- डा. कुन्दन अर्याल-
उत्तरआधुनिक विश्वमा सार्वजनिक महत्त्वका यावत् विषयलाई मिडियाको आँखाले अवलोकन गर्ने चलन सर्वव्यापी छ । जसले गर्दा आममानिस धारणा र दृष्टिकोण तय गर्दा वा कुनै व्यवहार आवलम्बन गर्दा जानेर वा नजानेर आमसञ्चारका माध्यमहरूबाट प्रभावित भइरहेको हुन्छ । सचेत मानिस आफ्नै सामान्य ज्ञान वा अवलोकनका आधारमा मिडियाको अन्तर्वस्तुको फिल्टर गर्न (छान्न) सक्षम हुन्छन् । तर आजका सर्वव्यापी मिडिया विश्वका कुनै पनि कुनामा आर्थिक सामाजिक वा राजनीतिक क्षेत्रलाई आकार प्रदान गर्न धेरै वा थोरै सक्षम देखिँदै आएका छन् । पत्रपत्रिका, रेडियो, टेलिभिजन वा अनलाइनबाट भइरहेका पत्रकारिताका अतिरिक्त पुस्तक, फिल्म, सङ्गीत आदि आमसञ्चारका अनेक माध्यम विश्वभरि नै आममानिसका दैनिकीसँग अन्योन्याश्रित रूपमा जोडिएका छन् । त्यसैले सन् १९६० दशकमा एक फ्रान्सिसी दार्शनिक गाय डिवोर्डले उत्तरआधुनिक समाजलाई चस्माको समाज भनेका थिए । उनले विविध किसिमका मिडियाको अस्तित्व भएको समाजमा मानिसमा आफ्नै आँखाले देखेको भन्दा पनि मिडियाको चस्मा लगाउँदा देखिएको कुरा पत्याउने प्रवृत्तिलाई औँल्याएका छन् ।
मिडियाको सार्वजनिक कार्यसूची तय गर्न सक्ने भूमिकाका कारण व्यापारिक, राजनीतिक, कूटनीति वा अन्तर्राष्ट्रिय सञ्जालको सफलताका लागि मिडियाको सहयोगलाई अपरिहार्य ठान्ने गरिन्छ । तर एजेण्डा सेटिङ (विषय स्थापना) को प्रयत्न सधैँ सफल हुँदैन । त्यसको सफलताका केही पूर्वसर्त पूरा गरिनु पर्छ । ती पूर्वसर्तहरू बारेमा बुझ्न दुईवटा प्रश्नअघि सार्न सकिन्छ । पहिलो, मिडियाको एजेण्डा सेटिङ भूमिका प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक पर्ने तìवहरू के–के हुन् ? दोस्रो, मिडिया एजेण्डा, सार्वजनिक एजेण्डा र नीति एजेण्डाजस्ता एजेण्डा सेटिङ प्रक्रियाका तीन प्रमुख अवयवहरूबीचको फलदायी समन्वय कसरी कायम गर्न सकिएला ? पढ्नुस् कुन्दन अर्यालको गोरखापत्रमा प्रकाशित लेख