प्रहरीले शान्‍ति सुरक्षाभन्दा पनि बिचौलियाको काम गरिरहेको छ


कञ्चनपुरको भीमदत्त नगरपालिका २ की निर्मला पन्त (१३) गत साउन ११ गते मृत भेटिइन्। बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो। औपचारिक समाचारहरू आए पनि लामो समयसम्म मिडियाहरूमा उक्‍त घटनाका पाटापक्ष केलाइएका रिपोर्टिङ पढ्न पाइएन। हाल नयाँ पत्रिका दैनिकको अनलाइन नयाँपत्रिका डेली डट कमका सम्पादकसमेत रहेका पत्रकार सरोजराज अधिकारी र उनका साथीहरूले गरेका केही रिपोर्टिङले भने घटनाको फरक पाटोमात्र सतहमा ल्याएन, प्रहरी प्रशासनले कसरी प्रमाणहरू मेटाउँदै घटनाको अनुसन्धान कमजोर बनाइरहेको रहेछ भन्‍ने तथ्य पनि सार्वजनिक गर्‍यो।

निर्मला हत्याकाण्ड : प्रहरीको चासो असामान्य व्यक्तिमा (१), कञ्चनपुरका अर्का एक युवा जसलाई प्रहरीले ११ दिन थुन्यो (२), कञ्चनपुरमै अर्की बालिकाको बलात्कारपछि हत्या : परिवारले नै समातेर बुझाउनुपर्‍यो आरोपी (३), निर्मला बलात्कार र हत्या प्रकरण : दोषी लुकाउन निर्दोष किशोरीलाई चरम यातना (४), रातभरी पानी पर्दा किन भिजेनन् यि किताब ? (५) लगायतका रिपोर्ट पढेपछि मैले अधिकारीलाई भेटेँ। र, घटनापछि महेन्द्रनगरको मनोविज्ञान, प्रहरीको शंकास्पद अनुसन्धान, राजनीतिक दलहरूको भूमिका, स्थानीय र राष्‍ट्रिय मिडियाको दृष्टिकोण लगायतका विषयमा कुराकानी गरेँ। लामो समयदेखि अपराध र सुरक्षा मामिलाबारेमा लेख्दै आएका अधिकारीसँग गरिएको यो अन्तर्वार्ता अलि लामो छ तर धैर्यतापूर्वक पढ्नुभयो भने एक बालिकाको बलात्कारपछि भएको हत्या र त्यसमा जोडिएका विभिन्न पक्षका बारेमा धेरै जानकारी मिल्नेछ। प्रस्तुत छ कुराकानीः


कञ्‍चनपुरको रिपोर्टिङमा ढिलोगरी पुग्नुभयो। त्यहाँ तपाईं आबद्ध संस्थासहित काठमाडौंबाट छापिने सबैजसो मिडियाका जिल्ला सम्वाददाता पनि छन्। तपाईं आफै जानुपर्ने आवश्कता किन पर्‍यो ?

म आफैं जाने भन्दा पनि संस्थाबाट कोही न कोही जानुपर्थ्यो। स्थानीय स्तरमा काम गरिरहेका साथीहरूको एउटा खालको नजरिया हुन्छ, एउटा खालको संगत हुन्छ, एउटा खालको परिवेश हुन्छ। सबै एकअर्काप्रति पूर्णतया परिचित हुन्छन्। र, एकअर्कालाई शंका गर्ने स्थितिमा पनि हुँदैनन्। त्यसो भएको भएर केन्द्रबाट कोही न कोही अलि चाँडै जानुपर्थ्यो। म आफै पनि ढिला गएको हो। तर काठमाडौंमै मेरा निश्चित जिम्मेवारीहरू छन्। म नयाँ पत्रिकाको अनलाइनको नेतृत्व गरिरहेको छु। अरु पनि थप कामहरू छन् जसका कारण म पनि जान ढिला भयो। जुनसुकै जिम्मेवारीमा भए पनि ममा रिपोर्टिङको प्यासन मरिसकेको छैन। स्थलगत रिपोर्टिङमा बढी इन्ज्वय गर्छु किनभने त्यहाँ नयाँ नयाँ परिवेश र सन्दर्भहरूबाट घटनाहरूलाई बुझ्न सकिन्छ। हाम्रो टिममा सल्लाह पनि भयो। साथीहरूले तपाईँ जानु उपयुक्त हुन्छ भनेपछि म गएँ।

तपाईँले स्थानीय स्तरको पत्रकारिताको कुरा उठाइहाल्नुभयो। के रहेछ समस्या जसले गर्दा त्यहाँका विभिन्न पाटा पक्ष उजागर गर्न स्थानीय स्तरमा कार्यरत पत्रकारलाई अप्ठ्यारो पर्छ ?

म व्यक्ति विशेष वा घटना विशेष भन्दा पनि समग्रमा प्रवृत्तिगत कुरा गर्न चाहन्छु। नेपालमा व्यवसायिक पत्रकारहरूको संख्या कति छ ? व्यवसायिक पत्रकार भनेको निष्ठा, विषयवस्तु बुझ्ने, संविधानले निर्देशित गरेका आधारभूत मौलिक हकदेखि लिएर समावेशी समानुपातिक सिद्धान्त, सूचनासम्मको पहुँच आदिको प्याकेज हो। कुनै व्यक्ति निष्ठावान हुने बित्तिकै व्यवसायिक पत्रकार भइहाल्दैन। ऊ भित्र अरु पनि गुण चाहिन्छ। नेपालको राज्यले अपनाएको शासन पद्दति र संविधानले निर्देशित गरेका कुराहरू मुलतः बुझ्नुपर्छ। र, पत्रकारिताको मर्म नै पहिला बुझ्नुपर्छ।

जिल्लाको हकमा धेरैजसो ठाउँमा एकअर्कासँग बाक्लो चिनजान र धेरै चिजहरूमा पत्रकारको संलग्नता छ। म खास व्यक्ति वा जिल्लाका सन्दर्भमा भन्दा पनि समग्र प्रवृत्तिको कुरा गर्दैछु। एउटा पत्रकारको आबद्धता यति धेरै ठाउँमा हुन्छ कि ऊ कतै शिक्षक हुन्छ, कतै एनजीओमा पार्टटाइम जागिरे हुन्छ, ऊ अर्को कुनै अभियानमा संलग्न हुन्छ, अथवा उसको आफ्नै एफएम रेडियो वा स्थानीय पत्रिका हुन्छ, ऊ त्यहाँका विभिन्न संघसंस्थाहरूमा आबद्ध हुन्छ। अर्को स्थानीयस्तरमा कार्यरत पत्रकारलाई अर्को पनि बाध्यता हुन्छ। हामी काठमाडौंमा बसेर पत्रकारिता गर्नेलाई सुविधा के छ भने एउटा मान्छे चिढिए अर्को मान्छेसँग सूचना लिन सकिन्छ। स्थानीय स्तरमा त्यो सीमा पनि हुन्छ। तर पत्रकारले स्रोत वा सम्बन्ध बिग्रेला कि भन्‍ने तहभन्दा माथि उठेर रिपोर्टिङ गर्न सक्नुपर्छ। हामीले मूलधारको मिडिया हेर्‍यौँ भने सबैमा त्यस्तै प्रकारको रिपोर्टिङ भएको छ। बिसौँ वर्षदेखि काम गरेका मान्छेबाट पनि बास्तविकता आएको छैन। मैले त अन्तर्क्रिया पनि गरेको छु। मैले चिनेका सिनियर पत्रकारको पनि त्यस्तै छ। अनौपचारिक कुराकानीमा उहाँहरूलाई सबै कुरा थाहा छ तर ती कुराहरू लेख्न नसकिरहेको पनि देखिन्छ।

यो भयो राष्ट्रिय भनिएका मिडियामा स्थानीयस्तरबाट रिपोर्टिङ गर्ने पत्रकारको कुरा। त्यहाँका स्थानीय तथा क्षेत्रीय मिडियाको कभरेज चाहिँ कस्तो रह्यो ? तपाईँ त्यहाँ जाँदा केही बुझ्नुभयो ? काठमाडौंले उनीहरूको रिपोर्टिङ वा दृष्टिकोण थाहै नपाएको हो कि ?

जिल्लाहरूमा हेर्ने हो भने कतै १/२ वटामात्र त कतै १७/१८ वटासम्म पत्रपत्रिका निस्कन्छन्। स्थानीय तहमा सरदर ५/७ वटा पत्रिका निस्किरहेको अवस्था छ। मोफसललाई हेरिरहनुभन्दा पनि हामी पत्रकारहरू केन्द्रमै पनि कुनै न कुनै राजनीतिक आस्थामा बाँधिएका छौँ। पार्टीपिच्छे पत्रकारहरूको संगठन छ। यो कुराको म सुरुदेखि विरोधी हो। स्वभाविक रुपमा पत्रकार त्यहाँ पनि राजनीतिक आस्थाका आधारमा विभक्त छन्। अनि पत्रकार साथीहरू केन्द्रका जुन जुन संस्थासँग आवद्ध हुनुहुन्छ, त्यसले मात्र उहाँहरूको जीविका नहुने अवस्था पनि हामीले स्वीकार्नुपर्छ। जसका कारण स्थानीय पत्रपत्रिका र अन्यत्र पनि उहाँहरूको आबद्धता निकै बढेर गएको हुन्छ। आबद्धताका आधारमा पनि विषयवस्तुलाई हेर्ने दृष्टिकोणमा भिन्नताहरू आउने गरेको देखिन्छ। त्यहाँको सम्पर्क, सम्बन्ध, विभिन्न संघसंस्थाप्रतिको आबद्धता र आफ्नो राजनीतिक आस्थाका आधारमा विषयवस्तुलाई हेर्ने प्रवृत्ति प्रायः सबै जिल्लामा छ। स्वभाविक रुपमा त्यसको प्रभाव महेन्द्रनगरमा पनि पर्‍यो भन्ठान्छु।

प्रहरी प्रशासनको व्यवहार र बलात्कारपछि बालिका हत्या सम्बन्धमा भएको अनुसन्धानको कुरा गरौँ। तपाईँकै रिपोर्टिङ पढेर थाहा पाइयो कि त्यहाँ त प्रहरीले छद्म आरोपी खडा गरेर निर्दोषहरूमाथि यातना दिइरहेको रहेछ। प्रहरी प्रशासनको भूमिका कस्तो पाउनुभयो तपाईँले ?  

त्यहाँको मात्र होइन, आजको दिनमा प्रहरी प्रशासनले शान्ति सुरक्षा स्थापना गर्ने भन्दा पनि मूलतः सबैतिर बिचौलियाको काम गरिरहेको छ। यसमा मात्र होइन, हरेक घटनामा। जहाँसम्म निमुखा र पीडितमाथि भएको थिचोमिचोको प्रश्न छ, स्वभाविक रुपमा उच्च वर्ग वा धनाढ्य बाटै थिचोमिचो भएको छ र प्रहरीले उनीहरूसँग विभिन्न किसिमको मोलाहिजा गरेर निमुखा र गरिबको आवाज दबाउने काम हरेक मुद्दामा गरेको छ। केही मान्छेहरूसँग कुराकानी गर्ने बित्तिकै यो मुद्दामा पनि सुरुदेखि हुँदै आएको त्यही हो भन्‍ने पाएँ। र, मैले त्यही कोणबाट सुरु गरेँ। नयाँ केही पात्रहरू पनि सामुन्ने आए। जस्तो चक्रदेव बडु र हेमन्ती भट्ट जसलाई लगेर बिना कारण यातना दिइयो र जबर्जस्ती त्यो मुद्दामा फसाउन खोजियो।

अर्कोर्तफ प्रहरी प्रशासन पनि सुरुदेखि नै पीडितको पक्षमा थिएन। बम परिवारको घर जहाँ बबिता बम र रोशनी बममात्रै बस्थे, त्यहाँबाट निर्मला हराएकी थिइन्। तर अनुसन्धानको दृष्टिकोणले महत्वपूर्ण त्यो घरलाई प्रहरीले कहिल्यै अनुसन्धानको विषय बनाएन। अघिल्लो दिन नै उक्त घरमा पस्ने निर्मलाकी आमाको दुई पटकको प्रयासमा प्रहरीले कुनै सघाउ गरेन। दोस्रो दिन पनि उनलाई त्यहाँ पस्न दिइएन। प्रहरीको एउटा टोली घुमेजस्तो गरेर अनुसन्धान नै नगरी फर्कियो। आमालाई अघिल्लै दिन एकपटक छिर्न दिइएको भए पनि बम परिवार शंकाको घेरामा रहने थिएन। निर्मलाकी आमामाथि बबिता बमले गरेको व्यवहार (तँ यो घरमा किन खुट्टा हालिरहन चाहन्छेस् भनेर थर्काएपछि) ले त्यो घर शंकाको घेरामा रहने भयो। स्वभाविक रुपमा यो आमाको शंकाको मात्रै प्रश्न रहेन। प्रहरी अनुसन्धानको दृष्टिले पनि सुरुवाती छानबिन त्यहीँबाट हुनुपर्थ्यो किनभने हराएको त्यहीँबाट थियो। त्यो प्रहरी आफैले पनि गरेन, र पीडित परिवारको आशंका पनि मेटाएन। प्रहरीले त्यसपछि निर्दोष मानिसहरूलाई एकपछि अर्को गिरफ्तारी गर्दै चरम यातना दिन थाल्यो।

सुरुदेखि नै मृतक बालिकाकी आमा दुर्गादेवीले एउटा प्रहरी कार्यालयमा आफैं उपस्थित भएर खबर गरिन्। तीनवटा थप प्रहरी कार्यालयमा फोनबाट खबर भयो। तर प्रहरीले कसरी  रेस्पोन्स गर्‍यो भने- ‘बिहान ११ बजे हराएकी छोरी, यति राती राति आउने? पोइल गइ होला। कतै केटासँग भागी होला।‘ बिहान ११ बजे साथीकोमा पढ्न गएको मान्छे साँझ ६/७ बजेसम्म त आउँछ भन्‍ने आसमै रहन्छ नि परिवार। जब उनी आइनन्, त्यसपछि त ६, साढे ६ बजेदेखि त उनीहरूले खोजी नै सुरु गरेका छन्। खोजी गर्दै जाँदा निर्मलाले चिनेको वा निर्मला जान सक्ने सम्पूर्ण ठाउँ पुग्दा पनि नपाएपछि उनीहरू प्रहरीमा जाने हो। भएको पनि त्यही हो। तर प्रहरीले त्यसलाई त्यो रुपमा नबुझेर गैरजिम्मेवारपूर्ण रिस्पोन्स गर्‍यो। मैले बुझेअनुसार त्यसपछाडि सबै प्रहरी कार्यालयले जिल्ला  प्रहरी कार्यालयमा सम्पर्क गरे- ‘निर्मलाको आमा आएको छ। फलानो घरबाट हराएको छ भन्या छ। जान मिल्छ कि मिल्दैन?’ जिल्ला प्रहरी कार्यालयको तत्कालीन नेतृत्व एसपी डिल्लीराज विष्टले ‘अहँ नजानू’ भनेर आदेश दिएको अवस्था छ।

डिल्लीराज विष्ट सुरुदेखि नै बम परिवारप्रति एकदमै लोयल देखिन्छन्। एकातिर शंकाको घेरामा रहेका मान्छेहरूप्रति प्रहरी प्रशासन नरम हुने र निर्दोष मान्छेहरूलाई एकपछि अर्को गिरफ्तार गर्दै यातना दिँदै र जबर्जस्ती दोषी बनाउने प्रयत्न गर्दा स्वभाविक रुपमा स्थानीयवासीहरूको आक्रोश त्यहाँ देखियो। निर्मलाको शव उठाउनेदेखि लिएर अस्पतालमा रहेको शवलाई अन्तिम संस्कार गर्ने क्रममा पनि प्रहरीले पीडित परिवारलाई मात्र धम्क्याइरह्यो। ‘तपाईँहरूले शव उठाएर अन्त्यष्टि गर्नुभएन भने भोलि आन्दोलन हुन्छ, गोली ठोक्छु। तपाईँहरूले शव अन्त्यष्टि गर्नुभएन भने सिंगो परिवार अप्ठ्यारोमा पर्न सक्छ।‘ पीडितलाई न्याय दिलाउने भन्दा पनि थप टर्चर गर्ने काममा प्रहरी प्रशासन र प्रहरी नेतृत्वले निरन्तर भूमिका खेल्यो। प्रहरीले बास्तविक अपराधी नै पक्रेर ल्याउने हो भने पनि शंका गर्ने हो कि भन्‍ने अवस्था थियो तत्कालीन नेतृत्वसँग। अर्को कुरा, जहाँ निर्मलाको शव फेला पर्‍यो त्यहाँ अम्बा फेला परेको छ। दुई चार दिनपछि बम परिवारले अम्बाको रुख काटेको छ। ‘त्यो किन काटे त सर ?’ भनेर पीडित परिवार र स्थानीयवासी प्रहरी नेतृत्वलाई सोध्छ। ‘उसको घरको रुख जतिबेला काटोस्, जति बेला उमारोस् तिमीहरूलाई के मतलब’ भनेर प्रहरी प्रशासनले जवाफ दिएको छ। त्यो भूमिकाका कारण स्थानीयवासी र पीडित परिवारको प्रहरी प्रशासनप्रतिको विश्वास एक रत्ति पनि रहेको छैन। अहिले नयाँ नेतृत्व गएको छ र, स्थानीयवासी पनि बिस्तारै मत्थर भइराखेका छन्।

तपाईँको रिपोर्टिङअनुसार प्रहरीले छद्म अभियुक्त खडा गरेर विषयतान्तर गर्न खोजेको देखिन्छ। प्रहरीले त्यस्तो किन गर्‍यो होला ? 

मेरो मनमा केही व्यक्तिहरूप्रति आशंका छ । कोही २० प्रतिशतमा होलान्, कोही ३० प्रतिशतमा होलान्। खोज पत्रकारिता गर्ने पत्रकारले ९० प्रतिशत भन्दा माथिको आशंका तथ्य र स्रोतहरूले पुष्टि नगर्दासम्म कसैमाथि आरोपित गर्नु जायज हुँदैन। ९० प्रतिशतभन्दा माथि पुगिसकेपछि मात्रै जो व्यक्ति आरोपित देखिन्छ, त्यो व्यक्तिको समेत भनाई राखेर हामीले समाचार प्रकाशन प्रसारण गर्नुपर्ने हुन्छ। १० प्रतिशत उसको भनाई हुन्छ।

तर दुईवटा तीनवटा कुरामा म एकदमै निश्चिन्त छु। जस्तो, जहाँ लगेर निर्मलाको शव फ्याकियो, त्यो घटनास्थल होइन, शव व्यवस्थापन गरिएको ठाउँमात्रै हो। घटनास्थल अन्तै कतै हो। र, यो घटनामा राज्यका पहुँचवाला व्यक्तिहरू, प्रहरी प्रशासनको पहुँचवाला व्यक्तिहरू, हाम्रो भाषामा भन्दा ठूलाठालुहरूको हात छ। त्यसकारण पनि यो घटनालाई दबाउन खोजिराखिएको छ। अर्को, निर्मलाको परिवार जो पानीपुरी चटपटे बेच्छन्, यिनीहरू दुई चारदिनमा सेलाइहाल्छन् भनेर सुरुदेखि नै प्रहरीले अनुसन्धानमा लापरबाही गरेर सुनियोजित रुपमा आफैले प्रमाण नष्ट गरिरहेको छ। जस्तो, निर्मलाले लगाएको सुरवाल पानीमा दुई तीनचोटी चोबलेर उठाएको भिजुअलहरू जताततै हेर्न पाउँछौँ। मैले नै केही दिनअघि ल्याएर प्रसारण गरेको भिडियोमा उनको किताब भिजेको छैन। प्रहरी भन्छ- अघिल्लो दिन नै घटना भयो। त्यो रातभर पानी परेको छ। तर निर्मलाको कापी  र किताब ओस लागेर अक्षर पनि फुलेको छैन। थपक्क मिलाएर राखिएको छ।

तेस्रो कुरा अहिले प्रहरीले खडा गरेको अभियुक्त दिलीप सिंह विष्टका अनुसार निर्मला त्यो बाटो जाँदै थिइन्। त्यो सडक छेउ हो र, किताब भेटिएको सडक छोडेर गिटी बालुवा हुने ठाउँमा हो। प्रहरीका अनुसार दिलीप सिंहले बिग्रिएको साइकल बनाइदिने क्रममा उनीसँग टच भयो, उत्तेजना जाग्यो र पारी लगेर बलात्कार गरेँ भनेको छ। शव भेटिएको ठाउँमा यति गहिरो इनार छ, लगभग कुमसम्म आउने पानी छ। बुझ्दाखेरी निर्मला पनि ३८/४० किलोकी छन्। उनीसँग पनि प्रतिवाद गर्ने क्षमता छ। दिलीप सिंह ९/१० वर्ष जेलमा बसेको, अत्यधिक लागू औषधको सेवनले ऊ भित्रैभित्रै कमजोर थियो भनिन्छ। अर्को कुरा, त्यो सुनसान सडक होइन। अनुमान नै लगाउने हो भने पनि एक मिनेटमा कम्तिमा एक दुईजना पैदाल यात्रु, साइकलबाहक, गाडी वा मोटरसाइकल ओहोरदोहर गर्ने बाटो हो। बाटो छेउ बलात्कार गरेर पारी गएर हत्या गरेँ भन्‍ने खालको बयान अभिलेखीकरण गरिरहँदा, त्यो सम्भव देखिन्न। निर्मलाको लाशको प्रकृति हेर्दा, उनको स्तनको मुन्टा टोकिएको अवस्था छ, गालामा घाउ छ। त्यो बाटोमा उसले कराउँदा/प्रतिवाद गर्दा कसै न कसैले देख्नुपर्ने हो, थाहा पाउनुपर्ने हो। दिउसो साढे २ देखि ४ बजेको घटना भनेर दावी गरिरहेको छ प्रहरीले। निर्मलालाई हत्या गरेर पारी लैजाँदा उसले एकदमै ठूलो सकस गर्नुपर्ने हुन्छ। त्यो एकदमै गाह्रो छ। अर्को वैकल्पिक बाटो पनि छ- घुमाउरो। एउटा काठको पुल आउँछ। त्यो तर्नेबित्तिकै अगाडि पट्टी घर छ जहाँ ४/५ जना मान्छे बस्छन्। कसै न कसैले देख्नुपर्ने हो। त्यो घर घुमाएर साढे ३ सय चार सय मिटर दूरी तय गरेर मात्रै त्यो ठाउँमा निर्मलाको शव फाल्न सम्भव छ। तल खोला तरेर लैजान पनि असाध्यै गाह्रो छ। जुन काल्पनिक हिसाबले शव लगेर फालेको भनेको छ, अपत्यारिलो छ।

स्थानीय बासिन्दाहरू के भन्छन् भने शव भेटिएको ठाउँमा ३/४ वटा फरक फरक आकारको पाइलाहरू देखिन्छ। प्रहरीले सबै भन्दा पहिले त्यसलाई मेट्ने काम गरेको छ। ती पाइलाहरू कसका थिए? एउटै व्यक्तिको फरक फरक नापका पाइला हुन सम्भवै छैन। धेरै प्रमाणहरू प्रहरीले सुरुदेखि नै मेट्दै आएको छ। घटनास्थल त्यो होइन भन्‍ने निष्कर्षमा पुगेको छु। र मैले अन्तर्क्रिया गरेका १५० भन्दा बढी मानिसहरू कोही पनि दिलीप सिंहलाई अपराधी मान्न तयार छैनन्।

तपाईँले यही घटनामा गैरकानुनी ढंगले हिरासतमा राखेर यातना दिई प्रहरीले जबर्जस्ती फसाउन खोजेकाहरूबारे पनि रिपोर्टिङ गर्नुभएको छ। जीवन घर्ती मगर, दिनेश नेगी, चक्रदेव बडु र हेमन्ती भट्टलाई प्रहरीले किन पक्राउ गरेको रहेछ ?

१० गते निर्मला हराएकै दिनको कुरा हो। भगतपुर खोल्सो जस्तो रहेछ। त्यहाँ चौधरीको खाजा पसल छ। त्यसको अपोजिट पट्टी पर्छ। त्यहाँ शिक्षकहरू चिया खाजा खान आइरहनुहुने रहेछ। शिक्षक चुडामणि भट्टले मलाई भन्नुभयो कि- ‘त्यहाँ एकजना मानसिक सन्तुलन बिग्रेको जस्तो मान्छे (जीवन घर्तीमगर) देखेँ मैले बिहान। प्रहरी गस्तीमा आउँदै थियो। दुई थप्पड लगाएर यसलाई यहाँबाट लखेट्दिनु अथवा लगेर चौकीमा थुनिदिनुस् न।‘ उहाँले प्रहरीलाई भन्नुभएछ। प्रहरीले भनेछ- ‘यो त एकथप्पड हान्दा नि मर्ला जस्तो छ। अब चौकीमा लगेर के लफडा गर्ने, छोड्दिनुस्।‘

भोलिपल्ट निर्मलाको साइकल भेटियो। शव खोज्न ५० जना जति मान्छेहरू भेला भए। प्रहरी ५/६ जनाको संख्यामा थिए। प्रहरीले नै मानिसहरूलाई समूहमा विभाज गर्‍यो। प्रहरीले बनाएको एउटा समूहको सबैभन्दा अगाडि दिनेश नेगी थिए। शव उनले सबैभन्दा पहिला देखे। त्यसपछि प्रहरी आयो। अब प्रहरीलाई अभियुक्त चाहियो। प्रहरीले दिनेश नेगीलाई ‘सबैभन्दा पहिला तैँले कसरी देखिस्’ भनेर पक्राउ गर्‍यो। प्रहरी फर्किँदै आउँदा तिनै शिक्षकलाई सोध्यो- ‘सर हिजो भनेको पागल कता गयो?’ प्रहरीले त्यहीँ रहेका जीवन घर्तीलाई पनि समातेर लिएर गयो। प्रहरीले एक दुई दिनमै दिनेश एचआइभी संक्रमित मात्र नभएर उनको यौनांगमा गम्भीर प्रकृतिको संक्रमणमा रहेको फेला पार्‍यो। प्रहरी आफैलाई यस्तो मान्छे हिरासतमै मर्ने हो कि भन्‍ने चिन्ता भयो। जीवन घर्ती मगरलाई प्रहरीलाई बयान लिन थाल्यो। जीवन घर्ती मगरले भन्यो- ‘हो मैले मारेको हो। मैले खुकुरीले छ्याक छ्याक हानेर मारेको हो।‘ निर्मलाको शरीरमा खुकुरीले हानेको कुनै चोट छैन। प्रहरीलाई यी दुबै गिरफ्तारी घाँडो हुँदै गयो र २० गते उनीहरूलाई छोड्यो।

प्रहरीलाई अर्को अभियुक्त चाहिएको थियो। र, प्रहरी पुग्यो चक्रदेव बडुको घरमा। चक्रदेवको घर र निर्मलाको शव फ्याकिएको स्थान २०० मिटरको दूरीमा छ। घरमा काम गरिरहेका चक्रदेव बडुलाई खेतमा काम गरिरहेको अवस्था भनेर पक्राउ गरियो। प्रहरी दावी के छ भने चक्रदेव बडुको मोबाइलमा घटनास्थलका केही फोटो थिए। स्वभाविक रुपमा जुन दिन शव बरामद गरियो, त्यो दिन सबै पुगेका थिए। सबैले खिचेका थिए। उनको मोबाइलमा पनि फोटो हुनु अस्वभाविक थिएन। उनलाई गिरफ्तार गरियो र, चार दिनसम्म परिवारका सदस्यलाई भेट्न दिइएन। उनका ११ वर्षका भाइ र १५ वर्षकी बहिनीलाई पनि गिरफ्तार गरियो र साँझ छोडियो। संयोगले चक्रदेवका दाजु रोल्पामा प्रहरी सिपाही थिए। उनलाई बोलाइयो। प्रहरी भएकै कारण उनले हारगुहार गरेर चौँथो दिन भाइलाई भेटे। अनि ११ औँ दिनको दिन चक्रदेवलाई छोडियो। प्रहरीविरुद्ध गाली गलौज गरेको भनेर सार्वजनिक अपराधको मुद्दा लगाएर ५ हजार धरौटीमा छोडियो। उनको मोबाइल अहिले पनि प्रहरीसँग छ। उनी हुन् २ नम्बर वडाका बासिन्दा। त्यहाँभन्दा १५/२० किलोमिटर परको ११ नम्बर वडाका कहिल्यै नचिनेका मान्छेलाई साँछी राखेर यसले प्रहरीलाई गाली गरेकै हो भन्‍ने बनाएर उनलाई छोडिएको छ। उनी एकदमै त्रसित अवस्थामा थिए। प्रहरीले फेरि फसाउँछ कि भनेर उनी हामीसँग कुरा गर्न पनि डराइरहेका थिए।

२० गते जीवन घर्ती र दिनेश नेगीलाई छोड्ने मनस्थिति बनाउँदै गर्दा १८ गते १२ कक्षामा पढ्ने १७ वर्षीय हेमन्ती भट्टलाई पक्राउ गरी प्रहरीले लगातार यातना दियो। तेस्रो दिन त उनलाई टाउको तल खुट्टा माथि गरेर डन्डा बर्साइयो। उनलाई हाल निलम्बित तत्कालीन एसपी डिल्लीराज विष्टले ‘तेरो जीवन बर्बाद गर्दिन्छु, परिवार सिध्याइदिन्छु’ भन्‍ने देखि लिएर अनेक धम्की दिए। उनको साथी थिइन् निर्मला धामी न कि निर्मला पन्त। उनलाई एकदमै कमजोर आधारमा पक्राउ गरिएको छ। उनी प्रहरीले दावी गरेको घटना समय र घटनास्थलबाट पास गर्ने कयौँ मान्छेमध्ये एकजना थिइन्। ‘तैँले सुनेको हुनुपर्छ’ भन्‍ने एउटा आधार। दोस्रो आधार उनी निर्मलाको घरको नजिक थिइन्। तेस्रो आधार उनको निर्मला धामी भन्‍ने साथी थिइन्। निर्मलासँग फोन नभएकोले उनका भिनाजुको भाइले हेमन्तीको फोनमा सम्पर्क गर्थे। त्यो दिन पनि फोन आएको थियो। उनी कक्षामा भएकोले मोबाइल साइलेन्टमा राखेकी थिइन्। घरमा आएपछि उनले म्यासेज पठाइन्- भोलि क्याम्सपमा फोन गर्नुहोला, अहिले निर्मला मसँग छैनन्।‘ प्रहरीले क्याम्पस भन्‍ने शब्द पनि राम्री पढ्न चाहेन। निर्मला पन्त, जसको बलात्कारपछि हत्या भयो, स्कुलमा पढ्थिन्। निर्मला धामी क्यापस पढ्दिन्। कुराकानीका लागि उनलाई माध्यम बनाउने दुबैजना आएर बयान दिँदा पनि प्रहरीले हेमन्तीलाई टर्चर गर्न छाडेन। तपाईँ कल्पना गर्नुस् एउटा १७ वर्षको किशोरीलाई बलात्कारपछिको हत्या अभियोगमा ‘तैँले तेरो कोही साथी बोलाएर निर्मलालाई बलात्कार गर्न लगाएर लाश लुकाइस्’ भन्‍नेजस्तो जघन्य आरोप लगाएर चरम यतना दिँदा उसले कुनै गलत बाटो रोजेको भए त्यसको जिम्मेवार को हुन्थ्यो? धन्न उनी आँटिली थिइन् र अहिले पनि आफूमाथि भएको ज्यादतीको निर्भीकता साथ बयान दिइरहेकी छन्। चक्रदेव बडु पनि एउटा चरम निराशामा पुग्ने खतरा छ नि।

१० गतेबाट २० गतेसम्म एक जनालाई थुन्यो, २० गते छाड्ने मनस्थिति बनेपछि १८ गते नै अर्को अभियुक्त तयार पार्न खोज्यो। हेमन्तीलाई पनि फसाउन सक्ने स्थिति नबनेपछि २१ गते चक्र बडुलाई गिरफ्तार गरेको छ। चक्र बडुलाई ३१ गते छोडेको छ। र, त्यसपछाडि प्रहरी ३ गते पुगेको छ दिलीपसिंह विष्टको घरमा। नास्पती किन्ने बहानामा दुईजना प्रहरी त्यहाँ पुगेका छन्। उनको घरपछाडि सुकाइराखेको सर्टको खल्ती च्यातेर ल्याएको छ। दिलीप विष्टको घरको अगाडिको घरका मान्छेले त्यो देखेका छन्। सुरुमा उनीहरूले जुत्तामा हिलोसिलो लाग्यो होला, दिलीप विष्ट (जसको मानसिक सन्तुलन बिग्रेको छ) को सर्ट च्याते त के फरक पर्‍यो भनेर सामान्य रुपमा लिएका छन्। तर जब भोलिपल्ट प्रहरीले दावी गरेको घटनास्थलमा सर्टको टुक्रा र कन्डमको खोल फेला पर्‍यो भनियो, त्यसपछाडि बल्ल उनीहरूको मनमा चिसो पस्यो। सर्टको टुक्रा २६ दिन हुँदा पनि कुनै माटो हिलो लागेको अवस्थामा छैन। कन्डमको खोल पनि खुल्ला छ। एउटा मानसिक सन्तुलन ठिक नभएको र क्षणिक उत्तेजनामा आएको मान्छेले कन्डम प्रयोग गर्‍यो भन्‍ने तर्क कत्तिको जायज हुन्छ ? जबकि निर्मलाको यौनांगमा अत्यधिक रक्तस्राव रोक्न माटो कोचारिएको अवस्था छ। प्रहरीले यस्ता हावादारी कामहरू गरेको छ। प्रहरीले सुरुदेखि अहिलेसम्म गरिआएको ज्यादती यस्तो छ।

यो समग्र प्रकरणमा काठमाडौंबाट गएको सीआइबी टोलीको भूमिका कस्तो देख्नुहुन्छ ?

सिआइबी टोली गएपछि झन् बिग्रेको देखिन्छ। चक्रदेव बडुका अनुसार पनि ‘हामी सीआइबीबाट आएका हौँ, यहाँको लोकल पुलिस होइन बुझिस्’ भनेर रक्सीले मातेर गएकाहरूले टर्चर गर्थे। कसैको नाम नलिउँ तर स्थानीय होटलहरूमा सुराकी तथा अन्य बहानामा प्रहरी र सीआइबीका अधिकारी दिउसै दारु खाएर तास खेलेर बस्थे। सम्बन्धित होटलका मानिसहरूले मसँग बताएका छन्। सीआइबी टोली जाँदा पनि डिएसपीको तहमा जानु हुँदैनथ्यो कि किनभने त्यहाँ त एसपीको भूमिका सुरुदेखि नै नकारात्मक देखिइरहेको थियो। त्यो पनि घटनाको निष्पक्ष अनुसन्धान हुनुभन्दा झन् निर्दोषहरूमाथि ज्यादती हुनुको अर्को फ्याक्टर रह्‍यो कि जस्तो लागेको छ।

मूल प्रश्न हाम्रो अनुसन्धानको शैली कस्तो हुनुपर्छ भन्‍ने हो। दिनेश नेगी र जीवन घर्तीमगरलाई १० दिन थुनेबापत्  केही क्षतिपूर्ति दियो ? माफी माग्यो ? कुनै पसलमा कुनै सामान चोरेको अपराध होइन यो। कसैलाई एक धक्का हानेर पक्राउ गरेको घटना होइन यो। एउटा १३ वर्षको किशोरीलाई बलात्कार र हत्या गरेको अभियोगमा पक्राउ परेर छुटे उनीहरू। ती पक्राउ गर्ने प्रहरीहरू निलम्बित हुनु पर्दैन ? त्यसपछाडि गयो सीआइबीको टोली। सीआइबीको टोलीको अग्रसरतामा हेमन्ती भट्ट भन्‍ने १७ वर्षकी किशोरी र चक्रदेव बडुलाई पक्राउ गरियो। उनीहरूमाथि भएको टर्चरको बयान मैले अघि नै गरिसकेँ। अहिले उनीहरू निर्दोष सावित भएका छन्। यसको क्षतिपूर्ति कसले दिन्छ? केन्द्रबाट गएको सीआइबी टोलीलाई निलम्बन गर्नु पर्दैन ? तिनीहरूलाई ल्याएर थुन्नु पर्दैन? उनीहरूको मानवअधिकार छैन ? मैले अघि नै भनेँ हेमन्ती विष्ट त सलाम गर्न लायक चेली हुन् । सायद म नै उनको ठाउँमा हुन्थेँ भने यति ठूलो अपराधमा आरोपित हुनु र प्रहरीले लगेर निरन्तर टर्चर गरेर जबर्जस्ती फसाउन खोज्दा अर्को कुनै बाटो रोज्थेँ होला अप्रिय बाटो। त्यसको क्षतिपूर्ति के हुन्छ ? चक्रदेव बडुको मोबाइल अहिलेसम्म पनि प्रहरी नियन्त्रणमै छ। सुरुका यी चारवटा गिरफ्तारीहरू र छद्म अभियुक्तहरू खडा गरिएपछि मानिसहरू प्रहरीमाथि विस्वास गर्न सकिरहेका छैनन्। म यो भनिरहेको छैन कि मैले भेटेका १५० जनाले दिलीप सिंह बास्तविक अपराधी होइन भने भन्‍ने तर्कको आधारमा म पनि होइन भनिरहेको छु। होला, ऊ भोलि सावित पनि होला। तर यसअगाडि संलग्न प्रहरी अधिकारीहरूलाई कारबाही हुनु पर्दैन? उनीहरूले बोलेका अपमानजनक शब्दहरू, उनीहरूले दिएका यातना, जिन्दगी सिध्याइदिन्छु भनेका छन्। त्यसको क्षतिपूर्ति के ? सुरुवात यहाँबाट गर्नुपर्छ। जान त त्यहाँ हल्लिँदै डिआइजी र सहसचिवहरूको उच्चस्तरीय छानबिन टोली पनि भोजभतेर गर्दै बेलुका होटलमा बसेर दारु खाँदै हिँडिरहेको छ। उसले त्यसमा हस्तक्षेप गर्नुपर्‍यो। कसको आदेशमा हेमन्ती भट्टलाई पक्राउ गरियो, को को मान्छेले गएर उसलाई १५ /१५ मिनेट अँध्यारो कोठामा राखेर धम्क्याएको हो। ती सिपाहीहरू हुन् भने कसको आदेशमा गए ? ती सबैलाई निलम्बन गर्नुपर्छ। केन्द्रबाट गएको सीआइबी टोलीले गरेको हर्कतहरूको पनि छानबिन गरेर उनीहरूलाई पनि निलम्बन गर्नुपर्छ। कारबाहीको सिलसिला पुलिसभित्रबाट सुरु गर्नुपर्‍यो अब। किनचाहिँ प्रहरीले छद्म अभियुक्तहरू खोजिरहेको छ त ? अनुसन्धानको सरुवात नै त्यहाँबाट हुनुपर्‍यो। अनि बल्ल यो अनुसन्धान तार्किक निष्कर्षमा पुग्छ।

बास्तविक अपराधीलाई जोगाउन खोजिएको विरोधमा भएको प्रदर्शनले महेन्द्रनगर निकै अशान्त पनि बन्यो। एकजनाको त प्रहरीको गोली लागेर मृत्यु भयो। कर्फ्यु पनि लगाइयो। प्रदर्शनलाई राजनीतिक रंग दिन खोजेजस्तो पनि देखियो। यसमा राजनीतिक दलहरूको भूमिका कस्तो पाउनुभयो ?

एक महिनापछि केन्द्रबाट तीनजना सांसदहरू दीपकप्रकाश भट्ट, नरबहादुर धामी र लेखराज भट्ट (कैलाली) त्यहाँ पुग्नुभयो। जहाँ घटना भयो त्यो दीपकप्रकाश भट्टको निर्वाचन क्षेत्र पर्छ। उहाँहरूले प्रदेश सरकारका गृहमन्त्री प्रकाश शाहलाई पनि लिएर जानुभएको थियो। अरु प्रदेश सरकारका सांसद र मन्त्रीहरू पनि हुनुहुन्थ्यो। उहाँहरूले भन्नुभयो- ‘हामी प्रधानमन्त्रीको सन्देश बोकेर आएका हौँ। तपाईँहरूलाई राहत पनि घोषणा गरेका छौँ। जो सुकै भए पनि बास्तविक दोषी पत्ता लगाइन्छ। र, निर्मलालाई न्याय दिइन्छ।‘ त्यसअगाडि संघीय सरकारले १० लाख रुपैयाँ राहत घोषणा गरेको थियो। तीन लाख रुपैयाँ भीमदत्त नगरपालिकाले दिने भनेको थियो। त्यसै दिन प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले पनि प्रदेश सरकारको तर्फबाट थप पाँच लाख रुपैयाँ दिने भनेपछि कूल १८ लाखको राहत प्याकेज घोषणा भयो। ‘प्रधानमन्त्रीको सन्देश लिएर राहत पनि बोकेर आएका छौँ’ भन्दै भन्दै त्यो टोलीले अप्रत्यक्ष रुपमा कस्तो चेतावनी पनि दियो भने ‘अब यसलाई बढाइचढाइँ नगरौँ। यसले आन्तरिक विखण्डन ल्याउन सक्छ, महेन्द्रनगरको शान्ति सुरक्षामा असर पर्न सक्छ, घुसपैठियाहरूले यसलाई अराजक स्थितितर्फ मोड्न सक्छन्। यसतर्फ तपाईँहरू पनि सचेत रहनुहोला।’ त्यसको प्रत्यक्षदर्शी नै म छु। उहाँहरू ककसले के के बोल्नुभयो मेरा रेकर्डहरूमा पनि छन्।

यसैलाई टेकेर प्रतिपक्षी दलको नेता दीलेन्द्र बडु पनि जानुभएको थियो। उहाँले ‘सरकारलाई अल्मिटेम दिएका छौँ, सरकारले नहेरे हामी छौँ’ भन्नुभयो। त्यसपछि प्रमुख जिल्ला अधिकारी तीनवटै सुरक्षा निकाय राष्ट्रिय गुप्तचर विभाग, सशस्त्र र प्रहरीका प्रमुख तथा नेपाली सेनाका कर्णेलसहितको टोली गएर एकढंगले आस्वतस्त पार्ने काम भयो- हामी गर्छौँ तपाईँहरू पनि संयमित हुनुहोला भन्‍ने खालको।  प्रधानमन्त्रीको सन्देश बोकेर गएका सत्तारुढ दलका नेताहरूको न्यायप्रतिको प्रतिबद्धता भन्दा पनि ‘हामीले यत्रो पैसा दिइसक्यौँ, तिमीहरू अब लफडा नगर, चुप लाग’ भन्‍ने सन्देश बढी थियो। उनीहरू  घटनामा १३ वर्षको निमुखा गरिब परिवारको बच्चीलाई बलात्कार गरेर हत्या गरिएको छ, निमुखा परिवार खोज्दै खोज्दै प्रहरीले जबर्जस्ती निर्दोषमाथि टर्चर गरेको छ, दोष थोपर्न खोजेको छ भन्‍ने बाटोतिर जानुभन्दा पनि कांग्रेसले यसलाई मुद्दा बनाउन खोजिरहको छ त्यो ढंगले हेरिदिनुपर्‍यो भन्‍नेमा थिए। मैले लामो सयमदेखि संगत गरेका सांसदहरूले त्यसो भन्दा मलाई बास्तवमै नमजा लाग्यो। राजनीति भनेको कति घृणित जिज रहेछ, राजनीतिमा लागिसकेपछि मान्छे कस्तो हुँदो रहेछ जस्तो लाग्यो मलाई। नामै लिएर भन्नुपर्दा दीपकप्रकाश भट्ट, म उहाँलाई लामो सयमदेखि चिन्छु। लडाकु समायोजन सचिवालयको सदस्य हुनुहुन्थ्यो- हामी लामो सहकार्य गरेका छौँ। उहाँ मेरो असल मित्र पनि हुनुहुन्छ। आफ्नै निर्वाचन क्षेत्रभित्रको घटनामा न्यायका लागि पैरवी गर्नुभन्दा पनि कता न कता राजनीतिक रंग हुन्छ, अशान्ति हुन्छ भन्‍नेतिर उहाँको बढी जोड थियो। उहाँ त एउटा विज्ञ सभामा, भलै कुनै राजनीतिक दलको तर्फबाट मनोनित हुनुभयो, रहँदासम्म उहाँ त्यस्तो हुनुहुन्नथ्यो, राजनीतिज्ञ भइसकेपछि त यस्तो बनाउँदो रहेछ मान्छेलाई जस्तो फिल पनि भयो।

र, प्रहरीको पछिल्लो मनस्थिति चाहिँ यत्रो राहत पाइहाले, अब निर्मलाको परिवारले पनि सरकारसँग निहुँ खोजिरह्‍यो भने यही पनि पाइँदैन भन्‍ने त उनीहरूले बुझ्छन्, १८ लाख रुपैयाँ भनेको राम्रै रकम हो एउटा गरिब परिवारलाई, यिनीहरू पनि थामथुम हुन्छन्, एउटा अभियुक्त जस्तो भए पनि उभ्याइदएको छ, र स्थानीयवासी र पीडित परिवारको आक्रोश, जहाँबाट निर्मला हराइन् त्यहाँ किन अनुसन्धान भएन भन्‍ने कुरालाई बुझो लगाउन बबिताका दिदीबहिनीलाई पनि गिरफ्तार गरिएको छ, पहिला सहर शान्त होस् भनेर अनुसन्धान लम्ब्याउनेतिर छ। नयाँ जानुभएको एसपी कुवेर कडायतले सोध्नुभयो- कतिदिन बस्नुहुन्छ सरोजजी ? मैले कतिसम्म चाँडो टुंग्याउनुहुन्छ त्यतिन्जेल बस्ने हो, सकभर चाँडो टुंग्याउनुस्, म पनि सत्यतथ्य लिएर जाउँ। हाम्रो काम त तथ्यहरू केलाउने, सही सूचनाहरू संप्रेषण गर्ने, काम हो। अनुसन्धान गरेर अपराधीलाई सजायँ दिने कानुनी प्रक्रिया मिलाउने काम त तपाईँहरूको हो। कम्तिमा बास्तविक दोषी पत्ता लाग्यो भन्‍ने सुखद समाचार लेखेर जान पाइयोस् भन्‍ने चाहना हो मेरो भनेँ। उहाँले के भन्नुभयो भने – ‘२५ दिनसम्म हामी उनीहरूलाई हिरासतमा लिएर पटकपटक म्याद थपेर अनुसन्धान गर्न सकिहाल्छौँ। चाँडो चाँडो कहाँ हुन्छ ?’ सकभर शान्तिसुरक्षा होस्, कर्फ्यु हटेको छ, कतै प्रदर्शन नहोस्, सामसुम हुँदै जान्छ, पीडित परिवारले पनि त्यति राहत पाइसकेपछि  सरकारबाट पैसा पाउँदैन कि भनेर त्यो मत्थर हन्छ भन्‍ने मनोविज्ञानमा प्रशासन र त्यहाँको सत्तारुढ राजनीतिक नेतृत्व देखिन्छ।

प्रहरीले अनुसन्धान  गरी दोषीलाई कारबाही गर्नुभन्दा उल्टो पीडितलाई यातना दिने र बास्तविक अपराधीप्रति आँखा चिम्लने प्रवृत्तिले हामीलाई कहाँ पुर्‍याउला ?

मैले अघि पनि भनेँ अनुसन्धान यहीँबाट थाल्नुपर्छ। प्रहरी सबैभन्दा पहिला प्रमाणहरूलाई एकपछि अर्को गरी मेटाइरहेको छ। निर्मला हराएको घरबाट हो नि अनुसन्धान सुरु हुनुपर्ने त। स्थानीय र पीडित परिवारको आक्रोश, आन्दोलन र प्रदर्शनको दवावपछि भदौ ६ गतेमात्रै बम दिदी बहिनीलाई नियन्त्रणमा लिइएको छ। भदौ ६ गते अघि त चारजना निरपराध मान्छेहरूलाई जेल यातना दिएर जबर्जस्ती दोषी बनाउन लागिएको छ नि। प्रमाण मेट्ने अधिकार उसले कहाँबाट पायो ? एकजना महिला प्रहरीलाई सुरवाल पखाल्न भनिएको छ। कसले दियो त्यो आदेश ? सबैभन्दा पहिला त्यसलाई निलम्बन गर्नुपर्छ। त्यसले किन त्यो आदेश दियो त ? फरक फरक आकारका खुट्टाका पाइलाहरू खोलाको पानी छ्यापेर कसले मेटायो ? त्यसलाई गिरफ्तार गर्नुपर्‍यो। अथवा, त्यो तल्लो तहको प्रहरी कर्मचारीले मेटाएको हो भने उसलाई आदेश दिनेलाई कारबाही हुनुपर्‍यो। अब कारबाही प्रहरी प्रशासन भित्रबाट एउटा प्रभावकारी समिति बनाएर गैरकानुनी ढंगले काम गर्नेहरूलाई नियन्त्रणमा लिएर तिमीहरूले यो किन गर्‍यौ भनेर पहिला सोध्नुपर्‍यो। तिमीहरूले निहत्था मान्छेलाई किन पक्राउ गर्‍यौ ? तिमीहरूले घटनास्थललाई किन दायावाया गर्‍यौ? त्यहाँबाट छानबिन सुरु भयो भने मात्रै यो विषय निष्कर्षमा पुग्छ।

यो सबै त्यो दिलीप सिंह विष्ट भन्‍ने मानसिक सन्तुलन बिग्रिएको मान्छेको बचाउमा गरिएको त पक्कै होइन। एक छाक भात खान माग्दै हिँड्ने मान्छेलाई प्रहरीले किन बचाउन चाहेको होला सुरुदेखि ? दिलीप सिंहलाई त एकैचोटी २६ दिनपछि न फसाउन खोजियो। यदि दिलीप सिंह सुरु देखि नै थियो भने उसका पाइला किन मेटेको ? त्यो सुरवाल किन पखालेको ? दिलीप सिंहमाथि प्रहरीलाई पहिला नै शंका थियो भने त्यो गरिबलाई किन बचाउन खोजेको यत्रो राज्य ? त्यसको उत्तर प्रहरीले दिनुपर्छ।

यो समग्र प्रकरणमा हामी पत्रकार र मिडियाको भूमिका कस्तो रह्‍यो भन्‍ने तपाईँको मूल्यांकन छ ?

कञ्‍चनपुरमा आज (भदौ १५ शुक्रबार) थप एउटा बलात्कारको घटना भयो। यो महिना भएको यो आठौँ घटना हो। निर्मलाको बलात्कार हुनुअघि पनि ६ वटा बलात्कारका घटना भएका छन्। निर्मला पन्तको बलात्कार हुनु १५ दिन अघि असार २६ गते कविता विष्टको हत्या भएको छ। मैले उनको परिवारलाई भेटेर घटनास्थल गएर समचार लेखेको छु। उनको पनि यसरी नै सामूहिक बलात्कारपछि हत्या भएको छ। निर्मलाको पनि मैले बुझेसम्म यो सामूहिक बलात्कार हो। सुरुमा पीडित परिवार र स्थानीयवासीलाई एसपीले ‘यो सामुहिक बलात्कार हो, बाहिर लगेर फ्याकेको हो’ भनेका छन्। पछि एकजनाले हो शव भेटिएको ठाउँ नै घटनास्थल हो भनेका छन्। उनको कुराको कुनै टुंगो छैन। कविता विष्टको पनि त्यस्तै भएको छ। त्यो घटनामा पनि प्रहरीले किटानी जाहेरी दिँदा पनि तदारुकता देखाएको छैन।

जहाँसम्म काठमाडौंको मिडियाको कुरा छ २०६२/६३ तिर विवेक लुइँटेलको काठमाडौंमा हत्या भयो। काठमाडौं ठप्प भयो। काठमाडौंमा हुने घटनाले हामीलाई छुन्छ। अर्को, एकातिर मधेसवादी दलहरू सीमामा धर्ना बसिरहेका थिए। उनीहरूले मेचीदेखि महाकालीसम्म माखेसाङ्लो बनाए। मैले मूलधारका कुनै पनि पत्रपत्रिकाहरूमा सानो समाचार त पढेँ तर एउटा पनि फोटो हेर्न पाइनँ। भोलिपल्ट काठमाडौंका १६ वर्षमुनीका स्कुले विद्यार्थीहरू जसलाई उनीहरूको अनुमतिमा पनि दुरुपयोग गर्न पाइँदैन। उनीहरूलाई ल्याएर काठमाडौंमा हात मिलाउने कार्यक्रम गरेर केही ठाउँमा प्रदर्शन गरियो भनेर सबै पत्रिकाको फ्रन्ट पेजमा फोटोसहितका समाचारहरू थिए। काठमाडौंमा इन्काउन्टरबाटै मान्छे मारिँदा त्यो फ्रन्ट पेजको समाचार बन्छ। सप्तरीको मलेठमा घटना भयो म तेस्रो दिन घटनास्थल पुगेको थिएँ। भोलिपल्ट त कर्फ्यू नै थियो। म ८/१० दिन बसेँ। म त्यतिबेला खोज पत्रकारिता केन्द्रमा थिएँ। कुनै पनि मूलधारको पत्रिकाको मान्छे केन्द्रबाट गएको थिएन। समग्रमा हामी जसरी राज्यसत्ताको संरचनाको कुरा गर्छौँ, त्यो संरचना मिडियामा पनि हामी छ। अल्पसंख्यक र सीमान्तकृतहरूको आवाजको पक्षमा बोल्ने र सामाजिक विभेद/शोषणको अन्त्य कसरी गर्ने भन्‍ने चिन्तन मिडियामा छैन। स्वभावतः निर्मला पन्तको सवालमा पनि महेन्द्रनगरवासीले आन्दोलन नगरीदिएको भए कविता विष्टको जस्तै गुमसुम भएको भए सायद म पनि पुग्थिनँ होला। तर ढिलै भए पनि त्यहाँ केही न केही गलत चिज घनघोर ढंगले भइरहेको छ भन्‍ने फिल भयो र त्यहाँ पुग्दा नतिजा त्यस्तो देखियो।

बेलैमा त्यहाँ पुगेर सत्यतथ्य पाठकसमक्ष ल्याउन पाएको भए प्रहरीको ज्यादती यो स्तरमा नहुने र अनुसन्धानका नाममा समय लम्ब्याउने काम हुँदैनथ्यो कि ?  

म वा तपाईँ भन्नुभन्दा पनि त्यहीँका पत्रकार साथीहरूले अझ जिम्मेवार भएर रिपोर्टिङ गरिदिएको भए हुन्थ्यो। जिल्लाका साथीहरू काठमाडौं आउँदा ठाउँ ठाउँमा समाचार देख्नुहुन्छ। हामी अभ्यस्त भइसक्यौ। हामीलाई यहाँको केही पनि समाचार लाग्दैन। त्यसै गरी हामीलाई जिल्लामा जाँद यो पनि समाचार, त्यो पनि समाचार, हाम्रो साथीले किन लेखेन होला जस्तो लाग्छ। उहाँहरू हरेक दिन त्यहाँ अभ्यस्त हुनुहन्छ, उहाँलाई त्यो समाचार नै लाग्दैन। मूलधारको मिडियाले एकजना पठाउने बित्तिकै केन्द्रबाट गएको एकदमै सिपालु हुन्छ भन्‍ने पनि होइन। तर दुईजना मान्छे जोडिएन नि त। दुई जना मान्छेका फरक फरक दृष्टिकोणले तेस्रो दृष्टिकोण निर्माणमा सहयोग पुग्छ। त्यसकारण केन्द्रबाट रिपोर्टिङ गर्न मान्छे पठाउनु पर्थ्यो। र, त्यसरी मिडियाहरूले केन्द्रबाट मान्छे पठाएको भए सम्भवतः प्रहरीले यो हदसम्म ज्यादती गर्न पाउँदैनथ्यो कि। कम्तिमा प्रहरी अलिकति सतर्क हुन्थ्यो। पत्रकारले अनुसन्धान गरेर दोषीलाई पक्राउ गराइ कानुन कारबाही गर्ने होइन। पत्रकारले अधिकतम सूचना संङ्कलन गरेर त्यसलाई केलाएर समचार संप्रेषण गर्ने हो। जसले प्रहरीको अनुसन्धानमा पनि सघाओस् र, प्रहरीलाई पनि कानुनले निर्धारण गरेको दायराभन्दा बाहिर जानबाट रोकोस्। यी दुईटा काम चाँडै हुन सक्थ्यो।

यो त भयो समाचार कक्ष र सम्पादकहरूले मनन गर्ने कुरा भयो। राज्य चलाउनेहरूले मनन गर्नुपर्ने के हो त ?

बलात्कारबारे हालै जब प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधियो, उहाँले भन्नुभयो- बलात्कार पनि मलाई सोध्‍ने विषय हो र ? गृहमन्त्रीलाई सोध्नुस्, आइजीपीलाई सोध्नुस्।‘ हालैका दिन गृहमन्त्रीको के भनाई आयो भने ‘इन्टरनेट बन्द गर्दिने हो भने ८० प्रतिशत बलात्कार सकिन्छ’। विभिन्न नगरका प्रहरीहरूले सार्वजनिक गरेको सूचनामा ‘छोटा लुगा नलगाऊ, अपरिचित पुरुषसँग कुरा नगर’ भनेर महिलाका नाममा मर्यादाका कुराहरू सिकाइएको छ। जबकि यो पुरुष मानसिकताको उपज हो। पुरुषहरूलाई सानैदेखि सिकाउने संस्कारको अभाव त हो नि। आइजीपी सर्वेन्द्र खनालको अन्तर्वार्ता पढ्दै थिएँ। ‘बाबुले छरी बलात्कार गर्छ, दाइले बहिनी बलात्कार गर्छ प्रहरीले रोकेर सक्छ ?’ उनको भनाई थियो। यी तिनवटै अभिव्यक्ति गैर जिम्मेवार हुन्। अब यसमा कसलाई दोष दिने ? आइजीपीलाई दोष दिउँ गृहमन्त्रीको अनुहार त्यस्तो छ। इन्टरनेट बन्द गरौँ, छोटा लुगा नलगाएपछि च्वाट हुन्छ यो भन्छन्। प्रधानमन्त्री ‘बलात्कार जस्ता सामान्य कुरा पनि म यत्रो समृद्ध नेपाल सुखी नेपाली भनेर हिँडेको मान्छेलाई सोध्‍ने, गृहमन्त्री आइजीवी वा पुलिसलाई सोध’ भन्छन्। अब तपाईँ कहाँ गएर सोध्नुहुन्छ ?

यो घटनामा आइजीपीसम्म पनि निलम्बित हुनुपर्ने। म निर्मला पन्तको प्रकरणको मात्र कुरा गरिरहेको छैन। ८ वटा त एक महिनाको बीचमा कञ्‍चनपुरमा, एउटा जिल्लामा मात्र घट्यो नि। ३३ किलो सुन कहाँ गएर टुंगियो ? सिन्डिकेट तोडियो भनियो, एउटा ठाउँको ढाड भाँचियो, त्यसको पीडा अरु ठाउँले सहनुपरेको छ। स्टन्टबाजी गर्न नाममा गिजोल्ने र छोड्नेमात्र काम भयो। यस्ता धेरै ठाउँमा भएका छन्। भोलिपल्ट त्यो शनि भन्‍ने बच्चालाई कसले मारेको ? नयाँ एसएसपी पुगेपछि त्यो घटना भएको छ। अहिले पनि शान्ति सुरक्षाको जिम्मा उनै नयाँ एसपीलाई दिइएको छ। अब यस्तो अवस्थामा कोसँग आस गर्ने ? यो घटनामा आइजीपीसँग गृहमन्त्रीले, गृहमन्त्रीसँग प्रधानमन्त्रीले उच्च प्राथमिकतासाथ बयान लिएर गृहमन्त्री फेर्ने हो कि भन्‍ने दृष्टिकोणबाट प्रधानमन्त्रीले, आइजीपी फेर्ने हो कि भन्‍ने दृष्टिकोणबाट गृहमन्त्रीले, हिजो घटनामा संलग्न भएकाहरूलाई निलम्बन गर्ने हो कि भन्‍ने ढंगले आइजीपीले सोच्नुपर्छ। मैले जिल्लामा नयाँ गएको टोदीलाई पनि निलम्बन गरेर प्रहरीभित्रैबाट अनुसन्धान अगाडि बढाउनुपर्छ भनिरहँदा आइजीपीले त्यस्तो बयान दिन्छन्, गृहमन्त्रीले त्यस्तो बयान दिन्छन्, प्रधानमन्त्री त्यस्तो बयान दिन्छन्। अनि के आस गर्ने ?

3 Comments

  • Prem K. Aryal (#)
    September 4th, 2018

    ३३ कोटी देवता भएको देशमा ३३ किलो सुन काण्डको मुख्य तस्करहरु समाउन नसके पनि कस्ता कस्ता मास्टर माईन्ड प्रहरी पनि अहिले हिरासतमा छन् ( भले भोलि छुट्लान् ) भने, यस काण्डका प्रहरीले पनि गल्ती गरेका छन् भने अवस्य जोगिन्नन्।

  • Shiva Acharya (#)
    September 4th, 2018

    यसरी हो नी अनुशन्धान गर्ने। राजनैतिक भागबण्डामा नियुक्त भएका CIB को Repport पाच कक्षाको छात्र/ छात्राले कक्षा शिक्षकलाइ बिदा माग गरे जस्तो Repport हुन्छ।

  • Naresh Gyawali (#)
    September 5th, 2018

    गजबको अन्तरवार्ता गरेकोमा विशेषरुपमा रविराज बराललाई धेरै धेरै धन्यवाद । घटनाका विविध पाटा उकेर्न सफल आदरणीय सरोजराज अधिकारीलाई नमन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.