विश्वविद्यालयका समाज विज्ञान र मानविकीको पाठ्यक्रममा डिजिटल मिडियालाई कम प्राथमिकता दिइएको देखिन्छ । यसरी कम प्राथमिकता दिनु भनेको विश्वविद्यालयका पाठ्यक्रम निर्माताले डिजिटल मिडियाका कारण भएको सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनलाई बेवास्ता गर्नु हो, डिजिटल मिडिया र समाजबारे विद्यार्थीलाई सचेत हुने र विचार विमर्श गर्ने अवसर नदिनु हो ।
डिजिटल परिवर्तन : संसारका अरू देशमा झैँ नेपालमा पनि इन्टरनेटको प्रयोग र पहुँच बढ्दै छ । कोरोना महामारीले त समाजलाई डिजिटल माध्यमको प्रयोग गर्न उत्प्रेरित गरिरहेको छ । भौतिक र सामाजिक दूरी कायम गर्दा डिजिटल उपयोगी माध्यम भएको छ । तथ्यांकले पनि नेपालमा इन्टरनेटमा पहुँच बढेको देखाउँछ । केन्द्रीय तथ्यांक विभागले भर्खरै सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण, ०७५/०७६ मा प्रत्येक घरपरिवारको ५१.१ प्रतिशत व्यक्तिमा केही न केही उपकरणमार्फत इन्टरनेटमा पहुँच भएको देखाएको छ । प्रदेशगत रूपमा हेर्दा बागमतीमा सबैभन्दा बढी ६८.७ प्रतिशत अनि र सुदूरपश्चिममा सबैभन्दा कम २४.३ प्रतिशत पहुँच भएको पनि देखाएको छ । हुन त नेपाल दूरसञ्चार प्राधिकरणको ०७७ भाद्रको तथ्यांकले ७६.५८ प्रतिशत जनसंख्यामा ब्रोडबान्ड इन्टरनेटमा पहुँच भएको देखाएको थियो । साथै १२३.४० प्रतिशत जनसंख्याले मोबाइल प्रयोग गरेको पनि देखाउँछ । यस तथ्यांकलाई आलोचनात्मक तरिकाले हेर्नुपर्ने हुन्छ किनभने यो सत्य हो भने प्रत्येक नेपालीसँग मोबाइल हुनुपर्यो । सायद बाँडिएको सिमको संख्यालाई आधार मान्दा यस्तो तथ्यांक निस्केको हुनुपर्छ । तैपनि इन्टरनेटको पहुँच दिनदिनै बढ्दै गएको नकार्न भने मिल्दैन । पढ्नुस् नयाँ पत्रिकामा प्रकाशित हर्षमान महर्जनको लेख