यद्वय कमल रिमाल र शंकर खरेल, कोशी प्रदेश अध्यक्ष भरतबहादुर खड्का, सुनसरी शाखा अध्यक्ष सन्तोष काफ्ले र वरिष्ठ पत्रकार हर्ष सुब्बा सम्मिलित टोलीले तयार पारेको प्रतिवेदनमा मेयर राईले आलोचना गर्ने र बेथितिबारे समाचार लेख्ने पत्रकारहरूलाई गाली बेइज्जती गर्ने, धम्की दिने र भौतिक आक्रमणसम्म गर्ने गरेको उल्लेख छ ।
प्रतिवेदनअनुसार मेयर राईले व्यावसायिक पत्रकारहरूलाई निशाना बनाउने र सामाजिक सञ्जालमार्फत पत्रकार तथा उनका परिवारलाई पीडा हुने गरी चुनौतीपूर्ण भाषामा लेख्ने गरेका छन् । यस्ता गतिविधिका कारण पत्रकार दाहाललगायत अन्य पत्रकार र उनका परिवारका सदस्यहरू मानसिक तनावमा रहेको पाइएको छ ।
पत्रकार दाहाललाई ज्यान मार्नेसम्मको धम्की दिइएको घटनाले पत्रकारिता र पत्रकारको सुरक्षा तथा स्वतन्त्रता जोखिममा परेको प्रतिवेदनमा उल्लेख छ । मेयर राईले श्रमदानमार्फत संकलित रकम उपमहानगरपालिकाको खातामा नराखी निजी खातामा राखेर आफूखुसी खर्च गरेको विषयमा पनि प्रश्न उठाइएको छ ।
महासंघले यस प्रकरणमा थप छानबिन गरी दोषीलाई कारबाही गर्न गृहमन्त्री र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई प्रतिवेदन हस्तान्तरण गर्ने तयारी गरिरहेको महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।