ठूला समाचार कक्षको नेतृत्व गरेका सम्पादकहरूको भिडियो प्लेटफर्म युट्युबमा बलियो उपस्थिति
गत जेठ अन्तिम साता कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले ११ देशका राजदूत सरकारले फिर्ता बोलाएको विषयमा भिडियो सार्वजनिक गरे ।
जुन १३ अर्थात् जेठ ३१ गते ‘Political turmoil, diplomatic blunders, why are ambassadors being called back frequently ?’ [राजनीतिक उथल-पुथल, कूटनीतिक भूल, किन बारम्बार फिर्ता बोलाइन्छन् राजदूतहरू ? शीर्षक राखेर अपलोड भएको उक्त भिडियोपछि चौहानका अरु दुईवटा भिडियो अपलोड भइसके । पछिल्लोपटक उनले खस्किँदै गएको एसईई नतिजा र आफैँ बिमारी परेको स्वास्थ्य प्रणालीबारे भिडियो बनाएका छन् ।
भिडियोमार्फत् युट्युबमा सक्रिय चौहान एक्लो सम्पादक भने हैनन् । मूलधार (मेनस्ट्रिम) भनिने ठूला सञ्चार संस्थामा अनेक कालखण्डमा नेतृत्व गरेका प्रमुख सम्पादकहरूले सोसल मिडिया भनिने युट्युब लगायतका भिडियो प्लेटफर्ममा आफ्नो उपस्थिति बढाएका छन्।
सुधीरको शुन्यबाट नयाँ सुरुवात
युट्युबमा भिडियो थाल्ने कान्तिपुर दैनिकका प्रधान सम्पादक मात्रै हैनन् । चौहानले भिडियो सार्वजनिक गरेको दुई महिना अघिदेखि कान्तिपुरकै पूर्वप्रधान सम्पादक सुधीर शर्माले युट्युबमा भिडियो बनाउन थालेका थिए । उनले ‘अनि अब’ नामक पडकास्ट र अन्य एक्सप्लेनर भिडियो कन्टेन्ट बनाइरहेका छन् । शर्माले गत ८ अप्रिल २०२४ अर्थात् २०८० चैत २६ देखि आफ्नै नामको युट्युब च्यानलमा भिडियो राख्न थालेका हुन् ।
पूर्वसम्पादक शर्माले ११ अप्रिलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद समेत रहेका अर्थशास्त्री स्वर्णीम वाग्लेसँगको कुराकानी युट्युबमार्फत् सम्प्रेषण गरेका थिए । उनले एक महिनाअघि देखि एक्सप्लेनर भिडियो बनाउन थालेका छन् ।
गएको ६ जुनमा शर्माले ‘Modi 3.0: What Does it Mean for Nepal? | भारतीय चुनाव परिणामको सन्देश | Sudheer Sharma Analysis’ शीर्षकमा भिडियो सार्वजनिक गरेका छन् ।
शून्यबाट सुरुवात गरेका सुधीरलाई युट्युबमा सब्स्क्राइब गर्नेको संख्या ११ हजार पुग्नै लागेको छ ।
युट्युबमै दिलभूषणको टफटक
कान्तिपुर टेलिभिजनका पूर्व सम्पादक दिलभूषण पाठकले पनि युट्युबमा एक्सप्लेनर भिडियो बनाउन थालेका छन् । कान्तिपुर, हिमालयन र न्यूज २४ मा ‘टफ टक’ नामक टक सो चलाइसकेका उनले युट्युब मार्फत ‘टफ टक एक्सप्लेनर’ बनाउन थालेका हुन् ।
गत जुन २४ अर्थात् असार १० देखि उनले युट्युबकेन्द्रित कन्टेन्ट निर्माण थालेका उनको पहिलो भिडियोको शीर्षक ‘प्रचण्ड सरकार के गर्दैछ ?’ हो । त्यसो त पाठकले युट्युबमा आफ्ना पुराना कार्यक्रमहरूको राम्रै अर्काइभ बनाइसकेका छन् ।
टिकाराम यात्री- टिभीबाट युट्युबतिर
लामो समयदेखि युट्युबमा कन्टेन्ट बनाउँदै आएका अर्का सम्पादक हुन्- टिकाराम यात्री । एपी वान टेलिभिजनमा प्रधान सम्पादक रुपमा काम गरिसकेका यात्री ‘तमसोमा ज्योतिर्गमय’ नामक कार्यक्रमका सञ्चालकका रुपमा परिचित छन् । २०८० वैशाख महिनामा एपीवन टिभी छोडेलगत्तै उनले युट्युबमा ‘तमसोमा ज्योतिर्गमय’ सुरु गरेका थिए ।
एपीवान टेलिभिजनमा अहिले सोही नामको कार्यक्रम सुरेश पौडेलले सञ्चालन गर्छन् भने यात्रीले आफ्नै नामको युट्युब च्यानलमा भिडियो बनाउँछन् । एपीवानमा हुँदा पनि उनले विभिन्न कार्यक्रमका भिडियो आफ्नो युट्युब च्यानलमा राख्दै आएका थिए तर टेलिभिजन छाडेपछि उनले २ मे २०२३ अर्थात् २०८० वैशाख १९ गते देखि विधिवत रुपमा युट्युबमा कन्टेन्ट क्रियटरका रुपमा लागे ।
युट्युबमा उनी हाल ‘तमसोमा ज्योतिर्गमय’ सँगै ‘कुरा सुन्नु पाकाको’ नामक कार्यक्रम पनि प्रस्तुत गर्दै आएका छन् । साथै, हिमालयन टेलिभजनबाट प्रसारण हुने ‘अध्यारोबाट उज्यालोतर्फ’ नामक टक सो पनि आफ्नै युट्युब च्यानलमा राख्दै आएका छन् ।
यात्री, पाठक, शर्मा र चौहान पछिल्लो समय युट्युबकेन्द्रित भए पनि यो नयाँ ट्रेन्ड भने होइन । कतिपय अनलाइन न्युज पोर्टलका सम्पादकहरू पहिलेदेखि नै युट्युबमा सामग्री पस्कँदै आएका थिए ।
युट्युबमै प्रतीक प्रधान, युवराज घिमिरे र विजयकुमार
बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधानले ३ वर्ष अघि देखि नै युट्युबमा ‘प्रतिवाद’ नामक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । प्रधानले २६ नोभेम्बर २०२० अर्थात् २०७७ मंसिर ११ देखि भिडियोमा समसामयिक विषयमाथि विश्लेषण र टिप्पणी गर्न थालेका हुन् । ‘प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा के फरक ?’ शीर्षकमा पहिलो भिडियो बनाएका प्रधानले ‘प्रतिवाद’ लाई नियमित गर्न भने सकेका छैनन् ।
प्रतीकभन्दा पहिला युट्युबमा भिडियो सामग्री प्रस्तुत गर्ने सम्पादक हुन्- युवराज घिमिरे । देशसञ्चारका प्रधान सम्पादक घिमिरे युट्युबमा ‘शून्य समय’ शीर्षकमा भिडियो सामग्री सञ्चालन गर्छन् । घिमिरेले ५ वर्ष अघि अर्थात् २०७६ साउन १७ (२ अगस्ट २०१९) देखि नै युट्युबमा भिडियो कन्टेन्ट दिदैँ आएका छन् ।
युट्युबमा लामो समयदेखि आफ्ना कुरा राख्दै आएका अर्का सम्पादक विजयकुमार पाण्डे पनि हुन् । कान्तिपुर टिभी, अन्नपुर्ण, एपीवान जस्ता मूलधारका सञ्चार गृह तथा म्यागेजिनहरूमा सम्पादक भएर काम गरिसकेका पाण्डे युट्युबमा कन्टेन्ट बनाउने पुराना पत्रकार मध्येका एक हुन् । उनले ७ वर्ष अघिदेखि नै युट्युबमा भिडियो सामग्री राख्न थालेका थिए । ‘खुसी’ पुस्तककका लागि मदन पुरस्कार पाउँदा गरेको भाषण ७ जुन २०१७ अर्थात् २०७३ पुस २३ गते राखेर उनले युट्युबमा यात्रा थालेका थिए । नेपाल टेलिभिजनदेखि उनले सञ्चालन गर्ने गरेको चर्चित कार्यक्रम ‘दिशानिर्देश’ कै नाममा उनको युट्युब च्यानल छ ।
भिडियोमा सम्पादकहरू मात्रै छैनन् । प्रायः सबै मिडियाले आ-आफ्नै युट्युब च्यानलमा भिडियो सामग्री प्रसारण दिँदै आएका छन् । कतिपय मिडियाका सम्पादक समय सन्दर्भअनुसार भिडियोमा आफै स्वयम् देखिन्छन् । उदाहरण हुन् -केपी ढुंगाना र बसन्त बस्नेत । उकेरा डटकमका सम्पादक ढुंगाना र अनलाइन खबरका सम्पादक बस्नेत बेलाबखत भिडियोमा समय सान्दर्भिक टिप्पणी दिन्छन् ।
अहिले धेरै मिडियाले मल्टिमिडिया संवाददाता राखेर भिडियो कन्टेन्ट बनाउने र युट्युबमा अपलोड गर्ने प्रचलन बढेको छ । मिडियाका सम्पादकहरूले नै यसरी युट्युब लगायत प्लेटफर्ममा सामग्री बनाउने विषयलाई सकारात्मक मान्नुपर्ने अग्रज पत्रकार ध्रुवहरि अधिकारी बताउँछन् । अधिकारीका अनुसार मिडियाको दायरा बढेसँगै सम्पादकहरू यसरी भिडियो सामग्री उत्पादनमा लाग्नाले अरुलाई पनि प्रेरणा दिन्छ ।
“पत्रकारिताको दायरा फराकिलो भएको छ । छापा माध्यमबाट रेडियो टेलिभिजन हुँदै अनलाइनसम्म आइपुगेको छ । यत्तिको फराकिलो दायरामा सम्पादक वा पत्रकारहरूले युट्युबमा कन्टेन्ट दिनु त्यति नकारात्मक विषय होइन,” अधिकारी भन्छन्, “सम्पादकहरूको यो कदमले अन्यलाई पनि प्रेरित गरेको छ ।” सबैको साझा मञ्चको रुपमा रहेका इन्टरनेटमा आधारित प्लेटफर्ममा प्रतिस्पर्धाको वातावरण पनि बढाउने अधिकारी बताउँछन् । “युट्युबमा कन्टेन्ट बनाउनेहरू बढेसँगै उत्पादन पनि उत्तिकै बढ्छ र सूचना प्रवाह थप सहज हुन्छ”, अधिकारी भन्छन्, “यी सबै कुरा हुँदाहुँदै पनि पत्रकार वा सम्पादकहरूले पत्रकारिताको मूल्यमान्यता भुल्नु हुँदैन ।”
मिडिया अध्येता भुवन केसी पनि प्रविधको विकाससँगै सम्पादकहरू परिस्कृत हुनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् । “थोरै लगानीमा दर्शक/पाठक समक्ष पुग्नु राम्रो विषय हो । यी प्लेटफर्मका लागि सामग्री उत्पादन कम खर्चिलो हुनुका साथै यसले आम्दानीको वैकल्पिक स्रोत पनि दिन्छ,” सेन्टर फर मिडिया रिसर्च (सिएमआर-नेपाल) आबद्ध केसी भन्छन्, “उहाँहरूले युट्युबलाई माध्यम बनाएर जाँदा त्यति धेरै नकारात्मक हुनु पर्ने कुरा छैन । पाठक/दर्शकहरू पनि अहिले त्यतै हुनुहुन्छ ।”
मिडियाहरू युट्युबमा जुर्मुराएको धेरै समय भएको छैन । तर, युट्युबमार्फत् सामग्री उत्पादन गर्ने जमात धेरै पहिलेदेखि सक्रिय छ । यी मध्ये अधिकांश एकल कन्टेन्ट क्रियटरहरू छन् जसका कन्टेन्ट सम्पादकीय प्रक्रिया भएर गुज्रिँदैनन् । उनीहरूका सामग्री पत्रकारिताको मूल्यमान्यताको कसीमा कमजोर हुन्छन् । फलस्वरुप, त्यस्ता सामग्रीले समाजमा द्वन्द्व भड्काउने, मिथ्यासूचना प्रवाह गर्ने, दर्शकहरूलाई दिग्भ्रमित पार्ने, व्यक्तिको चरित्र हत्या गर्ने र गोपनीयता हनन गर्ने सम्भावना रहन्छ ।
मिडिया अध्येता केसीका अनुसार यस्ता खालका सामग्री बनाउने र प्रसारण गर्नेलाई परास्त गर्न पनि सम्पादकहरूको कदमले अहम् भूमिका खेल्न सक्छ । केसी भन्छन्, “यदि राम्रा पत्रकार र सम्पादकहरूले युट्युबमा आफ्ना परिस्कृत कन्टेन्ट दिन थाल्ने हो भने असंवेदनशील खालका कन्टेन्ट दिने युट्युबरहरू आफैँ पछि पर्छन् ।”
अग्रज पत्रकार अधिकारी पनि समाजलाई दिग्भ्रमित गर्ने खालका सामग्रीलाई परास्त गर्न सम्पादकहरूको अहम् भूमिका रहेको बताउँछन् । “सूचना प्रवाहसँगै समाजमा द्वन्द्व भड्काउने, दिग्भ्रमित पार्ने, छाडापन, चरित्र हत्या गर्ने जस्ता कन्टेन्ट पनि उत्तिकै देखिन्छन् । यस्ता विषयमा पनि हामी चनाखो हुनुपर्छ,” अधिकारी भन्छन्, “स्वतन्त्र भएँ भनेर भाँडभैलो गर्नु भएन । सम्पादकहरूले पनि स्वनियम गर्नुपर्छ । के दिँदा समाजमा कस्तो असर पर्छ भनेर उहाँहरू पक्कै सजग हुनुहुन्छ ।”
अधिकारी अन्य युट्युबरका कन्टेन्टहरूलाई पनि नियमन गर्नुपर्ने बताउँछन् । “सामाजिक सञ्जालको अनुगमन र निगरानी गर्ने ऐन बनाउनु पर्छ,” अधिकारी भन्छन्, “सो ऐनले सामाजिक सञ्जालमा एउटा मर्यादापालकको रुपमा काम गरोस् ।”
ध्रुवहरि अधिकारी, अग्रज पत्रकार
पत्रकारिताको दायरा फराकिलो भएको छ । हिजो छापा माध्यमबाट अखबार र पत्रिका, रेडियो टेलिभिजन हुँदै अनलाइनसम्म आइपुगेको छ । यत्तिको फराकिलो दायरामा सम्पादक वा पत्रकारहरूले युट्युबमा कन्टेन्ट दिनु त्यति नकारात्मक विषय होइन । यो राम्रो हो । सम्पादकहरूको यो कदमले अन्यलाई पनि प्रेरित गरेको छ । यो सबैको साझा मञ्च हो जसले गर्दा प्रतिस्पर्धाको वातावरण पनि बढेको छ । युट्युबमा कन्टेन्ट बनाउनेहरू बढेसँगै उत्पादन पनि उत्तिकै बढ्छ र सूचना प्रवाहमा थप सहज हुन्छ । यी सबै कुरा हुँदाहुँदै पनि पत्रकार वा सम्पादकहरूले पत्रकारिताको मूल्यमान्यता भुल्नु हुँदैन । सम्पादकहरूले स्वतन्त्र भएँ भनेर भाँडभैलो गर्नु पनि हुँदैन । ख्यातिप्राप्त सम्पादकहरू पनि अहिले युट्युब कन्टेन्टमा लाग्नु भएको छ । उहाँहरूले पनि स्वनियम गर्नुपर्छ । के दिँदा समाजमा कस्तो असर पर्छ जस्ता विषयहरूमा उहाँहरू पक्कै सजग पनि हुनुहुन्छ । सूचना प्रवाहसँगै समाजमा द्वन्द्व भड्काउने, दिग्भ्रमित पार्ने, छाडापन, चरित्र हत्या जस्ता कन्टेन्टहरू पनि उत्तिकै देखिन्छ । यस्ता विषयमा हामी चनाखो भने हुनुपर्छ । यसका लागि राज्य सम्यन्त्रबाट नै सामाजिक सञ्जालको अनुगमन र निगरानी गर्ने ऐन बनाउनु पर्छ । ताकि सो ऐनले सामाजिक सञ्जालमा एउटा मर्यादापालकको रुपमा काम गरोस् । यसो भन्दै गर्दा धेरैले अभिव्यक्ति स्वतन्त्रता हनन् भयो भन्न पनि सक्छन् तर सामाजिक सञ्जाल नियन्त्रण होइन अनुगमन र निगरानी गर्नुपर्छ भन्ने हो । यसका लागि बरु सरकारले विशेषज्ञ टोली बनाउन सक्छ । यस्तो ऐन बनाइयो भने दर्शक/पाठकले थप सुधारिएका कन्टेन्ट हेर्न, पढ्न, सुन्न पाउँछन् । सम्पादक वा पत्रकारहरूले यसरी युट्युबमा कन्टेन्ट दिनु सकारात्मक रुपमै लिनुपर्छ । |
भुवन केसी, मिडिया अध्येता, सिएमआर-नेपाल
हामी पत्रकारिता अभ्यास गरेकाहरूले युट्युबमा पनि पत्रकारिताको मूल्य र मान्यतालाई भुल्नु हुँदैन । यदि उहाँहरू पनि युट्युबका भिडियो कन्टेन्टहरू बनाउँदा पत्रकारिताको आचारसंहिता वा मूल्यमान्यता भन्दा बाहिर रहनु भयो भने पक्कै हामी आलोचित हुनुपर्छ । उहाँहरू युट्युबमा जानु किन पनि राम्रो हो भने युट्युबमा धेरै कन्टेन्टहरू छन्, जुन दर्शकहरूले जबर्जस्ती हेर्नुपर्ने बाध्यता छ । त्यहाँ पत्रकारिताको मूल्य र मान्यता त परको कुरा, धेरै जस्ता कन्टेन्टहरू कसैको चरित्र हत्या गर्ने खालका छन् । त्यस्ता कन्टेन्टहरूलाई परास्त गर्न पनि पत्रकारिताको मूल्यमान्यता भित्र रहेको कन्टेन्ट दिनु आवश्यक छ । यदि राम्रा पत्रकार र सम्पादकहरूले त्यहाँ आफ्ना परिस्कृत कन्टेन्ट दिन थाल्ने हो भने असंवेदनशील खालका कन्टेन्ट दिने युट्युबरहरू आफैँ पछि पर्छन् । |


प्रविधिको विकाससँगै पत्रकार अथवा सम्पादकहरू परिष्कृत हुनु राम्रो कुरा हो । थोरै लगानीमा दर्शक/पाठक समक्ष पुग्नु राम्रो विषय हो । यो कम खर्चिलो हुनुका साथै यसले आम्दानीको वैकल्पिक स्रोत पनि दिन्छ । उहाँहरूले युट्युबलाई माध्यम बनाएर जाँदा त्यति धेरै नकारात्मक हुनु पर्ने कुरा छैन । अहिले पाठक/दर्शक पनि त्यतै हुनुहुन्छ ।