सञ्चालकहरूको सम्पत्तिको कचिङ्गलले ‘राजधानी’ दैनिकमा निम्तिएको सङ्कट

सञ्चालकहरूको सम्पत्तिको कचिङ्गलले ‘राजधानी’ दैनिकमा निम्तिएको सङ्कट

  • आषाढ २८, २०८० बिहीबार २०:१८

एकाघरका सञ्चालकहरूको आपसी कचिङ्गलको कोपभाजनमा परेको राजधानी दैनिक पुनः प्रकाशन हुन थाले पनि यसका संकटहरू यथावत छन् । 


२०८० जेठ २५ गते बिहीबार । पत्रिकाका कतिपय पेज बनिसकेका थिए, कतिपय बन्न बाँकी थिए । 

‘पत्रिका छाप्नलाई कागज छैन’, सञ्चालक आशिष शेरचनले सम्पादक ध्रुव लम्साललाई फोनमा भने, भोलि पत्रिका निस्कँदैन ।’

डिजाइनरदेखि सबै पत्रिकाको पेज बनाउन खटिएका थिए । प्रकाशकले पत्रिका नछापिने भनेपछि के गर्ने भन्ने छलफल भयो । पिडिएफ बनाउने टुंगो भयो । सामान्यतया राति ११/१२ बजेतिर सकिने डिजाइनको काम साढे ८ बजे नै सकियो । 

पत्रिका नछाप्ने भने पनि हरेक दिन पिडिएफ बनाउन आशिषको निर्देशन थियो । तर सम्पादक लम्सालले पिडिएफमात्र बनाउनुको उपादेयता नहुने अडान राखेपछि पिडिएफ देखाएर पत्रिकालाई ‘निरन्तरता’ दिने सञ्चालकको चाहना पुरा हुन सकेन । 

“मलाई अनौठो किन पनि लागेन भने कागज अभावका कारण केही दिनदेखि पत्रिका निकै कम छापिइरहेको मैले बुझेको थिएँ”, सम्पादक लम्साल भन्छन्, “नियमित ग्राकहहरूकहाँ पनि पत्रिका पुगिरहेको थिएन ।”

सञ्चालकहरूको आपसी द्वन्द्वको दृश्यमा मुख्य दुई पात्र छन् - नन्दा र आशिष। राजधानी न्युज प्रकाशन प्रालिकी अध्यक्ष नन्दा शेरचनले चेकमा हस्ताक्षर गर्न अस्वीकार गरिदिएपछि न्युजप्रिन्ट समेत किन्न नसक्ने अवस्था आएको थियो । 

‘बिना विज्ञापन’ राजधानी दैनिकको त्यस दिनको फाइनल डिजाइन तयार भयो । 

राजधानी दैनिक । वर्ष २३ । अंक ५ । सम्पादकः ध्रुव लम्साल । तर यो अंक छापिएन । भोलिपल्टदेखि प्रकाशन बन्द भयो । 

२४ दिन बन्द भएको पत्रिका २०८० असार १८ गतेदेखि पुनः छापिन थाल्यो । 

राजधानी दैनिक । वर्ष २३ । अंक ५ । सम्पादकः सरोज मिश्र । 

अंक उही तर बन्द हुनुअघि एकजना सम्पादक, पुनः प्रकाशन हुँदा अर्कै सम्पादक । पत्रिका पुनः प्रकाशन हुँदा सम्पादक ध्रुव लम्साल बर्खास्तीमा परिसकेका थिए । सरोज मिश्र नयाँ सम्पादक नियुक्त भएका थिए । 

प्रकाशन बन्द हुनु तीन दिनअघि राजधानी दैनिकले २३ औँ वार्षिकोत्सव मनाइरहेको थियो । जेठ २२ गते विशेषांकसहित २४ पृष्ठ प्रकाशित राजधानी वार्षिकोत्सव मनाएको तीन दिनमै औपचारिक सूचना बिना बन्द भयो । 

एकाघरका सञ्चालकहरूको आपसी कचिङ्गलको कोपभाजनमा परेको राजधानी पुनः प्रकाशन हुन थाले पनि यसका संकटहरू यथावत छन् । यो रिपोर्टिङको सार यही हो । 


सम्पत्तिको झगडाले थला परेको पत्रिका

rajdhani_daily-transformed (1).jpeg२०१० सालमा बागलुङमा जन्मिएका महेन्द्रबहादुर शेरचनको व्यावसायिक उडान म्यानपावर व्यवसायबाट सुरु हुन्छ । उनी २०४८ देखि शेर इन्टरनेसनल इम्प्लोइमेन्ट एजेन्सी नेपाल प्रालि नामको म्यानपावर कम्पनी चलाउँथे । यो कम्पनीले मूलतः साउदी अरेबिया, कतार, युएई, मलेसिया, कुवेत, बहराइन लगायतमा मुलुकमा कामदार पठाउँथ्यो । 

म्यानपावरबाट मनग्गे पैसा कमाए पनि नाम र प्रतिष्ठाका उनी भोका थिए । “नाम कमाउँ, समाजसेवा पनि गरौँ र राजनीतिमा पनि लागौँ भन्ने उहाँको ध्येय थियो”, शेरचनसँग लामो सङ्गतमा रहेका राष्ट्रिय समाचार समिति (रासस) प्रधान सम्पादक एकराज पाठक भन्छन्, “गोरखा दक्षिणबाहु प्राप्त गर्दा र संविधानसभामा सभासद् हुँदा उहाँ सबैभन्दा खुसी हुनुहुन्थ्यो ।”

‘कहिले त म अरू नै व्यवसाय गरेर बसेको मान्छे कहाँबाट यो मिडियामा आएर फसें भनेर निराशा पनि व्यक्त गर्नुहुन्थ्यो’, शेरचनसँगको सम्वाद उदृत गर्दै पाठकले राजधानी दैनिकको ‘स्मृतिमा महेन्द्र शेरचन’ विशेषमा लेखेका छन्, ‘कुराकानी गर्दै जाँदा पछि आफैँ भन्नुहुन्थ्यो- ‘मजस्ता व्यवसाय गर्ने मानिस यो देशमा धेरै छन्, मलाई देशमा महेन्द्र शेरचन भनेर चिनाउने माध्यम त राजधानी दैनिक नै हो नि ।’

शेरचनको नेतृत्वमा २०५८ जेठ २२ गतेदेखि राजधानी दैनिक सुरु भएको थियो । नेपाली कांग्रेस निटक एक समूहले दर्ता गरेको राजधानी साप्ताहिक शेरचनसहितको समूहले निःशुल्क प्राप्त गरेको थियो ।

तत्कालीन श्रम तथा रोजगार मन्त्री बलबहादुर केसी र महेन्द्र शेरचनसहितका सञ्चालकहरूले उक्त पत्रिकालाई दैनिक बनाएर प्रकाशन गरेका थिए । पालैपालो अध्यक्ष बन्ने सहमति भए पनि पत्रिकामार्फत शक्तिको अभ्यासमा शेरचन यति अब्बल भए कि त्यसपछि उनीबाहेक अरु कोही अध्यक्ष बन्न पाएनन् । बरु उनले पत्रिकालाई एकल स्वामित्वमा लगे ।  

mahendra sherchan.jpg

महेन्द्रबहादुर शेरचन (२०१०-२०७८) । प्रकाशकः राजधानी दैनिक ।


पुरुषोत्तम दाहाल राजधानीका संस्थापक सम्पादक थिए । त्यसपछि विभिन्न कालखण्डमा क्रमशः बालमुकुन्ददेव पाण्डे, जिवेन्द्र सिंखडा, कपिल काफ्ले, कुमार यात्रु, मोहनकुमार दाहाल, प्रकाश अधिकारी, युवराज घिमिरे, विनय देवकोटा, राजन शर्मा, डिल्ली आचार्य, सागर पण्डित र ध्रुव लम्साल यसका सम्पादक रहे । २३ वर्षमा १४ जना सम्पादकले राजधानीलाई सम्पादकीय नेतृत्व दिए । 

कुनै बेला राजधानीले साप्ताहिक रुपमा कतार संस्करण समेत प्रकाशन गर्थ्यो । तर ‘माल पाएर पनि चाल नपाएको’ हालत बन्यो । झन् शेरचनको निधनपछि उनकी कान्छी पत्नी र स्वर्गीय जेठी पत्नीपट्टीका छोराहरूबीचको सम्पत्तिको झगडाले पत्रिका थला परेको छ । 

यही झगडाका कारण न्युजप्रिन्ट समेत किन्न नसक्दा बन्द भएको पत्रिका २४ दिनपछि पुनः प्रकाशन हुन थाले पनि फेरि पुरानै नियति दोहोरिने शंका राजधानीमा व्याप्त छ।  कारण, एउटा पक्षले पत्रिका पुनः प्रकाशन गरिरहँदा सञ्चालकहरूको अर्को पक्ष भने यसलाई अवैधानिक भनिरहेको छ । 

“एउटा सम्पादक जिम्मेवारीमा हुँदाहुँदै अवैधानिक तरिकाले सम्पादक नियुक्ति गर्नुभएको छ । न संस्थागत सहमति छ न त निर्णय नै”, अध्यक्ष नन्दाद्वारा नियुक्त भई आशिषसहितका सञ्चालकबाट बर्खास्तीमा परेका सिइ‌ओ डोलेन्द्र थापा भन्छन्, “संस्थालाई आर्थिक तथा संस्थागत सुधार गर्ने अध्यक्षज्यूको पहल उहाँहरूलाई सैह्य भएन । सम्पादकीय अधिकारमाथि पनि हस्तक्षेप गर्नुभएको छ ।” 

थापाको दाबी मान्ने हो भने राजधानीमा आम्दानी र खर्चको कुनै हिसाब छैन । “पेपर, मसी, प्रिन्ट, कर्मचारीको आन्दोलन, अवकास लगायतका विषयमा अध्यक्षले कुरा उठाउनुभयो”, उनको दाबी छ, “सञ्चालकहरूबीचमै थाहा पाउन चाहने र भन्न नचाहने अवस्था देखियो । भए गरेका खर्च र आम्दानी खोतल्न थालेपछि अहिले संगठित योजनासहित अवैधानिक रुपमा अध्यक्षकै नाम राखेर पत्रिका बजारमा पठाइएको छ ।”  

सञ्चालक आशिष शेरचनको प्रतिक्रिया लिन हामीले पटकपटक प्रयास गरे पनि फोन उठेन । प्रशासन प्रमुख देव श्रेष्ठको पनि फोन उठेन । राजधानी दैनिकमा विगतमा र हाल कार्यरत पत्रकार तथा कर्मचारीहरूले उक्त सञ्चार गृहभित्रका अन्तरङ्ग हामीसँग बाँडे । 


शेरचन परिवारलाई चिनौँ

कोभिड-१९ महाव्याधिमा कोरोना भाइरस संक्रमणका कारण २०७८ भदौ २ गते ६७ वर्षको उमेरमा सञ्चालक महेन्द्र शेरचनको निधन भएपछि उनको एकल स्वामित्वमा रहेको राजधानीको भविष्यलाई लिएर उक्त संस्थाभित्रै प्रश्नहरू नउठेका होइनन् । तर शेरचन पत्नी नन्दा र छोरा आशिष लगायतले सामुहिक हिसाबले संस्था सञ्चालन गरेपछि उक्त शंका तत्कालका लागि निवारण भएको थियो । 

सतहमा मिल्ती देखिए पनि भित्र झगडा कति चुलिएको छ भन्ने श्रृंखलाबद्ध रुपमा भएका बर्खास्ती र पत्रिका बन्द र पुनःप्रकाशन सहितका पछिल्ला घटनाक्रमहरूले देखाएको छ । यो घरझगडा बुझ्नुअघि स्वर्गीय शेरचनको परिवारका सदस्यहरूलाई चिनौँ ।

rajdhani sanchalak photo.jpeg

राजधानी न्युज पब्लिकेसन प्रालिका तीन सञ्चालकहरू क्रमशः नन्दा, आशिष र सचिन । तस्बिर अहिलेका होइनन् । संस्थागत अभिलेखहरूबाट साभार गरिएका हुन् । 


नन्दा स्वर्गीय शेरचनकी कान्छी पत्नी हुन् । उनीपट्टी एक छोरी छन् । स्वर्गीय शेरचनकी जेठी पत्नीको २०४५ सालमै निधन भएको थियो । शेरचनकी स्वर्गीय जेठी पत्नीपट्टी तीनजना छोरा छन् । माइला राजीव बेलायत बस्छन्, जो पत्रिकाको दैनन्दिन सञ्चालनमा संलग्न छैनन् । 

जेठा सचिन र कान्छा आशिष सँगै रहे पनि पत्रिकाको दैनिक कार्यसञ्चालन लगायतका निर्णय प्रक्रियामा आशिष हाबी छन् । यसरी परिवारका पाँचै जनाको समान स्वामित्व (२०/२० प्रतिशत) हुने गरी पत्रिका प्रकाशनले निरन्तरता पाएको थियो । सञ्चालक पाँच जना भए पनि सञ्चालक समितिमा भने तीन जना छन्- नन्दा, आशिष र सचिन । 

शेरचनको निधनपछि नन्दाले अध्यक्षको जिम्मेवारी सम्हालिन् भने कान्छा छोरा आशिष प्रमुख कार्यकारी अधिकृत (सिइओ) बने । शेरचन बितेको चार महिनापछि पत्रकार तथा कर्मचारीको सेवा सुविधा लगायतको विषयमा प्रेस रजिस्ट्रार कार्यालयमा उजुरी परेपछि आशिषले सिइओको पदबाट राजीनामा दिए । त्यसपछि सञ्चालकको प्रत्यक्ष उपस्थिति बिना नै पत्रकार र कर्मचारीले केही महिना काम गरिरहे, पत्रिका प्रकाशित भइरह्‍यो । 

पत्रकार र कर्मचारीले तलब नपाएको ६ महिना बितिसकेको थियो । ६ महिनाको बक्यौता रहेको अवस्थामा तत्कालीन सम्पादक सागर पण्डितले फागुन मसान्तमा राजीनामा दिए । लगत्तै उनी समाचारपत्र दैनिकको सम्पादक नियुक्त भए । पण्डितको राजीनामापछि राजधानीको अनलाइन पोर्टलका सम्पादक समेत रहेका ध्रुव लम्साल पत्रिकाको पनि सम्पादक नियुक्त भए । सिइओमा डोलेन्द्र थापा नियुक्त भए । 

यता लामो समयदेखि जारी रहेको श्रम समस्या झन् झन् जर्जर बनेको थियो । पत्रकार-कर्मचारी आन्दोलित थिए । 

मजदुर कर्मचारीहरूको समेत सहभागितामा नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले कार्यालय घेराउदेखि सञ्चालकहरूको घर घेराउसम्मका कार्यक्रम गरिरहेको थियो । घर घेराउ लगायतका आन्दोलनपछि पत्रकार कर्मचारीको ८ महिनादेखि रोकिएको तलब तीन दिन भित्र दिने सहमति सञ्चालकहरूले गरेका थिए । आन्दोलनका कारण बक्यौता तलब दिन सञ्चालकहरू बाध्य भए । 

पत्रकार तथा कर्मचारीहरूले २०७९ चैतसम्मकै तलब पाए । तलबको समस्या त हल भयो । तर, सञ्चालहरूबीच सुसुप्त रहेको पारिवारिक द्वन्द्व चर्किँदै गयो । फलस्वरुप २०८० जेठ २६ गतेदेखि असार १७ गतेसम्म अर्थात् २४ दिन बिना कुनै औपचारिक जानकारी पत्रिकाको प्रकाशन बन्द भयो ।


राजधानीः संस्था एक, सत्ता दुई

राजधानीमा दुई वटा सत्ता समानान्तर ढंगले कायम छन् । 

कार्यकारी सत्तामा अध्यक्ष नन्दा शेरचन छिन् । उनी आफैँले सिइओमा डोलेन्द्र थापालाई नियुक्त गरेकी थिइन् । सागर पण्डितले सम्पादकबाट राजीनामा दिएपछि ध्रुव लम्साललाई सम्पादक नियुक्त पनि अध्यक्षले नै गरेकी थिइन् । 

rajdhani photo.jpeg

राजधानी सम्भवतः नेपालको सबैभन्दा बढी आन्दोलन भइरहने मिडिया हो । 


दोस्रो सत्ता, सञ्चालक समेत रहेका निवर्तमान सिइओ आशिष शेरचनले चलाउँछन् । उनीसँग अर्का सञ्चालक उनका दाजु सचिन पनि सँगै छन् । कार्यकारी अधिकार नभएपनि यो सत्ताले सञ्चालक समितिमा आफ्नो बहुमत दाबी गर्छ । यही बहुमतका आधारमा उनीहरू सत्ता संचालनको अभ्यास गर्छन् । 

अहिले पत्रिकाको पुनः प्रकाशन यही समूहले गरेको हो । पत्रिकाको प्रिन्टलाइनमा आफ्नो नाम भए पनि अध्यक्ष नन्दा छोराहरूबाट पत्रिकामा हस्तक्षेप भएको बुझाईमा छिन् । र, यी निर्णयहरूमा सहमत छैनन् । 

२०८० असार २१ गते पत्रकार कर्मचारीलाई लेखेको प्रत्यूत्तरमा उनले ‘असार ७ गते प्रकाशित विज्ञप्तिको ब्यहोरा यथावत रहेको’ जानकारी गराएकी छन् । २०८० असार ७ गतेको विज्ञप्तिमा उनले ‘अध्यक्षको जिम्मेवारीप्रति सञ्चालकहरूले विभिन्न बहानाबाजी बनाएर अनावश्यक हस्तक्षेप गरेपछि पत्रिका प्रकाशनमा अवरोध सिर्जना भएको’ उल्लेख गरेकी छन् । 

यी समानान्तर सत्ता सञ्चालनका किस्सा रोचक छन् । जस्तो, अध्यक्षले सिइओमा डोलेन्द्र थापालाई नियुक्त गर्छिन् । अर्को पक्षले बहुमतबाट उक्त निर्णय बदर भएको घोषणा गर्छ । अध्यक्षले प्रशासन प्रमुख देव श्रेष्ठलाई बर्खास्त गर्छिन् । बहुमतले उनलाई थमौती गर्छ । श्रेष्ठ अहिले काममा फर्किएका छन् । 

प्रशासन प्रमुख श्रेष्ठले पत्रकार कर्मचारीहरूलाई स्पष्टीकरण सोध्ने लगायतका काम गरिरहेका छन् । तर अध्यक्षले श्रेष्ठका काम कारबाही अवैध हुने विज्ञप्तिमा उल्लेख गर्छिन् । अध्यक्ष नन्दा सञ्चालकको अवरोधले पत्रिका बन्द भएको दाबी गर्छिन् भने शेरचन दाजुभाइ चाहिँ अध्यक्ष जिम्मेवारीबाट पन्छिएपछि पत्रिका बन्द भएको दाबी गर्छन्।


सिइओ र प्रशासन प्रमुख बर्खास्त

विवादको उत्कर्ष चाहिँ सिइओमा डोलेन्द्र थापाको नियुक्ति पछि सुरु हुन्छ । तलबको विषयलाई लिएर पत्रकार कर्मचारी आन्दोलन गरिरहँदा सञ्चालकद्वय शेरचन दाजुभाइ अध्यक्ष समेत रहेकी कान्छी आमासँग सिइओ डोलेन्द्रलाई पदमुक्त गर्न माग गरिरहेका थिए । 

अध्यक्ष नन्दाले डोलेन्द्रलाई एक वर्षका लागि सिइओ नियुक्ति गरेकी थिइन् । तर सञ्चालक समितिको बैठकबाट बहुमतको निर्णय भन्दै शेरचन दाजुभाइले डोलेन्द्रलाई हटाउन अध्यक्ष नन्दालाई दबाब दिन थाले । तर अध्यक्षले भने माइन्युटमा हस्ताक्षर गर्न मानिनन् । 

सिइओबाट डोलेन्द्रलाई जसरी पनि हटाउनु पर्ने अडानमा दुई भाइ र कुनै पनि हालतमा नहटाउने अडानमा आमा देखिँदा उनीहरूबीचको द्वन्द्व उत्कर्षमा पुग्यो । सिइओलाई असफल बनाउने ध्याउन्नमा रहेका आशिषले चेकमा हस्ताक्षर गर्न छोडे । त्यसपछि अध्यक्ष नन्दा र सिइओले आफ्नै स्रोतबाट पैसा खोजेर पत्रिका चलाए । नन्दा अहिले त्यसैको बदला लिइरहेकी छन् । उनले चेकमा हस्ताक्षर नगरिदिँदा आशिषसहितका सञ्चालकद्वयले आफैँ पैसा व्यवस्थापन गरेर पत्रिका छापिरहेका छन् । नन्दा र आशिषको हस्ताक्षरले मात्र राजधानीको संयुक्त खाता सञ्चालन हुन्छ ।

२०८० जेठ १९ गते सिइओ डोलेन्द्र थापा र त्यसपछिको केही दिनमा प्रशासन प्रमुखलाई बर्खास्त गर्न सञ्चालकहरूबीच जुन खिचातानी भयो, त्यसबाट पत्रिकामा दुईवटा सत्ताको शक्तिअभ्यास स्पष्ट देखियो । 

सञ्चालक समितिबाट बहुमतको निर्णय भन्दै शेरचन दाजुभाइले प्रशासन प्रमुख देव श्रेष्ठमार्फत् सिइओ डोलेन्द्र थापाको नाम प्रिन्टलाइनबाट हटाउन निर्देशन दिए । श्रेष्ठले सम्पादकलाई पत्राचार गर्दै नाम हटाउन भने । 

जब उक्त विषय अध्यक्षकहाँ पुग्यो, उनले त्यस्तो कुनै निर्णय नगर्न सम्पादकलाई निर्देशन दिइन् । 

rajdhani news and publications.jpg

२४ दिन बन्द भएपछि पुनः प्रकाशित राजधानी दैनिकको प्रथपम पृष्ठमा प्रकाशित सामग्री जसले दिन्छन् यो सञ्चार गृहका सञ्चालकहरूको झगडाको झल्को।


“सोही राति करिब १० बजे सञ्चालक आशिष शेरचन सञ्चालक समितिको निर्णय भन्दै आफ्नो र दाजुको हस्ताक्षरसहितको कागज बोकेर समाचार कक्षमा आउनुभयो र सिइओको नाम हटाउन निर्देशन दिनुभयो”, प्रत्यक्षदर्शी पत्रकार भन्छन् । प्रिन्ट लाइनबाट डोलेन्द्रको नाम हट्यो । 

केही दिनपछि प्रशासन प्रमुख श्रेष्ठको नाममा अध्यक्ष नन्दाको पत्र आउँछ - ‘अध्यक्षलाई जानकारी नै नदिई आचरणविपरीत सिइओको नाम हटाएकोमा तपाईँलाई किन कारबाही नगर्ने ?’ 

प्रिन्टलाइनबाट सिइओको नाम हटाएको केही दिनमा श्रेष्ठ बर्खास्तीमा पर्छन् । 

दुई पक्षले एकअर्कालाई ‘असहयोग गर्ने’ उच्च कर्मचारीहरूमाथि बर्खास्तीको तरबार चलाइरहँदा सञ्चित कागज (न्युजप्रिन्ट) सकिन्छ । 

सञ्चालकद्वय शेरचन दाजुभाइले कागज किन्न कर्मचारीमार्फत् अध्यक्षकहाँ हस्ताक्षर गर्न चेक पठाउँछन् । तर अध्यक्षले ‘मेरो अधिकारमाथि हस्तक्षेप गर्नेलाई बहुमतबाटै पेपर किन्नु भनिदिनु’ भन्दै कर्मचारीलाई फर्काउँछिन् । 

यसरी न्युजप्रिन्ट समेत किन्न नसकेपछि असार २६ गतेदेखि पत्रिका बन्द हुन्छ ।


महेन्द्र शेरचनः म्यानपावर हुँदै मिडिया र राजनीतिसम्म

राजधानीका पूर्व सम्पादक राजन शर्मा स्वर्गीय शेरचनले परिवारका कुनै पनि सदस्यलाई पत्रिका व्यवसायमा सहभागी नगराएको बताउँछन् ।  “उहाँले मिडियाको शक्ति बुझ्नुभएको थियो । मैले उहाँसँग काम गर्दाका सुरुवाती ५ वर्ष कुनै पनि प्रकारका अवाञ्छित दबाब खेप्नुपरेन”, उनी भन्छन्, “जब उहाँ नेकपा एमालेबाट सांसद बन्ने योजनामा लाग्नुभयो, त्यसपछि पत्रिका राजनीतिकरण भयो, अझ भनौँ एमालेकरण भयो र पत्रिकाको विश्वसनीयता पनि खस्किँदै गयो ।” 

Mahendra-sherchan-sktch.jpg

महेन्द्र शेरचन । स्केच rajdhanidaily.com बाट साभार ।


शेरचन संविधानसभा सदस्य हुनुअघिसम्म पत्रकारिता गरेको तर त्यसपछिका वर्षहरूमा सम्पादकका रुपमा आफूले जागिर खाएको उनी स्वीकार्छन् । दोस्रो संविधानसभा अगाडिका राजधानी दैनिकका पृष्ठहरूको अध्ययन गर्दा थाहा लाग्छ, राजधानी दैनिक कुन हदसम्म एमालेका पक्षमा दुरुपयोग गरिदिएको थियो । त्यसै उपहारस्वरुप शेरचन समानुपातिकतर्फ संविधानसभा सदस्य बने ।  

शेरचन नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्ष पनि थिए । ‘शेर इन्टरनेसनल’ म्यानपावर सञ्चालनको जिम्मा उनले कम्पनीका प्रबन्ध निर्देशक समेत रहेका जेठा छोरा सचिनलाई दिएका थिए । तर सचिनले म्यानपावर कम्पनी बेचिसकेको खबर शेरचनले दुई महिना पछि मात्र पाएपछि उनी अत्यन्त दुखी बनेको निकटस्थहरू बताउँछन् । 

मिडिया सञ्चालकहरूको संस्था मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत रहेका शेरचन पछि उक्त संस्था फुटेर बनेको मिडिया सञ्चालकको अर्को संस्था मिडिया अलाइन्सका उपाध्यक्ष थिए । 

पहिला उत्सर्ग प्रकाशन प्रालि मार्फत् प्रकाशित राजधानी दैनिक पछि अर्को कम्पनी राजधानी न्युज पब्लिकेशन प्रालि खडा गरी त्यसमातहत सञ्चालन गरिएको थियो । 

उक्त संस्थाका अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेका शेरचन २०७७ मंसिरमा विज्ञापन बोर्डमा सदस्य समेत नियुक्त भएका थिए । 

शेरचन २०६० साउन १९ गते तत्कालीन पारिश्रमिक तथा क्षतिपूर्ति निर्धारण समिति (हालको न्यूनतम पारिश्रमिक निर्धारण समिति) मा तेस्रो अध्यक्ष नियुक्त भएका थिए । 

शेरचन परिवारको मुख्य आम्दानीको स्रोत भने साउदी नेपाल मेडिकल सेन्टरले उठाउँछ । हाल अदालतको ‘स्टे अर्डर’ लिएर सञ्चालन भइरहेको यो कम्पनीले वैदेशिक रोजगारीका लागि साउदी अरेबिया जाने नेपालीहरूको मेडिकल चेकअप गर्छ । मेडिकल चेकअपमा यस्ता १८ वटा संस्थाको सिन्डिकेट छ । यी मध्ये एक शेरचन परिवारले सञ्चालन गर्ने साउदी नेपाल मेडिकल सेन्टर हो । आशिष पार्टरसिपमा पोखरामा होटल सञ्चालनको तयारीमा छन् । 

स्व. शेरचनको घरजग्गा, सेयर आदिमा पनि लगानी थियो । उनीसँग घरमै नगद, गरगहाना लगायतका बहुमूल्य जिन्सी सामग्री पनि प्रसस्त थिए । निकस्थहरू भन्छन्- श्रीमती र छोराहरूको झगडा शेरचनले खडा सम्पत्तिको साम्राज्य कसले कति हत्याउने भन्नेमा हो ।


श्रम समस्यासँगै सञ्चालकविरुद्ध कर्मचारीका उजुरी

राजधानीका प्रकाशकहरू यतिबेला सम्पत्तिको कचिङ्गलसँगै पत्रकार कर्मचारीका दुईथरी उजुरीहरू पनि खेप्दैछन् । 

राजधानीका १८ जना पत्रकार तथा कर्मचारीले सेवा सुविधाको माग गर्दै दायर मुद्दा श्रम कार्यालय टेकुमा चलिरहेको छ । कतिपयले दबाब तथा प्रलोभनका कारण मुद्दा फिर्ता पनि लिएका छन् । तर बहुसंख्यक यो मुद्दा फिर्ता लिने पक्षमा देखिँदैनन् । 

rajdhani andolan photo.jpeg

राजधानीमा भएको पत्रकारको आन्दोलन ।


राजधानीमा श्रम सम्बन्धी मुद्दाको इतिहास लामै छ । श्रमजीवी पत्रकार सम्बन्धी ऐन र नियमावली अनुसार सेवा सुविधा नदिएपछि हाल प्रेस काउन्सिल नेपालका सदस्य रहेका रामप्रसाद दाहालले  २०६१ देखि २०६९ सम्म मुद्दा लडेर आफ्नो अधिकार स्थापित गरेका थिए । हाल श्रमजीवी पत्रकार संघका अध्यक्ष रहेका जन्मदेव जैसी लगायतले पनि विगतमा कानुनी लडाइँमार्फत् आफ्नो हक प्राप्त गरेका थिए । 

अर्को, सञ्चालक आशिष शेरचनले यही असार ८ गते राजधानीको कार्यालयमा राखेको पूजामा आफूलाई जातीय विभेद र कुटपिटको प्रयास गरेको दाबीसहित नेपाल पत्रकार महासंघ, प्रतिष्ठान शाखाका अध्यक्ष ईश्वर विश्वकर्माले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । “...पूजा कार्यक्रममा सञ्चालक मध्येका एक आशिष शेरचनको अगुवाईमा अध्यक्ष विश्वकर्मामाथि भेदभावपूर्ण व्यवहार गर्दै कोठाभित्र थुनेर सटर र मुल ढोकामा चाबी लगाई बन्धक बनाएर भौतिक आक्रमणको प्रयास गरिएको” महासंघको विज्ञप्तिमा उल्लेख छ । 

विश्वकर्माले २०८० असार ११ गते महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका छन् । परिसरले महानगरीय प्रहरी वृत्त गौशालालाई अनुसन्धानको जिम्मा दिएको छ । विश्वकर्माले १३ गते मानव अधिकार आयोग र दलित आयोगमा पनि उजुरी दिएका छन् । 

“...केही कुरा स्पष्ट पार्नु छ भनी बोलाएपश्चात निज विपक्षीहरू रहेको पूजा भएको हलमा गई बोल्न लगाएको तर बोल्न नदिई विभिन्न अपशब्दका साथै गाली गलौच गर्नुको साथै निज विपक्षीले आयोजना र अगुवाई गरेको कार्यक्रममा उनकै नेतृत्व र उक्साहटमा आज कामीलाई कुट्नुपर्छ, आज कामीले कुटाई खाने भयो जस्ता संविधानले दण्डनीय मानेका विषयमा अपमान गरेको…” विश्वकर्माले दिएको जाहेरी दरखास्तमा भनिएको छ, “...आशिष शेरचनको निर्देशनमा उक्त हलको ताला लगाई सटर आधा लगाउने साथै मुल गेटको समेत ताला लगाई ज्यान लिन खोजेको…।” 

विश्वकर्माले मुलुकी अपराध संहिता २०७४ को १२(१७७), मुलुकी फौजदारी संहिता २०७४ जातीय तथा छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ तथा फौजदारी कसुर सजाय निर्धारण तथा कार्यविधि २०७४ बमोजिमको कसुर गरेकाले पक्राउ गरी कानुन बमोजिम हदैसम्मको कारबाही गर्न माग गरेका छन् । 

महासंघका अनुसार पत्रिका पुनः प्रकाशन भए पनि विश्वकर्मा, पत्रकारहरू टेनिस रोका, महेश्वर गौतम र निराजन पौड्याल लगायतका पत्रकारहरू आफ्नो शान्ति सुरक्षामा खतरा भएको भन्दै कार्यालय जान सकेका छैनन् । उनीहरूले अध्यक्ष नन्दालाई पत्राचार गरेर शान्ति सुरक्षाको वातावरण बनाइदिन र हाजिर गर्ने वातावरण बनाइदिन माग गरेका छन् ।


सञ्चालकहरूको झगडा जति बास्तविक छ उति नै बास्तविकता के पनि हो भने पत्रकार कर्मचारीको सेवा सुविधा कटौती, निष्कासन लगायतका काममा भने उनीहरू विगतमा एक ठाउँ थिए । “भविष्यमा पनि त्यस्तो स्थिति नआउला भन्न सकिन्न”, राजधानीका पत्रकार भन्छन् । 

रोचक के छ भने सञ्चालकहरू जति झगडा गरे पनि एकअर्काविरुद्ध कानुनी कारबाहीमा जाने आँट भने गरिहाल्दैनन् । बहुमत दाबी गरिरहेका शेरचन दाजुभाइसँग विशेष साधारणसभा बोलाएर अध्यक्षलाई हटाउने अधिकार छ । उता आफ्नो अधिकारमाथि हस्तक्षेप भएको बताउने आमा पनि सञ्चालकद्वय छोराहरूविरुद्ध कुनै कदम चाल्दिनन् । 

पत्रिका आशिषसहितका सञ्चालकहरूले चलाउने, नन्दा एक्लैले चलाउने, पारिवारिक द्वन्द्व व्यवस्थापन गर्दै फेरि मिलेर चलाउने वा कसैलाई बेच्ने उनीहरूका विकल्प हुन् । स्रोतहरूको भनाई बुझ्दा आशिष एक्लै हाँक्नेमा देखिन्छन् । नन्दा ‘पर्ख र हेर’ को स्थितिमा छन् । 

स्रोतहरूको भनाई छ- पत्रिका कसले चलाउँछ भन्ने पत्रिकाको मूल्यांकन कति हुन्छ भन्नेमा भर पर्छ । छोराहरूले मूल्यांकन कम गरेमा आफैँ लिने, बढी गरेमा आफ्नो हिस्सा लिने र बिदा हुने योजनामा नन्दा छन् । तर शेरचन दाजुभाइको रणनीति चाहिँ कम भन्दा कम मूल्यांकन गरेर पत्रिका आफैँ चलाउने देखिन्छ ।


Related Story

पतन वा पुनरुत्थानको दोसाँधमा रवि लामिछानेको राजनीति

टेलिभिजन स्थापनाका लागि सर्वसाधारणको बचत अपचलन गरी सोही खेलबाट राजनीतिक उन्नति गरेका रवि लामिछानेको राजनीतिक भविष्य पतन वा पुनरुत्थानको दोसाँधमा तीन

आदर्श प्रकाशकको गुमनाम परोपकार

लोकतन्त्रका आधारभूत मान्यताहरूलाई संस्थागत गर्न कुन चाहिँ राजनेता, दल, उद्योगीव्यवसायी वा संस्थाले यत्तिको महत्त्वपूर्ण भूमिका खेलेको छ ? राष्ट्रका लागि