व्यवस्थापनसँग भएको ७ बुँदे सहमति कान्तिपुरका पत्रकारहरूले अस्वीकार गरेपछि श्रमको मुद्दा कानुनी बाटोतर्फ अग्रसर
कान्तिपुर पब्लिकेसन्सन लिमिटेडमा कार्यरत पत्रकारहरूले कान्तिपुर व्यवस्थापन र पत्रकार महासंघको शाखाबीच भएको ७ बुँदे सहमति अस्वीकार गरेका छन् ।
आइतबार कान्तिपुर व्यवस्थापन र महासंघ शाखाबीच पत्रकारहरूलाई न्यूनतम अवकाश प्याकेज दिने सहमति भएको थियो । तर कान्तिपुरका अधिकांश पत्रकारहरूले उक्त सहमतिलाई अस्वीकार गरेका छन् ।
व्यवस्थापन र पत्रकारका प्रतिनिधिबीच सात बुँदे सहमति भएको भनिए पनि उक्त सहमति पत्र सार्वजनिक भने भएको छैन ।
उक्त सहमति श्रमजीवी पत्रकार ऐन, श्रम ऐन र त्यससम्बन्धी नियमावलीहरूको विरूद्ध रहेको उनीहरूले ठहर गरेका छन् ।
"कान्तिपुर मिडिया ग्रुपको व्यवस्थापनले गैरकानुनी र अवैधानिक रूपमा अवकाशपत्र दिइएका र जथाभावी सरुवा गरिएका श्रमजीवी पत्रकारहरूलाई लक्षित गरी आज (२०८० असोज २८ गते पत्रकार महासंघ कान्तिपुर शाखासँग गरेको भनिएको कथित सहमति श्रमजीवी पत्रकार ऐन, श्रम ऐन र त्यससम्बन्धी नियमावलीहरूको विरूद्ध रहेको हाम्रो ठहर छ", कान्तिपुरका पत्रकारले पत्रकार महासंघ केन्द्रमा पठाएको पत्रमा उल्लेख छ, "यसप्रति हाम्रो गम्भीर असहमति छ र यसलाई हामी प्रथम दृष्टिमै अस्वीकार गर्दछौं ।"

आइतबार भएको सहमतिपछि व्यवस्थापन र पत्रकारका प्रतिनिधिहरू । फोटोः ईकान्तिपुर
आइतबार भएको सहमतिले पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठानले असोज १२ गते व्यवस्थापनसमक्ष बुझाएको १२ बुँदे मागपत्र र महासंघ केन्द्रीय कार्यालयले जनाएको प्रतिबद्धतालाई पूर्ण रूपले बेवास्ता गरेको उनीहरूको ठहर छ । असन्तुष्ट पत्रकारहरूले उक्त सहमतिलाई अस्वीकार गर्न कान्तिपुरका सम्पूर्ण श्रमजीवी पत्रकाहरूलाई आह्वान समेत गरेका छन् ।
उनीहरूले व्यवस्थानसँग संवादको औचित्य तत्कालका लागि सकिएको घोषणा गरेका छन् । "श्रमजीवी पत्रकारको हक, हित र कानुनबमोजिम पाउनुपर्ने सेवा सुविधाका लागि कान्तिपुर व्यवस्थापनसँग तत्काल संवादको औचित्य सकिएको र अब संघर्ष तथा कानुनी उपचारको चरण सुरु भएको हामी घोषणा गर्दछौं", पत्रमा भनिएको छ, "अब सुरु हुने संघर्षका कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाह गर्न हाम्रो अभिभावकको रूपमा रहेको पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई हामी आग्रह गर्दछौं ।"
असन्तुष्ट पत्रकारहरूको आह्वानलगत्तै पत्रकार महासंघ केन्द्रले असोज ३० गते मंगलबार (भोलि) दिउँसो ३ बजेदेखि ४ बजेसम्म थापाथलीस्थित कान्तिपुर पब्लिलेकसन्स लिमिटेड मुख्यालयमा १ घण्टा धर्ना दिने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघले सोमबार विज्ञप्ति जारी गरी 'अनिश्चितकालीन दबाबमूलक आन्दोलन' घोषणा गरेको हो ।
कान्तिपुरका पत्रकारहरूले आन्दोलनका कार्यक्रममा साथ, सहयोग, सहभागिता र ऐक्यबद्धताका लागि पत्रकारका हक, हित र अधिकारका लागि कार्यरत संघ-संस्थालाई आह्वान पनि गरेका छन् ।
मुलुकको प्रभावशाली सञ्चार संस्था कान्तिपुर पब्लिकेसन्समा के भइरहेको छ ? मिडिया कुराकानीको कभरेज पढ्नुहोस् ।
-
कान्तिपुर पब्लिकेसन्समा पत्रकार महासंघद्वारा आन्दोलन घोषणा
-
कान्तिपुर पब्लिकेसन्स न्यूनतम अवकाश प्याकेज दिन तयार
-
'कान्तिपुर' मा के भइरहेको छ ? पछिल्ला ६ अपडेट
-
मिडियाको श्रम समस्या सुल्झाउन सम्भव छ त संयुक्त संघर्ष समिति ?
-
समाजवादी प्रेस संगठनले भन्यो- 'कान्तिपुर गैरजिम्मेवार, नैतिक दायित्वबाट पन्छियो'
-
कान्तिपुरका पत्रकारमाथि व्यवस्थापनले गरेको अपमानको फेहरिस्त
-
युनियन, चौतारी र सेन्टरको संयुक्त बोली - ‘कान्तिपुरको व्यवहार निन्दनीय’
-
कसले गर्यो कान्तिपुरबारे ‘अलर्गल प्रचार’ ? महासंघ शाखाको विज्ञप्तिका सङ्केत र सन्देश
-
कान्तिपुर व्यवस्थापनले पत्रकार महासंघको प्रतिष्ठान शाखालाई वार्तामा बोलायो
-
कान्तिपुरबाट फोटो पत्रकारहरू निकालिएको भन्दै पीजे क्लबको विरोध
-
कान्तिपुरको समस्या सुनेपछि सञ्चारमन्त्रीले भनिन्- आवश्यक परे क्याबिनेटमा प्रस्ताव लान्छौँ
-
कान्तिपुर व्यवस्थापनलाई गल्ती सच्याउने अवसर, यस्ता छन् पत्रकारका १२ माग
-
कान्तिपुर प्रकरणमा पत्रकार महासंघको चेतावनी- 'माग बेवास्ता गरे कडा संघर्ष'
-
दशैँको मुखमा ६८ पत्रकारलाई कान्तिपुरको अवकाश पत्र
-
पत्रकार महासंघको ठहर- कान्तिपुर व्यवस्थापनका काम ‘कानुनी व्यवस्थाविरोधी’
-
‘कान्तिपुर’ मा सल्किएको आगो