मिडियाका सम्पादक र लगानीकर्ताबीच एक-अर्काको विषयमा रिपोर्टिङ नगर्ने अघोषित सम्झौता छ

मिडियाका सम्पादक र लगानीकर्ताबीच एक-अर्काको विषयमा रिपोर्टिङ नगर्ने अघोषित सम्झौता छ

  • मंसिर ५, २०८० मंगलबार १८:३४

सन् २०१८ मा अमेरिकामा रिपब्लिकन पार्टीका सिनेटर टम कटनले ‘काला जातीको आन्दोलन प्रायोजित हो त्यसकारण बलपूर्वक भए पनि दबाउनुपर्छ’ भनेर लेखे न्यूयोर्क टाइम्समा । यो लेख आएपछि न्यूयोर्क टाइम्सका आठ सय रिपोर्टर र कर्मचारीहरूले सम्पादक र प्रकाशकलाई खुला चिठी लेखे ।

यस्तो लेख किन छापियो? प्रकाशक र सम्पादकको समेत कोट लिएर उनीहरूले रिपोर्टिङ गरे । अनि सम्पादक र प्रकाशकले ‘त्यो लेख छापिनु गलत थियो’ भन्दै माफी मागे ।

पश्चिमा देशहरूमा आफ्नै मिडियाको रिपोर्टिङ गर्ने चलन छ । तर हाम्रोमा आफ्नो त परको कुरा अन्य मिडियाको समेत रिपोर्टिङ हुँदैन ।

अहिले श्रम सम्बन्धी विषयमा कान्तिपुर पब्लिकेशनका केही कर्मचारी आन्दोलनमा छन् । सार्वजनिक भएका तथ्यहरूले नै व्यवस्थापनले श्रम कानुन विपरीत काम गरेको देखिन्छ । कान्तिपुरमा व्यवस्थापकको बचाउमा केही समाचार आए । अन्य केही मिडियाले आन्दोलनको सपाट समाचार लेखेर मुल समस्यामा मौन बसे ।

कान्तिपुर मिडिया ग्रुप र नेपाल रिपब्लिक मिडिया त पब्लिक लिमिटेडमा गइसके । त्यसको अर्थ उनीहरू अझ पारदर्शी, जवाफदेही र नागरिकप्रति अझ उत्तरदायी बन्नुपर्छ । तर, अझै पनि त्यहाँ भएको खास समस्या बाहिर आउन सकेको छैन ।

प्रालिको त कुरै छोडौँ, पब्लिक लिमिटेड भनिएका मिडियामा समेत नियुक्ति पत्र कानूनअनुसार नदिने, एक दशक काम गरिसकेर निस्कँदा वृत्ति रकम नपाउने, नियमित पारिश्रमिक नपाउने समस्या देखिएका छन् । अन्य निजी क्षेत्रको रिपोर्टिङ हुन्छ भने मिडियाको किन नहुने? 

मिडियाको रिपोर्टिङ मिडिया आफैँले गर्दैनन् अनि विश्वविद्यालयका पत्रकारिता विभागहरू पनि न न्यूज रुमभित्रको अनुसन्धान गर्छन्, न पत्रकारिताका यावत् समस्याको समाधान सुझाउँछन् ।

यसले मिडियालाई मनमौजी बनाएको छ । कसैले प्रश्न नउठाउने भएपछि मनमौजी पारामै चलेका छन् । उनीहरूले जे गर्याे उही नियम । श्रमजीवी पत्रकार सम्बन्धी कानुन छ, श्रम कानुन छ । तर मिडिया सञ्चालकहरुले मान्दैनन् । अन्यत्र कानुन पालना भयो की भएन भनेर औँला उठाउने मिडियाले आफैंले गल्ती गर्दा औँला उठाउने कोही छैन । यसले मिडियामा काम गर्ने पत्रकार कर्मचारी मर्कामा परेका छन् ।

रिपोर्टर मैत्री भएनन् समाचार कक्ष
पोखरामा हुर्केको मैले सानैदेखि मिडियासँग साक्षात्कार गर्ने मौका पाएँ । रेडियोले सञ्चालन गर्ने विभिन्न कार्यक्रमको स्रोता क्लब गठन गरियो । चार वटा रेडियोमा स्वतस्फूर्त रूपमा पाठक पत्र पुर्याउने काम पनि गरेँ ।

एसएलसी दिएपछि हिमचुली एफएममा रेडियो पत्रकारिताको तालिम पनि लिएँ । त्यतिबेला कथा भन्ने खुब चलन चलेको थियो । केही समय कथाको पेटारो भन्ने कार्यक्रम पनि चलाएँ । राजाले प्रत्यक्ष शासन लिएको बेला थियो त्यो, रेडियोलाई समाचार भन्न निषेध थियो ।

अप्ठ्यारोको बीच काठमाडौं आएँ । क्यापिटल एफएममा सन् २०११ मा काम गर्न थाले । म आफूलाई पत्रकारितामा नयाँ मान्छु । कम्प्युटर, इन्टरनेट सबै सुविधाहरू थिए । तर हातैले कागजमा समाचार लेखिन्थ्यो त्यहाँ । पछि उज्यालो अनलाइनमा काम गर्न थाले । विस्तारै अन्य मिडिया पनि लेख्नतिरै लागियो ।

अहिले म आफैँले मिडिया कुराकानी चलाइरहेको छु । मिडियामा काम गर्दा नै के महसुस भयो, मिडियाको रिपोर्टिङ कस्ले गर्ने? मिडियाले धेरै लगानी लगाएर प्रकाशन गरेको कन्टेन्टमाथि रिभ्यु कस्ले गर्ने? पत्रकारको पीडा कस्ले लेखिदिने? लगानीकर्ताबारे कस्ले लेख्ने? पत्रकारले अन्य क्षेत्रको रिपोर्टिङ त गर्याैँ तर आफ्नो क्षेत्रको किन नगर्ने भन्ने सोच आयो अनि मिडिया कुराकानी सुरू भयो ।

मैले ‘म मिडियाबारे रिपोर्टिङ गर्छु स्पेश दिनुस्’ भनेर केही सम्पादकलाई प्रस्ताव पनि राखेको हो तर उहाँहरूले मान्नुभएन । सन् २०१२ मा ब्लगका रूपमा सुरू भए पनि अहिले यो न्यूज पोर्टलकै रूपमा स्थापित भएको छ । भलै, कामका हिसाबले यो बल्ल बामे सर्दैछ ।

१० वर्ष सक्रिय पत्रकारिता गर्दा मलाई के लाग्छ भने रिपोर्टरहरू राम्रोसँग सम्पादकीय निर्देशनसमेत बुझ्न नपाइ अवकाश लिन्छन् ।

इश्यु के हो?, कसरी रिपोर्टिङ गर्ने?, यसले कालान्तरमा के असर पर्छ?, कानुन के हो?, स्रोत सामग्री के-के हुन सक्छन्?, यसबारे धेरै पत्रकारलाई विस्तृतमा जानकारी समेत हुँदैन । न्यूज रुम न्यूज रुमजस्तो छैन । सिकाइ कम देखिन्छ हाम्रो न्यूजरुममा ।

सम्पादकले सबै रिपोर्टरलाई समान रूपमा काम लगाउने गरेको पाइनँ मैले । मिडियाले आफ्नो प्राथमिकता निर्धारण गरेर रिपोर्टिङको लागि पत्रकारलाई तय गर्नुपर्दथ्यो । तर यहाँ त न मिडियालाई आफ्नो प्राथमिकता थाहा छ, न रिपोर्टरलाई । रिपोर्टरले आफ्नो सुरले रिपोर्टिङ गर्ने अनि मिडिया आफ्नो सुरले चल्ने गरेको देखिन्छ ।

समाचार कक्षमा अध्ययन र खोजी पत्रकारिता जति भइरहेको छ, लगानीको तुलनामा उल्लेख्य हो । रिपोर्टरले समयमा तलब पनि पाउँदैन, अनि त्यही समयमा नपाएको तलबको आधा पैसा रिपोर्टिङ गर्दा खर्च गरिरहेको हुन्छ ।

किताब किन्दा, स्रोत भेट्दादेखि अन्य खर्च सबै आफैँ जुटाउनुपर्छ । धन्न गरिरहेका छन् पत्रकारले । यद्यपि कमजोरी भने नभएका होइनन् ।

मिडियाको रिपोर्टिङ गर्ने मिडिया भएनन् 
अहिले खास भन्ने हो भने, रिपोर्टरलाई रिपोर्टिङ गर्न एकदमै ठूलो समस्या छ । समाचारका अर्काइभहरू एकदमै नगन्य छन् । उस्तै परे आफैँले लेखेको समाचारको अर्काइभ भेटिन्न ।

रिपोर्टरलाई न्यूज रुमले न ई-पुस्तकालयमा पहुँच पुर्याउन सकेको देखिन्छ न त भौतिक पुस्तकालयमा । अध्ययनको लागि समय छुट्याइदिने त परको कुरा ।

खोजी पत्रकारिताको लागि नै चाहिने पुस्तक, अर्काइभ, प्रतिवेदन लिन निकै मुस्किल छ । सरकारी कार्यलयबाट पनि सहजै सूचना पाइँदैन । अर्काइभ पनि छैन, जे गरे पनि सबै आफैँले गर्न परेपछि सकस नै भइहाल्छ नि!

मिडियाको समस्यालाई केन्द्रबिन्दुमा राखेर रिपोर्टिङ अथवा मूल्याङ्कन हुनुपर्ने हो । तर भएको देखिँदैन । एक त मिडियाको रिपोर्टिङ कस्ले गर्ने भन्ने हुन्छ ।

मिडिया साक्षरता भएका मुलुकमा पाठक, स्रोता तथा दर्शकले मिडियामाथि प्रश्न गर्छन् । तर हाम्रो जस्तो तुलनात्मक रूपमा मिडिया साक्षरता कम भएका मुलुकमा त्यस्तो अवस्था छैन ।आफैँले गर्ने भनेर छोडिदिएको जस्तो देखिन्छ ।

पहिले मार्टिन चौतारीले मिडियामा प्रकाशित भएका कन्टेन्टको विश्लेषण गर्दथ्यो । पत्रकारको अनुभव छाप्थ्यो । विधागत पत्रकारिताबारे मिडिया अध्ययन राम्रै खुराक थियो । अहिले त्यो छैन । खास मिडियाको रिपोर्टिङ पत्रकारिताका विद्यार्थीलाई फिल्डमा उतारेर विश्वविद्यालयका प्राध्यापकहरूले गर्नुपर्ने हो, गरेको देखिएन ।

जस्तो अमेरिकामा (सिजेआर) भन्ने संस्थाले अमेरिकी मिडियाको रिभ्यु गरिरहेको हुन्छ । विश्वविद्यालयका प्राध्यापकहरू सम्मलित भएर गर्ने यस्तो अनुसन्धानको प्रभाव यति हुन्छ की मिडियाले आफ्नो आन्तरिक सम्पादकीय नीति नै परिर्वतन गर्छ ।

त्यस्तै भारतमा ‘द हिन्दू’ले आफ्ना पत्रिकामा प्रकाशित सामग्रीको रिभ्यु गर्न रिडर्स इडिटर राखेको छ । उसले पत्रिका प्रकाशित भइसकेपछि रिभ्यू गर्छ र सोही पत्रिकामा त्यो रिभ्यू छापिन्छ । उक्त व्यक्ति सम्पादकको समेत अण्डरमा हुँदैन ।

हाम्रोमा प्रेस काउन्सिल छ, तर उसले पनि मिडियामाथि सही तरिकाले अनुगमन गर्न सकेको छैन । अम्बुड्स्म्यान (मिडियाको रिभ्यू गर्न तोकिएको अधिकारी)को अवधारणा छ तर हामीकहाँ त्यो पनि अभ्यास भएन । विश्वविद्यालयले पनि मिडियाका बारेमा काम गर्न सकेनन् ।

सम्पादकहरूबीच र लगानीकर्ताहरूबीच एक-अर्काको मिडियाको रिपोर्टिङ नगर्ने एक प्रकारको अघोषित सम्झौता छ जस्तो देखिन्छ । कान्तिपुरमा त्यत्रो ठूलो श्रम आन्दोलन भइरहेको छ, तर एका दुई अनलाइन बाहेक मूलधारका मिडियाले रिपोर्टिङ नै गरेनन् । अघोषित सम्झौता नभएको भए त रिपोर्टिङ हुनुपर्ने विषय हो नि त्यो ।

रिपोर्टरले पनि सम्पादकलाई यो विषयमा रिपोर्टिङ गरौँ न भनेर प्रस्ताव गरेको देखिँदैन । सबैका आ-आफ्ना स्वार्थले काम गर्याे की शंका त लागिहाल्छ नि कतै पनि रिपोर्टिङ नआएपछि । अरुको छाप्ने, आफ्नो चाहिँ नछाप्ने भन्ने हुन्न । पारदर्शिता भन्ने कुरा मिडियाको लागि पनि हो ।

अहिले अल्जजिराले इजरायल र प्यालेस्टाइनमा भइरहेको युद्ध अनि पश्चिमा मिडियाले कसरी प्यालेस्टाइनीमाथि भइरहेको ज्यादतीलाई समर्थन गरिरहेको छ भनेर रिपोर्टिङ गरिरहेको छ । कुन इश्युलाई कुन मिडियाले कसरी उठायो भनेर रिपोर्टिङ हुन जरुरी छ ।

जस्तै, हाम्रै मिडियाले एउटै घटना फरक राजनीतिक दलले गर्दा कस्तो रिपोर्टिङ गर्छन् भन्ने रिपोर्टिङ हुनसक्छ । मन नपरेको दलले सामाजिक सञ्जाल नियमन गर्ने ऐन ल्याउन खोज्दा विरोध गर्ने तर मन परेको दलले प्रतिबन्ध नै लगाउँदा समर्थन गर्ने पनि देखियो ।

हामीले राजनीतिक दललाई सत्तामा हुँदा एउटा कुरा सत्ताबाट बाहिरिएपछि अर्काे कुरा भनेर लेख्छौँ भने हामी पनि उनीहरू जस्तै दोग्ला चरित्रको हुन भएन ।

मिडिया हाउस परिवर्तन गर्दा पनि सम्पादकले प्रकाशकअनुसार इश्युमा धारणा बनाएको पाइयो यहाँ त! एक जना सम्पादकले एउटा मिडियामा बस्दा लोकमानसिंह कार्कीको नियुक्ति बेठीक भनेर लेख्नुभयो, अर्काे मिडियामा जानेबित्तिकै ठीक भनेर लेख्नुभयो ।

यसरी लगानीकर्ता वा मालिकअनुसार सम्पादकीय दृष्टिकोण परिवर्तन हुने हो त? सम्पादकहरू यति निरीह भए की आफ्ना रिपोर्टरहरूलाई नियुक्ति र बर्खास्ती गर्दासमेत बोल्न नसक्ने भए ।

कुनै पनि मिडियामा घटेको घटनाबारे विस्तृत विवरणसहित रिपोर्टिङ आउनुपर्दथ्यो तर आएन । मिडियाको कन्टेन्ट, मिडियामा भएका घटना र पत्रकारको कुराको सिंगो बिट नै खाली देख्छु ।


(क्यापिटल एफएम, उज्यालो अनलाइन, अन्नपूर्ण टूडे, नेपाल साप्ताहिक, पहिलोपोष्ट डटकममा काम गरिसकेका बराल अहिले मिडियाभित्रका खबर प्रकाशन गरिरहने मिडिया कुराकानीको सम्पादक छन्। उनै सँग उकेराको चौँथो अंग कोलमका लागि प्रजु पन्तले ‘नेपाली मिडियामा मिडियाको रिपोर्टिङ’ शीर्षकमा गरेको कुराकानी)


Related Story

मिडिया कुराकानीका प्रश्नमा टीकाराम यात्रीको पूरा जवाफ

मिडिया कुराकानीले 'अध्यारोबाट उज्यालोतिर' का प्रस्तोता पत्रकार टीकाराम यात्रीलाई विश्लेषक अरुणकुमार सुवेदीसँग गरिएको अन्तर्वार्ताका सम्बन्धमा ५ वटा प्रश्न पठाएको थियो

चुनौतीको चाङमा पत्रकार महासंघको नयाँ नेतृत्त्व

झण्डै सात दशकको इतिहास बोकेको नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व आएसँगै महासंघमा रहेको अन्यौलता तत्कालका लागि हटेको छ । यस

विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट

तपाईंको शरीरको तौल ४५ मिनेटमा नै कम हुनेछ, केही हप्ताभित्रमा सुडौल हुने, कपालमा भरिसकेका रौँहरू फेरि पलाउने, अनुहारमा भएका चायाहरू

आमसञ्चारको भविष्य

आम मानिसले आफ्नो सूचना, जानकारी र ज्ञानको स्रोत आमसञ्चारका माध्यमका सट्टा सामाजिक सञ्जाललाई मात्रै बनाउन थालेकाले राष्ट्रिय परिवेशमा लोकतन्त्रहरू नै

भ्रम र सत्यको द्वन्द्वमा नेपाली पत्रकारिता

किशोर नेपाल- यतिबेला पत्रकारिताको सिद्धान्त सूत्रका रूपमा स्थापित आफ्ना छ जना परम मित्रहरू(छ वटा ‘क’- अंग्रेजीमा पाँच डब्ल्यू र एक एच)को

पत्रकारिताको अर्को आयाम

दीपक आचार्य बुहारी पत्रकारिता तालिम लिएर स्वयंसेवीरूपमा रेडियोमा प्रवेश गर्नुभएकी लहानकी सञ्जु कुमारीको पत्रकारिता यात्रा रेडियो समग्र लहानको कार्यक्रम व्यवस्थापकसम्म पुग्छ

मिडिया काउन्सिल विधेयकको सकस

सुरेश आचार्य- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा राष्ट्रिय सभामा पेस गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको अढाई वर्षपछि

पत्रकारिताको कसीमा ‘युट्युबर’

विपुल पोखरेल- के युट्युबर पत्रकार हुन् ? आजकल यो प्रश्न धेरैले सोध्ने गरेको पाइन्छ। प्रविधिको विकाससँगै सूचना प्रवाहका माध्यम पनि थपिएका