यस वर्षको वातावरण पत्रकारिता पुरस्कार विद्या राईलाई

यस वर्षको वातावरण पत्रकारिता पुरस्कार विद्या राईलाई

  • जेठ २२, २०८३ शुक्रबार १९:२१

नेपाल वातावरण पत्रकार समूहले वातावरण पत्रकारिता पुरस्कार २०२५ पत्रकार विद्या राईलाई प्रदान गर्ने भएको छ । 

विगत चार दशकदेखि 'विश्व वातावरण दिवस’ को अवसर पारेर जुन ५ का दिन यो पुरस्कार प्रदान गरिन्छ ।  

हाल नेपाल न्यूज डट कममा कार्यरत पत्रकार राईलाई वातावरणका विषयमा खोजमूलक समाचार लेखन गरेबापत पुरस्कार प्रदान गर्ने निर्णय गरिएको समूहले जनाएको छ । 

“सन् २०२५ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित-प्रसारित सामग्री र कार्यक्रमहरू मध्येबाट छनोट गरी विषयगत सान्दर्भिकता, निरन्तरता, भाषा/शैली र समावेशिताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो”, समूहले भनेको छ । 

पुरस्कारका लागि समूहले पत्रकारहरूलाई सन् २०२५ भरिका आफ्ना लेख-रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । 

समूहका पूर्व अध्यक्ष कसमस विश्वकर्माको संयोजकत्वमा समूहका पूर्व महासचिव संगीता लामा र विज्ञसदस्य बटुकृष्ण उप्रेती सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको शिफारिसका आधारमा पुरस्कार दिने निर्णय गरिएको जनाइएको छ । 

समूहद्वारा स्थापित 'वातावरण पत्रकारिता पुरस्कार-२०२५' पाउने राई ३९ औं पत्रकार हुन् । 

वातावरण पत्रकारिता पुरस्कार २०२५ विजेता विद्या राईका रिपोर्टिङले जलवायु परिवर्तनका कारण हुने विस्थापन, वायु प्रदूषणको संकटसीमान्तकृत समुदायले भोग्नुपरेका वातावरणीय चुनौतीहरूलाई उजागर गरेका छन् ।  

प्रदूषण रोक्न जनताबाट उठाइएको रकमको बेथिति र भान्छाको विषाक्त धुवाँले मानव स्वास्थ्यमा पारेको असरलाई उनले आफ्ना रिपोर्टिङमार्फत् मार्मिक ढङ्गले प्रस्तुत गरेकी छन् । 

यो पुरस्कार नेपाल वातावरण पत्रकार समूहको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिने छ ।

साथै बाँकी ३५ वटा आवेदन मध्येबाट पाँचजना पत्रकारलाई 'उत्कृष्ट रिपोर्टिङ २०२५' भनी प्रशंसा पत्र प्रदान गरिने भएको छ । 

महेश केसी (कान्तिपुर टिभी, रुकुम पूर्व), सविता बुढा (रातोपाटी, धनगढी) हरि बहादुर लम्जेल (अन्नपूर्ण पोस्ट्, धनकुटा), सिर्जना बुढाथोकी (नेपाल समाचार पत्र, सुर्खेत) र घनश्याम खड्का (उकालो डट कम, म्याग्दी) ले यो सम्मान पाउने भएका छन् । 


Related Story

अनुप ओझालाई 'डेभलपिङ एसिया जर्नालिज्म अवार्ड'

पहिरोको पूर्वसूचना दिने एआई प्रणालीबारेको समाचारका लागि पत्रकार अनुप ओझा पुरस्कृत एसियाली विकास बैंक इन्स्टिच्युट (ADBI) ले सन् २०२६ को 'डेभलपिङ