नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश बिष्टले आफ्नो पदबाट राजीनामा दिएका छन् । गत असोज ५ गते तोकिएको निर्वाचन हुन नसक्ने अवस्था सिर्जना भएर अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका विष्टले शुक्रबार राजीनामा दिएका हुन् ।
असोज १२ गते निर्वाचनको मिति तोकिएको अवस्थामा उक्त मितिमा पनि निर्वाचन गराउने अवस्था नभएपछि विष्टको राजीनामा आएको हो ।
विष्टले आफ्नो राजीनामा पत्रमा राजनीतिक दलहरूका भातृ संस्थाहरूले महासंघलाई "आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थपूर्ति गर्ने मैदान" बनाएको आरोप लगाएका छन् । पत्रकारिता क्षेत्रसँग कुनै सम्बन्ध नभएका करिब साढे ४ सय व्यक्तिलाई सदस्यता दिन बाध्य पारिएको विष्टले उल्लेख गरेका छन् । यसलाई विष्टले पत्रकार महासंघमाथि "नाङ्गो हस्तक्षेप" भनेका छन्।
दलनिकट पत्रकारका संगठनहरूको दबाबमा विधान विपरीत सदस्यता वितरण गरिएको उनले खुलासा गरेका छन् ।
"पछिल्लो परिघटनामा विभिन्न राजनीतिक पार्टीका भातृ संस्थाहरूले महासंघलाई आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थपूर्ति गर्ने मैदान बनाउँदा निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको सबैका सामु छर्लङ्ग छ", विष्टले भनेका छन्, "राजनीतिक दल आवद्ध पत्रकारका संगठनले महासंघको विधि विधान र संरचनालाई समेत लत्याएर पत्रकारितासँग साइनो नभएका करिब साढे ४ सय व्यक्ति सदस्यका रुपमा थप्न बाध्य पार्नु नाङ्गो हस्तक्षपको नमुना हो ।"
पछिल्लो समय विकसित भएको मुलुकको राजनीतिक सत्ता समीकरणको शिकार पत्रकार महासंघ बनेको बिष्टको दाबी छ। विष्टले राजीनामा पत्रमा "महासंघलाई बचाउन सबै इमानदार सदस्यहरूले पहल गर्नुपर्ने बेला आएको" बताएका छन् ।
चौँथोपटक तोकिएको मितिमा पनि चुनाव गराउन असफल
नेपाल पत्रकार महासंघले चौँथोपटक तोकिएको मितिमा पनि निर्वाचन गराउन असफल भएको छ ।
असोज १२ गते तोकिएको निर्वाचनका लागि शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुनुपर्ने थियो । तर केन्द्रीय निर्वाचन समितिलाई निर्वाचनका सम्पूर्ण प्रक्रिया अगाडि नबढाउन पत्राचार गरेको छ । उक्त पत्राचारपछि समितिले निर्वाचनका कार्यक्रम स्थगित भएको सूचना जारी गरेको छ ।

५२ जिल्लाका अध्यक्षहरूले महासंघमा जारी सदस्यता विवादको समाधानका लागि जिल्ला र प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला बोलाउन माग गरिसकेका छन् ।
गत वैशाख २१ र २२ मा सम्पन्न २७ औँ महाधिवेशनले जेठ २६ गते निर्वाचन गर्ने घोषणा गरेको थियो तर सदस्यता शुद्धीकरण विवाद टुङ्ग्याउन नसक्दा निर्वाचन स्थगित भयो ।
त्यसपछि केन्द्रीय निर्वाचन समितिले असार ७ गते एक निर्वाचन तालिका सार्वजनिक गर्दै असार २२ मा निर्वाचन हुने आश्वासन दियो तर उक्त मितिमा निर्वाचन भएन । बरु महासंघमा तालाबन्दीको दोहोरी चल्न थाल्यो, कहिले प्रेस चौतारीले त कहिले प्रेस युनियनले महासंघमा पालैपालो तालाबन्दी गर्ने जुहारी चल्यो ।
लामो समयदेखि अन्यौल चिर्दै असोज ५ गते चुनाव गर्नेगरी नयाँ मिति तोकियो । तर चुनावको पूर्वसन्ध्यामा अध्यक्ष पोख्रेलको राजीनामा आयो ।
त्यसपछि चुनाव गराउने जिम्मेवारीसहित कार्यबाहक अध्यक्ष सम्हालेका विष्टले पनि असोज १२ गते तोकिएको निर्वाचनको प्रक्रिया सुरु हुनुअघि नै राजीनामा दिएका हुन् ।