राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मञ्चमा बोलिरहँदा मकैको खोया फ्याँकिएको समाचारमा पूर्वाग्रह
शनिबार पोखराको अमरसिंह चोकमा आयोजित सभालाई सम्बोधन गर्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले खोया प्रहार गरेको पुष्टि प्रहरीले गरेको छ ।
प्रायः सबैजसो सञ्चार माध्यमहरूमा प्रकाशित समाचारमा प्रहरीलाई उद्धृत गर्दै खोया प्रहार गर्ने व्यक्तिको नाम उल्लेख गरिएको छ । तर ईकान्तिपुर र उकेराले भने खोया प्रहार गर्ने व्यक्ति सूर्यदर्शन सहकारीका बचतकर्ता भएको दाबी गरेका छन् ।
ईकान्तिपुरले रानाभाट उक्त सहकारीका बचतकर्ता भएको ठोकुवा नै गरेको छ भने उकेराले रानाभाटले प्रहरीसँग आफू उक्त सहकारीको बचतकर्ता भएको दाबी गरेको उल्लेख गरेको छ । उनीहरू आआफ्ना दाबीमा लामो समय टिक्न भने सकेनन् ।
ईकान्तिपुरले फलोअपका लागि आन्तरिक अनुसन्धान गर्ने बताएको छ भने उकेराले घटनाहरूको 'टाइमिङ' लाई कारण देखाएर समाचार संशोधन गरेको छ ।
उकेराले ‘सहकारीबारे भाषणको क्रममा खोया नहानी पहिला नै हानेको देखिएकाले सो प्रशंग संशोधन गरिएको’ जनाएको छ भने ईकान्तिपुरले ‘समाचारको विषयवस्तुमाथि लामिछानेले खण्डन गरेकाले थप फलोअप दिनुअघि आन्तरिक अनुसन्धान भइरहेको’ उल्लेख गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको विषयमा ईकान्तिपुरमा प्रकाशित समाचारको विषयवस्तुमाथि लामिछानेले खण्डन गरेकाले यस विषयमा थप फलोअप दिनुअघि आन्तरिक अनुसन्धान भईरहेको जानकारी गराइन्छ ।
— ekantipur (@ekantipur_com) December 23, 2023
प्रकाशित समाचारमा ढुक्क नहुनेगरी सच्याउने तथा आन्तरिक छानबिन गर्नुपर्ने गरी मिडियाले त्यस्तो के छापे ? के भयो गल्ती आउनुस् बुझौँ ।
कान्तिपुरको दाबी छ- सभापति लामिछानेले सहकारीको कुरा गरेपछि आक्रोशित बनेका रानाभाटले खोया प्रहार गरेका थिए ।
कान्तिपुरको यो दाबी गलत छ किनभने आमसभामा लामिछानेले गरेको सम्बन्धोनको भिडियो हेर्दा थाहा हुन्छ कि खोया फालेको धेरै पछि मात्र लामिछानेले सहकारीबारे बोलेका छन् । खोया हानेको छोटो भिडियो र रवि लामिछानेले सम्बोधन गरेको लामो भिडियो तुलना गर्दा यो प्रष्ट हुन्छ ।
कान्तिपुरको दोस्रो दाबी छ- उनी सूर्यदर्शन सहकारीका बचतकर्ता हुन् । यो पुष्टि नभई लेखिएको कुरा हो ।
रविले पनि आफूमाथि खोया प्रहार भएको ५/७ मिनेट पछि मात्रै सहकारीको विषयमा बोलेको प्रष्टिकरण दिएका छन् । समाचार घटना हुनुअघि नै तयार भइसकेको र योजना पहिले नै बनेको उनको दाबी छ ।
उनको दाबी पनि पुष्टि हुने खालको भने होइन। तर संकेत भने देखिन्छ।
कान्तिपुरले समाचार प्रकाशित गरेपछि रविले फेसबुकमा एउटा भिडियो सार्वजनिक गरेका छन् । कास्कीका प्रहरी उपरीक्षक मोहन थापासँग गरेको टेलिफोन कुराकानीको उक्त भिडियो फेसबुकमा राखेर उनले कान्तिपुरको समाचार झुटो भन्दै 'पितपत्रकारिता' को आरोप लगाएका छन् ।
"मलाई खोया प्रहार गर्ने मानिस प्रहरीको नियन्त्रणमा पुगेपछि न कुनै मिडियाले उसलाई भेटेको छ, न कुनै पत्रकारले भेटेको छ । तर कान्तिपुरलाई भने अलौकिक शक्ति प्राप्त रहेछ", फेसबुकमा उनको दाबी छ, "प्रहार गर्नेको नाम मात्र होइन कुन सहकारीको वचतकर्ता भन्ने पनि थाहा पाउन भ्याइसकेछ । त्यो पनि प्रहरीसँग कुरै नगरी, हान्ने मान्छेलाई भेट्दै नभेटी ।"
कान्तिपुरले घटना हुनुपूर्व नै समाचार तयार पारेको उनको आरोप छ । "वाह कान्तिपुर Well Played , What a Plan !! आक्रमण हुनुपूर्व नै न्युज तयार ??!!..", लामिछानेको आरोप छ, "कान्तिपुरलाई थाहा होस् कि पत्रकारिता मैले छोडेको हुँ भुलेको होइन ।"
कान्तिपुरको समाचारमा तेस्रो दाबी छ- रानाभाटले लामिछानेले समेत सहकारीको पैसा दुरुपयोग गरेको आरोप लगाएका छन् । समाचार लेख्नेले रानाभाटसँग कुरासमेत नगरी यो दाबी गरेको देखिन्छ । उनले रविमाथि कहिले यस्तो आरोप लगाउन भ्याए, समाचारमा केही उल्लेख छैन ।
अब समाचारको शीर्षकलाई हेरौँ । शीर्षक छ- ‘रास्वपा सभापति लामिछानेमाथि मञ्चमै आक्रमण, एक जना पक्राउ’
यो शीर्षकबाट सामान्यतः के बुझिन्छ भने लामिछानेमाथि मञ्चमै गएर कसैले हातपात गरे । तर खासमा सामान्य रुपमा मकैको खोया मञ्चतिर फ्याँकिएको रहेछ ।
अघिल्लो महिना ‘एमाले अध्यक्ष ओलीमाथि मुक्का प्रहार’ शीर्षकमा समाचार लेखेको अनलाइनखबरले पछि समाचारको शीर्षक सच्याएर ‘हातपातको प्रयास’ बनाएको थियो ।
तर पटक-पटक भएका गल्तीहरूबाट नचेत्ने प्रवृत्ति हाम्रा समाचार डेस्कहरूमा विकास भएको छ ।
'खोया कान्ड'मा भने अरु प्रमुख अनलाइनहरु कान्तिपुर जसरी चिप्लिएको देखिएन।
सहकारीको विवाद र ग्यालेक्सी टिभी
रवि लामिछानेसमेतको अगुवाईमा खुलेको ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) माथि आफू सञ्चालक रहेको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ । उनी यतिबेला फरार छन् ।
सञ्चालकहरू फरार भएपछि यतिबेला ग्यालेक्सी फोरके टेलिभिजन सङ्कटमा छ। उक्त टेलिभिजनमा अहिले गीत बाहेक केही बज्दैन।
उक्त सहकारीबाट लामिछानेले समेत ऋण लिएर ग्यालेक्सी टिभीमा संस्थापक सेयर लगानी गरेको फेला परेको ईकान्तिपुरको समाचारमा उल्लेख छ ।
तर सूर्यदर्शन सहकारीबाट एक करोड लिएको फर्जी कागज तयार गरेर आफूलाई बदनाम गर्ने योजना महिनौंदेखि भएको रविको दाबी छ ।
"ग्यालेक्सीसँगको मेरो कुरा सफाचट छ, क्लियर छ", उनले फेसबुकमा लेखेका छन्, "तर पित-पत्रकारिता गर्ने हरुले खेद्छन् भनेरै ग्यालेक्सी टिभीको पहिलो र अन्तिम एपिसोडमा आफ्नो हिसाब आम जनातालाई स्पष्ट बुझाएको थिएँ, खोजेर हेर्नुहोला ।"
कान्तिपुरले प्रहरीलाई नसोधिकन हचुवाका भरमा समाचार लेखेको उनको आरोप छ । "उसलाई त्यहि खोयाको टुक्रोमा टेकेर यस पछि रबिले सुर्य दर्शन सँग करोड लिएको समाचार तर्फ प्रवेश गर्नु थियो", उक्त भिडियो फेसबुकमा राख्दै रविले कान्तिपुरमाथि आरोप लगाएका छन्, "तर म आफैले पुरानो पत्रकारको नाताले २ मिनेट समय निकालेर कान्तिपुरको काम आफै गरेर दुधको दूध पानीको पानी छुट्याइदिएको छु ।"
रविले गरे कान्तिपुरसँग युद्धविरामको प्रस्ताव
कान्तिपुरसँग रविको यो पहिलो भिडन्त होइन । यसअघि गृहमन्त्रीबाट राजिनामा दिएलगत्तै उनले कान्तिपुरमाथि कयौँ आरोपहरू लगाएका थिए । उक्त घटनापछि पत्रकारितालाई बदनाम गरेको भन्दै रविको पनि आलोचना भएको थियो ।
कान्तिपुरले यसअघि लामिछाने गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिएको गम्भीर आरोपसहितका समाचार शृङ्खला लेखेको थियो।
वैशाख १० गते हुन लागेको चितवन २ को उपचुनावको पूर्वसन्ध्यामा कान्तिपुरले एक हप्तामा तीन वटा मेन न्युज र एउटा सम्पादकीय लगातार त्यही विषयमा लेखेको थियो। यस विषयमा माइसंसारमा राजन अधिकारीको ब्लग छापिएपछि मिडियाले हैन समाचार लेखकले त्यसको प्रतिवाद गरेका थिए र 'फ्याक्ट चेकको आवरणमा पत्रकारिता धमिल्याउने प्रयास गरेको' आरोप लगाएका थिए।
समाचारका लेखकद्वयले विज्ञप्तिमार्फत् आलोचना गर्दा माइसंसारले पनि त्यसको जवाफ दिएको थियो।
सम्भवतः कान्तिपुरको प्रहार चर्को परेर हुन सक्छ रविले युद्धविरामको प्रस्ताव गरेका छन् । चेतावनीयुक्त भाषा प्रयोग गर्दै उनले लेखेका छन्- “भो नलडौँ, अब सकौँ ।”
आफू प्रतिशोधबाट माथि उठ्न चाहेको भन्दै रविले आफूसँग इमानको लडाइ लड्न कान्तिपुरले नसक्ने दाबी गरेका छन् । "मलाई खोजी पत्रकारितामा नतान कान्तिपुर", उनको चेतावनी छ, "तान्यौ भने यो लडाइ धेरै पर जान्छ। र मसँग इमानको लडाइ लड्न सक्दैनौं , सक्दै त सक्दैनौं। म आक्रोश प्रतिशोध बाट माथी उठ्न चाहन्छु ।"
रविले कान्तिपुरलाई 'युद्धविराम' गरेर हातेमालो गर्न पनि आग्रह गरेका छन् । "म यो देशको बेथिति विरुद्ध लड्न आएको हुँ, तिमीहरुसँग लड्न आएको होइन। यो खेलमा को को लागेका छन् एक एक लाई चिन्छु। तर भो नलडौ, अब सकौं", उनले लेखेका छन्, "त्यत्रो ठुलो संचारगृहले एउटा नयाँ नेतासँग प्रतिशोध साँधेको राम्रो नदेखिएला। मन माझौं र बेथिति बिरुद्ध संगै लडौ,एक अर्का सँग नलडौं।"
रविले आफू पनि पीडित भएको भन्दै बिना प्रतिशोध रिपोर्टिङ गर्न आग्रह गरेका छन् । "मैले कसैलाई ठगेको छैन, बरु किर्तेको सिकार भएको जस्तो देखिन्छ, पीडित देखिन्छु", उनले लेखेका छन्, "बिना प्रतिशोध खुल्ला रिपोर्टिङ गर, म सघाउन तयार छु। तर खोयाको टुक्रोमा टेकेर प्रहार गर्न त कतिन्जेल सकिएला र ?"