केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

  • माघ १५, २०८२ बिहीबार ०४:०८

दीपक अधिकारी/NepalCheck-


फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल फोटोमा पूर्व प्रधानमन्त्री मनमाेहन अधिकारीसँगै बसेका ओलीले चुरोट तान्दै गरेको देखिन्छ। मुखमा चुराेट च्यापेर हातमा केही वस्तु राखी सो चुरोटमा भर्दै गरेको देखिने उक्त फोटो हाम्राे तथ्यजाँचमा भ्रामक रहेको फेला परेकाे छ ।

सन्दर्भ के हो?

फागुन २१ गते हुन गइरहेकाे प्रतिनिधिसभाकाे निर्वाचनका क्रममा विभिन्न दलका उम्मेदवारहरु प्रचारप्रसार गरिरहेका छन् । यसै क्रममा झापा-५ मा नेकपा एमालेकाे उम्मेदवार रहेका ओलीले आफ्ना प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाह प्रति लक्ष्यित टिप्पणी गरेका थिए ।

गत माघ ८ गते कान्तिपुर दैनिकमा प्रकाशित अन्तर्वार्तामा ओलीले भने, “तपाईंलाई बताइदिऊँ, म कुनै दुर्व्यसनमा छैन, म गाँजा, जाँड, रक्सी, चुरोट खान्नँ । समय खेर फाल्दिनँ । १८ घण्टाभन्दा बढी ‘क्रिएटिभ’ ढंगले काम गर्छु ।”

गत माघ १२ गते सामाजिक सञ्जाल फेसबुकमा बालेन शाह फ्यान नामक फेसबुक पेजले “बालेनलाई सुल्फा भन्ने मान्छे” लेख्दै पोस्ट गरेको छ। २ लाख ६६ हजार फलोअर र ३८ हजार लाइक रहेको सो फेसबुक पेजले गरेको पोस्टमा सेयर गरिएकाे तस्बिरमा पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी सँगै ओलीलाई देख्न सकिन्छ। ओलीले हात अगाडि राखेर चुरोट भर्दै गरेजस्तो देखिन्छ। त्यसैगरी पूर्व सचिव भीम उपाध्यायले साेही फाेटाे पाेस्ट गर्दै फेसबुकमा “सुर्ती चुराेट गाँजा भाङ जाँड कहिल्यै नखाने मान्छे” लेखेका छन् । उपाध्यायले सो फोटो अहिले डिलिट गरिसकेका छन्।  

त्यस्तै सामाजिक सञ्जाल एक्समा पनि सोही फोटो भाइरल भएको छ। बालेन फर प्राइममिनिस्टर नामक एक्स ह्याण्डलले पोस्ट गरेको दुई फोटो मध्ये एक फोटोमा ओली चुरोट सहित देखिन्छन् भने अर्को फोटोमा चुरोट देखिँदैन।

यसैगरी सामाजिक सञ्जाल रेडिट्मा समेत सोही फोटो सेयर गरिएको छ। रेडिट्मा रहेको नेपाल सबरेडिटमा प्रश्न सोध्दै सोही फोटो पोस्ट गरिएको हो।

तथ्य जाँच

हामीले सो फोटो रिभर्स इमेज सर्च गरेर हेर्यौं। पहिलोपटक रिभर्स इमेज सर्च गरेर हेर्दा ओलीले चुरोट तान्दै गरेको जस्तो देखिने धेरै फोटो देखिए। फेरी सोही फोटोलाई फ्लिप (उल्टाएर) गरेर रिभर्स इमेज सर्च गर्दा भने हिमाल खबरमा प्रकाशित एक सामग्रीमा सोही फोटो वास्तविक प्रति फेला पर्यो।

एमाले नेता केशव बडालसँगको कुराकानीका आधारमा तयार पारिएको सामग्रीमा सो फोटो प्रयोग गरिएको छ। साे फोटो फाेटाे पत्रकार विकास रौनियारले खिचेका हुन्। नेपाल चेकले फाेटाे पत्रकार राैनियारलाई साेध्दा उनले २०५२ सालतिर बल्खुस्थित तत्कालीन एमाले मुख्यालयमा साे तस्बिर खिचेकाे बताए । ओलीले सुर्ती माेल्दै गरेकाे बेला फाटाे खिचेकाे उनले बताए ।

ईकागज अनलाइनमा “विकास रौनियारको संग्रहमा मनमोहन (फोटो फिचर)” शीर्षकमा २०७८ बैशाख १३ गते छापिएको सामग्रीमा पनि सोही फोटो छ।

यसर्थ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक हो । पुरानो फोटोलाई ताेडमाेड गरी मुखमा चुराेट च्यापेर हातमा केही वस्तु राखी सो चुरोटमा भर्दै गरेकाे देखाइ भ्रम फैलाइएकाे छ।

दाबीः पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुखमा चुराेट च्यापेर हातमा केही वस्तु राखी सो चुरोटमा भर्दै गरेकाे फाेटाे ।

दाबीकर्ताः सामाजिक सञ्जाल प्रयोगकर्ता

नेपाल चेक निष्कर्षः भ्रामक सूचना

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुरोट तान्दै गरेको देखिने फोटो भन्दै सामाजिक सञ्जालमा फैलिएकाे दाबीकाे तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष। 


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको

नकाबधारीसँग बालेनले गोप्य बैठक गरेको भन्दै फैलाइएको भिडियोको तथ्य यस्तो छ

प्रविण भट्ट/NepalFactCheck काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले रातारात नकाबधारी मानिसहरुसँग गोप्य बैठक बसिरहेको दावी गर्दै एउटा भिडियो फेसबुकमा भाइरल भइरहेको