प्रधानमन्त्री ओलीविरुद्धको प्रोपगन्डाबाट पत्रकारले सिक्नुपर्ने ७ पाठ

प्रधानमन्त्री ओलीविरुद्धको प्रोपगन्डाबाट पत्रकारले सिक्नुपर्ने ७ पाठ

  • बैशाख ४, २०७८ शनिबार २१:१५

भारतीय गुप्तचर संस्था 'रअ' सँग जोडेर प्रधानमन्त्री केपी ओलीविरुद्ध हालै भएको प्रोपगन्डाबाट के सिक्नुपर्छ ? दैनन्दिन समाचार रिपोर्टिङ, लेखन तथा प्रकाशनमा संलग्न पत्रकारका रुपमा यो घटनाबाट के शिक्षा लिन सकिन्छ ?

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था Research and Analysis Wing (R&AW) का प्रमुख सामन्त गोयलबीच भएको भनिएको ४ बुँदे सहमतिबारे समाचार लेखेका  उज्यालो नेटवर्कसहितका अनलाइनलाई प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण सोधेको छ । काउन्सिलमा सूचीकरण नभएका दुई अनलाइनलाई त नेपालमा खोल्नै नमिल्ने बनाउन काउन्सिलले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार नै गरेको छ । उता प्रहरीले उज्यालो नेटवर्कका प्रधान सम्पादक बुद्ध लोप्चन, समाचार दैनिकका सम्पादक बबिन शर्मासहितलाई पक्राउ गर्ने उद्देश्यसहित उनीहरूका घर तथा कार्यालयमा खानतलासी गरिरहेको नेपाल पत्रकार महासंघले जनाएको छ । 

‘समाचारमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपाल मार्फत निरुपण खोज्नुपर्नेमा त्यसलाई बेवास्ता गर्दै प्रहरीबाट गरिएको खानतलास र धम्कीको घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध सरकार निरन्तर अनुदार भएको पुष्टि गरेको छ’, महासंघको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रहरीको यो ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ । र, नेपाल सरकार र नेपाल प्रहरीलाई आफ्नो व्यवहार तत्काल सुधार्न तथा पत्रकार संवैधानिक अधिकारको सम्मान गरी यस किसिमका घटना नदोहोर्‍याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ।’ 

प्रेस काउन्सिलले ‘सञ्चारमाध्यमको जिम्मेवारीबोधको समेत ख्याल नगरी तथ्यहीन, पुष्टि नभएका सामग्री सम्प्रेषण गरी सनसनीखेज गराउने उद्देश्यले जनमानसमा भ्रम पार्ने, सार्वचौमसत्ता, राष्ट्रियता र स्वाधिनताविपरीत, सामाजिक सद्‍भावमा खलल पुग्ने, अन्तर्राष्ट्रिय सम्बन्ध एवं भाइचारको सम्बन्धमा गम्भीर असर पुग्ने गरी भ्रमपूर्ण सामग्री सम्प्रेषण भएको देखिएकोले ती सञ्चारमाध्यमहरूबाट पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४(२), ४(६) र ५(१) उल्लङ्घन भएको ठहर गरेको छ । हेर्नुस् काउन्सिलको पूरा विज्ञप्ति

काउन्सिलको स्पष्टीकरणको जवाफ सम्बन्धित अनलाइनहरूले अवश्य देलान् । यदि उनीहरूले आचारसंहिता उल्लंघन गरेका रहेछन् भने कसूरअनुसारको कारबाही गर्ने अधिकार काउन्सिलसँग छँदैछ । त्यसैले समाचार छापिएको विषयलाई फौजदारी मुद्दाजस्तो गरी पत्रकारलाई धरपकड गर्न भने पाइँदैन । कसैलाई मर्का परे कानुनी उपचार खोज्न सकिन्छ । तर अमूक शक्तिको दबाब वा प्रभावमा कुनै अनलाइन बन्द हुने गरी पक्राउ लगायतका गतिविधिहरू गर्न पाइँदैन । 

अहिलेको प्रकरणमा यति व्यक्तिगत मत राख्दै भारतीय गुप्तचर संस्था 'रअ' सँग जोडेर प्रधानमन्त्री केपी ओली विरुद्ध हालै भएको प्रोपगन्डाबाट पत्रकारले के सिक्नुपर्छ ? यो घटनाबाट दैनन्दिन समाचार रिपोर्टिङ, लेखन तथा प्रकाशनमा संलग्न पत्रकारका रुपमा के शिक्षा लिन सकिन्छ ? यो सामग्रीमा चर्चा गरौँ ।  

१) प्रोपगन्डा चिनौँ, ‘फेक न्युज’ बाट बचौँ

पत्रकारका रुपमा तपाईँको प्रमुख काम हो, तपाईँले लेख्दै गरेको समाचार सामग्रीलाई कसैले आफ्नो प्रोपगन्डा वा दुश्प्रचारको हतियार पो बनाउँछ कि भनेर सचेत हुने । तपाईँको समाचार जो सुकैबाट प्रभावित हुन सक्छ, अमूक स्वार्थसमूहको अफवाहको शिकार बन्न सक्छ । जस्तो, तपाईँले लेख्दै गरेको समाचारको स्रोत, तपाईँको सम्पादक वा तपाईँको नजिकको साथी जसले पनि तपाईँलाई प्रभावमा पार्न सक्छ । तपाईँले आस्था राख्ने राजनीतिक विचार वा दल वा दलका नेताको त कुरै गर्न परेन । झन् तपाईँले भेटिरहने, संगत गरिरहने र एउटा विश्वासको सम्बन्ध बनाइसकेको मानिसले त झन् सजिलै तपाईँले लेख्ने विषय वा समाचार सामग्रीलाई प्रभावित पार्न सक्छ । खासगरी चरम राजनीतिक विवादका बेला नेताहरूले वा नेतानिकटका मानिसहरूले विपक्षीहरूलाई तह लगाउने माध्यमका रुपमा मिडिया, पत्रकार र समाचारलाई उपयोग गर्न खोज्छन् । यसका कयौँ उदाहरण नेपाली पत्रकारितामा पनि भेटिन्छन् । उनीहरूले पत्रकारलाई प्रयोग गरेर आफ्नो स्वार्थरक्षा हुने गरी सूचना दिन्छन् । एउटा पत्रकारका रुपमा हाम्रो भूमिका के हो भने, त्यो सूचनालाई जस्ताका तस्तै छाप्ने होइन बरु त्यसका आधारमा विभिन्न पाटापक्षहरू पनि समेटेर पाठकलाई सकभर सही समाचार दिने हो ताकि पाठक, स्रोता वा दर्शकले तपाईँले लेखेको समाचारका आधारमा सही धारणा बनाउन सकुन् । यसो गर्नु त कता कता जसले जे भन्यो, त्यही हल्लालाई पत्याउने र पाठकलाई दिग्भ्रमित बनाउने गरी समाचार सामग्री दिने गर्न थाल्यौँ भने न पत्रकारिता पेशाको गरिमा बच्यो न त मिडियाको विश्वसनीयता नै रह्‍यो । त्यसैले ‘फेक न्युज’ बाट बचौँ, प्रोपगन्डा चिनौँ । 

२) पीत पत्रकारिता नगरौँ

तपाईँले पत्रकारिता गर्ने हो, पीत पत्रकारिता होइन । सन् १८९० को दशकमा अमेरिकामा अभ्यास भएको ‘यल्लो जर्नलिज्म (Yellow Journalism)’ लाई आज पनि खराब पत्रकारितालाई इङ्गित गर्नुपर्दा सन्दर्भिक ठानिन्छ । पाठकको ध्यानाकर्षण गर्न सन्सनीखेज शीर्षक, अध्ययन अनुसन्धानबिनाका समाचार सामग्री, पर्याप्त तथ्य प्रमाणबिना विषयबस्तुको अतिरञ्जीत प्रस्तुति यसका केही विशेषता हुन् । जब हामी तत्काल समाचार ब्रेक गर्ने र भिजिटर ल्याउने ध्याउन्नमा हुन्छौँ, त्यस्तो अवस्थामा हामी समाचारलाई चाहिने सबै विषय खोज्न भन्दा पनि जे जति छ, त्यही दिएर पहिलो हुने दौडमा लाग्छौँ । यस्तो अवस्थामा पीत पत्रकारिताको खतरा रहन्छ किनभने हतारोमा जानेर वा नजानेर घटनाबारे सबै पक्ष समेट्नु भन्दा पनि हामी अपुरा, अपर्याप्त र टुक्राटुक्री सामग्री दिन थाल्छौँ ।  त्यसैले यसो नगरौँ, पत्रकारिता गरौँ ।        

३) सन्देह गरौँ, सत्यापन गरौँ

पत्रकारले आधारभूत रुपमा गर्नैपर्ने दुई कुरा छन् । पहिलो, सन्देह गर्नु । दोस्रो, सत्यापन गर्नु । तपाईँलाई कसैले केही सूचना दियो । के तपाईँ हुबहु पत्याउनुहुन्छ ? हुनसक्छ कि समाचारको स्रोत निकै विश्वसनीय छ । तर पनि तपाईँले शंका गर्नुपर्छ- कतै यो झुटो हो कि ? मानौँ, कसैले तपाईँलाई प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था (R&AW) का प्रमुखबीच भएको सहमति पत्रको प्रतिलिपि उपलब्ध गरायो । तपाईँ के गर्नुहुन्छ ? लौ, खतरै कुरा भेटेँ भनेर प्रकाशित गरिहाल्नुहुन्छ कि त्यो पत्रमा के लेखेको छ, स्रोतले तपाईँलाई नै उक्त सहमति पत्र किन उपलब्ध गरायो ? स्रोतको स्वार्थ वा उद्देश्य के हो ? यति पनि शंका गर्नुभएन भने ढुक्क हुनुस्, तपाईँको समाचार अरु कसैको प्रोपगन्डाको शिकार हुन्छ । यसको प्रभाव हजारौँ, लाखौँ पाठकको मस्तिस्कसम्म पर्न सक्छ । त्यसो नहोस् भन्नका लागि तपाईँले गर्नुपर्ने काम हो- सूचनाको सत्यापन अर्थात् भेरिफिकेसन । तपाईँले पाएको सूचना सही हो कि होइन, सही हो भने पुष्टि कसरी हुन्छ ? कुन निकाय वा अधिकारीले यसको आधिकारिकता पुष्टि गर्न सक्छ ? पुष्टि नगरी वा बिनाप्रमाण त्यस्तो सूचनालाई समाचार सामग्रीका रुपमा पस्किँदा त्यसको असर के हुन सक्छ ? यी र यस्ता प्रश्नको जवाफ तपाईँले खोज्नुभयो र समाचार सामग्री तयार पार्नुभयो भने पत्रकारका रुपमा तपाईँ फस्ने खतरा कम हुन्छ । त्यसैले  स्रोतबाट प्राप्त सूचना वा कागजातको आधिकारिकता परीक्षणबिना हचुवामा समाचार नलेखौँ । सकेसम्म दोहोरो सत्यापन गरौँ, एउटै स्रोतमा मात्र भर नपरौँ ।  

४) सत्तालाई सही प्रश्न गरौँ

पत्रकारितामा प्रश्नको जे भूमिका हुन्छ, त्यलाई सही प्रश्नले मात्र पूरा गर्न सक्छ । र, त्यो प्रश्न पनि सही ठाउँमा हुनुपर्छ । अर्थात्, प्रश्न सत्तामाथि गर्नुपर्छ । अहिलेको सन्दर्भमा प्रश्न प्रधानमन्त्री केपी शर्मा ओली र उनका हर्कतमाथि गर्नुपर्छ न कि आरोपित गरेर खुइल्याउने । हामी पत्रकार वा मिडियाकर्मी मर्यादित हुनुपर्छ भन्नुको अर्थ के होइन भने प्रधानमन्त्री ओली सन्देहको घेराभन्दा बाहिर छन् । पक्कै छैनन् । किनभने उनले रअका प्रमुख गोयलसँग खुसुक्क भेटेका हुन् । कम्तिमा भेटअघि यसबारे सरकारले औपचारिक रुपमा केही बोलेको थिएन । जब भेट सकियो, गोयल फर्किए र गोप्य रुपमा भएको भेटबारे सार्वजनिक टिप्पणीहरू तेर्सिए, तबमात्र प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओली र गोयलबीच भेट भएको स्वीकारेको थियो । भेटमा के कुराकानी वा सम्झौता सहमति भए भन्नेबारे सार्वजनिक रुपमा सरकारका तर्फबाट केही जानकारी दिइएको थिएन । यतिसम्म कि तत्कालीन नेकपासमेत यस विषयमा अनभिज्ञ थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली र गोयलबीच भेट भएको जानकारीसहित प्रेस नोट जारी गर्नेबाहेक सरकारका तर्फबाट कुनै जानकारी गराइएको थिएन । परराष्ट्र मामिलाका जानकारहरूले पनि उक्त भेटलाई कूटनीतिक मर्यादाविपरीत भनेका थिए । हामीले प्रश्न गर्नुपर्ने यहीँनेर थियो/हो । तर हामी कि कसैलाई बोक्नतिर लाग्छौँ कि कसैलाई खुइल्याउनतिर, अनि हाम्रो निश्पक्षता वा मुख्य भूमिका बिचमै कतै गायब हुन्छ । र त हामीलाई अरुले आफ्नो मादल बनाउँछन्, बजाउँछन्, ठटाउँछन् र नाच्छन् । कसैलाई बोक्नु र कसैलाई ठोक्नुलाई व्यावसायिकताको आवरणमा लुकाएर अमूक स्वार्थ समूह वा शक्तिको अफवाहको साधन बन्यौँ भने हामी प्रश्न गर्ने भूमिकाबाट च्यूत हुन्छौँ भन्ने कुरा नबिर्सौँ, सत्ता र शक्तिलाई प्रश्न गरौँ । संक्षिप्तमा भन्दा पत्रकारिता गरौँ । 

५) अरुका समाचारबाट बित्थामा प्रभावित नहोउँ 

चाहे सम्वाददाता होस् वा सम्पादक हामी पत्रकारको समस्या के छ भने अरुले गरेका स्टोरीबाट हामी तुरुन्त प्रभावित भइहाल्छौँ । अनलाइन पत्रकारितामा यो प्रवृत्ति बढी देखिन्छ । लौ, फलानोले त खतरै समाचार लेखेछ जस्तो गरेर अरुले गरेको समाचार पूरा पढ्नुअघि नै त्यही समाचार लेख्न हतारिन्छौँ । सम्पादकहरू पनि फलानोले यो समाचार राखेछ, हामी पनि गरौँ भन्छन् । नेपालमा यत्तिका अनलाइन मिडिया हुँदा पनि सबैका सामग्री उस्तैउस्तै हुनुको एउटा कारण यो पनि हो । अरुका समाचार पढ्नुपर्छ, नपढी हुन्न । तर ती समाचार तपाईँका लागि सन्दर्भ सामग्री वा सूचना हुन् । तपाईँको काम त पुरै बाँकी छ । अर्को कुनै मिडियामा प्रकाशित समाचार साँच्ची नै महत्त्वपूर्ण तपाईँलाई लाग्छ भने त्यसमा रहेका सूचनाका आधारमा तपाईँले अब थप तथ्यहरू जुटाउनुपर्‍यो, सत्यापन गर्नुपर्‍यो, नयाँ एङ्गल खोज्नुपर्‍यो, समाचार प्रस्तुतिकरणको सिर्जनात्मक शैली अपनाउनुपर्‍यो । तर हामी त कस्ता भयौँ भने अरु कसैले केही प्रकाशित गर्‍यो र त्यो खतरै लाग्यो भने खरुक्क उक्त सामग्री कपी पेस्ट गर्‍यो, आफ्नो अनलाइनमा राख्यो । ओली र गोयलबीच भएको भनिएको ४ बुँदे सम्झौताका सन्दर्भमा पनि अधिकांश अनलाइनहरूले पाएको सम्झौताको फोटोमा उज्यालो नेटवर्कको लोगो छ । ती सबै अनलाइनले उज्यालो नेटवर्कको समाचार आआफ्ना अनलाइनमा राखेको देखिन्छ । हामी पत्रकारको काम अरुका सामग्रीजस्ताका तस्तै  राख्ने, त्यसैलाई भयंकर हो जस्तो गरी प्रस्तुत गर्ने तर पछि आफ्नो मुर्खताप्रति चुकुचक गर्दै पछुताउने होइन । सकेसम्म तथ्यप्रमाण जुटाएर समाचार लेख्ने, राम्रो गर्ने कोसिस गर्ने र गल्ती भइहालेमा गल्ती सच्याउने तथा भूलसुधार गर्ने हाम्रो काम हो । 

६) सही उपचार खोजौँ

गल्ती भइसक्यो भने पछाडि फर्केर फेरि गल्ती नगर्न सकिन्छ ? सकिन्न । त्यसैले अब खोज्ने भनेको सही उपचार हो । पत्रकारितामा न यो पहिलो गल्ती हो, न अन्तिम । ‘हतारको साहित्य’ पनि भनिने पत्रकारितामा जानेर नजानेर कयौँ गल्तीहरू भइरहन्छन् । हामीले गल्तीबाट सिकेर पुनः गल्ती नगर्न प्रयत्न गर्ने हो । अब सही उपचार के हुन्छ त ? नेपाल पत्रकार महासंघका अनुसार प्रधानमन्त्री र रअ प्रमुख गोयलबीच भएको भनिएको सहमति पत्र सम्बन्धी समाचार प्रकाशित गर्ने अनलाइन उज्यालो नेटवर्कका प्रधान सम्पादक बुद्ध लोप्चन, समाचार दैनिकका सम्पादक बबिन शर्मा लगायतलाई प्रहरीले पक्राउ गर्ने उद्देश्यले उनीहरूको घर खानतलासी गरेको छ । प्रेस काउन्सिलले स्वअनुगमन गरी ७ वटा अनलाइनलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ भने दुईवटा अनलाइनलाई त नेपालमा खुल्नै नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको छ । स्पष्टीकरण सोध्नेसम्म ठिकै छ तर काउन्सिलमा सूचीकरण भएन वा सरकारी निकायमा दर्ता भएन भनेर जुनसुकै अनलाइनलाई बन्द गर्ने हो भने यसले अभिव्यक्ति तथा वाक स्वत्नत्रतामा भोलि कस्तो असर पर्ला ? के यो सही उपचार भयो ? त्यसैगरी पत्रकारका घरघरमा खानतलासी गर्ने, समाचार कक्षमा सुरक्षाकर्मी लगाएर धम्क्याउने कार्यलाई सही मान्न सकिन्न । उसोभए कसो गर्ने त ? पहिलो, हामी पत्रकार आफ्नो काममा गम्भीर हुने । यसमा हामीले माथि पर्याप्त चर्चा गरिसक्यौँ । दोस्रो, समाचारमा चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी दिन सकिन्छ वा कसैलाई समाचारबाट कुनै प्रकारको हानी नोक्सानी भएको लागेमा अदालत जान सक्छ । नत्र समाचार लेखेको विषयलाई फौजदारी कसूरसरह पत्रकार पक्राउ गर्न थालियो भने यसको असर गम्भीर बन्न सक्छ किनभने आज बुद्ध लोप्चन वा बबिन शर्माहरूलाई खाने बाघले भोलि जो सुकैलाई खान सक्छ । नत्र बन्दुक बोकेर उनीहरूको घर खानतलासी गर्ने अधिकार प्रहरीले कहाँबाट पायो ? जुन देशमा सत्ताको बागडोर समातेर बसेका प्रधानमन्त्री आफैँ अपारदर्शी छन्, बाहिर बाहिर छिमेकी मुलुकविरुद्ध आगो ओकलेर राष्ट्रवादी देखिन खोज्छन् र भित्रभित्र छिमेकी मुलुकको गुप्तचर निकायका प्रमुखलाई गोप्य रुपमा भेट्छन्, त्यहाँ मिडिया वा पत्रकार मात्र जिम्मेवार भए सबथोक ठिक हुन्छ जस्तो ठान्नु पनि सही होइन । हो, हामी मिडिया र पत्रकार जिम्मेवार हुनुपर्छ तर सँगै शासकहरू पनि जवाफदेही हुनुपर्छ, पारदर्शी हुनुपर्छ ।  

७) सत्ताको दुश्प्रचार बुझौँ, सत्य खोजौँ

भन्न सजिलो छ- उनीहरूले दुश्प्रचार गरे, फेक न्युज फैलाए । तर जुन देशमा सत्तासीनहरू यति अपारदर्शी छन्, जवाफदेहिताबिहीन छन्, त्यहाँ कसरी भन्न सकिन्छ कि पत्रकारले दिएको कुरा साँच्चै झूट हो र सबै झूट हो ? सत्तास्वार्थका लागि हाम्रा नेताहरू जे पनि गर्न तयार हुँदैनन् भनेर कसरी विश्वास गर्ने ? हो, यतिचाहिँ भन्न सकिन्छ कि कम्तीमा प्रधानमन्त्रीले छिमेकी मुलुकको खुफिया एजेन्सीका प्रमुखसँग एउटै कागजमा हस्ताक्षर गर्दैनन् । जब आफूमाथि विश्वासको संकट गहिरिँदै गयो, तब प्रधानमन्त्री ओली र सरकार निकटले प्रोपगन्डा फैलाउन थाले । प्रधानमन्त्रीकै अभिव्यक्तिमाथि तथ्यजाँच भएका छन् । नत्र आफैँले चुच्चे नक्सा सार्वजनिक गरी ती नक्सा छापिएका पाठ्यपुस्तकहरूको वितरण सरकारले किन रोक्यो ? एकातिर मोदीसँग मेरो ‘वेभलेन्थ’ मिल्छ पनि भन्ने, अर्कोतिर संसदमा ‘सिंहमेव जयेते’ भनेर छिमेकीलाई उत्तेजित बनाउने हाम्रा प्रधानमन्त्री नै हुनुहुन्छ । छिमेकीसँग सम्बन्ध सुध्रियो पनि भन्ने, देशभित्रकै शक्तिहरूलाई अराष्ट्रिय देखाउने र आफ्नो सत्ता जोगाउन उनै शंकास्पद व्यक्तिहरूको सहयोग पनि लिने । अरिङ्गाल सेना तयार पार्ने र आफूप्रति आलोचनात्मक मिडियाहरूलाई गालीगलौज गर्ने उहाँका पुरानै प्रवृत्ति हुन् । त्यसैले मिडियामार्फत् हुने अनेक प्रोपगन्डाका लागि सत्ताको आडमा हुने ती प्रोपगन्डाहरू पनि जिम्मेवार छन् । जब मुल फोहोर हुन्छ तब खोलाको पानी कसरी सङ्ग्लो होस् ? 

सत्तासीनमात्र होइन, सत्ताबाहिर रहेकाहरू पनि प्रोपगन्डालाई मौकाका रुपमा प्रयोग गरेर अर्को दुश्प्रचारमा लागिहाल्छन्, पत्रकारले बुझ्नुपर्छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रसंग उल्लेख नगरी शुक्रबार दिएको सार्वजनिक अभिव्यक्ति एउटा उदाहरण हो । “हिजोआज तपाईँहरूले समाचारहरू हेर्नुभयो भने देशलाई बन्दकी राख्ने राष्ट्रिय हीतविपरीतका गतिविधि गर्ने काममा स्वयम् सरकारको नेतृत्व गर्ने प्रमुखहरू नै लागेका खबरहरूले नेपाल र नेपाली जनताको इज्जत प्रतिष्ठा, उनीहरूको आत्मसम्मान र राष्ट्रिय स्वाधिनता माथि प्रश्नचिह्न खडा गर्ने दुश्साहस भएको छ”, उनले भनेका छन् ।