के सशस्त्र प्रहरीले पर्साबाट ४२ लाखभन्दा बढी मूल्यको प्याज बरामद गरेको हो?

के सशस्त्र प्रहरीले पर्साबाट ४२ लाखभन्दा बढी मूल्यको प्याज बरामद गरेको हो?

  • माघ २६, २०८० शुक्रबार २१:००

By Basanta Khadka/NepalFactCheck.org


के सशस्त्र प्रहरीले पर्साबाट ४२ लाखभन्दा बढी मूल्यको प्याज बरामद गरेको हो?

‘रातोपाटी’, ‘लोकान्तर’ लगायतका अनलाइन मिडियामा बुधबार (२४ माघ, २०८०) मा सशस्त्र प्रहरीले ४२ लाख भन्दा बढी मूल्यको प्याज सहित दुई वटा पिकअप गाडी नियन्त्रणमा लिएको समाचार लेखेका छन्।

हाम्रो तथ्य जाँचले भने यति मूल्य बराबरको प्याज नियन्त्रणमा नलिइएको र यो समाचार भ्रामक रहेको देखायो।

के छ समाचारमा?

‘रातोपाटी’मा बुधबार ‘४२ लाखभन्दा बढी मूल्यको प्याजसहित दुई वटा गाडी नियन्त्रणमा’ शीर्षकमा समाचार प्रकाशित भएको छ।

समाचारको विवरणमा लेखिएको छ-

‘पर्सा जिल्लाको विभिन्न स्थानबाट ४२ लाखभन्दा बढी मूल्यको प्याजसहित सशस्त्र प्रहरी बल नेपालले दुई वटा पिकअप गाडी नियन्त्रणमा लिइएको छ।

वीरगन्ज महानगरपालिका–२६ सुगौलीस्थित विर्ताबाट माघ २४ गते करिब २१ लाख १६ हजार रुपैयाँ बराबरको प्याज र एउटा पिकअप गाडी नियन्त्रणमा लिइएको हो । प्रदेश २–०३–००१ च ५९३५ नम्बरको पिकअप गाडीमा राखी विन्दावासिनीबाट वीरगन्जतर्फ ल्याउँदै गरेको २ हजार ९ सय १० किलो प्याज प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको हो ।

त्यस्तै सोही महानगरपालिका–२५ चण्डाल चोकबाट माघ २३ गते करिब २१ लाख १३ हजार रुपैयाँ बराबरको प्याज र गाडी नियन्त्रणमा लिइएको छ। प्रदेश २–०३–००१ च ६२०३ नम्बरको पिकअप गाडीमा राखी बिन्दवासिनीबाट वीरगन्जतर्फ ल्याउँदै गरेको २ हजार ८ सय ३० किलो प्याज बिओपी ड्राईपोर्टले नियन्त्रणमा लिएको हो ।’

‘रातोपाटी’को फेसबुकमा पोस्ट गरिएको समाचारको स्क्रिनसट।   आर्काइभ लिंक

सोही विवरण सहितको समाचार ‘लोकान्तर’ र ‘अर्थडबली’ले पनि प्रकाशित गरेका छन् ।

समाचारको आर्काइभ लिंक

‘अर्थ डबली’को समाचारको आर्काइभ लिंक

समाचारमा प्रकाशित भएकै विवरण सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुकमा पनि बिहीबार बिहान पोस्ट गरिएको छ । तर उक्त पोस्टको समय भने बुधबार साँझको बनाइएको छ।

सशस्त्र प्रहरीको पेसबुक पेजमा पोस्ट भएको सामग्रीको स्क्रिनसट


फेसबुकमा प्रकाशित सामग्रीको आर्काइभ लिंक

के हो तथ्य?

समाचारको विवरण र सशस्त्र प्रहरीकै फेसबुक पेजमा राखिएको विवरणमा उल्लेख गरिएको प्याजको परिमाण र दावी गरिएको मूल्यबीचमा निकै ठूलो भिन्नता देखिएपछि हामीले समाचारको तथ्यजाँच गर्ने निर्णय गर्‍यौँ।

समाचारको विवरण अनुसार दुई फरक-फरक गाडीबाट क्रमशः २९१० केजी र २८३० केजी प्याज गरी कूल ५७४० किलो प्याज बरामद भएको देखिन्छ।

सो प्याजको मूल्य बिहीबार (२५ माघ, २०८०) को कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अधिकतम मूल्यलाई आधार मान्दा पनि प्रतिकिलो ६५ रुपैयाँका हिसाबले ३ लाख ७३ हजार १०० रुपैयाँ मात्र हुन आउँछ।

विहीबारको लागि तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यको स्क्रिनसट


लिंक

समाचारमा उल्लेख गरिएको फरक फरक गाडीबाट बरामद गरिएको प्याजको परिमाणको स्क्रिनसट ।

बरामद गरिएको कूल ५ हजार ७४० किलो प्याजको मूल्याङ्कन ४२ लाख रुपैयाँ हुनका लागि प्रति किलो प्याजको मूल्य ७ सय ३१ रुपैयाँ भन्दा बढी हुनुपर्ने देखिन्छ।

हामीले यस विषयमा अझ स्पष्ट हुन सशस्त्र प्रहरीको सीमा सुरक्षा सम्बन्धी जानकारी दिने टेलिफोन नम्बरमा सम्पर्क गर्‍यौँ।

त्यहाँबाट हामीलाई पर्सास्थित सशस्त्र प्रहरीका डिएसपी संगम श्रेष्ठको नम्बर प्राप्त भयो। डिएसपी श्रेष्ठसँग कुरा गर्दा भन्सार नतिरी भित्र्याइएको प्याज सशस्त्र प्रहरीले बरामद गरेको थियो। प्याज मात्र नभएर गाडीको समेत मूल्यांकन गर्दा ४२ लाख भन्दा बढी हुने जानकारी उनले गराए।

श्रेष्ठले प्याजको परिमाण पाँच हजार किलो भन्दा केही बढी रहेकाले प्याजको मूल्य त्यति नहुने बताउँदै प्याज प्रतिकिलो ४० रुपैयाँ मूल्यांकन गरी भन्सार कार्यालयमा बुझाएको जानकारी गराए।

उनले दिएको मूल्यको जानकारी अनुसार बरामद भएको प्याजको मूल्य प्रतिकिलो ४० रुपैयाँका हिसाबले २ लाख २९ हजार ६०० रुपैयाँ मात्र हुन आउँछ।

तथ्य जाँच

दाबीः सशस्त्र प्रहरीद्वारा ४२ लाखभन्दा बढी मूल्यको प्याजसहित दुई वटा गाडी नियन्त्रणमा

दाबीकर्ताः रातोपाटी डटकम, लोकान्तर डटकम, अर्थडबली डटकम र सशस्त्र प्रहरीको फेसबुक फेज

तथ्यः भ्रामक सूचना । समाचार तथा सशस्त्रको फेसबुकमा राखिएको विवरण अनुसार प्याजको परिमाण र प्याजको हालको बजार मूल्यबीच निकै ठूलो अन्तर देखिन्छ। अर्काेतर्फ सशस्त्र प्रहरी बल पर्साका डिएसपी संगम श्रेष्ठले दाबी गरिएको मूल्यमा प्याजको मात्र नभएर पिकअप गाडीको समेत जोडेको बताए। गाडीको मूल्य किन जोडियो भन्ने बारे चाहिँ न समाचारमा प्रष्ट पारिएको छ, न प्रकाशित समाचारमा। त्यसैले उक्त समाचार र सशस्त्र प्रहरीको फेसबुक पेजमा राखिएको विवरण भ्रामक रहेको निष्कर्शमा हामी पुग्यौँ।


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको