जुलियन असान्जः आज सामान्य लागेको त्यो असाधारण संघर्ष

जुलियन असान्जः आज सामान्य लागेको त्यो असाधारण संघर्ष

फोटो: VOGUE
  • आषाढ १९, २०८२ बिहीबार १४:४५

जुलियन असान्जको जीवनका उतार चढाव र पत्रकारिताको भविष्यको कथा 


युद्धले थिलथिलो बनेको बगदाद ।

बिहानको समय ।

रोयटर्सका दुईजना पत्रकार अमेरिकी एफ–११७ बमवर्षक विमानले थिलथिलो बनाएको न्यू बगदादको एउटा विभिषिकाबीच उभिएका छन् । उनीहरूका आँखाले भ्याएसम्म चारैतिर बमले ध्वस्त बनाएको अकल्पनीय परिदृष्यको भयावहता छरपस्ट छ ।

बमको मारले ध्वस्त भएका घरका भग्नावशेषदेखि मानिसको शरीरका अंगहरूसम्म यत्रतत्र छरिएको छ । र, कानले ठम्याएसम्म मानिसको चित्कार गुञ्जिरहेको छ ।

उनीहरू भर्खरै खसालिएको बमले पुर्‍याएको क्षतिबारे रिपोर्टिङ गर्न निस्किएका थिए । त्यहाँ केही स्थानीयबासी र स्वास्थ्य स्वयंसेवकहरू गरी २३ जनाको टोली घाइतेको उद्धारमा खटिएको थियो । अचानक उक्त समूहमाथि ६० एमएमका गोली बर्सिन थाले ।

न घाइतेहरूको उद्धार भयो, न त उद्धारमा खटिएकाहरू नै बाँचे । रिपोर्टिङ गरिरहेका दुई पत्रकार र विद्यालय जान घरबाट निस्केका स्कुले केटाकेटी समेत मारिए । 

१२ जुलाई २००७ मा भएको यो घटना तब मात्र बाहिरियो, जब विकिलिक्स डट कम नामक वेबसाइटले ‘कोल्याटरल मर्डर’ शीर्षकको ३९ मिनेट १३ सेकेण्डको एउटा भिडियो सार्वजनिक गर्‍यो । 

collateral Murder.jpg

बगदादमा अमेरिकी सेनाले त्यहाँका स्थानीय नागरिकमाथि हेलिकप्टरबाट गोली बर्साएको सो भिडियो ५ अप्रिल २०१० मा विकिलिक्सले सार्वजनिक गरेको थियो । उक्त भिडियो सार्वजनिक गर्ने व्यक्ति हुन् – जुलियन असान्ज । जसमाथि पछि अमेरिकी सरकारले जासुसी ऐन (Espionage ACT–1917) सहित १८ वटा मुद्दा लगायो र १७५ वर्षको जेल सजाय तोक्यो ।

असान्ज २५ जुन २०२४ मा हिरासतमुक्त भएर घर फर्किए । यो कथा उनै असान्जबारे हो । पक्राउ परेसँगै विश्वभर उनी पत्रकार हुन् वा ह्याकर ? वा, उनी अभियन्ता हुन ? भन्ने बहस सिर्जना भयो । तर, उनी १२ वर्षपछि रिहा भएर घर फर्कदा पनि बहसले किनारा पाई सकेको छैन । जे भएपनि उनी इराकमा अमेरिकी सेनाले गरेको विवादास्पद सैन्य कारबाहीका आलोचक हुन भन्न सकिन्छ ।

पाठकलाई के चासो हुन सक्छ भने एउटा भिडियो सार्वजनिक गरेकै आधारमा १८ वटा मुद्दा र १७५ वर्ष कैद सजाय खेप्नु पर्ने गरिको त्यो भिडियोमा के थियो ? अमेरिकी सरकार त्यो भिडियो सार्वजनिक भएसँगै विश्वभर किन आलोचित भयो ? र, त्यो भिडियो सार्वजनिक गर्नु पछाडिको कथा के थियो ? आउनुस्, आज उनै असान्जको जन्मदिनको अवसर पारेर, त्यसबारे थप केही बुझौँ ।

बाल्यकालमै ह्याकिङ

अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको टाउन्सभिलमा क्रिस्टिन हकिन्स र जोन शिप्टनको सन्तानका रूपमा ३ जुलाई १९७१ मा जुलियन असान्जको जन्म भयो । जन्मनासाथ आमाबुबाले उनको नाम राखे– जुलियन पल हकिन्स । तर, उनले आमाबुबासँगै अस्ट्रेलियामा सातौँ गर्मी महशुस गर्न नपाई उनका आमाबुबाको पारपाचुके (डिभोर्स) भयो ।

Julian assange-childhood.jpg

पारपाचुकेपछि असान्जकी आमाले अस्ट्रेलियन अभिनेता ब्रेट असान्जसँग विवाह गरिन् । ब्रेटले जुलियनलाई आफ्नो छोरा स्विकारेपछि जुलियन हकिन्सबाट उनी जुलियन असान्जमा फेरिए । तर ब्रेटसँगको सम्बन्ध पनि सुमधुर हुन नसकेपछि असान्जकी आमाको तेस्रो व्यक्तिसँग सम्बन्ध भयो । उक्त व्यक्ति अत्यन्त हिंस्रक भएको अदालती कागजातहरूले देखाउँछन् । 

पारिवारिक समस्या र छोराको लालनपालनको दोहोरो बोझले गर्दा उनकी आमाले निकै संघर्ष गर्नुपर्‍यो । एउटा सहरदेखि अर्को सहर र एउटा राज्यदेखि अर्को राज्य गर्दै हिँड्नुपर्दा असान्जले आफ्नो बाल्यकालको अध्ययन फरक–फरक १२ विद्यालयबाट पुरा गरे ।

आमा  काममा व्यस्त हुन थालेपछि असान्ज १३/१४ वर्षकै उमेरदेखि कम्प्युटरसँग खेल्न थाले । खेल्दा–खेल्दै कम्प्युटरप्रतिको उनको मोह बाल्यकालमै फक्रिन थाल्यो । कम्प्युटरका कोड क्र्याक गर्न सिपालु असान्ज ‘मेन्डाक्स’ उपनाम प्रयोग गरेर ‘इन्टरनेशनल सबभर्सिभ्स’ नामक समूहका सदस्य बने । १९ वर्षकै उमेरमा असान्जले ‘इन्टरनेशनल सबभर्सिभ्स’ समूहसँग मिलेर नासा र पेन्टागनको आन्तरिक सिस्टम ह्याक गर्न तर्फ लागे ।

तर, त्यसअघि नै उनले अमेरिकी जर्नेलहरूको इमेलहरू पढ्ने गरेको स्विकारेका छन् । मलेसियामा आयोजित ‘ह्याक इन द बक्स सेक्युरिटी कन्फ्रेन्स’ मा असान्जले भनेका थिए, ‘म अस्ट्रेलियामा किशोर ह्याकरका रुपमा प्रख्यात थिएँ । र, १७ वर्षकै उमेरदेखि मैले अमेरिकी जर्नेलहरूको इमेल पढ्दै आएको छु ।’ 

विवाह र पहिलो गिरफ्तारी

ह्याकिङको ‘डार्क वल्र्ड’ मा प्रवेश गरी जर्नेलहरूको इमेल पढ्ने ताका उनी जम्मा १७ वर्षका थिए । त्यति नै बेला उनले आफू भन्दा एक वर्ष कान्छी टेरेसासँग बिवाह गरे र छोराको बाबु बने । छोराको जन्मसँगै असान्जको परिवारमा खुसीयाली छायो तर अर्कोतर्फ प्रहरीले नासाको सिस्टम ह्याक गर्ने व्यक्तिको खोजीलाई तीब्र बनाइरहेको थियो ।

अन्ततः सन् १९९१ को एक साँझ मेलबर्नस्थित उनको घरमा अस्ताउँदै गरेको सूर्यका किरणसँगै अस्ट्रेलियन प्रहरी प्रवेश गर्‍यो ।  प्रहरीले घरमा छापा मार्दैछ भन्ने पूर्व सूचनाका आधारमा त्यतिबेला उनी जोगिए । इन्टरपोलको सूचनाका आधारमा उनको डिजिटल फुटप्रिन्टलाई प्रहरीले निकै गहिरिएर अनुसन्धान गरिरहेको थियो ।

ह्याकिङ डिस्कहरू मौरीको घारमा लुकाएकै कारण उनी पक्राउ पर्नबाट त जोगिए तर प्रहरीले घरमा पाइला टेकेको भनेर उनकी पत्नी घरबाट बाहिरिइन् । टेरेसाले साथ छोडेसँगै असान्ज एक्लिए । न उनी आमाको घर जान सक्थे न टेरेसा फर्केर आइन् ।

प्रहरीको निरन्तर निगरानीमा परिरहेका असान्जमा मानसिक समस्या देखिन थाल्यो । उनी सन् १९९२ मा मनोचिकित्सा वार्डमा भर्ना भए ।

प्रहरी र उनकाबीच धेरै समय लुकामारी चलेन । विभिन्न प्रमाणका आधारमा प्रहरीले उनलाई जुलाई १९९४ मा पक्राउ गर्‍यो । असान्जलाई साइबर अपराधका ३१ वटा आरोपमा मुद्दा चलाइयो । ती मध्ये धेरैलाई असान्ज स्वयंमले स्विकारे ।

julian assange with his son.jpg

प्रहरीले उनीमाथि २९० वर्ष कैद सजायको मागसहित मुद्दा चालायो । असान्जले गरेको ह्याकिङ हानिकारक नरहेको ठहर गरी न्यायालयले सामान्य जरिवानासहित डिसेम्बर १९९६ मा रिहाईको आदेश दियो । यता मुद्दाको छिनोफानो पनि भयो, उता पत्नीसँगको सम्बन्ध पनि टुङ्गियो । असान्ज र टेरेसाले पारपाचुके गर्ने निर्णय गरे ।

टेरेसासँगको पारपाचुकेपछि असान्ज आफ्नो अध्ययनलाई निरन्तरता दिन सेन्ट्रल क्विन्सल्याण्ड विश्वविद्यालयमा भर्ना भए । त्यहाँ उनले प्रोग्रामिङ, गणित, र भौतिकशास्त्रको अध्ययन गरे । तर, निरन्तरता दिन सकेनन् । पुनः सन् २००३ देखि २००६ सम्म उनले मेलबर्न विश्वविद्यालयबाट सोही विषयलाई निरन्तरता दिने प्रयत्न गरे तर त्यसलाई पनि पूर्णता दिन सकेनन् ।

तर, असान्जले मेलबर्न विश्वविद्यालयमा ‘पजल हन्ट’ परम्पराको थिति बसाए, जुन म्यासाच्युसेट इस्चिट्युट अफ टेक्नोलोजी (एमआईटी) को ‘एमआईटी मिस्टरी हन्ट’ को नमूनामा आधारित थियो । यसैकारण मेलबर्न विश्वविद्यालयमा आज पनि असान्जको उत्तिकै सम्मान छ ।

विकिलिक्सको जन्म र प्रभाव

औपचारिक अध्ययनकै क्रममा असान्जले सन् २००६ मा ‘विकिलिक्स’ को स्थापना गरे । साथीहरूको सहयोगमा खोलिएको विकिलिक्सको सल्लाहकार बोर्ड सदस्य बने उनी । भ्रष्टाचार र अनियमितता विरुद्धका गोप्य र संवेदनशील दस्तावेज तथा प्रमाणहरू खुलासा गर्ने प्रतिवद्धतासहित डिसेम्बर २००६ मा विकिलिक्सले पहिलो प्रकाशन गर्‍यो । पहिलो प्रकाशनमा असान्जले पाँच पृष्ठको निबन्ध प्रकाशित गरे, जसमा विकिलिक्सको उद्देश्यबारे उल्लेख गरिएको छ ।

पत्रकारिताको नयाँ अभ्यासका रुपमा उदाएको विकिलिक्सले भ्रष्टाचार र अनियमितता विरुद्धको प्रमाण सार्वजनिक गरे पनि त्यसलाई व्यसवायिक रुपमा अघि बढाउन सहज थिएन । विकिलिक्सलाई व्यवसायिक ढंगले सञ्चालन गर्नका लागि उनले सन् २००७ देखि २०१० सम्म अफ्रिका, एसिया, युरोप र उत्तर अमेरिका विभिन्न देशहरूको भ्रमण गरे ।

भ्रमणकै क्रममा उनले विभिन्न देशका भ्रष्टाचार र मानवअधिकार विरोधी गतिविधिको दस्तावेज सार्वजनिक गरी खुलासा गर्दै गए । त्यसैबीच उनले आफूलाई मानवअधिकारको पक्षमा वकालत गर्ने पत्रकारका रुपमा उभ्याउन सफल भए । यससँगै विश्वभरका मानिसले उनलाई चिन्न र पच्छ्याउन थाले । विकिलिक्सलाई सहयोग गर्ने स्वयंसेवकको समूह पनि विश्वभर विभिन्न ढंगले सक्रिय हुन थाल्यो । यसैबीच असान्ज विकिलिक्सका प्रधान सम्पादक भए ।

Julian-Assange-military-documents-WikiLeaks-Australian-press-July-26-2010.jpg

भ्रमणकै क्रममा डिसेम्बर २००७ मा जर्मनीको बर्लिनमा आयोजित ‘क्याओस कम्प्युटर क्लब’ सम्मेलनमा असान्जले आफ्ना अति समर्थकहरू भेटे । ड्यानियल डोम्सचेइट बर्ग र जेकब एपलबाउम तिनैमध्ये केही नाम हुन् । 

विश्वभरबाट पाएको समर्थन, मित्रहरूको बढ्दो दायरा र स्वयंमसेवकको संख्यामा देखिएको वृद्धिसँगै असान्जले विकिलिक्समार्फत यमनमा भएको ड्रोन आक्रमण, अरब राष्ट्रका भ्रष्टाचार, केन्यामा प्रहरीद्वारा गरिएको गैरन्यायिक हत्या, सन् २००८ मा तिब्बतमा भएको विद्रोह र पेरुमा पेट्रोगेट तेल घोटालालगायतका विश्वका ठूला भ्रष्टाचार र मानवअधिकार हननका घटनाको खुलासा गरे ।

विश्वभरका आम मानिससँगै असान्जलाई विश्वभरका केही महत्त्वपूर्ण मिडियाहरूले पनि साथ दिन थाले । उनले गरेका खुलासाहरू विश्वभरका मिडियामा प्रकाशित हुँदै गर्दा सबै भन्दा पहिले बेलायतको द गार्डियन, सन्डे टाइम्स, अमेरिकाको न्युयोर्क टाइम्स, वालस्ट्रिट जर्नल जस्ता पत्रिकामा प्रकाशित हुने गर्थ्यो ।  

सन्डे टाइम्सका पत्रकार जुडिथ टाउन्डको सहयोगमा असान्जले सेप्टेम्बर २००८ मा केन्यामा भएको राजनीतिक हत्याको रिपोर्टिङ गरे । यसै रिपोर्टिङका आधारमा असान्जले २००९ को ‘एमनेस्टी इन्टरनेशनल न्यु मिडिया’ पत्रकारिता सम्मान पाए । यससँगै विकिलिक्सको विश्वसनियताको जग थप बलियो हुँदै गयो ।

सम्मान पाएसँगै असान्जको रफ्तारले थप तीव्रता पायो । सन् २००८ मा ड्यानियल डोम्सचेइट बर्गको सहयोगमा उनले स्विस बैंकका दस्तावेजहरू सार्वजनिक गरे । तर, स्विस बैंकले क्यालिफोर्निया अदालतको आदेशमार्फत बैंक रेकर्ड प्रकाशनमा रोक लगाउने प्रयास गर्‍यो । लगत्तै असान्ज अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिए । यो परिघटनाले विकिलिक्स र असान्जको अन्तर्राष्ट्रिय समर्थन झनै चुलियो ।

गोप्य दस्तावेज प्रकाशन गर्ने तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिने असान्जप्रति मिडियाहरू थप आकर्षित हुन थाले । लोकप्रियताबीच विभिन्न शक्ति राष्ट्रहरू उनको गतिविधिप्रति थप सशंकित हुन थाले । उनका गतिविधिमाथि शक्ति राष्ट्रको निगरानी बढ्नु कुनै अनौठो कुरा थिएन ।

 १८ जुलाई २००९ मा विकिलिक्सले टुक्र्स काईकोस टापुहरूमा भ्रष्टाचारको जाँच गर्न बेलायती विदेश मन्त्रालय तथा राष्ट्रमण्डल कार्यालयले बनाएको आयोगको प्रतिवेदन सार्वजनिक गरिदियो । 

प्रतिवेदनमा केही विशिष्ट व्यक्तिहरूको नाम समावेश भएकाले आयोगले मुल प्रतिवेदन प्रकाशन नगरेर संशोधित प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, विकिलिक्सले असंशोधित पूर्णपाठ नै सार्वजनिक गरेको थियो । यसले बेलायतमा ठूलै संत्रास मच्याई दियो । यसले व्यापारी र राजनीतिज्ञबीच कस्तो साँठगाँठ हुन्छ भन्नेसमेत उजागर गरिदियो ।

विवादास्पद सैन्य कारबाही र विकिलिक्स

५ अप्रिल २०१० मा, विकिलिक्सले ‘कोल्याटरल मर्डर’ नाममा एउटा भिडियो सार्वजनिक गर्‍यो । भिडियो हामीले माथि कुरा गरेको न्यु बगदादको थियो । हत्या गरिएका २३ जनामा दुईजना रोयटर्सका पत्रकार थिए भने अन्य इराकी गैरसैनिक, स्वास्थ्य स्वयंमसेवक तथा स्कुले केटाकेटी थिए ।

विकिलिक्सले भिडियो सार्वजनिक गरेसँगै भएको आलोचनाबीच अमेरिकी सेनाले पहिले यो भिडियो झूठो भएको दाबी गर्‍यो । त्यसपछि आफूबाट गल्ती भएको स्विकार गर्‍यो । तर, त्यसमा संलग्नहरूलाई कारबाही गर्नतर्फ उनीहरूले कुनै चासो देखाएन । हत्या गरिएका २३ जनामध्ये रोयटर्सका २२ वर्षीय फोटो पत्रकार नामीर नूर–एल्डीन र ४० वर्षीय सईद चगाम थिए ।

photographer.jpg

खासमा आफ्ना दुईजना पत्रकार मारिएपछि रोयटर्सले आक्रमणको वास्तविक भिडियो अमेरिकी सेनासँग माग गरे पनि सेनाले रोयटर्सलाई भिडियो दिन इन्कार गरिरहेको थियो । र, त्यही भिडियो विकिलिक्सले सार्वजनिक गरिदिएको थियो । गोलाबारीमा विद्यालय जान लागेका केटाकेटीलाई समेत गोली हानी हत्या गरिएको थियो ।

गोली हानेको केही मिनेटपछि हेलिकोप्टरका पाइलटहरूको भनाइले समेत केटाकेटीमाथि सैनिकहरूले जानाजान गोली चलाएको स्पस्ट हुन्छ । उनीहरु एकआपसमा भन्छन्, ‘केटाकेटीलाई युद्धमा ल्याउनु त उनीहरूकै गल्ती हो’ । त्यही वर्ष उनले ‘अफगान वार डायरी २००४–२०१०’ नामको गोप्य दस्तावेजहरू प्रकाशित गरे ।

सन् २००४ देखि २०१० सम्म अफगानिस्तामा भएको युद्ध वृतान्त कहने त्यस डायरीमा ९० हजार भन्दा धेरै दस्तावेज समावेश थिए । अमेरिकी सैनिकद्वारा लिपिबद्ध गरिएका ती दस्तावेजहरूमा अमेरिकी सेनाका घातक सैन्य कारबाहीको फेहरिस्त समेटिएको छ ।

अफगानिस्तानमा जस्तै २२ अक्टोबर २०१० मा इराक युद्धसँग सम्बन्धित इतिहासकै सबैभन्दा ठूलो गोप्य सैन्य प्रतिवेदन पनि विकिलिक्सले सार्वजनिक गरिदियो । १ जनवरी २००४ देखि ३१ डिसेम्बर २००९ सम्म इराकमा भएको युद्ध र अमेरिकाले गरेको सैन्य कार्यवाहीसँग सम्बन्धित तीन लाख ९१ हजार आठ सय ३२ प्रतिवेदनहरू यसमा समावेश थिए ।

‘द इराक वार लग्स’ नाम दिएको फाइल सार्वजनिक भएसँगै अमेरिकी रक्षा मन्त्रालय पेन्टागन, विदेश मन्त्रालय र ह्वाइट हाउस हुँदै समग्र अमेरिकामै ठूलो खैलाबैला भयो ।

विकिलिक्सले सार्वजनिक गरेको प्रतिवेदन अनुसार इराक युद्धमा १० लाख ९ हजार ३२ जना इराकीको ज्यान गएको थियो । अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसको आदेशमा आतंकवाद विरुद्ध ‘वार अन टेरर’ नाम दिइएको युद्धमा इराकमा ६६ हजार ८१ जना गैरसैनिक सर्वसाधरणको हत्या भएको थियो । यस युद्धमा तीन हजार सात सय ७१ जना मित्र सैनिकहरूले पनि ज्यान गुमाएका थिए ।

आतंकवाद विरुद्ध भनेर अमेरिकाले थालेको उक्त युद्धमा अफगानिस्तान, पाकिस्तान, इराक, सिरिया, यमन लिबिया र सोमालियामा कुल ९ लाख ३७ हजारको हत्या भएको विभिन्न अध्ययनहरूमा उल्लेख छ । जसमा अधिकांश गैरसैनिक नागरिक हुन् । गार्डियनको एउटा रिपोर्टमा युद्धले सृजना गरेको जर्जर अवस्थाका कारण मारिनेको संख्या ४.५ मिलियन (४५ लाख ) रहेको उल्लेख छ ।

सन् २०१० मा अमेरिकी सेनासँग सम्बन्धित ‘द इराक वार लग्स’ सार्वजनिक गरेका असान्जले नोभेम्बारमा अमेरिकी कूटनीतिक संवाद समेटिएका गोप्य दस्तावेज प्रकाशित गरिदिए । यसलाई ‘केबलगेट फाइल’ भनिन्छ । यो फाइल सार्वजनिक भएसँगै अमेरिकी सरकार र उसको कुटनीति कति हिंस्रक र युद्धोन्मादी छ भन्ने छर्लङ्ग भयो ।

यसका साथै अमेरिकाले कयौँ मुलुकका उच्च तहका नेताहरूको, आफ्नै मित्र राष्ट्रका राष्ट्र प्रमुखहरूको जासुसी गरिरहेको पनि खुलासा भयो । दुई लाख ५० हजार कुटनीतिक फाइलमा अमेरिकी सेना, सिआईए र एनएसए जस्ता संस्थाहरूले संसारभर आफ्नो एकलौटी बर्चश्व कायम राख्न गैरकानुनी रुपमा के–के गरिरहेका छन् भन्ने छताछुल्ल भयो ।

यौन शोषणको आरोप

अमेरिकी सरकारका गोप्य दस्तावेजहरू सार्वजनिक गर्ने क्रममा असान्जमाथि स्विडेनमा अचानक यौन दुराचारको आरोप लाग्छ ।

स्विडेन भ्रमणका क्रममा अगस्ट २०१० मा सहमति बगेर असुरक्षित यौन सम्बन्ध राखेको भन्दै मिस डब्लू र अन्ना अर्डिनले उनीमाथि बलात्कारको आरोप लगाएका थिए ।

उजुरी परेपछि सेप्टेम्बरमा असान्ज बेलायत फर्किए र लगत्तै पक्राउ परे । बेलायतमा सोधपुछका क्रममा उनले बलात्कारको आरोप अस्विकार गरे र धरौटीमा रिहा भए । तर, यता स्विडेन अदालतले उनलाई पक्राउ गर्ने आदेश जारी गर्दै नोभेम्बरमा इन्टरपोलमार्फत रेड नोटिस जारी गर्‍यो।

Interpoll notice.jpg

रेड नोटिस जारी भएपछि असान्जले स्कटल्यान्ड यार्डमा महानगरीय प्रहरी समक्ष आत्मासमर्पण गरे । त्यसपछि उनलाई लण्डनस्थित वान्डसवर्थ जेलको थुनामा पठाइयो । तर, सोही वर्ष १६ डिसेम्बरमा निगरानीमै राखिने गरी उनालई विभिन्न सर्तमा रिहा गरियो ।

तर, असान्जले बलात्कारको अभियोगमा सफाइ पाउन सकेका थिएनन् । स्विडेन गएसँगै अमेरिका सुपर्दगी गरिने निश्चित रहेको सूचनाका आधारमा उनले लण्डन छोड्न मानेनन् ।

असान्ज अमेरिका आउने सम्भावना न्यून देखेपछि अमेरिकी सरकारले जासुसी ऐन– १९१७ अन्तर्गत असान्ज र विकिलिक्स विरुद्ध अनुसन्धान थाल्यो । यस ऐनले– अमेरिकालाई हानी पुर्‍याउने वा कुनै विदेशी राष्ट्रलाई फाइदा पुर्‍याउने उद्धेश्य वा विश्वास राखेर राष्ट्रिय सुरक्षासँग सम्बन्धित कुनै पनि जानकारी प्राप्त गर्न, तस्बिरहरू रेकर्ड गर्न वा विवरणहरू प्रतिलिपि गर्न निषेध गरेको छ ।

जासुसी ऐन अन्तर्गत मुद्दा चलाएर अमेरिकाले व्यक्तिको मौलिक हक अन्तर्गतको अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडै हस्तक्षेप गरेको भएपनि त्यसविरुद्ध आवाज उठाउनेको स्वर अमेरिका र विश्वभर निकै मसिनो हुन गयो । अमेरिकाले मुद्दा चलाउन अनुसन्धान गरिरहेको अगस्ट २०११ मै विकिलिक्सका स्वयंसेवक सिगुर्डुर थोर्डारसनले असान्जलाई धोका दिए ।

थोर्डारसनले विकिलिक्स भित्रबाटै एफबीआईका लागि सूचना दिने काम गरे । उनले सूचना मात्रै चुहाएनन् असान्ज र विकिलिक्सका मुख्य सदस्यहरूलाई कारबाही गर्न मिल्ने गरिको हार्डड्राइभहरू एफबीआईलाई दिए ।

त्यही हार्डड्राइभको आधारमा ‘OX’ नामको ह्यान्डलबाट चेल्सी मेनिङसँग कुरा गर्ने अरु कोही नभइ असान्ज नै रहेको आरोप अमेरिकाले लगायो । गोप्य दस्तावेजहरू सार्वजनिक गर्नका लागि असान्जले मेनिङलाई दबाब दिएको आरोप लगाइयो । यसबीच आफ्नो स्रोतको गोपनीयता बचाउन नसकेको भनी असान्जले आलोचना खेप्नु पर्‍यो । 

Bradley manning.webp

यति नै बेला उनका नजिकका साथी ड्यानियलले पनि उनको साथ छोडे । अमेरिकी सरकार तथा सेनाको दबाब सहन नसकेर उनले साथ छोडे भन्ने धेरैको अनुमान छ । मार्च २०१० मा, ‘OX’ नामक ह्यान्डलबाट असान्जले नभई विकिलिक्सका अन्य सदस्यले कुरा गर्ने गरेको पत्ता लाग्यो ।

अमेरिकी सेनाका पूर्व गुप्तचर विश्लेषक चेल्सी मेनिङले विकिलिक्ससँग कुरा गरेको तथा राष्ट्रिय सुरक्षामा आँच पुग्ने अतिगोप्य दस्तावेज सार्वजनिक गरेको आरोपमा उनलाई पक्राउ गरियो । अमेरिकी अदालतले उनलाई दोषी ठहर गरी ३५ वर्ष जेल सजाय सुनायो । तर, तत्कालीन राष्ट्रपति बाराक ओबामाले उनको सजाय घटाएपछि उनी २०१७ मा रिहा भइन् । (चेल्सी मेनिङ पहिले पुरुष थिए र उनको नाम ब्रेडली मेनिङ थियो । हाल उनि आफुलाई महिलाका रुपमा परिचित गराउँछिन् ।)

हत्या प्रयास

अमेरिकी सरकारले पक्राउ गरेमा आफूमाथि कठोर कारबाही हुने निष्कर्ष साथ असान्जले जुन २०१२ मा बेलायतस्थित इक्वेडरको दूतावासमा राजनीतिक शरण लिए । हत्या हुन सक्ने त्रासबीच उनले इक्वेडर दूतावासको एउटा सानो कोठामा ७ वर्ष बिताए ।

अन्य कुनै पनि गतिविधि गर्न नपाएकै कारण उनको मानसिक स्वास्थ्य बिग्रदै गयो भने विश्वभर उनको रिहाईका लागि प्रर्दशन र आन्दोलन भई नै रहे । अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले पटक–पटक असान्जको इक्वेडर दूतावासमै हत्या गर्ने, अपहरण गर्ने योजना बनाए पनि त्यो सफल भने हुन सकेन ।

julian assange at Ecuadorean embassy.jpg

यसका साथै अमेरिकी सेना, सीआईए र फेडेरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले विकिलिक्स बन्द गराउनका लागि विभिन्न समयमा विभिन्न अपरेशन चलाए । तर, आजका दिनसम्म उनीहरूले विकिलिक्स बन्द गराउन सकेका छैनन् ।

रोचक कुरा के छ भने विकिलिक्स कहाँबाट चल्छ ? त्यहाँ कति जनाले काम गर्छन ? त्यसका मुख्य व्यक्ति को–को हुन् ? भन्ने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

सिआईएले जति पटक असान्जको हत्या प्रयास गर्थ्यो, असान्जको पक्षमा विश्वभर त्यति–त्यति समर्थन बढ्दै जान्थ्यो । लामो समय असान्जको रिहाईका लागि आवाज उठाउनेहरूमा अष्ट्रेलियन पत्रकार जोन पिल्जर, क्याटलिन जोन्सटन, अमेरिकी पत्रकार क्रिस हेजेज, ग्लेन ग्रिनवाल्ड, लेखक नोम चोम्स्की, ब्रिटिस लेखक जोनाथन कुक, भारतीय लेखक अरुन्धती रोय, इतिहासकार तथा पत्रकार विजय प्रसाद जस्ता कयौँ सम्मानित लेखक/पत्रकारहरु छन् ।

पुलित्जर सम्मानबाट सम्मानित पत्रकार ग्रीनवाल्ड, जुलियन असान्जको गिरफ्तालरीलाई ‘प्रेस स्वतन्त्रताका लागि गम्भीर खतरा’ मान्थे । जोन पिल्जर असान्जको कामलाई ‘क्रान्तिकारी पत्रकारिता’ को संज्ञा दिन्थे ।

‘संसारमा त्यस्ता निकै कम पत्रकार छन्, जसले असान्जले जस्तो क्रान्तिकारी पत्रकारिता गर्ने साहस राख्छन्’, पिल्जरले सन् २०११ मा मेलबर्नमा आयोजित सभामा भनेका थिए ।

अमेरिकी सैन्य नीति विरुद्धको एक्लो योद्धा

अमेरिकाको सार्वजनिक बौद्धिक वृत्तमा असान्जको पक्ष–विपक्ष बहस भएपनि सरकारी अधिकारी र सैन्य संगठनहरूमा उनी अमेरिकी राष्ट्रका सबै भन्दा ठूला शत्रुका रुपमा किटान गरिएका थिए ।

सीआईए निर्देशक माइक पोम्पेओ र अटर्नी जनरल जेफ सेसन्स असान्ज विरुद्ध कठोर कदम चाल्नु पर्नेमा एकमत थिए । त्यसैले असान्जविरुद्ध मे २०१९ मा जासुसी ऐन अन्तर्गत १८ वटा आरोप लगाई मुद्दा दायर गरियो । असान्ज संसारको जुनसुकै अदालतमा आफू विरुद्धको मुद्दा लड्न तयार भएपनि अमेरिका सुपुर्दगी नहोस भन्ने चाहन्थे ।

राजनीतिज्ञहरूमा तत्कालीन राष्ट्रपति बाराक ओबामा उनीप्रति नरम थिए भने हालका राष्ट्रपति डोनाल्ड ट्रम्प उनीप्रति कठोर मानिन्छन् ।

free Julian Assange.jpg

जनवरी २०२१ मा बेलायती न्यायालयले असान्जको मानसिक अवस्था ठिक नरहेको भन्दै अमेरिका सुपुर्दगी गर्न अस्विकार गरिदियो ।

झण्डै १२ वर्षको लामो र शिथिल बनाई दिने विविध उतार–चढाबबीच असान्ज र अमेरिकी सरकारबीच एउटा सम्झौतामा हस्ताक्षर भएसँगै गत वर्ष २५ जुन २०२४ मा उनी पुनः खुला आकासमुनी आइपुगेका थिए । सम्झौता भएको एक वर्ष बित्यो । उनी शान्त छन् । विकिलिक्स अहिले पनि अर्काइभका रुपमा जीवित छ । 

१२ वर्षपछि गत साल आफ्नो मुलुक अस्ट्रेलियाको माटो टेकेका उनी आज सम्भवतः जन्मदिन मनाइरहेका होलान् । यसर्थमा उनी स्वतन्त्र छन्, तर उनले सत्य बोल्ने क्रममा चुकाउनुपरेको मूल्यले कस्तो सन्देश दिन्छ ? स्पष्ट छ, सत्य बोल्न झन्झन् सकस हुँदै गइरहेको अहिलेको समयमा यो प्रश्नको जवाफले पत्रकारिताको कठिन भविष्यतर्फ सङ्केत गर्दछ ।


सम्पादनः नरेश ज्ञवाली


Related Story

अनलाइनखबर ५० प्रभावशाली महिलाको सूचीमा दुई पत्रकार

अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा अनलाइनखबर डटकमले प्रकाशित गरेको 'नेपालका ५० प्रभावशाली महिला' को सूचीमा दुई अग्रणी पत्रकार