- दीपक आचार्य
बुहारी पत्रकारिता तालिम लिएर स्वयंसेवीरूपमा रेडियोमा प्रवेश गर्नुभएकी लहानकी सञ्जु कुमारीको पत्रकारिता यात्रा रेडियो समग्र लहानको कार्यक्रम व्यवस्थापकसम्म पुग्छ भन्ने उहाँलाई लागेको थिएन। गृहिणी जीवन बिताइरहनुभएकी उहाँलाई स्वयंसेवी पत्रकारिता अभियानले रेडियोमा जोड्यो। रेडियो त्रिशूलीकी समाचार संयोजक प्रितिका थापालाई स्वयंसेवी पत्रकारिता तालिम लिन आउँदा रेडियोमा बोल्न पाए त गाउँमा ठूलो इज्जत हुन्थ्यो भन्ने लाग्थ्यो, त्यतिबेला मैले पनि रेडियोमा अवसर पाउछु होला र ? भन्ने लाग्थ्यो तर अवसर पाएर बिस्तारै बिस्तारै रेडियोको समाचार संयोजकको रूपमा काम गर्ने भए उहाँ खुसी हुँदै बताउनुहुन्छ।
सिन्धुपाल्चोकको मालती श्रेष्ठले पनि स्वयंसेवी पत्रकारिता तालिम लिएपछि सिन्धुपाल्चोकको स्थानीय रेडियोमा स्वयंसेवीरूपमा काम गर्न थाल्नुभयो, अहिले जिम्मेवार पदमा काम गरिरहनुभएको छ। २०७२ सालको भूकम्पपछि गाउँ गाउँको ताजा जानकारी लिनका लागि गाउँ गाउँ, टोल टोलसम्म स्वयंसेवी पत्रकार हुनुपर्छ भनेर सामुदायिक सूचना नेटवर्क सिआइएनले स्वयंसेवी पत्रकारलाई आधारभूत तालिम दिएर समुदायका व्यक्तिलाई सञ्चार माध्यममा आबद्ध गराउने काम गर्दै आएको छ। व्यावसायिक पत्रकार सदरमुकाम केन्द्रित हुने भएकाले गाउँ गाउँ टोल टोलबाट स्वयंसेवी पत्रकार सिर्जना गर्न यो अवधारणा ल्याइएको हो।
२०७५ सालमा स्वयंसेवी पत्रकारिता तालिम लिनुभएकी बाजुराकी बुहारी पत्रकार कालिका उपाध्याय स्थानीय बूढीनन्दा रेडियो स्टेसन प्रमुख जिम्मेवारीमा मात्रै पुग्नुभएन, जिल्लामै उत्कृष्ट काम गर्ने महिलाका रूपमा परिचित हुनुभयो। कालिका बुहारीकै रूपमा गृहिणी बनेर जीवन सकिने भयो भन्ने सोच्नुहुन्थ्यो तर स्वयंसेवी पत्रकार भएसँगै जीवनमा नयाँ आशा पलाएको र समाजमा प्रतिष्ठा र शक्ति बढेको अनुभव गर्नुभयो। त्यतिबेला ६ महिनाको बच्चा लिएर बुहारी पत्रकारिता तालिम लिन काठमाडौँ आउनुभएकी बाजुराका बुहारी पत्रकार कालिकालाई थोरै दुःख थिएन। बच्चासहित तालिममा सहभागी हुन त्यति सजिलो थिएन तर पत्रकार बन्ने अवसर छाड्न पनि उहाँले सक्नु भएन। त्यसैले बच्चा हेर्नलाई श्रीमान् ससन्तराज रेग्मीसहित तालिममा सहभागी हुनुभयो। नागरिकमा प्रकाशित दीपक आचार्यको लेख पुरा पढ्नुहोस् ।