आउनुस् कान्तिपुरका संस्थापक श्याम गोयन्काको गुमनाम परोपकारको चर्चा गरौँ । को हुन् श्याम गोयन्का ? गोयन्काले कान्तिपुरको स्थापना किन गरे ? र, उनी एक वर्ष नहुँदै कान्तिपुरबाट किन बाहिरिए ? आज उनी कहाँ छन् ? के गर्दै छन् ? आउनुहोस्, नेपालको स्वतन्त्र मिडियाका पथप्रदर्शक श्याम गोयन्कालाई सम्मान गरौँ र उनले स्थापना गरेको सञ्चार संस्था कान्तिपुरको जन्मदिन मनाउँ ।
गैरसरकारी स्तरबाट पत्रपत्रिका प्रकाशन तथा सञ्चालनका साना–ठूला प्रयत्न यसअघि पनि नभएका होइनन् । तर ‘कान्तिपुर’ यस्तो कोशे ढुङ्गो बन्यो जसले नेपालमा व्यावसायिक मिडियाको जग हाल्यो । एकातिर यसले २०४६ सालमा पुनःस्थापित बहुदलीय लोकतन्त्रलाई संस्थागत गर्न पहरेदारको भूमिका निर्वाह गर्यो भने अर्कातिर अन्य मिडिया स्थापनाका लागि समेत उत्प्रेरक बनेर आफ्नो भूमिकालाई विस्तार गर्यो, प्रतिस्पर्धीहरू पनि जन्मायो ।
दैनिक पत्रिका प्रकाशनका लागि ठूलो स्रोत–साधन चाहिन्थ्यो । तर घाटाको व्यापार गर्न कोही पनि तयार थिएनन् । यस्तो अवस्थामा स्वतन्त्र मिडिया स्थापनाको हुटहुटी बोकेका श्याम गोयन्काले स्थापना गरेको ‘कान्तिपुर’ प्रकाशनको पहिलो दिनदेखि नै मुलुकको प्रभावशाली सञ्चार संस्था रहेको छ ।
नेपाल अधिराज्यको संविधान, २०४७ मा दर्ता खारेजी र छापाखाना जफत नहुने लगायतका व्यवस्था भएपछि ‘पञ्चायतकालमा फस्टाउनै नसक्ने बनाइएको’ छापा माध्यमले फक्रने वातावरण पायो । संवैधानिक प्रत्याभूति भए पनि ठूलो जनसमुदायलाई लक्ष्य गरेर सञ्चार माध्यम सञ्चालन गर्ने आँट कतैबाट नभइहालेको अवस्थामा २९ वर्षीय गोयन्का त्यसखालको भिजनसहित काठमाडौंमा देखा परेका थिए ।
सुन्नुस् मिडिया कुराकानी पड्कास्टः
लोकतन्त्रका आधारभूत मान्यताहरूलाई संस्थागत गर्न कुन चाहिँ राजनेता, दल, उद्योगी–व्यवसायी वा संस्थाले यत्तिको महत्त्वपूर्ण भूमिका खेलेको छ ? राष्ट्रका लागि अत्यावश्यक अभियानका लागि आफ्नो बलिदानी दिने श्याम गोयन्काको योगदानलाई स्मरण गर्नु वा कदर गर्नु राष्ट्रको कर्तव्य बन्छ कि बन्दैन ? के हामी यति कृतघ्न हुन सक्छौँ कि फल खाइरहौँ, तर जसले बोट रोप्यो ऊप्रति सामान्य कृतज्ञता पनि व्यक्त नगरौँ ? विस्तृत पढ्नुहोस् ।