सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२६, २०२७ र २०२८ मा सञ्चालन हुने मल्टिमिडिया पत्रकारिता (Multimedia Journalism) तालिमका लागि देशभरका पत्रकारबाट आवेदन आह्वान गरेको छ ।
तपाईँ यदि पत्रकारिता गरिरहनुभएको छ र मोबाइल समेतको प्रयोग गरी मल्टिमिडिया पत्रकारितामा दक्ष बन्ने योजनामा हुनुहुन्छ भने यो तालिम तपाईँका लागि हो ।
जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा सञ्चालन हुन लागेको यो तालिमले नेपाली पत्रकारको व्यावहारिक र सीपमूलक क्षमता विकास गर्ने लक्ष्य राखेको छ । आवेदन दिने अन्तिम मिति यही साउन २२ गते शुक्रबार हो ।
यो तालिम मोबाइल पत्रकारिता (MoJo) र मल्टिमिडिया स्टोरीटेलिङमा केन्द्रित रहनेछ । प्राप्त आवेदनहरू सन् २०२६, २०२७ र २०२८ मा जर्नलिजम एकेडेमीले सञ्चालन गर्ने मल्टिमिडिया पत्रकारिता तालिमका लागि मान्य रहनेछन् ।
अर्थात् अब यी तीन वर्षहरूमा जुनसुकै समयमा हुने तालिमका लागि तपाईँको आवेदनले काम गर्छ ।
यो तालिममा सहभागीहरूले मोबाइल फोनको प्रयोग गरी गुणस्तरीय तस्बिर, अडियो र भिडियो सामग्री उत्पादन गर्न, सम्पादन गर्न र डिजिटल प्लाटफर्मका लागि सामग्री तयार गर्न सिक्नेछन् ।
तालिममा अडियो भिडियो सङ्कलन, अन्तर्वार्ता रेकर्डिङ, प्रकाश (light) को प्रयोग, र डिजिटल प्रकाशन रणनीतिका बारेमा व्यावहारिक प्रशिक्षण दिइने एकेडेमीले जनाएको छ ।
एकेडेमीले यो तालिम आफ्नो विशिष्ट ‘६+६+६’ मोडलमा सञ्चालन गर्नेछ । अर्थात्, पहिलो ६ दिन प्रत्यक्ष भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुन्छ ।
बीचका ६ साता तालिमका सहभागीहरूले अनलाइन अभ्यास र असाइनमेन्टहरू गर्नुपर्ने छ । यसअन्तर्गत सहभागीहरूले हप्ताको करिब ६ देखि ८ घण्टा समय दिएर अभ्यास गर्नुपर्छ । र, अन्तिम ६ दिन पुनः प्रत्यक्ष कक्षामा थप अभ्यास र सामग्री उत्पादन गर्नुपर्ने छ ।
पत्रकारितामा कम्तीमा तीन वर्षको अनुभव भएका नेपाली पत्रकारले तालिमका लागि आवेदन दिन सक्नेछन् ।
मल्टिमिडिया पत्रकारिताको पूर्वअनुभव नभएका तर सिक्न इच्छुक पत्रकारलाई पनि प्रोत्साहन गरिएको एकेडेमीले जनाएको छ।
एकेडेमीका अनुसार छनोट प्रक्रियामा भौगोलिक, लैङ्गिक र संस्थागत विविधतालाई प्राथमिकता दिइने छ ।
तालिमको नियमित शुल्क ९९ हजार रुपैयाँ भए तापनि छनोट भएका पत्रकारका लागि इन्टरलिङ्क एकेडेमीले पूर्ण फेलोशिप प्रदान गर्नेछ । अर्थात् छनोट भएका सहभागीले कुनै शुल्क तिर्नु पर्ने छैन ।
संघीय राजधानी काठमाडौँ बाहिरबाट सहभागी हुनेले आफ्नो यातायात र आवास खर्च स्वयं बेहोर्नुपर्नेछ । यद्यपि, दुर्गम स्थानका, महिला र सीमान्तकृत समुदायका पत्रकारका लागि सीमित संख्यामा छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ ।
आवेदन कसरी दिने?
इच्छुक पत्रकारले आफ्नो अद्यावधिक बायोडाटा (CV) सहित अनलाइन फारममार्फत आवेदन दिन सक्नेछन् । अनलाइन फारमको लिङ्क आवेदन सूचनाको अन्तिममा दिइएको छ ।
छनोट भएका सहभागीले आफ्नो कार्यरत सञ्चार संस्थाबाट तालिममा सहभागी हुन स्वीकृति पत्र अनिवार्य बुझाउनुपर्नेछ ।
थप जानकारीका लागि एकेडेमीको इमेल [email protected] मा सम्पर्क गर्न सकिनेछ ।