साउन १ गतेदेखि हिन्दुहरूको प्रमुख धार्मिक स्थल पशुपतिनाथमा जारी कोटिहोम हिजोआज मिडियामा हेडलाइन छ । कोटिहोममा भागवत वाचकका रुपमा दर्शकहरूलाई मन्त्रमुग्ध पार्ने राधिका दासी, देवी प्रतिभा हुँदै अहिले लन्डनबाट आएकी चन्द्रकला सखीको भब्यताको चर्चा मिडियाहरूमा छ ।
केही न्युजपोर्टलहरू स्क्रोल गर्दा थाहा लाग्छ, साउन अन्तिम दिनसम्म चल्ने यो कोटिहोमका समाचार अहिले ‘सर्वाधिक लोकप्रिय’ को सूचीमा छन् ।

तर यो सबै चर्चाका बीचमा थाहा नपाएर हो वा नियतबस हो, एउटा विषयमा हाम्रा मिडियाहरू मौन छन्- यो कोटिहोमका मुख्य सञ्चालक र उनको विवादास्पद विगत ।
हामीले यसबारेमा विष्णु प्रपन्नाचार्य, बाल योगेश्वर तथा विजय कृष्णमूर्तिजी महाराज नामहरूले समेत चिनिने विजय भण्डारीको विवादास्पद यात्रा र नेपाली मिडियाको दोहोरो मापदण्डको कथा लेखेका छौँ । कृपया, पढ्नुहोला ।
पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा मानव सेवा फाउण्डेशन लगायतका धार्मिक सङ्घसंस्थाको आयोजनामा मासिक ज्ञान महायज्ञ २०८१ चलिरहेको छ ।
मानव सेवा फाउनण्डेशनका सञ्चालक कम्तिमा अन्य तीनवटा नामहरूले पनि चिनिने [धर्मगुरु] विजय भण्डारी हुन् ।
भण्डारी धर्म प्रचारका लागि अमेरिका पठाउँछु भनेर ठगी गरेको अभियोगमा गत ०७१ साल भदौ ७ गते पक्राउ परेका थिए । पढ्नुस् अनलाइनखबरको समाचार
विजय २०७६ साल २८ गतेदेखि असोज ११ गतेसम्म गुल्मी तथा सोही वर्ष माघ ११ देखि फागुन ११ सम्म चितवनमा भएको महायज्ञमा संकलित रकमसहित फरार भएका थिए । पढ्नुस् रातोपाटी र हिमालयखबरमा प्रकाशित समाचार सामग्रीहरू
उनको ठगी धन्दाका बारेमा कान्तिपुरको नेपाल साप्ताहिकले जनकराज सापकोटाको बाइलाइनमा २०६९ भदौ २४ गते 'महाठग महाराज' शीर्षकमा लामो समाचार सामग्री छापेको थियो ।
२०६९ सालयता विभिन्न मिडियामा विजय भण्डारी र धार्मिक आवरणमा उनले गरिरहेका ठगीधन्दाका बारेमा समाचार सामग्रीहरू आइरहेकै हुन् । तर अहिले पशुपतिनाथमा धुमधामसँग उनैले कोटिहोम लगाएर ठूलो रकम उठाइरहँदा नेपालका एकादुई बाहेक अरु मिडिया मौन देखिन्छन् ।
पहिला ‘महाठग’ का रुपमा चित्रित विजय भण्डारी अहिले किन समाचार बनेनन् ? किन नेपालका 'न्युज रुम' हरूले कोटिहोमका कथावाचकहरूका ‘क्लिप’ बेचिरहेका छन् तर कोटिहोमका मुख्य सञ्चालकमा 'न्युज भ्यालु' देखिरहेका छैनन् ?
यो प्रश्नको जवाफ खोज्नुअघि हिजो कुन कुन मिडियाले कस्तो हेडलाइनमा उनका बारेमा समाचार लेखेका थिए, हेरौँ । [समाचार पढ्न सम्बन्धित स्क्रिनसटमा क्लिक गर्नुहोला ।]
विगतमा विजय भण्डारीमाथि खरो ढङ्गले समाचार लेखेका कान्तिपुरसहितका मिडियाहरू अहिले किन मौन छन् ? हामी यसै भन्न सक्दैनौँ ।
तर कान्तिपुर पब्लिकेसन्स लिमिडेटको अनलाइन इनकान्तिपुर डटकमले उक्त कोटिहोमको विज्ञापन छापेको भेटिएको छ ।
इकान्तिपुरको होमपेजमा कुनै पनि समाचार सामग्रीको लिङ्क क्लिक गरिसकेपछि वायाँपट्टीको साइडबारमा दीनबन्धु पोखरेल, डा. कान्ता भट्टराई, चन्द्रकला सखी, राधिका दासी माता र देवी प्रतिभाको फोटोसहितको जिआईएफ विज्ञापन छापिएको छ ।
तलको भिडियोमा हेर्नुस् इकान्तिपुरमा छापिएको विज्ञापनको स्क्रिन रेकर्डः 🔽
यो विज्ञापन छापिएकै कारण मात्र कान्तिपुरले हिजो लेखेका समाचारहरू आज बिर्सेजस्तो गरेको हो भनेर निष्कर्ष निकाल्न पक्कै मिल्दैन ।
तर हिजो धर्मको आवरणमा ठगीधन्दा मच्चाएको भन्दै ‘महाठग’ भनेका व्यक्तिले आज लाखौँ मान्छेसँग पशुपतिनाथभित्र कोटिहोम लगाएर ठूलो रकम उठाइरहँदा कान्तिपुरमात्र होइन, अरु पनि मुलधारका मिडियाहरू किन मौन छन् ?
मिडियाले समाजमा पहरेदारको भूमिका निभाउँछ भनिन्छ । तर विगतमा आफैँले उठाएका मुद्दाहरूलाई बिर्सेर हामी विज्ञापन, आर्थिक लाभ वा लोकरिझ्याईँका लागि आँखा चिम्लन थालेका त होइनौँ भन्ने प्रश्न उठेको छ ।
के तपाईँलाई लाग्छ कि यस्ता घटनाहरूले मिडिया र पत्रकारिताको विश्वसनीयता र जवाफदेहिता कमजोर बनाउँछ ? आफ्नो विचार कमेन्टमा लेख्नुहोस् ।






