सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर) ले पत्रकार र कन्टेन्ट क्रियटरबीच खोजमूलक सामग्री उत्पादनमा सहकार्य बढाउन फेलोसिप घोषणा गरेको छ ।
'इन्भेस्टिगेटिङ टुगेदर २०२६' नाम दिइएको यो फेलेसिप कार्यक्रमले सार्वजनिक चासोका मुद्दामा खोजमूलक स्टोरी गर्न चाहने पत्रकार र कन्टेन्ट क्रियटरलाई सहकार्य गर्ने अवसर दिने छ ।
फेलोसिपमा ७ जना पत्रकार र ७ जना कन्टेन्ट क्रियटर गरी १४ जना सहभागी हुनेछन् ।
छानिएका सहभागीले भ्रष्टाचार, शक्तिको दुरुपयोग, सार्वजनिक खर्च र राजनीतिक अभियानमा हुने आर्थिक लगानी जस्ता विषयमा खोज गर्नेछन् ।
“यसको मुख्य उद्देश्य परम्परागत पत्रकारिता र आधुनिक डिजिटल माध्यमबीचको दूरी कम गर्दै जवाफदेहिता प्रवर्द्धन गर्नु हो”, सिएमआर नेपालले आवेदन सूचनामा भनेको छ ।
के-के छन् सुविधा?
फेलोसिपका लागि छानिने सहभागीले प्रोत्साहनबापत् १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उनीहरू ५ दिनको आवासीय तालिममा सहभागी हुनेछन् ।
उक्त तालिममा खोजमूलक पत्रकारिताका विधि, डिजिटल सुरक्षा र कानुनी पक्षबारे विशेषज्ञहरूले प्रशिक्षण दिनेछन् ।
तीन महिनाको खोज अवधिमा सहभागीहरूलाई अनुभवी सम्पादक र अनुसन्धानकर्ताले मेन्टरसिप समेत प्रदान गर्नेछन् ।
को-को सहभागी हुन सक्छन् ?
छापा, अनलाइन वा टेलिभिजनमा कार्यरत पत्रकारका साथै भिडियो बनाउने, पड्कास्ट गर्ने वा सामाजिक सञ्जालमा डिजिटल सामग्री बनाउने कन्टेन्ट क्रियटरले आवेदन दिन सक्छन् ।
आवेदन व्यक्तिगत रूपमा पनि दिन सकिन्छ भने पत्रकार र कन्टेन्ट क्रियटरले समूह बनाएर संयुक्त रुपमा पनि आवेदन दिन सक्छन् ।
पत्रकार र कन्टेन्ट क्रियटरको जोडीले एकअर्कासँग सहकार्य गरी संयुक्त रूपमा खोज गर्ने र आफ्ना प्लाटफर्मका लागि छुट्टाछुट्टै सामग्री उत्पादन गर्नेछन् ।
सिएमआरले महिला, सीमान्तकृत समुदाय र दुर्गम क्षेत्रका आवेदकलाई प्राथमिकता दिइने जनाएको छ ।
यो फेलोसिप कार्यक्रमका लागि नेसनल इन्डोमेन्ट फर डेमोक्रेसीले सहयोग गरेको छ ।