निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण
शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन् ? के अमेरिकी सेना नेपाली सीमामा आइसकेको हो ?
गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनअघिका चार र मतदानको एक साता यस्तै दाबीहरू सोसल मिडियामा भाइरल भए । तर ती कुनै पनि सत्य थिएनन् ।
सेन्टर फर मिडिया रिसर्च नेपालको प्रारम्भिक विश्लेषणअनुसार २०८२ माघ १८ देखि फागुन २३ गते सम्मका पाँच सातामा मिथ्या सूचनाको मात्रा उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ ।
नेपालका तीन तथ्य जाँच संस्थाले यसअवधिमा जम्मा १२५ तथ्य जाँच प्रकाशित गरेका थिए । यी मध्ये ११३ वटा निर्वाचनसम्बन्धी तथ्यजाँचलाई सेन्टर फर मिडिया रिसर्चले विश्लेषणको आधार बनाएको छ ।
यसअवधिमा नेपाल प्याक्टचेकले ६९, टेकपाना फ्याक्टचेकले ५४ र नेपालचेकले दुई वटा तथ्य जाँच सामग्री प्रकाशित गरेका थिए ।
चुनावअघिका चार साता तथा मतदानको एक साता गरी पाँच साताको समयमा फैलिएका मिथ्या सूचनाका तथ्य जाँचहरूलाई विश्लेषणमा समेटिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय तथ्य जाँच दिवसका अवसरमा काठमाडौँमा भएको कार्यक्रममा नेपाल फ्याक्टचेकका सम्पादक उमेश श्रेष्ठले ‘निर्वाचन २०८२ का मिथ्या सूचनाका प्रवृत्ति र तथ्यजाँच’ शीर्षकमा प्रारम्भिक निष्कर्ष प्रस्तुत गरेका थिए । उनले अघिल्ला चुनावको तुलनामा मिथ्या सूचनाको मात्रा उल्लेखनीय रूपमा बढी भएको बताए ।

नेपालफ्याक्टचेकका सम्पादक उमेश श्रेष्ठ । तस्बिरः सिएमआर नेपाल
“तर मिथ्या सूचनाले अन्तिम चुनावी नतिजालाई प्रत्यक्ष रूपमा परिवर्तन गर्यो भन्ने निर्णायक प्रमाण भने हामीसँग छैन”, श्रेष्ठले भने, “हाम्रो अध्ययनले देखाएको सबैभन्दा चिन्ताजनक पक्ष भनेको धर्म, जाति र क्षेत्रीय पहिचानमा आधारित मिथ्या सूचनाको वृद्धि हो ।”
धेरैजसो मिथ्या सूचनाहरू पूर्णरुपमा नक्कली नभई गलत सन्दर्भमा आधारित भएको अध्ययनले देखाएको छ । अर्थात् निर्वाचनमा 'डिपफेक' भन्दा 'चिपफेक' बढी प्रयोग भयो ।
चिपफेक भन्नाले पुराना भिडियो तोडमरोड गरिएका वा प्रसंग बिगारेर सम्पादन गरिएका क्लिप तथा तस्बिरहरूमा भ्रामक क्याप्सनको प्रयोग गरी बनाइएका सामग्री हुन् । यस्ता सामग्रीलाई shallow fake पनि भनिन्छ ।
मिथ्या सूचनाहरूको प्रवृत्ति हेर्दा नीतिगत विषयभन्दा पनि प्रमुख नेता केन्द्रित भएको प्रारम्भिक अध्ययनको निष्कर्ष छ ।
मिथ्या सूचनाको प्रवृत्ति

कार्यक्रमका सहभागीहरू । तस्बिरः सिएमआर नेपाल
पहिलो साता (माघ १८–२४): यो साताका तथ्य जाँचहरू हेर्दा धार्मिक जातीय विद्वेष र चरित्रहत्याको प्रवृत्ति हावी रहेको श्रेष्ठले बताए । राजेन्द्र लिङ्देनलाई दलितविरोधी देखाउने विकिपिडिया सम्पादनदेखि स्वर्णिम वाग्ले र हर्क साम्पाङलाई 'पास्टर' भनी चित्रण गर्ने प्रयास भए। एमाले कार्यकर्तामाथि खुकुरी प्रहार भएको भनी एआई निर्मित फोटो प्रयोग गरेर हिंसा भड्काउने प्रयास पनि भयो ।
दोस्रो हप्ता (माघ २४–फागुन ३): यो साता बास्तविक समाचार माध्यमको जस्तो शैलीमा भ्रम छरियो । फेसबुक रिल्समा सञ्चार माध्यमकै जस्तो गरी एआई एङ्कर प्रयोग गरी केपी ओलीलाई जेल हाल्ने जस्ता भ्रामक 'खुलासा' फैलाइए । बालेनकी पत्नी चर्च गएको भिडियोलाई 'क्रिस्चियन प्रमाण' भनी धार्मिक भावना उत्तेजित पार्ने काम पनि भयो ।
तेस्रो हप्ता (फागुन ४–९): विदेशी हस्तक्षेपको भ्रम छरी राष्ट्रवादी मनोविज्ञान भड्काउन खोजियो । अमेरिकी र चिनियाँ सेना नेपाल आएको, सीमामा सेना जम्मा भएको जस्ता एआई सामग्री भाइरल बनाइए । केपी ओली र स्वर्णिम वाग्लेका पुराना भाषणलाई सन्दर्भ हटाएर प्रस्तुत गरियो ।
चौथो हप्ता (फागुन १०–१६): प्रविधिको प्रयोग गरेर भ्रामक सामग्री फैलाउने तथा चरित्रहत्या गर्ने काम भए । केपी ओलीलाई घनले हानेको, सूर्य थापालाई जुत्ताको माला लगाएको लगायतका एआई निर्मित तस्बिरहरू व्यापक बनाइए । मुस्लिम समुदाय लक्षित अतिरञ्जित सामग्री र उम्मेदवारहरूलाई आतंकवादी संगठनसँग जोड्ने द्वेषपूर्ण दाबीहरू देखिए ।
पाँचौं हप्ता (फागुन १७–२३): मतदानको समय नजिकिँदै गर्दा एआई प्रविधिको प्रयोग गरेर नियोजित खालका नक्कली र भ्रामक सामग्री फैलाइयो। शाहरुख खान, अमिताभ बच्चन, रणवीर सिंह र नरेन्द्र मोदीका एआई निर्मित भिडियो प्रयोग गरी उम्मेदवारको समर्थन गरेको भान पार्ने काम भयो । आशिका तामाङ, गगन थापा, सोबिता गौतम जस्ता उम्मेदवारको उम्मेदवारी खारेज भएको तथा पक्राउ परेको भन्ने अपुष्ट सामग्री फैलाइए ।