न्युयोर्क टाइम्स र रिपब्लिक मिडियाबीच भएको अनौठो सहकार्यले नेपाली पाठकलाई फाइदा हुन्छ कि बोझ मात्र थप्छ ?
नेपाल रिपब्लिक मिडिया लिमिटेड र न्युयोर्क टाइम्सले डिजिटल सब्सक्रिप्सनमा सहकार्यको घोषणा गरेका छन् । उनीहरूले एउटै डिजिटल पे–वालमार्फत संयुक्त रुपमा पाठकहरूका लागि आफ्ना समाचार सामग्री उपलब्ध गराउने भएका हुन् ।
नेपाल रिपब्लिक मिडियाले नागरिक दैनिक, रिपब्लिका दैनिक (अंग्रेजी संस्करण) र नागरिक न्युज डटकम सञ्चालन गर्छ ।
असोज ३० गते बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, न्युयोर्क टाइम्सका अन्तर्राष्ट्रिय अध्यक्ष स्टेफन डन्बर जोन्सन र रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवालीले संयुक्त रूपमा डिजिटल पे–वाल सुरुवात गरेका हुन् ।

बिहीबार प्रकाशित नागरिक दैनिक, रिपब्लिकाको इपेपर र नागरिकन्युज डट कमले यसबारे प्रमुखताका साथ कभरेज गरेका छन् ।
नागरिक दैनिकले प्रथम पृष्ठमा 'नेपालको डिजिटल मिडिया परिदृश्यमा नयाँ आयाम' शीर्षकमा यससम्बन्धी समाचार छापेको छ भने रिपब्लिकाको इपेपरमा Nepal Republic Media and The New York Times ink deal on digital collaboration शीर्षकमा समाचार राखिएको छ ।
नागरिकको अनलाइन नागरिकन्युजमा 'नेपाली पत्रकारितामा नौलो आयामः नागरिक, रिपब्लिका र न्युयोर्क टाइम्स एउटै ‘डिजिटल पे वाल’ मा' शीर्षकमा समाचार लेखिएको छ भने रिपब्लिकाको अनलाइन माइरिपब्लिकामा 'Nepal Republic Media and The New York Times ink deal on digital collaboration शीर्षकमा समाचार लेखिएको छ ।
यो सहकार्यले नेपाली पाठकहरूलाई एकै डिजिटल पे वाल मार्फत दुवै संस्थाका प्रिमियम सामग्रीहरू उपलब्ध गराउने घोषणा गरेको छ।
निःसन्देह यो कदम यसकारण पनि महत्त्वपूर्ण छ कि मिडियाले विज्ञापनबाहेकका अन्य आयआर्जनका सम्भावनाहरू खोज्नु अत्यावश्यक हो तर पाठकहरूलाई यसबाट के लाभ हुन्छ ? पाठकलाई यसले के फाइदा दिन्छ ? यी प्रश्नहरूमा भने समाचारहरू मौन छन् ।

डिजिटल सब्स्क्रिप्सन घोषणाबारे नागरिक र रिपब्लिकामा प्रमुखताका साथ कभरेज भएको छ ।
नागरिकमा ‘नयाँ आयाम’ भनेर हेडलाइन लेखेपनि के कति कारणले यो नेपाली मिडियाका लागि नयाँ आयाम भयो खुलाउन सकेको छैन ।
विदेशी पत्रिका महँगोमा सब्सक्रिप्सन गर्नुमात्र पक्कै पनि नयाँ आयाम होइन । अहिले पनि सक्नेले/चाहनेले किनेर न्युयोर्क टाइम्स छापा वा डिजिटलमा किनेर पढेकै छन् । त्यसैसँग जोडेर नागरिक दैनिक, इपेपरमा सीमित रिपब्लिका दैनिक र पाठकले अहिले सित्तैमा पढिरहेका रिपब्लिक मिडियाका अनलाइन पोर्टलहरूका सामग्री किन्नुपर्ने अवस्थालाई नयाँ आयाम भन्ने हो भने त्यो अलग कुरा हो । होइन भने सेतोपाटी, रातोपाटीसहितका अनलाइनले कतिपय समाचार सामग्रीलाई पैसा तिर्नेले मात्र पढ्न पाउनेगरी 'प्रिमियम' मा राख्ने प्रयत्न गरिरहेकै हुन् ।
पाठकका लागि सम्झौताको अर्थ
न्युयोर्क टाइम्स र नेपाल रिपब्लिक मिडियाबीच भएको सम्झौताअनुसार अब ग्राहकहरूले नागरिक दैनिक, रिपब्लिका र यिनका अनलाइन संस्करणहरूसँगै न्युयोर्क टाइम्सको डिजिटल संस्करण एकैसाथ किन्न सक्ने छन् ।
तर अहिले नगारिकमा छापिएको समाचारअनुसार १० डलरमा पाइने न्युयोर्क टाइम्सलाई रिपब्लिक मिडियाका प्रकाशनसहितको बन्डलमा किन्दा महँगो पर्ने देखिएको छ ।
जस्तो कि, नागरिकले सब्स्क्रिप्सन प्याकेज मूल्य वार्षिक ३५ सय रुपैयाँ (लगभग २६ डलर) तोकेको छ । सदस्यता शुल्क बापतको यो रकम नेपाली पाठकहरूका लागि महँगो हुन सक्छ। किनभने न्युयोर्क टाइम्स जस्तो विश्वव्यापी ब्रान्डले पहिलो वर्षको लागि मात्र १० डलरमा सदस्यता प्रदान गर्छ ।

अहिले उपलब्ध प्याकेजअनुसार पाठकहरूले प्रिमियमका लागि ६ हजार ५०० रुपैयाँ र स्टान्डर्डका लागि ३ हजार ५०० वार्षिक रुपमा तिर्नुपर्ने भनिएको छ ।
रिपब्लिक मिडियाले दाबी गरेअनुसार बाँकी रकम नागरिक र रिपब्लिकाले प्रदान गर्ने प्रिमियम सामग्रीका लागि हो ।
तर यी प्लेटफर्महरूले उपलब्ध गराउने भनेका प्रिमियम सामग्रीबारे स्पष्टता छैन। सबैजसो सामग्री अहिले नि:शुल्क नै उपलब्ध छन् । निःशुल्क उपलब्ध यी सामग्रीलाई नै पे-वालमा राखेर प्रिमियम भन्दैमा तिरेको रकम हजम हुन्छ भन्ने कुरामा शंका गर्न सकिन्छ ।
हाल रेस्ट अफ वर्ल्डका प्रधान सम्पादक (काठमान्डू पोस्टका पूर्व प्रधान सम्पादक) अनुप काफ्लेले न्युयोर्क टाइम्स र रिपब्लिकाबीच सम्झौता कसरी भयो बुझ्न गाह्रो परेको टिप्पणी गरेका छन् ।
“सायद न्युयोर्क टाइम्सले आफ्ना पत्रकारहरूलाई यसको विश्वव्यापी संस्करण छाप्ने मिडिया कम्पनीहरूको व्यवसाय र आचरणको बारेमा अनुसन्धान गर्न लगाउनु पर्छ”, काफ्लेले नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले x मा व्यक्त गरेको टिप्पणीमा प्रतिटिप्पणी गरेका छन् । काफ्लेले माइसन्सार डट कममा नेपाल रिपब्लिक मिडियाका बारेमा प्रकाशित रिपोर्टिङलाई अनुवाद मात्र गरेर पढे पनि पुग्ने उल्लेख गरेका छन् ।
How this NYT-Republica deal came to be is beyond me.
— Anup Kaphle 🐐 (@AnupKaphle) October 16, 2024
Maybe NYT should ask its reporters to look into the business and conduct of media companies printing its global editions. Or just translate and read @salokya's reporting in case of Nepal Republic Mediahttps://t.co/M7H0xOqrpz
राजदूत थम्पसनले एनआरएम र न्युयोर्क टाइम्सबीचको सहकार्यले अमेरिका-नेपाल सम्बन्धलाई थप बलियो बनाउने तथा दुवै देशहरूमा प्रजातान्त्रिक सिद्धान्तलाई सवलीकरण गर्दै जिवन्त मिडिया वातावरणलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन् ।
I attended the launch of an exciting digital collaboration between The New York Times and Nepal Republic Media (NRM), aiming to provide full access to The New York Times' digital content in Nepal. It’s a pleasure to see another positive collaboration between U.S. and Nepali… pic.twitter.com/47te4iLFTm
— U.S. Ambassador Dean R. Thompson (@USAmbNepal) October 16, 2024
रिपब्लिक मिडियाले दाबी गरेका फाइदाहरू
नेपाल रिपब्लिक मिडियाको दाबीअनुसार अब तोकिएको रकम तिरेपछि पाठकहरूले समसामयिक विषयमा गहन व्याख्या, विश्लेषण गरिएका अनुसन्धानात्मक समाचार सामग्री, पोडकास्ट र भिडियोसहितका एक्सक्लुसिभ सामग्रीमा पहुँच पाउनेछन् । यस्तै रिपब्लिका दैनिकको इपेपर पढ्न पाइनेछ । यसबाहेक साप्ताहिक रुपमा न्युजलेटर, पर्सनलाइज्ड फिड, पब्लिक पोल, न्युयोर्क टाइम्समा पहुँच प्राप्त हुनेछ ।
यस्तै वार्षिक ६ हजार ५०० रुपैयाँ तिरेर प्रिमियम सेवा किन्नेहरूले माथि तोकिएकासहित नागरिक दैनिकको छापा तथा डिजिटल कन्टेन्ट समेत प्राप्त गर्ने रिपब्लिक मिडियाको दाबी छ ।
तर उसको दाबीमाथि कतिपयले सोसल मिडियामा प्रश्न उठाएका छन् । नेपाल रिपब्लिक मिडिया र न्युयोर्क टाइम्सबीचको सहकार्यले गुणस्तरीय पत्रकारिताको स्तर उकास्ने दाबीमाथि पत्रकार प्रणय राणाले शंका व्यक्त गरेका छन् । “गुणस्तरीय पत्रकारिता?”, राणाले प्रश्न गरेका छन्, “यहाँ उल्लेखित दुबै प्रकाशनलाई अहिले गुणस्तरीय पत्रकारिता भनेको के हो थाहा छ जस्तो लाग्दैन ।”
Quality journalism? Both publications named here don't seem to know anymore what quality journalism means. https://t.co/3ooe11ZYeT
— Pranaya Rana (@inkthink) October 17, 2024
यसअघि १७ अक्टोबर २०१४ मा न्युयोर्क टाइम्स इन्टरनेशनल र नेपाल रिपब्लिक मिडियाबीच एउटा सम्झौता भएको थियो । उक्त सम्झौतामा नेपाल रिपब्लिक मिडियाले न्युयोर्क टाइम्स छपाइको अधिकार पाएको थियो ।
त्यसयता नेपाल रिपब्लिक मिडियाले आफ्ना मुख्य उत्पादन नागरिक र रिपब्लिकासँगै अमेरिकी पत्रिका न्युयोर्क टाइम्सपनि प्रकाशन गर्दै आएको छ । तर कोरोनाका कारण बजार व्यवस्थापन असहज भएको भन्दै २०७७ वैशाख ३ गतेदेखि रिपब्लिका दैनिकको प्रकाशन बन्द छ ।
रिपब्लिक मिडियाकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) समृद्धि ज्ञवालीको भनाईमा न्युयोर्क टाइम्ससँगै ४ पृष्ठको कम्प्लिमेन्ट्रीका रुपमा रिपब्लिका पाठकमाझ पुगिरहेको भने छ ।
रिपब्लिक मिडियाले सन् २०११ जुलाई २० देखि इन्टरनेशनल हेराल्ड ट्रिब्यूनको एसिया प्यासिफिक संस्करण प्रकाशन गर्न थालेको थियो तर उक्त पत्रिकाको प्रकाशन सन् २०१३ अक्टुबरमा बन्द भयो । त्यसको एक वर्षपछि रिपब्लिक मिडियाले न्युयोर्क टाइम्स प्रकाशन गर्न थालेको थियो ।
रिपब्लिकासँगै न्युयोर्क टाइम्सको आलोचना
अमेरिकी राजदूत थोम्सनले x मा राखेको सामग्रीमा सकारात्मक र आलोचनात्मक दुबैखालका टिप्पणी आएका छन् । ती टिप्पणीहरूमा नागरिक र रिपब्लिकाभन्दा पनि न्युयोर्क टाइम्सको आलोचना भएको देखिन्छ ।
यसरी प्रतिक्रिया दिनेहरूमध्ये धेरैले न्युयोर्क टाइम्सलाई अमेरिकी दुश्प्रचारको साधन भनेका छन् । 'So Nepali people will get access to NYT propaganda?' राजदूतको स्टाटसमा Nepali ( Gorkhali ) 𝕏🇳🇵🇵🇸 नामका प्रयोगकर्ताले कमेन्ट गरेका छन्, 'The “Jew” York Times has continuously misinformed & manipulated Western public from “no radiation in Hiroshima” to hiding war crimes of genocidal state Israel !'
यी x प्रयोगकर्ताको भनाई के छ भने अब नेपालीहरूले न्युयोर्क टाइम्सको प्रोपोगण्डा पढ्न पाउने भए । उनले ‘न्यु योर्क टाइम्स’ लाई ‘ज्युयोर्क टाइम्स’ भनेका छन् । टाइम्सले हिरोशिमामा विकिरण नभएको देखि नरसंहार मच्चाउने इजरायलको युद्ध अपराध लुकाउन पश्चिमी जनतालाई लगातार मिथ्या सूचना दिँदै आएको आरोप लगाएका छन् ।
SlightlyNepali नामक प्रयोगकर्ताले पनि न्युयोर्क टाइम्स डेमोक्रेटहरूको प्रोपगन्डा मेसिन भएको लेखेका छन् ।
त्यस्तै ToTheMoon नामक प्रयोगकर्ताले लेखेका छन्, 'But why? New York Times is failing. It’s a genocide complicit establishment. Nothing to be excited here.' अर्थात्, न्युयोर्क टाइम्स खस्कदो अवस्थामा छ । यो नरसंहार सम्मिलित संस्थापन हो । उत्साही हुनुपर्ने केही पनि छैन ।
तपाईंको विचारमा न्युयोर्क टाइम्स र रिपब्लिक मिडियाको यो सहकार्यले नेपाली पाठकहरूलाई फाइदा पुर्याउला? के १० डलरमा पाइने सेवालाई 'प्रिमियम कन्टेन्ट'को नाममा २६ डलर तिर्न पाठकहरू तयार होलान्? यसबारे तपाईंको के धारणा छ? कमेन्ट सेक्सनमा लेख्नुहोस् ।
स्पष्टीकरणः यो समाचार सामग्रीमा सोसल मिडियामा अंग्रेजीमा लेखिएका प्रतिक्रिया नेपाली अुनवादका क्रममा claude.ai को सहयोग लिइएको छ ।