टेलिभिजन स्थापनाका लागि सर्वसाधारणको बचत अपचलन गरी सोही खेलबाट राजनीतिक उन्नति गरेका रवि लामिछानेको राजनीतिक भविष्य पतन वा पुनरुत्थानको दोसाँधमा
तीन वर्षअघि तामझामका साथ स्थापना भएको गोरखा मिडिया नेटवर्क अर्थात् ग्यालेक्सी फोरके टेलिभिजनले घरभाडा नतिरेपछि घरपट्टी घरजग्गा खाली गराइपाउँ भन्दै काठमाडौं महानगरपालिका पुगेका छन् ।
गत असोज ५ गते शनिबार गोरखापत्र दैनिकको ८ औँ पृष्ठमा काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्र बाबु राईलाई उपस्थित हुन आउनेबारे ७ (सात) दिने सूचना छापेको छ ।
मुख्य सञ्चालक फरार छन्, सहकारीको रकम अपलचनमा कतिपय सञ्चालक पक्राउ परेका छन् र कुनै समय नेपालका धेरैजसो ‘क्रिम’ प्रस्तोता र पत्रकारहरू ल्याएर सुरु भएको टेलिभिजन कोमामा पुगेको छ ।
२०७७ साल फागुन ११ गते देशका थुप्रै चर्चित हस्तीहरूलाई निम्त्याएर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट तामझामका साथ उद्घाटन गरिएको ग्यालक्सी फोरके टेलिभिजन अहिले बहाल तिर्न नसक्ने अवस्थामा कसरी पुग्यो ? हजारौँ बचतकर्ताको पसिनाको कमाइ टेलिभिजन सञ्चालनमा लगाएर बिचल्ली बनाउन मुख्य रुपमा को जिम्मेवार थिए ?
गत असोज पहिलो साता सार्वजनिक भएको संसदीय छानबिन समितिको प्रतिवेदनले औँल्याएका तथ्यहरूले स्पष्ट रुपमा के देखाए भने- रवि लामिछाने सहकारीको रकम अपचलनमा प्रत्यक्ष रुपमा सहभागी भएको देखिँदैन तर त्यो रकम खर्च गर्न भने मुख्य रुपमा उनी जिम्मेवार छन् ।
यसरी सहकारीको रकम अपचलन गरी खोलिएको टेलिभिजन ग्यालेक्सी फोरके पनि रविकै राजनीतिक महत्त्वाकांक्षाका कारण पतन भएको छ भने त्यही टिभीको स्थापनासँग जोडिएको रविको राजनीतिक उचाईमा तत्कालका लागि फेरि एकपटक ब्रेक लागेको छ ।
पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछाने अब प्रहरी हिरासतमा छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा थप अनुसन्धानका लागि लामिछाने पक्राउ परेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछाने शुक्रबार बनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयबाट पक्राउ परेका हुन् ।
पोखराको सूर्यदर्शनको रकम अपलचन गरेको आरोपमा गत असोज ६ गते पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । त्यसको एक महिना नपुग्दै रवि पनि पक्राउ परेका हुन् ।
सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदनले जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको ठहर गर्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो ।
शुक्रबार उनीविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएलगत्तै रविले आफूमाथि राज्यले प्रतिशोध साँधेको प्रतिकृया दिएका छन् । पक्राउ पर्ने पक्का भएपछि लामिछानेले पार्टीको आपतकालीन बैठक बोलाएका थिए ।
लामिछाने पक्राउ परेसँगै समर्थक/कार्यकर्ताले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी समेत गरेका छन् ।
टिभी खोल्न बचतकर्ताको साढे २ अर्ब रुपैयाँ अपचलन
संसदीय छानबिन समितिको प्रतिवेदनमा सहकारीको बचत रकम अपचलनसँगै यो अपचलनसँग घाँटी जोडिएको गोरखा मिडिया नेटवर्क प्रालिका विषयमा पनि खुलासा गरिएको छ ।
गत जेठ १५ गते नेकपा एमालेका सांसद सूर्यबहादुर थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

सो समितिले तीन महिना लगाएर तयार पारेको प्रतिवेदनमा २३ वटा समस्याग्रस्त सहकारी (छानविनकै क्रममा थपिएको एउटासहित) को चिरफार गरिएको छ । ती सँगै सार्वजनिक प्रश्न उठेका अन्य १२ वटा सहकारीमाथि पनि समितिले छानविन गरेको छ । साथै, गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक जीबी राई जोडिएका सहकारीहरूमाथि पनि समितिले विस्तृत छानबिन गरेको छ ।
समितिले समग्र सहकारीमा हुने आर्थिक अपचलनको छानबिन गरेको भए पनि गोरखा मिडिया नेटवर्क चर्चाको शिखरमा छ । यसको एउटै कारण हो- रवि लामिछाने । नेपाल सरकारका पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहिसकेका लामिछाने प्रतिनिधि सभाका सदस्य पनि हुन् । साथै, उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पनि हुन् ।
गोरखा मिडिया नेटवर्क प्रालिको सञ्चालक समितिमा रहेका रवि लामिछाने पनि सहकारीको रकम हिनामिनामा संलग्न भएको भन्दै संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेसँगै गोरखा मिडिया नेटवर्क चर्चामा छ ।
छानबिन समितिको प्रतिवेदन अनुसार गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र उनका आफन्तको नाममा कानुन विपरीत २ अर्ब ५८ करोड बराबरको रकम अपचलन भएको पाइएको छ । उक्त रकममध्ये ६५ करोड ५४ लाख ०४ हजार ५३८ गोरखा मिडिया नेटवर्क प्रालिको खातमा जम्मा भएको देखिन्छ ।
६५ करोड ५४ लाख ०४ हजार ५३८ मध्ये २२ करोड ४६ लाख ३० हजार सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट जम्मा भएको देखिन्छ भने ४३ करोड ०७ लाख ७४ हजार ५३८ विभिन्न व्यक्तिका नाममा ऋण देखाई रकम गोर्खा मिडियामा जम्मा गरी जीबी राईको नाममा ऋण कायम गरिएको छानबिन समितिको ठहर छ ।
जीबीलाई डुबाए, र [सम्भवतः] आफू पनि डुबे

गोरखा मिडिया नेटवर्कले टेलिभिजन सञ्चालनका लागि सहकारीमा जम्मा भएको बचतकर्ताहरूको रकम ऋणका नाममा निकालेर हिनामिना गरेको निष्कर्ष छानबिन समितिको प्रतिवेदनले निकालेको छ ।
आखिर जीबी राईलाई अर्बौँ रुपैयाँ टेलिभिजनमा लगाउने आँट कसरी आएको थियो ? के देखेर उनले आफैँ सञ्चालक रहेका सहकारीमा आम सर्वसाधारणले जम्मा गरेको रकम गैरकानुनी तरिकाले टेलिभिजनमा खन्याए ?
जवाफमा आउँछ - रवि लामिछानेकै नाम । रविको लोकप्रियताकै कारण जीबीले सहकारीको अर्बौँ रकम मिडियामा खन्याएका थिए । रविको पपुलिस्ट अनुहारका बलमा टेलिभिजन बजारमा राज गर्ने उनको मनसुवा आधारहीन थिएन । ठाउँको ठाउँ न्यायनिरुपण गर्ने रविको शैली आम दर्शकले रुचाएकै थिए ।
तर वर्षदिन नपुग्दै रविको राजनीतिक महत्त्वाकांक्षा यसरी बढ्यो कि जीबीको मनसुवा पुरा हुनु त परको कुरा पक्राउ पर्ने भयका कारण आफैँ फरार भए ।
अनेकानेक धन्दामा लागेका जीबीले मिडियाको माध्यमबाट आफ्नो सम्पर्क, सम्बन्ध र प्रभाव बढाउन यसअघि पनि कोसिश नगरेका भने होइनन् । प्रतिबन्धित नेटवर्किङ व्यवसायमा समेत संलग्न जीबीले यसअघि पनि मिडियामा लगानी गरेका थिए ।
ग्यालेक्सी फोरके टेलिभजन सञ्चालन गर्नुअघि पनि जीबीले मिडियामा लगानी गरेको पाइएको छ ।
जीबीले गोरखा मिडियाकै नाममा नागरिकखबर डटकम नामक समाचार पोर्टल सञ्चालन गरेका थिए । सो मिडियाको अगुवाई पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले गरेका थिए ।
यो अनलाइन सञ्चालनका लागि पनि जीबीले सहकारीबाटै रकम ल्याएका थिए । थापा सभापतित्वको छानबिन समितिका अनुसार नागरिकखबर डटकमबाट सोचेअनुसारको प्रभाव पार्न नसकेपछि उनले रामेश्वर थापा अध्यक्ष रहेको अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित एपिवान टेलिभिजनमा पनि लगानी गरेका थिए ।
एपिवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आइडल सिजन १ को ग्रान्ड फिनालेमा जीबी राई अन्नपुर्ण मिडियाको प्रतिनिधित्व गर्दै कतारको दोहामा पुगेका थिए । तर एपिवानसँग उनको सम्बन्ध धेरै लामो समय टिक्न सकेन । त्यसपछि उनी न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’का तात्कालीन प्रस्तोता रवि लामिछानेसँग नजिकिए, कारण उनलाई मिडिया बजारको पपुलिस्ट अनुहार चाहिएको थियो । र, रवि यसका लागि करिब निर्विकल्प थिए ।
एपिवान टेलिभिजनमा कुरा नमिलेर सम्बन्धमा दरार आएपछि जीबी राई नयाँ टेलिभिजन खोल्ने उद्देश्यसहित न्युज २४ मा ‘सिधा कुरा जनतासँग’ मार्फत अलग छवि बनाइसकेका रवि लामिछानेसँग सम्पर्कमा पुगेको देखिन्छ,’ छानविन समितिको प्रतिवेदनमा उल्लेख छ, ‘राईले एपिवानबाट जाने बेलामा त्यहाँका मार्केटिङ्ग प्रमुखलाई समेत ग्यालेक्सी फोरकेमा साथै लिएर गएको बताइन्छ ।’
जिबीले रविलाई च्यापेर गोरखा मिडिया नेटवर्क प्रालि दर्ता गरे र रविकै भरोसामा उनले ग्यालेक्सी टेलिभिजन, रेडियो ग्यालेक्सी र ग्यालेक्सी टिभी डटकम सुरु गरे । यही मिडियाका लागि जिबीले आफूसहित विभिन्न आफन्तको नाम राखेर सहकारीमा रहेको सर्वसाधारण बचतकर्ताको रकम खन्याएका थिए ।
जब रवि हठात् राजनीतितर्फ मोडिए…

आफ्नो नेटवर्किङ धन्दालाई ढाकछोप गर्न धुमधडाकाका साथ मिडिया खोलेका जिबीलाई रविले पूर्वप्रतिबद्धताअनुसार साथ भने दिएनन् ।
जिबीले रविलाई गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको जिम्मेवारीसहित ५ वर्षसम्म काम गर्ने सम्झौता गरेका थिए ।
तर उक्त सम्झौता ८ महिनामै तुहियो । ५ वर्ष साथ दिन्छु भनेर गैरकानुनी तरिकाले सहकारीबाट रकम ल्याएर ठूलो खर्च गराइसकेका रवि अचानक राजनीतिमा हाम फाले ।
टेलिभिजनमा चलेको नाम, समर्थकहरूको भीड, ठूलो लगानीसहितको टेलिभिजनको हर्ताकर्ता भइसकेका रविको बाटो हठात् कसरी राजनीतितर्फ मोडियो ?
रविसँगको सङ्गतमा रहेकाहरू भन्छन्- रवि राजनीतिमा हाम फाल्नुका मुख्य कारण स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको जित थियो । २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा बालेन्द्र शाह (बालेन) जस्ता उम्मेदवार निर्वाचित भएपछि रवि पनि लोभिए ।
असोजमा टेलिभिजन छोडेको केही दिनमै उनले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे । रविले २०७९ असार २ गते प्रबन्ध निर्देशक पदबाट राजीनामा दिँदै असार ७ गते २१ सदस्यीय केन्द्रीय समिति सहित राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरे ।
२०७९ को संघीय निर्वाचनमा सोही दलबाट आफूसहित २० सांसदको नेतृत्व गर्दै चौँथो दलका रुपमा संसद छिरे । यसबीचमा ग्यालेक्सी टेलिभिजन सङ्कटमा परिसकेको थियो ।
रविले छाडेसँगै टेलिभिजन संकटमा गएको गोरखा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष कुमार रम्तेलले छानबिन समितिसँग बयान दिएका छन् । रम्तेलले भनेका छन्, ‘ग्यालेक्सी टिभीमा कम्तीमा ५ वर्ष काम गर्ने सहमति भएको र नियमित किस्ता तिरिरहेको अवस्थामा तपाईं (रवि लामिछाने) ले आठ महिनामै छोडेका कारण समस्या भयो भन्दा उहाँले यस विषयमा जिबी राईसँग कुरा भइसकेको छ भन्नुभएको थियो।’

सहकारीको रकम अपचलनमा रवि कति दोषी ?
ग्यालेक्सी टेलिभिजनमा रविले केबल ८ महिना काम गरे, तर यही ८ महिनामा उनले ग्यालेक्सी टेलिभिजन डुबाउने खाल्डो पनि खनिरहेकै थिए । सहकारीहरूबाट गोरखा मिडियाको नाममा आएको रकम उनले यसरी मनमौजी खर्च गरेको भेटिएको छ कि जुन बालुवामा पानी सावित भएको छ ।
छानविन समितिको प्रतिवेदनमा धेरै भड्काउ खर्च गरेका कारण गोरखा मिडिया नेटवर्क संकटमा गएको उल्लेख छ । समितिको प्रतिवेदन अनुसार गोरखा मिडिया नेटवर्क प्रालिमा सबैभन्दा खर्च गर्ने व्यक्ति रवि लामिछाने नै हुन् ।
कतिपयको प्रश्न छ कि जिबीले लिएको रकममा रवि कसरी जिम्मेवार हुन्छन् ? तथ्य के हो भने जीबी जुन मिडियाको अध्यक्ष थिए, रवि सोही मिडियाका सञ्चालक मध्येका एक थिए ।

गोरखा मिडिया नेटवर्कका मुख्य सञ्चालक जीबी राई र नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी हुन् । कम्पनीमा उनीहरूको ५०/५० प्रतिशत शेयर थियो तर पछि रवि लामिछाने पनि मिसिएपछि उनको नाममा १५% सेयर कायम गरियो । छविलाल जोशीले छानबिन समितिको बयानमा रविले आफ्नै नामको सेयरमध्ये १५% सेयर पाएको बताएका छन् ।
रविले पनि भनेका छन् कि सिइओको काम चेक काट्ने हो, घाँस काट्ने होइन । सर्सर्ती हेर्दा हो पनि । तर छानबिन समितिको प्रतिवेदनले गोरखा मिडियाको नाममा आएको सबै रकम रवि लामिछानेकै हस्ताक्षरमा खर्च भएको देखाएको छ ।
छानबिन समितिका अनुसार गोरखा मिडिया नेटवर्कको ग्लोबल आइएमई बैंकमा भएको खातामा जिबी, रवि र छविको हस्ताक्षर रहेको र तीनमध्ये एकजनाको हस्ताक्षरमा चेक काटिन सक्ने अर्थात् खाता चल्ने हुँदा तीनै जनाले गोरखा मिडिया नेटवर्क प्रालिको आन्तरिक वित्तीय परिचालनको अधिकार राखेको देखिन्छ । यसको मतलब गोरखा मिडिया नेटवर्क प्रालिमा आएको रकम तीन मध्ये जो कोहीले चलाउन पाउने भन्ने बुझिन्छ ।
रविले यसैको फाइदा उठाएर लाखौँ बचतकर्ताहरूले दु:खले बचत गरेको रकम मनलाग्दी खर्च गरे । रवि आफैंले करिब २४ करोडका छुट्टाछुट्टै १६ वटा चेक काटेको प्रतिवेदनमा उल्लेख छ ।
रविको हस्ताक्षरमा गोरखा मिडियाबाट काटिएका चेकहरूको सबै विवरण प्रतिवेदनमा राखिएको छ । लामिछानेले हस्ताक्षर गरेको चेकबाट विभिन्न कम्पनी र व्यक्तिलाई २३ करोड ७९ लाख ८९ हजार सात ७३१ रूपैयाँको भुक्तानी भएको छ । लामिछानेले तीन करोड रूपैयाँसम्मको एउटै चेक काटेको प्रतिवेदनमा उल्लेख छ ।
आफू निकट व्यक्तिहरूकै कम्पनीमा रविले यसरी चेक काटेको देखिएको छ । हाल रास्वपाका सहमहामन्त्री रहेका विपिन आचार्यको नोबोडी प्रोडक्सनमा पनि ४ करोड २१ लाख ९३ हजार ७५० रूपैयाँ पेस्की गएको देखिन्छ ।

यस्तै, आफ्ना ससुराको कम्पनी गोपीकृष्ण मुभिज प्रालिलाई पेस्की रकम दिन चेक काटेका थिए । गोपीकृष्ण मुभिजका सञ्चालक रविका ससुरा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेल हुन् ।
‘गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७७/७८ मा गोपीकृष्ण मुभिज प्रालिलाई रू.२५,००,००० पेस्की दिएको र आर्थिक वर्ष २०७८/७९ मा दिएको थप रु. ६६,२५,००० गरी रु. ८१,२५,००० फर्स्यौट हुन बाँकी देखिन्छ’, प्रतिवेदनमा लेखिएको छ ।
छानबिन समितिको प्रतिवेदनमा हेर्दा उनले सहकारीबाट सिधा रकम नलिए पनि विभिन्न बहानामा सहकारीको रकम अपचलन गरेको स्पस्ट देखिन्छ । सिइओका हिसाबले उनले ज-जसको नाममा चेक काटेका छन् ती प्रायः उनकै नजिकका मान्छेहरू छन् । यतिसम्म कि पछि तिनै मान्छे पार्टीको सहमहामन्त्रीदेखि केन्द्रीय सदस्य समेत हुन पुगेका देखिन्छन् ।
यसरी घुमाउरो शैलीमा सर्वसाधारण बचतकर्ताको रकमलाई उनले आफ्नै पार्टीका सदस्यहरूको नाममा मनमौजी चेक काटेको छानबिन प्रतिवेदनमा छर्लङ्ग छ ।
चटके पत्रकारिता हुँदै ‘पपुलिस्ट’ राजनीतिको रथमा सवार उनीमाथिको छानबिन कसरी अगाडि बढ्छ, आउँदा दिनले बताउलान् किनभने उनको राजनीतिक भविष्यको दर्पण अझै सफा छैन । धुमिल दर्पणबाट गरिने अनुमान पनि धुमिल नै हुन सक्छ । अर्को महत्वपूर्ण कुरा के हो भने रवि लामिछानेको राजनीतिक संस्कारको मूल स्रोत नै ‘पपुलिज्म’ हो । र, उनको व्यक्तित्वबाट प्रभावित जनमत पनि पपुलिस्ट, चामात्कारिक र अप्रत्यासित नेता चाहन्छ । उनलाई मन पराउने जनमत पुरानो राजनीतिक शक्तिबाट आजित छ र नयाँले जमिन-आसमान एक गरेको देख्न चाहन्छ ।
यस्तो राजनीतिक संस्कार र अभिलाषाबीच पपुलिस्ट राजनीतिको लेखाजोखा गर्न गाह्रो छ । तर, स्पष्ट रुपमा के भन्न सकिन्छ भने यो घटनाले उनलाई सामान्य राजनीतिज्ञलाई जस्तो व्यवहार गर्ने छैन । उनी कि त यसैबाट झनै आक्रामक भई ह्वात्त बढ्न सक्छन् वा सधैका लागि सिध्धिन सक्छन् । के हुन्छ, समयले नै बताउला ।