सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा सूचना तथा सञ्चारको क्षेत्रमा पनि अनेकानेक उपलब्धिहरू हासिल भएको सरकारले दाबी गरेको छ । २०७८ जेठ १३ गते बिहीबार सार्वजनिक गरेको सर्वेक्षणमा सूचना तथा सञ्चार क्षेत्रबारे के छ पढ्नुहोस् ।
१. आफ्नै स्याटलाइट, इन्टरनेट अत्यावश्यक सेवाको सूचीमा
११.३९ मुलुकका अति दुर्गम र विकट क्षेत्रमा समेत दूरसञ्चार सेवाको विस्तार गर्न, उच्च हिमाली भेगमा ब्रोडब्यान्ड सहितको इन्टरनेट सेवा उपलब्ध गराउन, भू-उपग्रह प्रणालीमा आधारित सञ्चार सेवाको सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न र ब्यान्डविथ वापत भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा बचत गर्न नेपालको आफ्नै स्याटलाइट स्थापना गरी सञ्चालनमा ल्याउने उद्देश्यले भू-उपग्रह नीति तर्जुमा भई कार्यान्वयनमा ल्याइएको छ । अत्यावश्यक सेवाको सूचीमा इन्टरनेट सेवा समावेश गरिएको छ ।
२. कानुन निर्माणको अवस्था
११.४० सञ्चार तथा सूचना प्रविधि क्षेत्र अन्तर्गत विज्ञापन (नियमन गर्ने) ऐन स्वीकृत भई कार्यान्वयनमा आएको छ । नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक, सूचना प्रविधिसम्बन्धी विधेयक, सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक र सुरक्षण मुद्रणसम्बन्धी विधेयक संघीय संसदमा पेश भएका छन् ।
११.४१ राष्ट्रिय प्रसारण (नवौं संशोधन) नियमावली, २०७७ तथा राष्ट्रिय प्रसारण ( दशौ संशोधन) नियमावली, २०७७, रेडियो सञ्चार (लाइसेन्स) (चौथो संशोधन) नियमावली, २०७७, चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) (छैठौं संशोधन नियमावली, २०७७, प्रेस काउन्सिल (कार्य व्यवस्था) (तेस्रो संशोधन) नियमावली, २०७७, विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ र सूचनाको हकसम्बन्धी (तेस्रो संशोधन) नियमावली, २०७७ तर्जुमा भई कार्यान्वयनमा आएका छन् ।
११.४२ राष्ट्रिय ज्ञानपार्क (स्थापना र सञ्चालन) कार्यविधि, २०७६, सूचनाको हक कार्यान्वयन अनुगमन निर्देशिका, २०७६ र बालबालिकाहरुलाई नियमित अनलाइनमा रहँदा पर्न सक्ने मानसिक तथा सामाजिक प्रभावलाई न्यूनीकरण गर्न अनलाइन बाल सुरक्षा निर्देशिका, २०७६ तर्जुमा भई कार्यान्वयनमा आएका छन् ।
३. अप्टिकल फाइबर
११.४३ मध्य पहाडी लोकमार्ग र आसपासका जिल्लामा उच्च गतिको इन्टरनेट पुल्याउन अप्टिकल फाइबर बिछ्याउने कार्य अन्तर्गत २०७७ असारसम्म २९३ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर बिच्छ्याइएकोमा चालु आर्थिक वर्षको फागुनसम्म ७६७ किलोमिटर थप भई जम्मा १,०६० किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर बिच्छ्याउने कार्य सम्पन्न भएको छ ।
११.४४ नेपाल दूरसञ्चार कम्पनीमार्फत स्थानीय टेलिफोन सेवालाई परिवर्तन गरी अप्टिकल फाइबरमा आधारित एफ.टि.टि.एच. (Fiber to the home) सेवा २०७७ असारसम्म ३३ जिल्लाका ४५ शहर / शहरोन्मूख क्षेत्रमा विस्तार भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म ३३ शहर/शहरोन्मूख क्षेत्रमा थप विस्तार भई ४५ जिल्लाका ७८ शहरी/शहरोन्मूख क्षेत्रमा यो सेवा विस्तार भएको छ ।
११.४५ अप्टिकल फाइबर मार्फत् एउटै लाइनबाट टेलिफोन सेवा, उच्च गतिको इन्टरनेट सेवाको साथै अडियो तथा भिडियो सेवा समेत उपलब्ध हुने यो सेवा २०७७ असारसम्म २ लाख क्षमताको नेटवर्क जडान गरी ७६ हजार लाइन वितरण भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म २ लाख १२ हजार २ सय क्षमताको नेटवर्क जडान भई ८० हजार ३ सय १८ थप लाइन वितरण भएको छ ।
४. ६५५ स्थानीय तहमा 4G/LTE
११.४६ मोबाइल सेवामा अत्याधुनिक प्रविधि र सेवाहरू भित्र्याई नवीनतम दूरसञ्चार सेवा प्रदान गर्न तथा सो मार्फत देशमा डिजिटल डिभाइड कम गर्ने योजनालाई मूर्तरूप दिन नेपाल टेलिकम मार्फत प्रारम्भ गरिएको 4G/LTE सेवा २०७७ असारसम्म ४३७ स्थानीयतहसम्म विस्तार भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप २१८ स्थानीयतहमा सेवाको पहुँच विस्तार गरी सबै जिल्लाका ६५५ स्थानीय तहसम्म पुऱ्याइएको छ ।
५. विद्यालय र सरकारी कार्यालयमा इन्टरनेट
११.४७ सवै स्थानीयतहका कार्यालय, वडा कार्यालय, स्वास्थ्य केन्द्र र सामुदायिक माध्यमिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने कार्यक्रम कार्यान्वयनमा रहेको छ । २०७७ फागुनसम्म जम्मा ६०८ स्थानीय तहको कार्यालय, ५,०९६ वडा कार्यालय, ३, ४५४ स्वास्थ्य केन्द्र र ४,१९७ सामुदायिक माध्यमिक विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट जडान गर्ने कार्य सम्पन्न भएको छ ।

६. डिजास्टर डाटा रिकभरी सेन्टर
११.४८ सरकारी सूचना एवं तथ्या, सुरक्षत गरी विद्युतीय सवा अवरुद्ध हुन नदिन ती सूचना एवं तथ्याङ्कलाई एकभन्दा बढी स्थानमा भण्डारण गर्न हेटौडामा डिजास्टर डाटा रिकभरी सेन्टर सञ्चालनमा रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा उक्त सेन्टरको सर्भरको क्षमता ५०० टेराबाइटले बृद्धि गरिएको छ । गत आर्थिक वर्षमा सरकारी डाटा सेन्टरमा रहेका सबै डाटा केन्द्रीय डि.एन.एस. (DNS), वेब होस्टिङ्ग (Web Hosting), सी. प्यानेल (C-panel), सरकारी इमेल प्रणाली लगायत नेपाल सरकारका सबै मन्त्रालय लगायत अन्य महत्वपूर्ण निकायका सूचना प्रविधि प्रणाली र डाटा उक्त सेन्टरमा व्याकअपको रूपमा सुरक्षित भण्डारण गरिएको छ ।
७. सरकारी कर्मचारीलाई इमेल
११.४९ नेपाल सरकारका कर्मचारीहरुको इमेलको आधिकारिकता र सुरक्षा सुनिश्चत गर्न विभिन्न निकायका कर्मचारीहरूको २०७७ फागुनसम्म ११ हजार इमेल ठेगाना नेपाल सरकारको केन्द्रीय इमेल प्रणालीमा आवद्ध गरी व्यवस्थापन गरिएको छ । यी इमेलको सुरक्षाका लागि आवश्यक सफ्टवेयर जडान गरिएको छ ।
८. विद्युतीय हस्ताक्षर कार्यान्वयनमा
११.५० विद्युतीय माध्यमबाट हुने कारोबार र चिट्ठी-पत्र लगायतका कागजातको विश्वसनीयता अभिवृद्धि गरी यससम्बन्धी कारोबारको साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न विद्युतीय हस्ताक्षर कार्यान्वयनमा ल्याइएको छ । यसको आधिकारिकता र कारोबार तत्काल फरफारक गर्न सो सम्बन्धी लाइसेन्स (Authentication and validation perpetual license ) जडान गरी सञ्चालनमा ल्याइएको छ ।
११.५१ सरकारी निकायका सूचना प्रविधि प्रणालीलाई विद्युतीय हस्ताक्षरमैत्री बनाउने क्रममा कर्णाली प्रदेशको आन्तरिक मामिला मन्त्रालय, वालिङ नगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण र वैदेशिक रोजगार विभागमा सार्वजनिक पूर्वाधार व्यवस्था (Public Key Infrastructure enabled) मिलाइएको छ ।
९. निःशुल्क वाइफाइ
११.५२ महत्त्वपूर्ण सार्वजनिक स्थल, धार्मिक क्षेत्र, पर्यटकीय क्षेत्र (पदयात्रा मार्ग समेत) मा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने उद्देश्यबमोजिम आर्थिक वर्ष २०७६/७७ मा काठमाडौँ सिंहदरबार, बागबजार र सञ्चार ग्राम (तिलगंगा) मा हटस्पट वाईफाई स्थापना भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म पाथिभरा, हलेसी, वराहक्षेत्र, जानकी मन्दिर, मुक्तिनाथ, लुम्बिनी, गुरुद्वारा लगायत अन्नपूर्ण र सगरमाथा आधारशिविर क्षेत्रमा यो सेवा विस्तार गरिएको छ ।
१०. मोबाइल भुक्तानी सेवा
११.५३ मोबाइल वित्तीय सेवा र मोबाइल भुक्तानी सेवाको विकास र नियमन गर्न नेपाल राष्ट्र बैंक र नेपाल दूरसञ्चार प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर भई कार्यान्वयनमा आएको छ नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेल प्राइभेट लिमिटेड लाई सहायक कम्पनी स्थापना गरी भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्न स्वीकृति दिइएको छ।
११. नेशनल पेमेन्ट गेटवे
११.५४ सरकारी तथा निजी क्षेत्रबाट प्रवाह हुने सेवा र कारोबार विद्युतीय माध्यमबाट सञ्चालन गर्न नेशनल पेमेन्ट गेटवेसम्बन्धी सर्भर स्थापना गरी विद्युतीय भुक्तानी सञ्चालन गर्न पाँच वाणिज्य बैंकलाई यस प्रणालीमा एकीकृत गरी हाल महालेखा नियन्त्रक कार्यालयको ईलेक्ट्रोनिक फण्ड ट्रान्सफर प्रणालीको API सँग आवद्ध गर्ने कार्य भइरहेको छ ।
१२. विद्यालयमा कम्प्युटर ल्याब
११.५५ शिक्षालाई वैज्ञानिक, प्राविधिक, सीपमूलक, रोजगारमूलक एवं जीवनपयोगी बनाउदै सक्षम, प्रतिस्पर्धी जनशक्ति तयार गर्ने उद्देश्यले मुलुकभरका ९९० सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर ल्याव स्थापना गर्ने कार्यक्रम कार्यान्वयनमा रहेको छ । चालु आर्थिक वर्षको फागुनसम्म ४८५ सामुदायिक माध्यामिक विद्यालयमा कम्प्युटर ल्याव स्थापना गरिएको छ ।
१३. शिक्षणमा अडियो भिजुअल सामग्री
११.५६ कक्षा ४ देखि १२ सम्मको विज्ञान (भौतिक, रसायन, जीव), गणित र ऐच्छिक गणित विषयको सबै पाठ्यक्रम समेटिने गरी विशेषज्ञ शिक्षकबाट शैक्षिक सामग्रीहरूको प्रयोग गरी टिचिङ्ग अडियो भिजुअल सामग्री निर्माण गरी ती सबै डिजिटल शिक्षण सामग्रीहरू सरकारी क्लाउड (Government Cloud) र युटुवमा राखिएको छ ।
१४. हुलाक बचत बैंक
११.५७ ६२ जिल्ला हुलाक कार्यालयमा हुलाक बचत बैंक सञ्चालनमा रहेका छन् । हुलाक बचत बैंकको कारोबारलाई स्वचालित एवं छिटो छरितो र पारदर्शी गराउने उद्देश्यले हुलाक बचत बैंक सफ्टवेयर निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
११.५८ यातायातको नियमित सेवा नभएका उच्च पहाडी र हिमाली केही जिल्लाहरूको डॉक ढुवानीकार्य स्थल मार्गबाट हुने गरेकोमा निजी हवाई सेवाप्रदायकहरूसँग सम्झौता गरी ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । यसबाट दुर्गम स्थानमा हुलाक वस्तु वितरणको समय १० दिनले घटी वितरण प्रणाली छिटो भएको छ। हुलाकबाट हुने वस्तुको वितरणमा सुधार ल्याउन काठमाडौं उपत्यकाको चक्रपथ भित्र एकै दिनमा डेलिभरी गर्ने व्यवस्था मिलाईएको छ ।
१५. क्लिन फिड नीति
११.५९ स्वदेशी प्रशारण माध्यम र विज्ञापन एजेन्सीलाई प्रोत्साहित गर्दै नेपाली भाषा, संस्कृति, परम्परा र रितीरिवाजको संरक्षण समेत गर्ने उद्देश्यले विज्ञापन रहित नीति (Clean Feed) तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को मर्मअनुरूप यसको प्रभावकारी कार्यान्वयन गर्न सूचना तथा प्रसारण विभागमा Head-End जडान गरिएको छ ।
१६. रेडियो नेपाल
११.६० रेडियो नेपालले देश भित्र ८७ प्रतिशत जनता माझ र अनलाइन मार्फत संसारभर २४ सै घण्टा २१ भाषामा समाचार र २० भाषामा कार्यक्रम प्रसारण गर्दै आइरहेको छ । यसका करिब ४२ हजार पुराना अडियो टेपहरू र राष्ट्रिय समाचार समितिको स्थापनादेखि २०५२ सालसम्मका समाचार बुलेटिनलाई डिजिटल आर्काइभमा सुरक्षित रूपमा राखिएको छ ।
१७. नेपाल टेलिभिजन
११.६१ नेपाल टेलिभिजनको प्रसारण पहुँच जनसंख्याको ७२ प्रतिशत र भौगोलिक क्षेत्रको ५२ प्रतिशतसम्म पुगेको छ भने देशबाहिर १४६ मुलुकसम्म प्रसारण पहुँच विस्तार भएको छ। केन्द्रीय प्रसारण च्यानल (एन.टि.भी., एन.टि.भी. प्लस, एन.टि.भी. न्युज) र प्रादेशिक प्रसारणका इटहरी र कोहलपुर च्यानल सञ्चालनमा रहेका छन् । अनलाइन डिजिटल प्लेटफर्म अन्तर्गत मोबाइल एप्स, वेभसाइट, फेसबुक, र युटुब पेज सञ्चालनमा ल्याइएका छन् ।
१८. डिजिटल नेपाल फ्रेमवर्क
११.६२ रूपान्तरणकारी आयोजनाको रूपमा रहेको डिजिटल नेपाल फ्रेमवर्क, २०७६ अन्तर्गत सबै सरकारी विद्युतीय सेवालाई एकीकृत प्रणालीमार्फत् नागरिकहरूलाई सहजरूपमा सेवा पुऱ्याउन नागरिक एप्स सञ्चालनमा ल्याइएको छ ।
१९. मोबाइल एप र अनलाइनमा सरकारी सेवा
११.६३ स्थानीय तहको कार्य सम्पादनलाई सहज, सरल र प्रभावकारी बनाउन स्थानीय तहका सेवा र सूचना एवं तथ्याङ्कलाई आम नागरिकले मोबाइल एप्सबाट सहज रूपमा लिन सक्ने व्यवस्था गरिएको छ। स्थानीयतहमा सुशासन प्रर्वद्धन गर्न सहयोग पुयाउने उद्देश्यले स्थानीयतहका लागि तयार गरिएको कमन मोबाइल एप्स २०७७ फागुनसम्म ६६७ स्थानीयतहका वेबसाइटसँग अन्तर-आवद्धता कायम गरी सञ्चालनमा ल्याइएको छ।
११.६४ नेपाल सरकारका विभिन्न निकायका २२ अनलाइन सेवालाई नेशनल पोर्टलमा आवद्ध गरी डिजास्टर रिकोभरि सेन्टरमा व्याकअप राखिएको छ ।
११.६५ सरकारी निकायका सूचना प्रविधि प्रणालीमा हुने साइबर सुरक्षा जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न ५१ सरकारी कार्यालयका वेबसाइट र सूचना प्रविधि प्रणालीहरूको सूचना प्रविधि प्रणाली अडिट (IT Security Audit) सम्पन्न भएको छ ।
२०. एफएम रेडियो र टेलिभिजन
११.६६ २०७७ फागुनसम्म सञ्चालन अनुमति पाएका ९४६ एफ.एम. र १७४ टेलिभिजन मध्ये ६७२ एफ.एम. रेडियो र ५१ टेलिभिजन नियमित सञ्चालन/प्रशारणमा रहेका छन् ।

२१. मोबाइल फोन
११.६७ चालु आर्थिक वर्षको फागुनसम्म ३ करोड ८२ लाख १२ हजार ८ सय मोबाइल फोन प्रयोगमा रहेका छन्। २०७७ असारसम्म यो संख्या ३ करोड ७० लाख ७३ हजार ६ सय ६२ रहेको थियो। आधारभूत (फिक्स्ड) टेलिफोनको संख्या कम हुँदै गएको छ ।


२२. इन्टरनेट प्रयोगकर्ता
११.६८ २०७७ को फागुनसम्म टेलिफोन घनत्व १३०.३ प्रतिशत र इन्टरनेट ग्राहक घनत्व ८२.८ प्रतिशत पुगेको छ । २०७७ असारसम्म टेलिफोन घनत्व १२६.७ प्रतिशत र इन्टरनेट घनत्व ७३ प्रतिशत रहेको थियो । गत वर्ष ७३ प्रतिशत जनसङ्ख्यामा इन्टरनेट सेवा पुगेकोमा चालु आर्थिक वर्षमा बृद्धि भई ८२.८ प्रतिशत जनसंख्यामा यो सेवा पुगेको छ।

२३. चलचित्र पर्यटन
११.६९ चलचित्र पर्यटनको प्रवर्द्धन गरी नेपाललाई अन्तर्राष्ट्रिय छायाङ्कनस्थलको रूपमा विकास गर्दै आर्थिक वृद्धिमा टेवा पुर्याउने उद्देश्यले देशका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदा रहेका स्थलहरू र अद्वितीय स्थानहरूको फोटोचित्र सहित परिचय समावेश भएको लोकेशन प्रोडक्शन गाईड (पुस्तक) प्रकाशन गरी प्रचार प्रसार बढाइएको छ ।
२४. गोरखापत्र
११.७० गोरखापत्रको प्रकाशन प्रदेशस्तरमा पुऱ्याउने उद्धेश्यअनुरूप प्रदेश नम्वर १ र प्रदेश नम्वर २ का लागि विराटनगर तथा लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि कोहलपुरबाट क्षेत्रीय प्रकाशन शुरु भएको छ । यसबाट गोरखापत्रको वितरण पहुँच ५ प्रतिशतले बढेको छ । गोरखापत्र संस्थानको स्थापना कालदेखि २०६२ सालसम्मका अंकहरूको डिजिटल आर्काइभिङ्ग गर्ने कार्य भइरहेको छ ।
२५. पत्रपत्रिका
११.७१ २०७७ फागुनसम्म जम्मा ७.८७४ पत्रपत्रिका दर्ता भएका छन्। दर्ता भएका पत्रपत्रिकामध्ये सबैभन्दा धेरै साप्ताहिक २.९५६ र सबैभन्दा कम चौमासिक ३९ रहेका छन्। दैनिक ७४४ र मासिक २३४७ रहेका छन् ।


११.७२ नेपाली, अंग्रेजी, नेपाली/अंग्रेजी, नेवारी, संस्कृत, हिन्दी, मैथिली, भोजपूरी, ऊर्दु, तिब्बती, थारू, लिम्बू, डोटेली, तामाङ, राई र अन्य गरी कुल १५ भन्दा बढी भाषाका पत्रपत्रिका दर्ता भएका छन्। भाषागत रूपमा सबैभन्दा बढी नेपाली भाषाका पत्रपत्रिका ६७ प्रतिशत छन्। नेपाली/अंग्रेजी भाषाका १८ प्रतिशत र अंग्रेजी भाषाका ७ प्रतिशत सहित अन्य भाषाका पत्रपत्रिका तुलनात्मक रूपमा कम रहेका छन्।

