प्रेस काउन्सिल नेपालअन्तर्गतको मिडिया विकास कोषले हरेक प्रदेशका तीनजना पत्रकारलाई लेखनवृत्ति दिने भएको छ । कोषले मंसिर २८ गते प्रकाशित गरेको आवेदनसम्बन्धी सूचनाअनुसार लेखनवृत्तिका लागि आवेदन दिन कम्तिमा तीन वर्षदेखि नियमित पत्रकारिता गरिरहेको हुनुपर्ने लगायत उल्लेख छ ।
लेखनवृत्तिमा आवेदन दिन उपत्यकाबाहिर तथा दुर्गम क्षेत्रमा रही जनसरोकारका विषय मुख्यगरी कोभिड १९ सँग सम्बन्धित चेतनामूलक/शिक्षामूलक समाचार सामग्री प्रवाह गरेको हुनुपर्ने पनि भनिएको छ । हरेक प्रदेशबाट ३ जनाका दरले २१ जना पत्रकारले यो लेखनवृत्ति पाउने छन् । लेखनवृत्तिअन्तर्गत एकजना पत्रकारले १५ हजार रुपैयाँ पाउनेछन् ।
यदि तपाईँ उपत्यकाबाहिर वा दुर्गम क्षेत्रमा रही पत्रकारिता गरिरहनुभएको छ भने जनसरोकारका विषय (मुख्यगरी कोभिड १९ सँग सम्बन्धित चेतनामूलक/शिक्षामूलक समाचार सामग्री) मा गर्नुभएको समाचार सामग्रीसहित निवेदन पेश गर्नुपर्ने छ । निवेदन पेश गर्ने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले ७ दिन (२०७७ पुस ४ गतेभित्र) तोकिएको छ ।
लेखनवृत्ति प्रदान गर्दा दलित, जनजाति, महिला, अल्पसंख्यक, अपाङ्गता भएका तथा मधेसी समुदायका पत्रकारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ । तपाईँले पाँचवटा समाचार सामग्री (२०७६ चैतदेखि २०७७ मङ्सिरसम्म प्रकाशन/प्रशारण भएको) काउन्सिलमा बुझाउनुपर्छ । सञ्चारमाध्यम (पत्रपत्रिका, रेडियो, टिभी, अनलाइन) मा प्रकाशन/प्रसारण भएको सामग्रीको प्रति वा लिंक इमेल, कुरिअर वा अन्य माध्यमबाट पेश गर्नुपर्छ ।
सम्बन्धित निकायबाट प्रमाणित भएको हुनुपर्ने भनिएपनि सम्बन्धित निकाय कसलाई भनिएको हो प्रष्ट छैन । आवेदन दिन नेपाल पत्रकार महासंघको शाखाको सिफारिस चाहिन्छ ।
हेर्नुस् काउन्सिलको सूचना
