बालुवाटारमा प्रधानमन्त्रीको एकालाप, पत्रकारहरू सुनिरहे तर प्रश्न सोधेनन्
एक दिन अघि मात्र प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूलाई बोलाएर सरकारी निवास बालुवाटारमा पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार फेरि पार्टीनिकट प्रेस चौतारी नेपाललाई अगाडि सारेर अर्को पत्रकार सम्मेलन गर्दै थिए । प्रधानमन्त्रीलाई आमनागरिक समक्ष भन्नैपर्ने महत्त्वपूर्ण कुरा हुँदा पत्रकार वा मिडिया बोलाउनु स्वभाविक कुरा हो तर एक दिनको अन्तरमा त्यो पनि बिना विषय उनी फेरि पत्रकारहरूसँग किन बस्न चाहेका होलान् ?
पत्रकार सम्मेलन भनिए पनि त्यो कुनै प्रवचन वा प्रशिक्षणमूलक कार्यक्रमजस्तो भान हुन्थ्यो । पत्रकार सम्मेलनमा प्रधानमन्त्री मात्र बोलिरहे, बोलिरहे । र, पत्रकारहरू सुनिरहे, सुनिरहे । प्रधानमन्त्रीको प्रवचनमा मुग्ध पत्रकारले प्रश्न पनि खासै गरेनन् ।
पत्रकार सम्मेलनमा देखिएका केही दृश्य यस्ता छन्-
१. पत्रकारलाई गणेश बस्नेतको पाठ

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत । फोटोः राजन काफ्ले/प्रम सचिवालय
पत्रकार सम्मेलन सुरु हुनुअघि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पत्रकारलाई अनुशासन सिकाउन खोजे ।
‘हामी सञ्चारकर्मी र कलमजीवी हुँदाहुँदै पनि हाम्रो एउटा अनुशासन छ’, बस्नेतले भने, ‘र, कहिलेकाहीँ शब्दहरू प्रयोग गर्दा कुनै शब्द चिप्लियो भने त्यो शब्दमा खेलेर हामी संगठनमाथि विश्वासघात गर्ने छैनौँ ।’
प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न बोलाइएका पत्रकारहरूलाई संगठनमाथि विश्वासघात नगर्न निर्देशन दिनु एउटा पत्रकारका लागि लज्जाको विषय त हो नै, त्यो भन्दा बढी उनी शब्दमाथि नखेल्न पत्रकारलाई चेतावनी दिँदै थिए । जब कि पत्रकारको काम त नेता कहाँ चिप्लन्छन् भनेर हेर्ने पनि हो । राजनीतिज्ञहरूको जिब्रो चिप्लिएको विषय पत्रकारका लागि राम्रो समाचार हो ।
‘हामी व्यवसायिक हौँ तर त्यसभित्र कहिलेकहिले शब्दहरू चिप्लन सक्छन्, त्यसप्रति पनि हामी जिम्मेवार रहनेछौँ भन्ने 'सेल्फ सेन्सरसिप' का विषय संकेत गर्दै म आजको कार्यक्रम अगाडि बढाउन चाहन्छु’, उनले भने ।
उनी भन्न के खोज्दैछन् ? नेताको जिब्रो चिप्लिँदा हामी पत्रकार कसरी जिम्मेवार बन्ने ? नेताको चिप्लिएको जिब्रो पत्रकारले समाचार लेख्दा मिलाइदिने ? 😃
२. प्रेस काउन्सिल कार्यबाहक अध्यक्षको अचम्मलाग्दो उपस्थिति
बस्नेतले सुरुमा गरेको सम्बोधनबाटै थाहा लाग्यो- कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकी पनि उपस्थित छन् । पत्रकारहरूलाई आचारसंहिता पालनामा जिम्मेवार बनाउने अर्धन्यायिक निकायका प्रमुख एउटा दलको भ्रातृ संगठनले गरेको पत्रकार सम्मेलनमा किन जान्छन् ? त्यहाँ जानुपर्ने उनको काम हो कि होइन ? एमाले निकट प्रेस चौतारी नेपालको पत्रकार सम्मेलनमा जानुपर्ने आवश्यकता बुढाथोकीलाई किन पर्यो ?
कार्यबाहक अध्यक्ष बुढाथोकीले आफ्नो नियुक्तिलगत्तै आफू पदमा बहाल रहँदासम्म कुनै पनि राजनीतिक दलको सदस्य नरहने प्रतिबद्धता जनाएका थिए । त्यतिमात्रै होइन उनी आफू सम्पादक रहेको साँघु साप्ताहिकको जिम्मेवारीबाट समेत अलग भएका थिए ।
न कुनै पत्रिकाको सम्पादक वा पत्रकार न त कुनै दलको सदस्य, काउन्सिलको कार्यबाहक अध्यक्ष किन जानुपर्यो एमाले निकट संगठनको पत्रकार सम्मेलनमा ? 🤨
३. चारजना बोले, दुईजनाले सोधे
तपाईँ अब पत्रकार सम्मेलनको सबैभन्दा रोचक भागमा प्रवेश गर्दै हुनुहुन्छ ।
पत्रकार सम्मेलन, त्यो पनि मुलुकको प्रधानमन्त्रीसँग । सुरुमै प्रेस चौतारीका अध्यक्ष बस्नेतले भनेका थिए - ‘सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो धारणा राखेपछि हामीलाई लागेका जिज्ञासा बिना हिच्किचाहट राख्नेछौँ । आधा घण्टासम्म ५/१० वटा प्रश्नको उत्तर सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुहुनेछ ।’
कोभिड १९ महाव्याधिले दैनिक दुई सयजना हाराहारीले ज्यान गुमाइरहेको तथा ८ हजार करिब दैनिक सङ्क्रमित भइरहेको सन्दर्भमा तपाईँ प्रधानमन्त्रीसँग सवालजवाफ गर्दै हुनुहुन्छ । सोच्नुस्- के के सोध्ने प्रधानमन्त्रीलाई ।
तर बालुवाटारमा पत्रकारहरू यति मुग्ध देखिए, यति सन्तुष्ट देखिए कि प्रश्न सोध्ने मुस्किलले दुई जना मात्र देखिए । पालिकाखबर डट कमका डिल्ली आचार्य र न्युजपोलार डट कम सुशील अर्यालले प्रश्न सोधे भने सनराइज खबर डट कमका राजकुमार रेग्मी र राससकी कालिका खड्काकाले प्रश्न सोधेजस्तो गरे पनि ती प्रधानमन्त्रीका लागि सुझाव जस्ता थिए ।
करिब दुई दर्जन पत्रकार सहभागी पत्रकार सम्मेलन ६०/६५ वटा मिडियाले फेसबुकबाट लाइभ गरेको घोषणा गरियो । तर प्रश्न सोध्ने पत्रकार भेट्न मुस्किल । किन ? पत्रकारहरू प्रधानमन्त्रीको सम्बोधनबाट दीक्षित भइसकेकाले प्रश्न आवश्यकता नै नपरेको पो हो कि ? पत्रकार सम्मेलनमा विषय हुन्छ, वक्ता हुन्छन्, प्रश्नोत्तर हुन्छ । यहाँ त प्रश्नै नभएका वा प्रश्न सोध्नै नसक्नेहरूको झुण्ड भेला गरेर प्रोपगन्डा गरिन खोजिँदैछ । यो त पत्रकार सम्मेलनकै बेइज्जत भएन र ?
४) ओलीको टार्गेट कहाँ कहाँ ?
माथि पनि भनिसकियो- ओलीले बोलिरहे, बोलिरहे । पत्रकारले सुनेको सुन्यै गरे । ओलीले भन्नचाहिँ नयाँ कुरा खासै भनेनन् । बरु
मूलतः ओलीको एकालापमा नेकपा एमालेको माधव नेपाल समूह, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सञ्चारजगत्, नागरिक समाज, संविधानविद्/कानुनविद्, बौद्धिक/बुद्धिजीवीहरू आलोचनाको विषय बनेका थिए । सरकार गठनमा परेका दाबी बारे निर्णय गर्ने राष्ट्रपतिको संवैधानिक अधिकारलाई न्यायालयमा प्रश्न उठाउन खोजिएको बारे उनको भनाई छ, ‘क्षणिक स्वार्थको पछि कुदेर अतिवादी शक्तिका पछि लाग्नेको इतिहासले मूल्याङ्कन गर्छ ।’
दोस्रोपटक प्रतिनिधिसभा विघटन गरी कात्तिक र मंसिरमा चुनाव घोषणा भएपछि जनस्तरबाट उठेको ‘नो भ्याक्सिन, नो भोट’ को आवाजलाई उनले ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ’ को संज्ञा दिए । विस्तृत बुझ्न करिब दुई घण्टा लामो पत्रकार सम्मेलनको भिडियो हेर्नुहोस् ।
५. मिडियामाथि आरोपै आरोप
प्रधानमन्त्रीले मिडियामाथि राजनीति, लोकतान्त्रिक अभ्यास र लोकतान्त्रिक प्रणालीप्रति वितृष्णा फैलाएकोआरोप लगाए । मिडियाले नकारात्मक विषयलाई अग्रभागमा राखेर सरकारका राम्रा र उपलब्धिमूलक कामलाई ओझेलमा पार्ने काम गरेको पुरानै कुरा दोहोर्याए ।
खोप खरिदमा भएको भनिएको कमिसनको खेलका विषयमा पनि प्रधानमन्त्रीले मिडियालाई नै आरोपित गरे । कतिपय मिडिया मिसन पत्रकारितामा लागेको उनको आरोप छ । 'बाहिर भनिएजस्तो वा हल्ला चलाइएजस्तो होइन', प्रधानमन्त्रीको दाबी छ, 'केही त मिसन पत्रकारितावाला छन् । जसको काम उपलब्धि देख्दै नदेख्ने, उपलब्धिको चर्चै नगर्ने र कमजोरी कहाँ छ त्यो मात्रै चर्चा गर्ने हो ।'
सरकारको कमजोरी नै नभए पनि मिडियाले बनावटी कमजोरी खडा गर्ने गरेको उनको आरोप छ । 'बनावटी कमजोरीको चर्चा गर्ने, अन्तरकुन्तरबाट कहीँ मार्मिक कहानीहरू बनाउने निकाल्ने, मार्मिक स्थितिको चित्रण गर्ने...', ओलीले भने, 'त्यस्तो मार्मिक स्थिति अब नआओस् भनेर प्रयास गर्ने वा त्यस्ता प्रयासहरूलाई साथ दिने होइन कि त्यो मार्मिक स्थितिलाई पनि आफ्नो स्वार्थमा प्रयोग गर्ने खालका प्रवृत्ति बोकेका तत्वहरू छँदैछन् ।'
६. कान्तिपुरको कार्टुनविरुद्ध प्रमको बमन

प्रधानमन्त्रीलाई सबैभन्दा बढी त आइतबार कान्तिपुर दैनिकको प्रथम पृष्ठमा प्रकाशित कार्टुनले तनाव दिएको रहेछ । उनले यसलाई स्वतन्त्रताको हकको दुरुपयोग भनी आलोचना गरे । कार्टुनमा श्रीपेच लगाएका ओलीको खल्तीमा राष्ट्रपति देखिन्छिन् । यससम्बन्धि समाचार सेतोपाटी, पहिलोपोस्ट लगायतका मिडियामा पनि प्रकाशित छन् ।
'राष्ट्रपतिको पद, अधिकार र मर्यादा नमान्ने....आज एउटा प्रेत संस्थाको भीमकाय फोटो बनाएर [राष्ट्रपतिलाई] त्यसको खल्तीमा राखेको... कति आनन्द आएको होला लोकतन्त्रका नाममा यस प्रकारका घृणित क्रियाकलपा गर्न....', प्रधानमन्त्री रोकिएनन्, 'राजतन्त्र भनेको एउटा प्रेत संस्था हो । जनताबाट निर्वाचित गणतन्त्रको प्रतीकको रुपमा रहेको संस्थालाई खल्तीमा राख्नेसम्मको...। लोकतन्त्रले दिएको स्वतन्त्रताको हकको दुरुपयोग यो भन्दा बढी के हुन्छ ?'
कान्तिपुरको कार्टुनलाई लिएर प्रधानमन्त्री ओलीको आपत्ति pic.twitter.com/OkcapQIorq
— ekantipur (@ekantipur_com) May 23, 2021
कार्टुनका विषयमा प्रधानमन्त्रीको आपत्तिपछि यस विषयमा विभिन्न क्षेत्रबाट आलोचना भएको छ ।
सम्माननिय @Pm_Nepal कार्टुनको आलोचना गर्नुभन्दा आफ्नै कर्मको आत्मसमिक्षा गर्ने कि !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 23, 2021
सडकमा कोहि निर्वस्त्र दौडन्छ,लाज भएन l तर फोटो पत्रकारले `क्लिक´ गरेपछि `ए पत्रकार नाङ्गो फोटो खिच्न लाज छैन ? भनेजस्तै भएन र ? pic.twitter.com/goHvLqP5jq
कान्तिपुरको कार्टुनमा प्रधानमन्त्रीको आलोचनापछि सोसल मिडियामा भएको चर्चा परिचर्चा काठमान्डु पोस्टमा खबर बनेको छ ।राष्ट्रपतिका विषयमा बोले पनि कार्टुनमा श्रीपेच लगाएको आफ्नो मुखाकृतिबारे भने ओलीले टिप्पणी गरेनन् ।
प्रश्नै नभएका वा प्रश्न सोध्नै नसक्नेहरूको झुण्ड भेला गरेर आफ्नो कुरा मात्र दोहोर्याई तेहेर्याई भ्रमित पार्नु र आफ्नै कुरालाई तथ्य अनि सत्य स्थापित गर्न खोज्नुलाई पत्रकार सम्मेलनको नाम दिने हो भने त्यो अलग कुरा नत्र यो पत्रकार सम्मेलनकै बेइज्जत होइन र ?
तपाईँको प्रतिक्रिया कमेन्टमा लेख्नुहोस् ।