अख्तियारद्वारा कनकमणि दीक्षित पक्राउ, यस्ता छन् उनीमाथिका चार आरोप


पत्रकार तथा प्रकाशक समेत रहेका साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई अख्तियारले पक्राउ गरेको छ। अख्तियारको निर्देशनमा ललितपुर प्रहरी परिसरबाट खटिएको टोलीले दीक्षितलाई पाटनढोकाबाट नियन्त्रणमा लिएको हो।

फोटो साभारः Himalkhabar.com
फोटो साभारः Himalkhabar.com

नियुक्ति हुँदाको बखतदेखि लोकमान सिंह कार्कीको विरोधमा दिएको अभिव्यक्तिका कारण पूर्वाग्रही भएर आफूलाई पक्राउ गरिएको दीक्षितले कान्तिपुरसँग बताएका छन्। हिमालखबरका अनुसार अख्तियारले नियन्त्रणमा लिंदै गर्दा ले उपस्थित सञ्चारकर्मीसँग भनेका थिए-  “राजा ज्ञानेन्द्रको बेलामा मलाई ठ्याक्कै यही ठाउँबाट समातेर लगिएको थियो, अहिले लोकमान सिंह कार्कीले यही ठाउँबाट फेरि समातेर लग्दैछन्।” दीक्षित हिमालखबरका प्रकाशक हुन्।

के हो आरोप?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीक्षितलाई पक्राउ गर्दाको दिन अर्थात २०७३ बैशाख १० गते जारी गरेको विज्ञप्तिमा दीक्षितका बारेमा विभिन्न उजुरी परेको उल्लेख छ।

  • साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले संस्थाको अध्यक्षका हैसियतले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको
  • संस्थाको आर्थिक हिनामिना गरी स्वदेशी तथा बिदेशी बिभिन्न बैंकमा आफू र आफ्नो परिवारको नाममा रकम जम्मा गरेको
  • संस्थाको सम्पत्तिलाई पैतृक सम्पत्ति सरह बेचबिखन गरेको र त्यसरी बेचबिखनबाट प्राप्त रकम निजी सम्पत्ति सरह अन्यत्र संस्थामा लगानी गरेको र निजका परिवारका नाममा समेत राखेको
  • संयुक्त राज्य अमेरिकामा समेत आफ्नो नाममा घरजग्गा खरिद गरेको र स्वर्गीय मदन शम्सेर राणा र निजकी श्रीमती जगदम्बा राणाका नाममा रहेका चल अचल सम्पत्ति गैरकानूनी रुपमा आफ्नो नाममा नामसारी गरेको (भन्ने लगायतका उजुरी)

माथि उल्लेखित आरोपहरुबारे छानविनका क्रममा दीक्षितलाई २०७२ मंसिर १७ मा उपस्थित हुन जानकारी गराएको र उनले २४ गते आयोगमा उपस्थित भइ आयोगले उपलब्ध गराएको सम्पत्ति विवरण फाराम बुझेको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार दीक्षितले पुस ३० गते सम्पत्ति विवरण फाराम अख्तियारमा बुझाएका थिए।

सम्पत्ति विवरण मिलेन

आयोगको अनुसन्धानका क्रममा दीक्षितले विवरणमा उल्लेख गरेको सम्पत्ति यकीनका लागि सम्बद्ध निकायमा बुझ्दा आयोगमा उपलब्ध गराएको सम्पत्ति विवरणसँग मेल नखाएको अख्तियारको दाबी छ।

सम्पत्ति विवरणमा कैफियत देखिएको विषयलाई लिएर थप स्पष्टताका निम्ति आयोगमा उपस्थित हुन अनुसन्धान अधिकृतले पटक-पटक टेलिफोन तथा पत्राचार गरी सूचित गर्दा दीक्षितले अवज्ञा गरेको अख्तियारको दाबी छ। ‘…उहाँले आफू आयोगमा उपस्थित नहुने निवेदन समेत दर्ता गराई कानुनको प्रतिकूल आचरण गरेको र अनुसन्धान कार्यमा बाधा व्यवधान पुर्‍याएको हुनाले, निजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९(१) को (ग) को कानुनी प्रावधान अनुसार पक्राउ गरी आयोगमा ल्याइएको र निज उपर थप अनुसन्धान तथा तहकिकात कार्य जारी राखिएको व्यहोरा जानकारी गराइन्छ’, अख्तियारकव विज्ञप्तिमा उल्लेख छ।

कानुन अवज्ञाको आरोप

अख्तियारले दीक्षितले कानुन अवज्ञा गरेको पनि आरोप लगाएको छ। विज्ञप्तिमा उल्लेख छ-

आयोगले, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ र भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सबै राष्ट्रसेवक तथा सार्वजनिक पद धारण गरेका व्यक्ति एवं पदाधिकारी उपर समान व्यवहार गर्दै आएको विदितै छ। कानुनी दृष्टिमा सम्पूर्ण नागरिक समान रहने हुँदा पहुँच र प्रभावका आवरणमा कानुनको अवज्ञा गर्ने प्रबृत्ति प्रति घोर भर्त्सना गर्दै आयोग, यस्तो दुष्प्रवृत्तिलाई निस्तेज गर्न सर्वथा प्रतिबद्ध रहेको समेत स्पष्ट पारिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.