आफ्नै न्युज रुममाथि गम्भीर आरोप लगाउँदै सम्भव सिरोहियाले दिए कान्तिपुरबाट राजीनामा

आफ्नै न्युज रुममाथि गम्भीर आरोप लगाउँदै सम्भव सिरोहियाले दिए कान्तिपुरबाट राजीनामा

सम्भव सिरोहिया । तस्बिरः इकान्तिपुर
  • बैशाख ११, २०८३ शुक्रबार ०३:३५

सम्भवले भने- म विनाशको सहयोगी बन्न सक्दिनँ


कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले निवर्तमान गृहमन्त्री सुधन गुरुङका बारेमा कान्तिपुरमा गरिएका कभरेजप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् । 

बिहीबार बिहान ‘कान्तिपुर टेलिभिजन’ का सोसल मिडिया प्लाटफर्मका समाचारका स्क्रिनसट शेयर गर्दै ‘मिसन पत्रकारिता’ भनेका सम्भवले पदबाट राजीनामा दिएको पत्र कान्तिपुरका पत्रकार कर्मचारीहरूको इमेलमा पठाइएको छ ।  

'जवाफदेहिताको नाममा विनाशको शक्ति' वा 'सहयोगी' बन्न आफूले अस्वीकार गरेको दाबी गर्दै उनले तत्काल लागू हुने गरी राजीनामा दिएको उक्त पत्रमा उल्लेख छ । 

‘यो मिसन पत्रकारिता जस्तो देखिन्छ, तर कसको मिसन हो थाहा छैन’, सम्भवले ट्‍वीटरमा लेखेका थिए । 

‘कान्तिपुर मिडिया ग्रुप सबै कर्मचारीहरू’ सम्बोधन गरी अंग्रेजीमा लेखिएको पत्रमा सम्भवले ‘गृहमन्त्रीको बारेमा भएको कभरेजले फाइदाभन्दा बढी हानि गरेको’ बताएका छन् ।

“हामीले हालै गरेका केही रिपोर्टिङहरू, विशेष गरी गृहमन्त्रीको कभरेजबाट, फाइदा भन्दा बढी हानि गरेको मेरो विश्वास छ”, मिडिया कुराकानीले प्राप्त गरेको उनको राजीनामा पत्रमा उल्लेख छ, “यो शक्तिसँग ठोक्किएको कारणले होइन । हामी शक्तिसँग ठोक्किनुपर्छ; त्यो हाम्रो काम हो । तर यो शक्तिसँग लापरबाहीपूर्ण र सनसनीपूर्ण तरिकाले ठोक्किएको कारणले हो ।” 

कान्तिपुरका समाचारहरू “पुष्टि नभएका लिंकहरू सहित, पुष्टि नभएका आशयहरू सहित र स्पष्टता भन्दा पनि स्क्यान्डल सिर्जना गर्न डिजाइन गरिएको ढाँचा (framing) सहित” भएको उनले पत्रमा उल्लेख गरेका छन् । 

सम्भवको राजीनामाबारे कान्तिपुरले पनि समाचार लेखेको छ । "कान्तिपुरले अनुसन्धानकारी निकायको स्रोतबाट गृहमन्त्री गुरुङको शंकास्पद कारोबारका विवरण प्राप्त गरेर सार्वजनिक गरेको थियो । जसमा त्यतिन्जेलसम्म ती विवरणमा उल्लेख तथ्य र अनुत्तरित प्रश्न समेटेको थियो", कान्तिपुरको समाचारमा भनिएको छ, "तर सिरोहियाले नयाँ सरकारले काम गर्न नपाउँदै कान्तिपुरले प्रमाणित भइनसकेका आरोप लगाएर कमजोर बनाएको राजीनामामा उल्लेख गरेका छन् ।"

सम्भवले सार्वजनिक कम्पनीमा सेयर हुनुलाई अपराध मान्न नसकिने तर्क गरेका छन् । “यही संस्था (कान्तिपुर) का सञ्चालकहरूको पनि सोही कम्पनीमा सेयर छ । यदि रकमको स्रोत अवैध छ वा राजनीतिक प्रभाव छ भने त्यसलाई प्रमाणसहित अनुसन्धान गरेर प्रकाशित गर्नुहोस्, तर पत्रकारिताको भेषमा आरोप मात्र नलगाउनुहोस्," उनले पत्रमा लेखेका छन् ।

सम्भवले सबै कुरामा शंका मात्र गर्ने परम्परागत 'वाचडग' पत्रकारिताले अब नेपालको हित नगर्ने तर्क पनि पत्रमा गरेका छन् । 

दशकौंको अस्थिरतापछि मुलुकमा केही स्थिरता देखिएको र सरकारले काम गर्ने अवसर पाएको उल्लेख गर्दै उनले पुष्टि नभएका आरोपहरू लगाएर सरकारलाई कमजोर बनाउन नहुने तर्क गरेका छन् ।

"म कान्तिपुर विनाशको होइन, निर्माणको स्रोत होस् भन्ने चाहन्छु," उनले पत्रमा भनेका छन्, "हामीले वास्तविक गलत कामलाई निडरताका साथ औंल्याउनुपर्छ, तर सँगसँगै देशका जित र सकारात्मक बाटो पनि देखाउनुपर्छ ।" 

सम्भवले मिडियाको व्यापारिक मोडेल र प्रविधि बदलिएको अवस्थामा पुरानै शैली मात्र अपनाइराखे संस्था नै समाप्त हुने चेतावनी समेत दिएका छन् ।

आफ्नो नेतृत्वमा कान्तिपुरलाई ठूलो आर्थिक घाटाबाट मुक्त गराई नाफाको संघारमा पुर्‍याएको दाबी गर्दै उनले भनेका छन्, "आफूले विश्वास नगर्ने पत्रकारितामा आफ्नो नाम जोडेर म रूपान्तरणको नेतृत्व गर्न सक्दिनँ ।" 

नेपाललाई अहिले निर्माताहरू (builders) चाहिएको तर्क गर्दै उनले आफ्नो त्यही बन्ने संकल्पका साथ पदबाट बाहिरिएको पत्रमा उल्लेख गरेका छन् । 

सिरोहिया १ असोज २०८० मा केएमजीको प्रबन्ध निर्देशक नियुक्त भएका थिए । सम्भव कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका छोरा हुन् । 


Related Story

यौनहिंसा र मिडिया ट्रायल

स्थापित र नाम चलेका मिडिया हाउसहरूले कुनै प्रकरण वा मुद्दा विशेषको आधारभूत तथ्य र प्रमाणबिना आफ्नो क्षेत्राधिकार नाघ्ने स्तरमा ओर्लेर

अस्थिर राजनीति र अपूर्ण प्रेस स्वतन्त्रता

जन्मदेव जैसी - हामी २१औँ शताब्दीको सञ्चार युगमा छौँ र यसले ल्याएको सूचनाप्रविधि क्रान्तिको उपभोग गरिरहेका छौँ । सूचना प्रविधिले हाम्रा आदत,

मिडिया र एजेण्डा सेटिङ

डा. कुन्दन अर्याल- उत्तरआधुनिक विश्वमा सार्वजनिक महत्त्वका यावत् विषयलाई मिडियाको आँखाले अवलोकन गर्ने चलन सर्वव्यापी छ । जसले गर्दा आममानिस धारणा