अमेरिकी चुनावमा मिडियाको समर्थन: के हो र किन गरिन्छ ? #Explainer

अमेरिकी चुनावमा मिडियाको समर्थन: के हो र किन गरिन्छ ? #Explainer

फोटोः euronews.com
  • कार्तिक १९, २०८१ सोमबार १६:५५

निश्चित उम्मेदवारलाई समर्थन गर्नु स्वतन्त्र मिडियाको उपहास हो वा साहसी मिडियाको उदाहरण ? अमेरिकी मिडियाको निष्पक्षता र स्वतन्त्रतामाथि उठेका प्रश्नहरू


अमेरिकाको राष्ट्रपतीय निर्वाचनको पूर्व सन्ध्यामा द वाशिङ्टन पोस्ट, लस एन्जलस टाइम्सयुएस टुडे लगायतका कतिपय प्रमुख पत्रपत्रिकाले आफ्नो सम्पादकीय नीति परिवर्तन गर्दै कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने निर्णय गरेपछि यसले पाठकहरूलाई स्तब्ध मात्र बनाएको छैन, मिडिया स्वामित्व र सम्पादकीय स्वतन्त्रताको अन्तर्सम्बन्ध बारेको पुरानो बहस पनि उठेको छ ।

द वाशिङ्टन पोस्टका मालिक जेफ बेजोस र लस एन्जलस टाइम्सका मालिक प्याट्रिक सून-सिओङले आफ्ना सम्पादकीय बोर्डहरूलाई ह्यारिस-वाल्ज टिमको पक्षमा तयार पारिएका सम्पादकीयहरू जारी गर्न रोक लगाएका छन् । फलस्वरुप, सम्पादकीय बोर्डका सदस्यहरूले राजीनामा दिएका छन् भने ग्राहकहरूले पत्रिकाको सब्स्क्रिप्सन बन्द गर्न थालेका छन् ।

अमेरिकी राष्ट्रपति चुनावमा सञ्चार माध्यमहरूले उम्मेदवारलाई खुलेआम समर्थन गर्ने अनौठो परम्परा छ । अंग्रेजीमा 'इन्डोर्समेन्ट' भनिने निश्चित उम्मेदवारका पक्षमा मिडियाहरूले खुलेआम गर्ने यो समर्थन बास्तवमा के हो ?  कहिलेदेखि यस्तो समर्थन एउटा औपचारिकता बन्यो ? र, खासमा यसले चुनावी नतिजामा के प्रभाव पार्छ ? अनि, सञ्चारमाध्यमको विश्वसनीयता र तटस्थताको मान्यतालाई यसले के असर पार्छ ? आउनुहोस्, यसबारे विस्तृतमा बुझौं ।


  • नोभेम्बर ५ मा हुने चुनावमा कमला ह्यारिस र डोनाल्ड ट्रम्प मुख्य प्रतिस्पर्धी छन् ।
  • सञ्चार माध्यमहरूले सम्पादकीयमार्फत आफूलाई मन पर्ने उम्मेदवारलाई समर्थन गर्छन् ।
  • यो परम्परा १८६० देखि चलिआएको छ ।

कसले कसलाई समर्थन गर्दैछन् ?

204230-iemfqakxgr-1730644991.jpeg

राष्ट्रपतीय निर्वाचनका उम्मेदवारहरूका पक्षविपक्षमा मिडियाहरूले गर्ने समर्थनको राजनीतिबारे बुझ्नुअघि छोटकरीमा यो चुनावबारे बुझौँ । चार चार वर्षमा अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुन्छ भने नयाँ राष्ट्रपतिको कार्यकाल प्रारम्भको मिति कानुनले सुनिश्चित गरेको छ ।

नोभेम्बर महिनाको पहिलो सोमबारपछिको मंगलबार राष्ट्रपति निर्वाचनका लागि मतदान हुन्छ । नोभेम्बर महिनाको पहिलो सोमबार ४ तारिखमा परेको छ । त्यसैगरी नोभेम्बर ५ तारिखका दिन मतदान हुन्छ । आगामी मंगलबार हुने मतदानमा जित्ने व्यक्तिको कार्यकाल जनवरी २० बाट सुरु हुन्छ । 

अब इन्डोर्समेन्ट अर्थात् समर्थनको कुरा गरौँ । अमेरिकी चुनावमा सञ्चार माध्यमहरूले सम्पादकीय नै प्रकाशित गरेर उम्मेदवारलाई इन्डोर्स (समर्थन) गर्ने गरेका छन् । अमेरिकी राजनीतिमा सञ्चारमाध्यमले खास उम्मेदवारका पक्षमा माहोल बनाउन समर्थन गर्ने लामो परम्परा छ । यसपटक राष्ट्रपतीय निर्वाचनका प्रमुख उम्मेदवारहरूमा डेमेक्रेटिङ पार्टीका कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प छन् ।

ह्यारिस वर्तमान उपराष्ट्रपति हुन् भने ट्रम्प पूर्व राष्ट्रपति हुन् । यी दुईका पक्षविपक्षमा सञ्चार माध्यमहरू खुलेका छन् भने कतिपय सञ्चारमाध्यमहरू कसैलाई पनि समर्थन नगर्ने निर्णयमा पुगेका छन् । राष्ट्रपतीय निर्वाचनमा ह्यारिस र ट्रम्पबाहेक ग्रिन पार्टीकी जिल स्टिन र लिबरटियन पार्टीका जेच ओलिभर पनि उम्मेदवार छन् जसको चर्चा मिडियाहरूमा खासै छैन ।   

ह्यारिसको पक्षमा ९० भन्दा बढी सञ्चारमाध्यमले समर्थन जनाएका छन् । द न्यु योर्क टाइम्स, इकोनोमिस्ट, द बोस्टन ग्लोब, भोग, रोलिङ स्टोन, द न्यु योर्कर, द एट्लान्टिक, साइन्टिफिक अमेरिका, द गार्डियन, द अब्जर्भरसहितका करिब सात दर्जन प्रमुख सञ्चार माध्यम उपराष्ट्रपति ह्यारिसलाई जनवरीपछि राष्ट्रपति देख्न चाहन्छन् ।

ट्रम्पको पक्षमा एक दर्जनभन्दा बढी मिडियाले समर्थन जनाएका छन् । ट्रम्पको पक्षमा द वाशिङ्टन टाइम्स, म्याक्सिम, न्यु योर्क पोस्टसहित एक दर्जन जति प्रमुख सञ्चार माध्यम उभिएका छन् । 

न्यू योर्क पोस्टले डोनाल्ड ट्रम्पका नीतिहरूको प्रशंसा गरेको छ र कमला ह्यारिसको आलोचना गरेको छ। पोस्टले ट्रम्पलाई "उन्नत भविष्यका लागि स्पष्ट विकल्प" भनेर समर्थन गरेको छ।

अर्कोतर्फ, न्यु योर्क टाइम्सले ट्रम्पको आलोचना गर्दै कमला ह्यारिसलाई "एक मात्रै देशभक्त विकल्प" भनेर समर्थन गरेको छ। उनीहरूले ट्रम्पको प्रजातान्त्रिक मूल्य र कानुनी मापदण्डको अपहेलना गर्ने प्रवृत्तिको आलोचना गरेका छन् र कमला ह्यारिसलाई लोकतन्त्रको रक्षाकर्ता भनेर चिनाएका छन्।

तटस्थ रहने निर्णयले निम्त्याएको विवाद

USAToday-ezgif.com-webp-to-jpg-converter.jpg

केही प्रमुख पत्रिकाहरूले यसपटक कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने घोषणा गरेका छन् । द वाशिङ्टन पोस्ट, लस एन्जलस टाइम्स युएस टुडेले आफ्नो नीति परिवर्तन गर्दै कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने जनाएका हुन् । कुनै पनि उम्मेदवारहरूलाई समर्थन नदिनेगरी उनीहरूले गरेको नीति परिवर्तन विवादको विषय समेत बन्न पुगेको छ ।

अर्बपति मालिकहरूले अन्तिम समयमा आएर गरेको निर्णयविरुद्ध तत् तत् सञ्चार माध्यमको सम्पादकीय नेतृत्वमा रहेकाहरूले राजीनामा दिएका छन् भने ग्राहकहरूले अनसब्सक्राइब अभियान समेत सञ्चालन गरेका छन् । टाइम्स अफ इन्डियाहिन्दुस्तान टाइम्सले दुबैजना उम्मेदवारका पक्षमा रहेका तथा तटस्थ रहेका अमेरिकी मिडियाहरूको सूची प्रकाशित गरेका छन् । 

विवादमा एलन मस्क र पहिलेको ट्‍विटर अर्थात् X

skynews-elon-musk-donald-trump_6707828.jpg

लामो विरासत भएका सञ्चार माध्यम मात्रै नभएर सामाजिक सञ्जाल पनि चुनावी प्रतिस्पर्धाका सशक्त माध्यम बनेका छन् । यसपटक सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर) ट्रम्पको पक्षमा देखिएको छ ।

चुनाव सुरु हुने बित्तिकै एक्सका मालिक एलन मस्कले ट्रम्पलाई इन्डोर्स गरेका थिए । पछिल्लो समय उनी पूर्व राष्ट्रपति ट्रम्पसँग चुनावी मञ्चहरू शेयर गरिरहेका छन् । मस्कले एक्सबाट ट्रम्पलाई फाइदा पुग्ने गरी मिथ्या सूचना फैलाएको आरोप पनि लागेको छ । ट्रम्पका मतदातालाई पैसा दिने अभियान सञ्चालन गरेपछि मस्कको आलोचना भएको छ ।  

किन गरिन्छ समर्थन?

मिडियाहरूले खास उम्मेदवारका पक्षमा गर्ने समर्थनलाई दुई तरिकाले हेर्न सकिन्छ । पहिलो, पत्रकारिता तटस्थ हुनुपर्छ । यसर्थ, कुनै दल वा उम्मेदवारलाई जिताउन स्पष्ट आह्वानसहित सम्पादकीय समर्थन छाप्नु भनेको पत्रकारिताको तटस्थताविपरीत हो, यसले मिडियालाई पूर्वाग्रही बनाउँछ । अमेरिकामा पत्रपत्रिकाहरूले गर्ने समर्थनको विपक्षमा रहेकाहरूले यही तर्क गर्छन् ।

प्रकाशित/प्रसारित सूचना निष्पक्ष, पूर्वाग्रहरहित र वस्तुनिष्ठ होस् भनेर पत्रकारिता तटस्थ हुनुपर्ने तर्क पत्रकारिताजत्तिकै पुरानो छ । कसैको पक्षपोषण नहुने गरी विषय वा घटनासँग सम्बन्धित सबै प्रकारको दृष्टिकोण तथा तथ्यहरुले ठाउँ पाओस् भनेर सञ्चार माध्यम तटस्थ रहनुपर्ने मान्यता छ । त्यसो भएमा मात्र आममानिसमा पत्रकारिताको विश्वास र निष्ठा कायम रहन्छ भन्ने सैद्धान्तिक मान्यतालाई यो तर्कले बोक्छ ।

तर यसविपरीत समर्थनको पक्षमा रहेकाहरूले मिडियाले पाठकलाई सही र गलत छुट्याउन मद्दत गर्नुपर्ने धारणा राख्छन् । लोकतन्त्रमा निर्वाचनको ठूलो महत्त्व हुने भएकोले कुन उम्मेदवारले जित्दा बहुसंख्यक नागरिकको हित हुन सक्छ भनेर पत्रपत्रिकाले स्पष्ट धारणा राख्न सकेमा त्यसले नागरिकहरूलाई पनि निर्णय लिन सहज हुने तर्क पक्षमा रहेकाहरूको छ । तटस्थताका नाममा सही र गलत छुट्याउन नसक्ने गरी गोलमटोल कुरा गर्नुभन्दा स्पष्ट पक्षधरतासहित सञ्चार माध्यमहरूले समर्थन र विरोधको साहस देखाउनुपर्ने मान्यता समर्थनको पक्षमा रहेकाहरूको छ ।

राष्ट्रपति उम्मेदवारहरूलाई समर्थन गर्ने अमेरिकी पत्रिकाहरूको परम्पराले स्वतन्त्र मिडियाको आदर्शलाई उपहास बनाएको तथा मिडियाको विश्वसनीयताको क्रमिक क्षयीकरणमा योगदान पुर्‍याएको तर्क गर्नेहरू पनि छन् ।

"निर्वाचन केवल उम्मेदवारको लागि मात्र नभई मतदाताका लागि पनि हो, जसले निर्वाचनको होहल्लाबीच विश्वासनीय सूचना पाउनुपर्छ", पत्रकार क्याथी ग्यानोन लेख्छिन्, "उनीहरूलाई के गर्नुपर्छ भनेर भन्न आवश्यक छैन। उनीहरूलाई आफूले छनोट गर्न सक्ने विश्वासनीय जानकारी भए पुग्छ ।" 

समर्थनको इतिहास

Screenshot 2024-11-04 233607.jpg

अमेरिकामा उम्मेदवार इन्डोर्सको इतिहास निकै लामो छ । सन् १८६० मा द शिकागो ट्रिब्युनले अब्राहम लिङ्कनलाई राष्ट्रपतिमा समर्थन गरेको थियो । तर खास उम्मेदवारका पक्षमा यसरी समर्थन जताउने ट्रिब्युनमात्र एक्लो पत्रिका थिएन । सोही वर्ष द न्यू योर्क टाइम्ससहित हाल बन्द भइसकेका त्यतिबेलाका प्रमुख पत्रपत्रिकाहरूले पनि राष्ट्रपतिमा लिंकनलाई समर्थन गरेका थिए ।

न्यु योर्क टाइम्सले लिंकनको सम्भावित विजयप्रति आत्मविश्वासी मात्र देखिँदैन, उसको सार्वजनिक धारणाले उसको पक्षधरता पनि स्पष्ट देखाउँछ। "इलिनोइसका लिंकन, जसलाई 'ओल्ड अबे' भनेर चिनिन्छ, उमेर ५१, उचाइ छ फिट सात, पेशाले रेल-स्प्लिटर, हाम्रा आगामी राष्ट्रपतिमा हुँदैछन्...", टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ, "...यो कुरा लगभग पक्का देखिन्छ। पेन्सिलभेनियाको चुनावपछि सबैले यो कुरा स्वीकार गरेका छन् ।" 

न्यु योर्क टाइम्सले सन् १८६० देखि सन् २०१६ सम्म राष्ट्रपतीय निर्वाचनमा आफूले समर्थन गरेका उम्मेदवारहरूको सूची र समर्थन गर्नुका कारणहरूसहितको इन्टरयाक्टिभ सामग्री प्रकाशित गरेको छ ।

प्रमुख आमसञ्चार माध्यमहरूले उम्मेदवारहरूको पक्षमा प्रत्यक्ष रुपमा आफ्नो धारणा राख्ने गरेका छन् । उनीहरूले समाचारमा नभई सम्पादकीयमार्फत आफ्नो पक्षधरता खुलाउने गरेका छन् । 

पत्रकारिताका प्राध्यापक डेभिड मिन्डिचका अनुसार सन् १८३० को दशकअघि पत्रपत्रिकाहरू राजनीतिक दलहरूको स्वामित्मा सञ्चालन हुन्थ्यो । 'पार्टिसन प्रेस' को युग समेत भनिने यो समयमा समाचारपत्रहरूले आफ्नै दलका उम्मेदवारहरूले खुलेआम समर्थन गर्दथे तर स्पष्ट रुपमा एकपक्षीय हुने भएकोले उनीहरूले गर्ने समर्थनलाई त्यति गम्भीरतासाथ लिइँदैनथ्यो ।

"अमेरिकामा व्यावसायिक प्रेसको सुरुवातपछि समाचारपत्रहरू स्वतन्त्र हुन थाले। जेम्स गोर्डन बेनेट नामका सम्पादक सञ्चालित  न्यूयोर्क हेराल्ड तथाकथित पेनी प्रेस युगको प्रमुख समाचारपत्र थियो", एक अन्तर्वार्तामा उनी भन्छन्, "पत्रिकाको सुरुवातदेखि अमेरिकन गृहयुद्धसम्म बेनेटले दुबै ठूला दलका उम्मेदवारहरूलाई समर्थन गरे । यसरी समर्थन स्वतन्त्र अमेरिकी समाचारपत्रहरूको नियमित विशेषता बन्न थाल्यो ।"

क्रमिक रुपमा किन घट्दैछ समर्थन ?

पछिल्ला दिनहरूमा केही ठूला पत्रिकाहरूले समर्थनको नीतिमा गरेको परिवर्तनले बलदिँदो प्रवृत्ति पनि देखाउँछ । जस्तो, वासिङ्टन पोस्ट र लस एन्जलस टाइम्सले तटस्थ रहने निर्णय गरेका छन् । यसको विरोधमा सम्पादकीय बोर्डबाट कतिपय सम्पादकहरूले राजीनामा दिएका छन् । र, पाठकहरूले पनि सदस्यता रद्द गरेर असन्तुष्टि जनाएका छन् । यी पत्रिकाहरूले कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने नीति अँगाल्नुका पछाडि पक्कै पनि अनेक कारण छन् तर तथ्याङ्कहरूले भन्छन् कि जुन उत्साहका साथ अमेरिकी मिडियाले आफ्ना मनपसन्द उम्मेदवारलाई समर्थन गर्दथे, त्यो क्रमिक रुपमा घट्दो क्रममा छ ।

"चुनावमा कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने निर्णयमा पुग्नुका पछाडि बढ्दो राजनीतिक ध्रुवीकरण कारकका रुपमा देखिन्छ", एउटा लेखको निष्कर्ष छ, "यस्ता पत्रिकाहरूले मतदाताहरूलाई आफ्नै निर्णय लिन सक्षम छन् भनेका छन् र समर्थन नगर्ने निर्णयको अर्थ निष्पक्ष रिपोर्टिङप्रतिको प्रतिबद्धता पनि हो ।" उक्त लेखको तथ्याङ्कलाई आधार मान्ने हो भने समर्थन जनाउने भन्दा समर्थन नजनाउने मिडियाहरूको संख्या अधिक छ । 

पहिलेका चुनावहरूको तुलनामा समर्थन गर्ने सञ्चारमाध्यमको संख्या कम छ । जस्तो, सन् २०१६ मा हिलारी क्लिन्टनलाई २४० भन्दा बढी सञ्चारमाध्यमले समर्थन गरेका थिए भने ट्रम्पलाई २० वटा मिडियाको समर्थन थियो । सन् २०२० मा जो बाइडेनलाई १२० भन्दा बढी मिडियाको समर्थन थियो भने ट्रम्पलाई मात्र १४ मिडियाको समर्थन थियो । यता अहिलेको निर्वाचमा ह्यारिसले ८० भन्दा बढी मिडियाको समर्थन पाएकी छन् भने ट्रम्पले करिब एक दर्जन मिडियाको समर्थन बटुलेका छन् । 

समर्थन कसले पाउँछ भन्ने एउटा कुरा हो तर समर्थन पाउनुको अर्थ चुनाव जित्ने सुनिश्चितता भने होइन । यद्यपि, यसले मतदाताहरूलाई प्रभावित पार्ने सामर्थ्य भने पक्कै राख्दछ ।

सम्पादकीय समर्थनहरूले मूलतः रिपब्लिकनलाई समर्थन गर्दै आएको भए पनि पछिल्ला दशकहरूमा डेमोक्रेटिक उम्मेदवारहरूतर्फ बढ्दो झुकाव देखिन्छ । "विशेष गरी १९९० को दशकयता भएका चुनावहरूमा डेमोक्रेटिक पार्टीका उम्मेदवारहरूलाई पत्रिकाहरूको व्यापक समर्थन प्राप्त भइरहेको छ", सन् २०११ मा माइक कोहन लेख्छन्, "समर्थनको प्रभाव पक्कै छ तर तिनले सधैँ चुनावको नतिजा भविष्यवाणी गर्दैनन्, किनकि समर्थन पाउने नेताहरूले चुनाव हारेका उदाहरणहरू पनि छन् ।"

सम्पादकीय नीतिमाथि व्यापारिक स्वार्थ हाबी

wasington post.webp

दशकौँदेखि डेमोक्रेटिक पार्टीका उम्मेदवारलाई समर्थन गर्दै आएका अमेरिकामा दुई ठूला पत्रिकाका अर्बपति मालिकहरूले यसपटक तटस्थताका नाममा कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने निर्णय गरेपछि सम्पादकीय प्रक्रियामा व्यापारिक स्वार्थ हाबी भएको टिप्पणी भएको छ ।

द वासिङ्टन पोस्ट र लस एन्जलस टाइम्सका मालिकहरूले सम्पादकीय समूहले ट्रम्पविरुद्ध ह्यारिसलाई समर्थन गर्ने लेख प्रकाशित गर्न रोकेका हुन् । पोस्ट अर्बपति तथा अमेजनमा संस्थापक जेफ बेजोस हुन भने टाइम्सका मालिक अर्का अरबपति प्याट्रिक सून सिओङले पत्रिकाको नीति परिवर्तन गर्दै कसैलाई पनि समर्थन नगर्ने नीति लिएका हुन् । 

बेजोसले स्वतन्त्र रिपोर्टिङलाई सुरक्षित बनाउनका लागि पोस्टले अब कसैलाई पनि समर्थन नगर्ने नीति लिएको तर्क गरेका छन् । प्रगतिशील विचारधारा राख्ने सम्पादकीय नेतृत्वमा पोस्टले १९७६ देखि डेमोक्रेटिक पार्टीको राष्ट्रपतिमा समर्थन गर्दै आएको थियो ।

अर्कोतर्फ टाइम्सले सत्तरीको दशकदेखि डेमोक्रेटिक पार्टीको उम्मेदवारलाई समर्थन गर्दै आएको थियो । १९७६ मा जिमी कार्टरलाई समर्थन गर्नुअघि सो पत्रिकाले रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्ने गर्दथ्यो । १९८८ र २०१६ मा भने कसैलाई पनि समर्थन गरेन । 

पत्रिकाका मालिकहरुले रिपोर्टिङको स्वतन्त्रतालाई सुरक्षित गर्न नीतिमा परिवर्तन गरेको बताएपनि उनीहरुले व्यापारिक स्वार्थलाई ध्यानमा दिएर यस्तो निर्णय गरेको भन्दै आलोचना भएको छ । ह्यारिसलाई समर्थन गर्दै ट्रम्प राष्ट्रपति भए अमेजनले सरकारबाट पाउने व्यापारमा पाउने अफ्ठ्यारो पर्ने भन्दै नीतिमा परिवर्तन गरेको टिप्पणी भएका छन् । 

"तर्क जे–जस्ता दिइए पनि यसका पछाडि लगानीकर्ताहरूको व्यावसायिक स्वार्थ देखिन्छ", उकालोमा लेखनाथ पाण्डे लेख्छन्,"ट्रम्प राष्ट्रपति चुनिए उनीबाट सम्भावित प्रतिशोधको भयले यस्तो निर्णय लिइएको बुझ्न गाह्रो छैन ।"

वाशिङ्टन पोस्टको कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने निर्णयलाई व्यंग्य गर्दै द एटलान्टिकले लेखेको छ- Democracy dies in broad daylight अर्थात् दिनको उज्यालोमै लोकतन्त्रको मृत्यु हुन्छ । सन् २०१६ मा राष्ट्रपतिमा ट्रम्पको विजयपछि वाशिङ्टन पोस्टले आफ्नो नारा तय गरेको थियो- Democracy Dies in Darkness ।  

पोस्टका पूर्व कार्यकारी सम्पादक मार्टी बारोनले पोस्टको निर्णयलाई कायरता भनेका छन् । यसको शिकार लोकतन्त्र भएको टिप्पणी गर्दै उनले ट्रम्पलाई बेजोसको व्यापारमा धम्क्याउन आमन्त्रण गरेको बताएका छन् ।

त्यसैगरी प्याट्रिक बायो टेक कम्पनीका मालिक हुन् । उनको उत्पादन बजारमा ल्याउनका लागि सरकारको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनबाट स्वीकृति अनिवार्य हुन्छ । प्याट्रिकको निर्णयको कारक ट्रम्पको सम्भावित जितपछिको अड्चनलाई मानिएको छ ।

अर्बपति मालिकहरूको प्रभाव र चुनौतीपूर्ण मिडिया परिदृश्यका कारण राष्ट्रपति निर्वाचनका उम्मेदवारहरूलाई समर्थन नगर्ने निर्णय लिएको बुझ्न गाह्रो छैन । कुनै समय सम्पादकीय 'इन्डोर्समेन्ट' लाई साहसिक राजनीतिक वक्तव्यका रूपमा लिइन्थ्यो । तर पाठकहरूले सञ्चारमाध्यमहरूको प्रभाव र निष्पक्षतामाथि गम्भीर ढङ्गले प्रश्न उठाइरहेकाले यस्तो मिडिया समर्थनले चुनावमा साँच्चै प्रभाव पार्नेमा सन्देह भने गर्न सकिन्छ ।