‘पेटका कुरा’ भन्दा तपाईँ के सम्झिनुहुन्छ ?
मनका कुरा ?
नभनिएका कुरा ?
भावनाका कुरा ? वा, खाने कुरा ?
पेटका कुराले अनकानेक अर्थबोध गराउँछन् ।
तर म एउटा यस्तो ‘पेटका कुरा’ बारे लेख्दै छु, जहाँ हामी अनेकन थरीका कुरा भेट्नेछौँ, देख्नेछौँ र महसुस गर्नेछौँ ।

काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदको तेस्रो तलामा गत वैशाख १९ गतेदेखि ‘पेटका केही कुरा’ (Something in the Belly) शीर्षकको प्रदर्शनको अन्तिम दिन थियो ।
क्युरेटर बुनु ढुंगानाले संकलन गरेका पेन्टिङ, अडियो, भिडियो लगायतका कलाको संयोजनले भरिएको ‘आर्ट काउन्सिल’ को हलभित्र पस्दा बेग्लै खाले शान्तिको अनुभूति भयो ।
भित्ताहरूमा टाँगिएका चित्रहरू, गुञ्जिरहेका ध्वनिहरू, पत्र पत्रमा कोरिएका अक्षरहरू । यी सबैले आ-आफ्नै मौन भाषामा केही गहिरो कुरा भनिरहेका थिए ।

विषय समान भए पनि हेर्नेका आआफ्ना दृष्टि भइहाल्छन् । मलाई लाग्यो- यहाँ त आमा र सन्तानकै सम्बन्धका अनेक पत्र केलाइएका थिए ।
म ठान्थेँ- आमा भनेको 'माया' र 'न्यानोपन' को खानी हो । तर यहाँ आमासँगको सम्बन्धका अनेक रङ थिए– उज्याला मात्र होइन,अँध्यारा पनि ।

तपाईँलाई के लाग्छ, आमासँगको सम्बन्ध सधैं एकनासको हुन्छ ? के सन्तानप्रतिको मातृममता सधैँ सरलरेखामा हिँड्छ ?
यहाँ गुञ्जिरहेको एउटा आवाजले झस्कायो । पितृसत्ता, जात व्यवस्था...कसरी यी अदृश्य जन्जिरले हाम्रा आमाहरूलाई, दिदीबहिनीहरूलाई युगौंदेखि बाँधेको छ !

उनीहरूका प्रतिभा, उनीहरूका चाहना, सबै यही समाजको साँघुरो सोचले कसरी खुम्च्याइदिएको छ ? कवि अस्मिता वादीको कविताले मनमा गाँठो पार्छ, आक्रोश जगाउँछ ।
त्यस्तै अर्को दृष्यमा भनिएको छ- ‘आमाले पर्दा धुन थालेको धेरै भयो, तर उनको हातमा लागेको मसलाको गन्ध अझै गएन।’
तिप्ती तामाङ पाख्रिनले बनाएको एउटा दृष्यकथामा एउटै प्रश्न मनमा गुञ्जियो- कति आमाका सपना र रहर त्यही भान्साको धुवाँ र मसलाको गन्धमा बिलाए होलान् ?

उनीहरूको संसार त्यही चुलोचौकामा सीमित भयो, हातमा लागेको त्यो मसलाको गन्धजस्तै, उनीहरूको योगदान र पीडाको छाप भने कहिल्यै मेटिएन । यो देख्दा आफ्नै आमालाई सम्झिएँ... उनका हातहरू... काम, समर्पण, तर कहिल्यै नदेखिने, नसुनिने ।
प्रदर्शनीको माथिल्लो तलाको भित्तामा टाँसिएको एउटा छोटो पत्रले ध्यान खिच्यो जहाँ– ‘Mom Tik Tok Live dherai Bhayo, खाना खाने बेला पनि फुर्सद छैन ! Hehe’।

त्यो निर्दोष 'Hehe' मा कति धेरै गुनासो र एक्लोपन लुकेको थियो होला !
कस्तो समय आयो, जहाँ आमा र सन्तानबीच यस्तो दूरी ? के यो बदलिँदो समाजको चित्र हो ? या, मातृत्व प्रेममा आएको खडेरी ? आमा व्यस्त छिन्, सन्तान एक्लो। यो दृश्यानुभूतिले घोत्लिन बाध्य बनाउँछ ।

अनि त्यहीँ अर्को एउटा विद्रोहको स्वरले मनमा ऊर्जा भर्यो । आमालाई घरको चौघेराबाट बाहिर निस्कन, समाजले ओढाएको घुम्टो फाल्न गरिएको आह्वान ।
कस्तो साहस ! कस्तो प्रेरणा !
उज्वला महर्जनको कविताको आशय छ- 'आमाहरूले अब मौनता तोड्नुपर्छ, आफ्ना लागि बोल्नुपर्छ ।'

यो भावले एक किसिमको आशाको किरण देखायो, परिवर्तनको संकेत दियो ।
प्रदर्शनीबाट निस्कँदै गर्दा मनभित्र ‘पेटका केही कुरा’ ले घर बनाइसकेको थियो।
यी अनुभवहरूले मलाई हल्लाए, झक्झक्याए। आमा, समाज, पितृसत्ता, मातृत्वप्रेम... यी र यस्तै शब्दले नयाँ अर्थ बोकेका छन्, अझ गहन भएर आएका छन् ।

साँच्चै, हामीले कहिल्यै आफ्नी आमाको ‘पेटका कुरा’ सुन्ने, बुझ्ने कोसिस गरेका छौं त ?
आमाको मुस्कुराहट पछाडिको पीडा, उनको मौनता पछाडिको चित्कार, उनको अदृश्य त्याग र समर्पण अनुभूत गर्ने प्रयत्न गरेका छौँ ?
अस्मिता वादी, श्रद्धा देवकोटा, इरिना गिरी, रेचल लो, उज्वला महर्जन, तृप्ति तामाङ पाख्रिन, सृष्टि श्रेष्ठ, प्रतिभा तुलाधर लगायतका सिर्जनाले हामीलाई प्रश्न गरिरहेका छन् ।



फोटोहरू: निशान्त अधिकारी