सम्पादकीय नोटः
'सम्पादकलाई चिठ्ठी (Letter to the Editor)' पत्रपत्रिकाको नियमित स्तम्भ हो । इन्टरनेटमा आधारित सञ्चार माध्यममा पनि पाठक पत्रहरू छापिन्छन्, कति विचार वा ब्लगका रुपमा त कति कमेन्ट र सोसल मिडिया पोस्टका रुपमा । प्रकाशित समाचार सामग्रीहरूमाथि पाठकहरूका प्रतिक्रिया वा टिप्पणी जो सामान्यतः लेखकको नाम ठेगाना (वा, इमेल) सहित सम्बन्धित मिडियामै छापिन्छन्, त्यस्ता विचारमूलक सामग्रीलाई सम्पादकलाई चिठ्ठी वा पाठक पत्र पनि भनिन्छ । यहाँ प्रस्तुत 'खुला पत्र' पनि सम्पादकलाई एक पाठकको पत्र नै हो । तर लेखकले यसलाई 'खुला पत्र' का रुपमा हामीलाई पठाए । कान्तिपुरका एक हितैषी पाठकले हामीलाई पठाएको यो खुला पत्र सामान्य सम्पादनसहित प्रकाशित गरेका छौँ । कान्तिपुरमा हालै प्रकाशित एउटा समाचार सामग्रीलाई ९ वर्षअघिको एक घटना तथा कान्तिपुरकै कभरेजसँग तुलना गरी यी पाठकले राजनीतिलाई हेर्ने कान्तिपुरको दोषी चस्मामाथि प्रश्न उठाएका छन् । व्यवस्थापनले ८२ जना पत्रकारहरूलाई गैरकानुनी ढंगले निष्कासन तथा सरुवा गरेपछि कान्तिपुरमा देखिएको श्रम समस्या र पत्रकारहरूको जारी आन्दोलनको सन्दर्भमा यो लेखिएको छ । लेखकको पहिचान हामीले उनकै आग्रहमा खुलाएका छैनौँ । कहिलेकाहीँ कसले लेख्यो भन्दा पनि के लेख्यो र किन लेख्यो भन्ने कुराले उक्त सामग्रीको विश्वसनीयता, सान्दर्भिकता र महत्ता स्थापित हुन्छ । हामी तपाईँलाई पनि आह्वान गर्छौँ, तपाईँका पनि सञ्चारमाध्यमहरूमा प्रकाशित समाचार सामग्रीका बारेमा सम्पादकहरूलाई यस्तै प्रश्न छन् भने हामीलाई पठाउनुस् । यसले सञ्चारमाध्यमहरूलाई जवाफदेही बनाउन मद्दत गर्छ भन्ने हाम्रो विश्वास छ । हाम्रो इमेल [email protected] हो ।
श्री प्रधान सम्पादकज्यू,
कान्तिपुर दैनिक,
गत कात्तिक २ गते कान्तिपुरको अनलाइनमा ‘दलका केन्द्रीय नेताको सहभागितामा कान्तिपुरमा आन्दोलन’ शीर्षकमा समाचार छापिएको रहेछ ।
समाचारका सुरुका अनुच्छेद हेर्दा नेपाल पत्रकार महासंघको कान्तिपुर शाखाको विज्ञप्तिका आधारमा समाचार लेखेजस्तो देखिन्छ । समाचारको आशय चाहिँ आन्दोलनमा कुनै राजनीतिक दलको केन्द्रीय नेता सहभागी हुनु आपत्तिजनक मानिएको देखियो ।
समाचारमा उल्लेख नभएको तर जन्मदेव जैसीको फोटोलाई महत्व दिएको देखिँदा धर्ना र आन्दोलनमा उनको उपस्थिति कान्तिपुर व्यवस्थापनलाई टाउको दुखाई बनेको बुझ्न कठिन हुँदैन ।
समाचारमा समावेश फोटोहरूले जन्मदेव जैसीको राजनीतिक संलग्नतालाई ज्यादा जोड दिएको छ, तर समाचारमा भने त्यससम्बन्धी विवरण समावेश छैन । [पढ्नुस्ः कान्तिपुरको समाचारमा छुटेको एउटा नाम- जन्मदेव जैसी]
अब अलि पुरानो एउटा समाचार हेरौं । यो समाचार २०७१ भदौ २७ मा प्रकाशित हो । यसको पृष्ठभूमि अलि फरक छ ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचारका विषयमा सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी मुद्दा पर्यो । तत्कालीन प्रधानन्यायाधीश दामोदर शर्माको डिजाइनमा मुद्दा दायर भएको थियो, त्यो मुद्दा विवादास्पद न्यायाधीशहरू गोपाल पराजुली र चोलेन्द्रशम्सेर जबराको इजलासमा परेको थियो । [कान्तिपुरविरुद्ध परेको अवहेलना मुद्दा र कान्तिपुरको त्यतिबेलाको कभरेजका सम्बन्धमा मिडिया कुराकानीको निगरानी पढ्नुहोस् ।]
बलियो कानुनी धरातल नभएको, तर्साउन मात्रै दायर गरिएको मुद्दाका कारण कान्तिपुर व्यवस्थापन यसरी तर्सियो कि उसले प्रमुख दलका प्रभावशाली नेताहरूलाई नै अदालत परिसरमा उतार्यो ।
कान्तिपुर व्यवस्थापनको आग्रहमा कांग्रेस नेता रामचन्द्र पौडेल, गगन थापा, नवीन्द्रराज जोशी, रामहरि खतिवडा, सुरेन्द्र पाण्डे लगायतका नेताहरू सर्वोच्च अदालत पुगे ।
एमालेका गोकर्ण विष्ट, योगेश भट्टराई, राजन भट्टराई, भानुभक्त ढकाल, यज्ञराज सुनुवार, विशाल भट्टराई, रामनाथ ढकाल, सूर्य थापाहरू सर्वोच्च अदालत पुगे । माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, रविन्द्रप्रताप शाह पनि अदालत पुगेका थिए ।
सामान्यतः अदालत परिसरभित्र प्रदर्शन, नारा जुलुस र धर्ना लगायतका कार्यक्रम गर्न दिइँदैन । अदालत परिसरभित्र हुने विरोध प्रदर्शन र दवावमूलक कार्यक्रमले स्वतन्त्र न्यायसम्पादनमा असर गर्छ भन्ने मान्यता राखिन्छ । तर कान्तिपुरले एक–एक गरेर नेताहरूलाई अदालत परिसरमा उतार्यो ।
त्यतिमात्रै होइन, उसले अदालत परिसरभित्रै तीमध्ये अधिकांश नेताहरूलाई कान्तिपुरको पक्षमा अभिव्यक्ति दिन लगायो अनि अनलाइन, पत्रिका र टेलिभिजनमा समाचार प्रकाशन/प्रसारण गर्यो । अदालतमा विचाराधीन विषयको सत्यतथ्य प्रस्तुत गर्न सकिने भएपनि मुद्दाको सुनुवाई नै प्रभावित हुनेगरी कान्तिपुरका समाचार सामग्री प्रकाशित थिए ।
कान्तिपुर टेलिभिजनको एउटा भिडियो क्लिप हेर्नुहोस् जसमा वर्तमान सरकारमा उपप्रधान तथा गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठ अदालतलाई प्रेस स्वतन्त्रताको सम्मान गर्न भनिरहेका छन् ।
केही दिनअघि कान्तिपुरमा प्रकाशित समाचारलाई ९ वर्षअघिको समाचारसँग तुलना गर्न मन लाग्यो ।
आफूलाई अप्ठेरो पर्दा कान्तिपुर व्यवस्थापनले प्रमुख दलका शीर्ष नेता गुहार्न सक्दो रहेछ, प्रभावशाली नेताहरूलाई अदालत परिसरमा ‘परेड’ खेलाउन सक्दो रहेछ ।
मैले यहाँ परेड भन्ने शब्द किन प्रयोग गरेको भने विचाराधीन विषयमा उनीहरूको उपस्थिति र अभिव्यक्ति अलि अस्वभाविक थियो, उनीहरू स्वतस्फूर्त रुपमा गएका थिएनन् । कान्तिपुरले मेरो साथमा यी नेताहरू छन्, प्रमुख राजनीतिक दलका प्रभावशाली नेताहरूले मलाई साथ दिएका छन् भनी प्रदर्शन गर्न त्यसरी नेताहरूलाई उपस्थित गराएको थियो । हेर्दा देखिन्थ्यो- उसले आफूविरुद्धको मुद्दामा तयारी भन्दा पनि प्रदर्शनमा ज्यादा महत्त्व दिएको थियो ।
त्यसरी आफ्नो मुद्दालाई बलियो बनाउन अदालतमा नेता उभ्याउँदा राजनीतिक हस्तक्षेप नहुँदो रहेछ । उसले समाचारहरूमा ऐक्यबद्धता जनाउन नेताहरू त्यहाँ पुगेको, त्यो उपस्थिति प्रेस स्वतन्त्रताको पक्षमा रहेको भनी अर्थ लगायो ।
तर आज श्रमजीवी मजदुरहरूले आफूले पाउनुपर्ने सुविधा र तीन महिनादेखिको पारिश्रमिक माग्दा र त्यहाँ कुनै दलको नेता उपस्थित हुँदा राजनीतिक हस्तक्षेप हुँदोरहेछ । फेरि अर्को पक्ष के हो भने जन्मदेव जैसी पत्रकारहरूको आन्दोलन र श्रमजीविको पक्षमा हिँडिरहन्छन्, आवश्यक परे धर्ना दिन्छन् ।
कान्तिपुरले अघि सारेको प्याकेज मान्य नभएको भन्दै उनले आन्दोलनका कार्यक्रम अघि बढाएपछि अरु बाध्य भएर धर्नामा आएका हुन् । सायद यही बुझेर हुनुपर्छ, अरुको भन्दा पनि उनको उपस्थिति कान्तिपुरका लागि असह्य बनेको प्रतीत हुन्छ ।
कान्तिपुर व्यवस्थापनले बठ्याईपूर्वक पत्रकार महासंघको कान्तिपुर शाखालाई प्रेस विज्ञप्ति निकाल्न लगायो, अनि त्यसलाई ‘सिरानी हालेर’ आफू अनुकूलको समाचार लेख्यो ।
आफूलाई लेख्न मन लागेको कुरा विज्ञप्तिको मस्यौदामा लेख्यो, अनि त्यसैको आडमा समाचार बनायो । छैन त गजब ?
अन्त्यमा, यो समाचारमा कान्तिपुरको दोहोरो रवैया देखियो । व्यवस्थापनलाई अप्ठेरो पर्दा, उसलाई साथ दिनेहरू प्रेस स्वतन्त्रताका पक्षधर हुँदा रहेछन् । दलका शीर्ष नेताहरू बोलाएर प्रदर्शन गरेपछि राजनीतिक प्रभाव मान्न हुँदो रहेनछ । तर श्रमिकले व्यवस्थापनसँग आफ्नो हकहितको आवाज उठाएमा र व्यवस्थापन विरुद्ध गरेको शान्तिपूर्ण प्रदर्शनमा कुनै नेता आएमा राजनीतिक हस्तक्षेप बन्दो रहेछ ।
प्रेस स्वतन्त्रता, त्यसप्रतिको आन्दोलन र ऐक्यवद्धताको परिभाषा त सधैँ एउटै हुनुपर्ने होइन र ? आफ्नो अनुकूल हुँदा ठिक, प्रतिकूल हुदा बेठिक भन्ने हुन्छ र ?
- तपाईँको हितैषी पाठक