यसरी मनाइयो नेपालमा सोसल मिडिया दिवस


 

इन्टरनेटको तीब्र विकाससँगै विश्वमा आएको डिजिटल क्रान्तिको सम्झनामा विश्वभर सोसल मिडिया डे (सामाजिक सञ्चार दिवस) मनाइएको छ । स्वतःस्फुर्त सोसल मिडिया डे मिटअप लगायतका विभिन्न कार्यक्रम गरि विश्वभर सोसल मिडिया डे मनाइएको हो ।

फोटोः http://samanthacheney.com/
फोटोः http://samanthacheney.com/

सोसल मिडिया तथा आइटी ब्लग म्यासेबलले सन् २०१० जुन ३० देखि वार्षिक रुपमा मनाउन थालेको सोसल मिडिया डे प्रविधमा बढिरहेको विश्वव्यापी प्रभावको पहिचानका लागि मनाउन थालिएको हो । दिवसका अवसरमा काठमाडौंमा सोसल मिडिया डे मिटअप आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका ६० जना भन्दा बढी सोसल मिडिया प्रयोगकर्ताको सहभागिता थियो ।

शनिबार दिउसो काठमाडौंको कमलादीमा भएको कार्यक्रममा नेपालमा सोसल मिडियाको उपयोगिता, यसका राम्रा नराम्रा पक्ष र अहिलेका चर्चित नेटवर्कको प्रयोगजस्ता एजेन्डामा छलफल भएको थियो । सोसल एभ्स, आकारपोष्ट डट कम र नेपाली ब्लगर्स युनाइटले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् ।

चार भागमा बाँडिएको कार्यक्रमको पहिलो भागमा सोसल मिडियाको परिचय, अहिलेका चर्चित नेटवर्क, सोसल मिडियाको महत्व र आवश्यकता र राम्रा नराम्रा पक्षका बारेमा पत्रकार तथा ब्लगर उज्जवल आचार्यले प्रकाश पार्नुभएको थियो । यस्तै दोश्रो खण्डमा अमित अग्रवालले नेपालमा सोसल मिडियाको अवस्था, पहुँच र प्रयोग, चर्चित फेसबुक पेज, सोसल मिडियामा ब्रान्डिङ र मार्केटिङ लगायतका विषयमा प्रकाश पर्नुभएको थियो ।

यस्तै ब्लगर आकार अनिलले सोसल मिडिया र ब्लगिङका बारेमा आफ्नो प्रस्तुति दिनुभएको थियो । र, अन्तिम खण्डमा पत्रकार इन्द्रध्वज क्षेत्रीले सोसल मिडिया र नेपालको अबको बाटोका बारेमा चर्चा गर्नुभयो ।

कस्तो छ नेपालमा सोसल मिडियाको प्रयोग ?

नेपालमा इन्टरनेट प्रयोगकर्ताको दर १८.२८ प्रतिशत छ । अर्थात ४८ लाख ६७ हजार २ सय ५४ जनाको इन्टनेटमा पहुँच छ । यि मध्ये ४५ लाख ३० हजार ४ सय १५ जना जिपिआरएसका प्रयोगकर्ता छन् । नेपालमा सर्वाधिक चर्चित रहेको सामाजिक सञ्जाल फेसबुकमा १५ लाख ७४ हजार भन्दा बढी नेपाली जोडिएका छन् । (श्रोतः सोसलबेकर्स, असार १६, २०६९ मा हेरिएको)

तथ्यांक अनुसार इन्टरनेट प्रयोगकर्ताको झण्डै एक तिहाईले फेसबुक चलाउँछन् । नेपाल फेसबुक प्रयोगकर्ताका हिसाबले विश्वमा ६८ औँ स्थानमा छ । फेसबुकपछि नेपालमा ट्वीटर, गुगल प्लस, लिंक्डइन, फ्लिकर, यूट्युब, ब्लग आदि चर्चित छन् । यतिका प्रयोगकर्ता र उपयोगिता हुँदाहुँदै पनि नेपालमा सोसल मिडियाको प्रयोगका बारेमा सरकारले पर्याप्त ध्यान दिन सकेको छैन ।

के हो सामाजिक सञ्चार ?

व्यक्तिगत प्रोफाइल बनाउने र साथीहरुसँग जोडिन सहयोग गर्ने फेसबुक, गुगल प्लस लगायतका सामाजिक सञ्जालहरु सबैभन्दा बढी प्रयोग हुने सोसल मिडिया हुन् । विश्वको सबैभन्दा ठुलो सामाजिक सञ्जाल फेसबुकमा ८६ करोड ७३ लाख २९ हजार ४ सय २० जना प्रयोगकर्ता छन् । (श्रोतः सोसलबेकर्स)

यस्तै ट्वीटर लगायतका माइक्रो ब्लगिङ साइटहरु पनि चर्चित सामाजिक मिडिया हुन् ।

विकि अर्थात प्रयोगकर्ताले नै कुनै सूचना प्रकाशित गर्न, सम्पादन गर्न सकिने डाटाबेस, अनलाइन इन्साक्लोपेडिया पनि सामाजिक सञ्जाल हुन् । विकिपेडिया यस्तै साइट हो जसमा २ करोड २० लाखभन्दा बढी लेखहरु प्रकाशित छन्, जुन प्रयोगकर्ताले सम्पादन गरि अद्यावधिक गर्न सक्छन् । सोसल मिडिया शब्द प्रयोगमा आउनुपूर्व फोरम निकै चर्चित थियो । कुनै खास विषयमा समान रुचि हुनेहरुबीच अनलाइन फोरममा कुराकानी हुने गर्छ । यस्तै यूट्युब (भिडियो) तथा फ्लिकर (फोटो) जस्ता कन्टेन्ट कम्युनिटिज्हरु पनि निकै चर्चित छन् ।

यस्ता साइटहरुबाट गरिने सञ्चार व्यवहारलाई नै छोटकरीमा सोसल मिडिया भनिन्छ ।